नाडा अध्यक्षमा चार जना आकांक्षी, चौधरी र श्रेष्ठको एक हुने ‘कमिटमेन्ट’
काठमाडौं । अटो व्यवसायीहरूको छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी माहोल रोचक बन्दै गएको छ । चुनाव नजिकिएसँगै नाडाको भावी अध्यक्षका लागि एकपछि अर्कोको आकांक्षा बढ्दै गएको हो । एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्ष पदका लागि अटोमोबाइल्स व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिने आकांक्षा व्यक्त गरिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरीले र वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवार बनेर चौधरी पराजित भएका थिए । आकांक्षीहरूले अध्यक्ष पदमा सर्वसम्मतको प्रयास भइरहेको पनि बताएका छन् । सर्वसम्मत नभए प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्दै चुनावी मैदानमा उत्रिनेछन् । अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका गोल्छा नाडाको भावी अध्यक्षको लागि सर्वसम्मत प्रयास भइरहेको बताउँछन् । ‘मेरो चाहना अध्यक्षको हो, यसको लागि मेरो आफ्नो तयारी भइरहेको छ, सर्वसम्मतरूपमा कार्यसमिति छानिन सक्ने सम्भावना पनि छ, मैले उम्मेदवारहरूसँग छलफल गरिहरेको छु, सर्वसम्मत भएन भने चुनावी मैदानमा उत्रन्छौं,’ उनले भने । सर्वसम्मत नभए आफू चुनावी मैदानमा उत्रन तयार रहेको उनको भनाइ छ । ‘मिलेर अगाडि बढ्नका लागि उहाँहरूबाट प्रस्ताव आएको छ, मेरो तर्फबाट पनि अध्यक्ष बनाउनु पर्यो भनेर प्रस्ताव गएको छ, त्यो प्रस्तावमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसको निर्णय भने भइसकेको छैन, मलाई लाग्छ म सहमतिमै अध्यक्ष बन्छु ।’ चुनाव भए समर्थन पाउने र आफूले जित्ने विषयमा विश्वस्त रहेको उनको भनाइ छ । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ पनि सर्वसम्मतको पक्षमै छन् । श्रेष्ठ र प्रतिस्पर्धी करण चौधरीबीच सहकार्य हुन सक्ने सम्भावना देखिएको छ । त्यो विषयको स्वीकार स्वयम् श्रेष्ठ पनि गर्छन् । ‘हाम्रो टिम नेतृत्वमा रहेर राम्रो काम गर्न सक्छ, यदि चुनाव नै हुने भयो र करण अध्यक्षमा उठ्नु भयो भने म छाड्छु, म उम्मेदवार भएँ भने उहाँले छाड्न सक्नु हुन्छ, निर्णय चाहिँ बाँकी छ,’ उनले भने । वर्तमान नाडाका उप–सभापति समेत रहेका श्रेष्ठले अटो क्षेत्र नै समस्यामा परेको बेला चुनाव गर्नु उपर्युक्त नहुने धारणा राखे । अर्का उम्मेदवार प्रकाश कपुरी पनि आफ्नो जित निश्चित भएर नै मैदानमा होमिएको बताउँछन् । कपुरी भने चुनावी प्रक्रियामै अगाडि बढ्नुु पर्ने धारणा राख्छन् । ‘सर्वसम्मत भए मलाई अध्यक्ष छाडिदिनु पर्छ, होइन भने चुनाव गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनाव भयो भने म जित्नेमा विश्वस्त छु ।’ सर्वसम्मतको प्रयासमा अध्यक्ष नाडाका अध्यक्ष ध्रुब थापा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने बताउँछन् । ‘उहाँहरू मिल्नुभयो भने सर्वसम्मतरूपमा एक जना अध्यक्ष बन्नुहुन्छ, मिल्नु भएन भने चुनाव हुन्छ तर, यस्तो समयमा चुनाव हुनु हुन्न भन्ने पक्षमा म छु,’ उनले भने । निर्वाचन भए कडा प्रतिस्पर्धा हुने थापाको भनाइ छ । नाडाको निर्वाचन भएमा अध्यक्षहरूको छुट्टाछुट्टै प्यानल हुने सम्भावना देखिन्छ । थापा नाडाको विकासको लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्छन् । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । हालसम्म अध्यक्षको उम्मेदवारको चर्चा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने टुङ्गो लागेको छैन ।
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?
काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको हो । गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेसन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेसन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलोपटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताउँछन् । हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता नहुने देखिएको छ । नेपालको कानुनले हाइड्रोजन इन्धनमा आधारित सवारी साधनलाई नचिन्ने भएकाले दर्तामा अन्योल सिर्जना भएको डा. थापाको भनाइ छ । ‘नेपालको कानुनले हालसम्म पेट्रोल, डिजेल र ब्याट्रीबाट चल्ने गाडी मात्रै दर्ता गर्नसक्ने व्यवस्था गरेको छ । त्यसैले कानुनी व्यवस्था नभएसम्म यसलाई दर्ता गर्न मिल्दैन,’ थापाले भने, ‘कानुनी व्यवस्था नभएसम्म विश्वविद्यालयको अनुसन्धान कार्यका रूपमा मात्रै यो गाडी प्रयोग गर्छौँ ।’ हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेसनको अनुसन्धान गर्नु रहेको उनको भनाइ छ । हाइड्रोजन गाडीको ‘डेमोस्ट्रेसन’ले हाइड्रोजनको उपयोग र महत्वबारे थप प्रष्ट पार्न सहयोग पुग्ने अनुसन्धान टोलीको विश्वास छ । ल्याब प्रमुख थापा भन्छन्, ‘हामीले तीन वर्षदेखि हाइड्रोजनबारे अनुसन्धान गर्यौं, हामीले बनाएको इन्धनबाट गाडी चलेपछि यसको महसुस जनताले गर्न सक्छन्, त्यतिमात्रै नभएर हाइड्रोजनको उपयोगसम्बन्धी कानुन निर्माणमा समेत यसले सकारात्मक भूमिका निर्वाह गर्न सक्छ ।’ अहिलेसम्म केयूको ल्याबले पेट्रोल गाडीलाई विद्युतीय बनाउनेदेखि नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट खाना पकाएर देखाएको छ । ल्याबमा पाँच जना विद्यावारिधिसहित २२ जना अनुसन्धानकर्ताले काम गर्दै आएका छन् । मूलतः हाइड्रोजन र यससँग सम्बन्धित उत्पादनको सम्बन्धमा आर्थिक–प्राविधिक मूल्यांकन गर्नु ल्याबको मुख्य उपलब्धि रहेको प्रमुख थापा बताउँछन् । कसरी बन्छ हाइड्रोजन ? पानीलाई रासायनिक प्रतिक्रियामार्फत टुक्र्याएरपछि हाइड्रोजन र अक्सिजन बन्छ । नौ लिटर पानीलाई रासायनिक प्रतिक्रियाबाट टुक्र्याउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । त्यसरी टुक्र्याउन ५० देखि ६० युनिट विद्युत् खर्च हुने उपप्राध्यापक थापा बताउँछन् । यो हिसाबले हेर्दा हाइड्रोजन उत्पादनको लागत विद्युत्को मूल्यमा निर्भर हुने उनको भनाइ छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न २ सय ५० देखि तीन सय रुपैयाँसम्मको विद्युत् खर्च हुने तथा पावर प्लान्टमा गरिने लगानी र प्रशासनिक खर्चलगायत आधारमा नेपालमा एक किलोग्राम हाइड्रोजनको लागत ५ सय रुपैयाँ पर्ने अनुसन्धानकर्ताको अनुमान छ । बर्खायाममा नेपालमा सयौँ मेगावाट विद्युत् खेर गइरहेको अवस्था छ । त्यसलाई न्यूनतम मूल्यमा प्रयोग गर्न सक्दा निकै सस्तो मूल्यमा हाइड्रोजन उत्पादन हुनसक्ने प्रमुख थापाको भनाइ छ । उनका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले नेपालमा १.५ देखि १.७५ युरो अर्थात् प्रतिकेजी २ सय रुपैयाँमा हाइड्रोजन उत्पादन सम्भव रहेको देखाएका छन् । यो विश्वका अन्य देशको तुलनामा सबैभन्दा सस्तो हो । हाइड्रोजनले यात्रुवाहक सवारीसाधनमा प्रतिकिलो २ सय किलोमिटरभन्दा बढी ‘रेञ्ज’ दिने अन्तर्राष्ट्रिय अनुभव रहेको उनको भनाइ छ । विश्वविद्यालयले ल्याएको उक्त गाडी ६.५ किलोग्राम हाइड्रोजन फ्युल क्षमताको छ । यसबाट करिब १ हजार २ सय किलोमिटरको यात्रा गर्न सकिने प्रमुख थापाको जिकिर छ । अहिले पेट्रोलियम सवारीको प्रतिकिलोमिटर इन्धन लागत १५ देखि २० रुपैयाँ पर्छ । हाइड्रोजन फ्युलको लागत यसको तुलनामा निकै सस्तो हो । ब्याट्रीबाट चल्ने गाडीकोभन्दा यो शुल्क महँगो भए पनि ब्याट्रीको फेर्ने खर्चकोसमेत हिसाब गर्दा यसको लागत कम पर्ने अनुसन्धानकर्ताको दाबी छ । यससँगै विश्वविद्यालयले हाइड्रोजनमै आधारित रहेर बन्ने मिथेन र एमोनिया ग्यासबारेसमेत अध्ययन गरिरहेको छ । मिथेन हाइड्रोजन र कार्बनडाइअक्साइडको रासायनिक प्रतिक्रियाबाट बन्छ, यसलाई प्राकृतिक ग्यास भनिन्छ, जुन खाना पकाउने एलपिजीको प्रतिस्थापनदेखि औद्योगिक हिटरमा समेत प्रयोग गर्न सकिन्छ । हाइड्रोजनलाई नाइट्रोजनसँग रासायनिक प्रतिक्रिया गराउँदा एमोनिया बन्छ । नाइट्रोजन हावामा सबैभन्दा बढी पाइने ग्यास हो । यसरी बन्ने एमोनियाको प्रयोग पानीको प्रशोधन, चिस्यान केन्द्रलगायत औद्योगिक प्रयोजनका लागि हुन्छ । एमोनियालाई कार्बनडाइअक्साइड र अक्सिजनसँग रासायनिक प्रतिक्रिया गराए युरिया मल बनाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ । विश्वविद्यालयले बागमती प्रदेश सरकारसँग मिलेर यस सम्बन्धमा अध्ययन गरेर युरिया मल बनाउन सकिने निष्कर्ष निकालेको थियो । पेरिस सम्झौताले सन् २०५० सम्ममा सबै सदस्य राष्ट्रले कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्ने घोषणा गरेको छ । सो घोषणालाई पूरा गर्न हाइड्रोजन ऊर्जाको प्रयोग बढाउनु उपयुक्त रहेको बताइन्छ । अमेरिका, चीन, जापान, युरोपेली मुलुकले पनि नवीकरणीय ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जन कम गर्ने उद्घोषका साथ विभिन्न नियम, कानुन बनाएका छन् भने हाइड्रोजन, सौर्यलगायत नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् । अनुसन्धानको यो तीन वर्षमा डा. थापा नेतृत्वको टोलीले हाइड्रोजनको अनुसन्धानका साथै यसको महत्वका बारेमा जानकारी गराउने काम गरेको छ । सोही कारण ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोजनको उत्पादन तथा उपयोगको सम्बन्धमा राष्ट्रिय नीति बनाउन समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनका आधारमा अहिले मन्त्रालयबाट राष्ट्रिय नीति तयार भई अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ । नीतिका लागि बनेको तीनवटै समितिमा विज्ञ सदस्यसमेत रहिसकेका डा. थापा अहिलेसम्म आफ्नो टोली गरेको कार्यबाट सन्तुष्ट छन् । तर, यसको व्यावसायिकीरण नभएर अवसर गुमाउनुपर्ने हो कि भन्ने उनको चिन्ता छ । ‘तीन वर्षअघि सुरु भएको अनुसन्धान आजसम्म आइपुग्दा तल्लो तहसम्म हाइड्रोजनको महत्वबारे सन्देश पुर्याउन सफल भएका छौँ, यो खुसीको कुरा हो,’ थापा भन्छन्, ‘अब व्यापारिक दृष्टिकोणबाट काम थाल्नुपर्छ ।’ रासस
ईभी बजारमा बीवाईडीको नयाँ रेकर्ड, बनायो ६० लाख न्यू इनर्जी भेहिकल
काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो । यससँगै कम्पनीले विद्युतीय सवारी उद्योगमा नयाँ रेकर्ड बनाउँदै द्रुत गतिको निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । बीएओ ५ बीवाईडीको फ्याङ्चेङ्गबाओ उप ब्राण्ड अन्तर्गतको एसयूभी हो । बीवाईडीको विविध ब्रँड मैट्रिक्सहरुमा डाइनेष्टि र ओसियन सिरिज, फ्याङ्चेङ्गबाओ, डेन्जा र याङ्वाङ् जस्ता विभिन्न ब्राण्डहरु उपलब्ध छन् । गत अक्टोबरमा मात्रै बीवार्ईडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हाँसिर गरेको थियो । २०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय साधनहरु अब ७० भन्दा बढी देशको चार सय भन्दा बढी सहरहरुमा सञ्चालन छन् । न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ । हाल कम्पनीले ५८ देशका विभिन्न क्षेत्रमा २ लाखभन्दा बढी ग्राहकहरु बिक्री गरिसकेको छ ।