अर्को पटकको अध्यक्ष म नै हो : आकाश गोल्छा
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका उम्मेदवार आकाश गोल्छाले अर्को पटक आफू नै नाडाको अध्यक्ष बन्ने बताएका छन् । मंगलबारको बैठकले करण चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेपछि अर्को पटक आफूलाई नै अध्यक्ष बनाउने सहमति भएको उनले बताएका हुन् । अर्को पटक आफूलाई सहयोग गर्ने प्रतिवद्धता पाएपछि आफूले समर्थन गरेको उनको भनाइ छ । ‘सहमतिमा एक जनाले छोड्नु नै थियो, करण सर अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजित भएको र यस पटक पनि इच्छा देखाएकोले सहमतिमा हामी ब्याक भएका हौं, पूर्व अध्यक्षहरूले पनि मिलेर जानु पर्छ भनेर सुझाव दिनुभयो, अहिले अर्थतन्त्र समस्यामा परेको बेला मिलेर नै जानुपर्छ भनेपछि हामी सहमतिमा गएका हौं,’ गोल्छाले विकासन्युजसँग भने । उनले नयाँ बन्ने कार्यसमितिमा आफू पनि रहने बताएका छन् । तर, पद भने उनले खुलाउन मानेनन् । सम्भवतः उनी वरिष्ठ उपाध्यक्ष बन्ने चर्चा पनि छ । गोल्छासँगै करण चौधरी र प्रकाश कपुरी नाडाको अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर, अन्ततः गोल्छा र कपुरीले चौधरीलाई समर्थन गरेका हुन् ।
नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालकाे अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । मंगलबार बसेको तीन जना उम्मेदवारहरूबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति भएको हो । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बन्ने भएका हुन् । ‘अब नाडाको अध्यक्ष करणजी बन्नुहुन्छ, दुवै उम्मेदवारले उहाँलाई नै समर्थन गर्नुभयो, अब दुई वर्षको कार्यकालका लागि उहाँ नै अध्यक्ष बन्नुहुन्छ,’ अध्यक्ष थापाले भने । पुस २० र २१ गते हुने नाडाको ४७औं साधारण सभाबाट चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् । अध्यक्षका आकांक्षीहरूले निर्वाचनको पनि तयारी गरेपछि अध्यक्ष थापाले सहमतिका लागि आज बैठक बोलाएका थिए । उनले बोलाएको बैठकले सफलता पनि पाएको छ । अर्थतन्त्रमा एक किसिमको मन्दी सिर्जना भइरहेको अहिलेकाे अवस्थामा निर्वाचन नगरेर सहमतिबाटै अगाडि बढ्नु पर्ने अडान थापाको थियो । त्यसैका लागि उनले आजकाे बैठक बोलाएका थिए ।
बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड
काठमाडौं । बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोबेष्ट’ले प्रदान गर्दै आएको छ । उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए । यसका लागि अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेष्ट पत्रकारहरुले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् । उनीहरुले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो । अटोबेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाईडीको मोडललाई ‘बेस्ट बार्ई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’ मूल्य र गुणस्तर जुरीहरुले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ । नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए । सुरक्षित र फराकिलो युरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० ई–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाई ४२९० एमएम, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ एमएम छ । डल्फिनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिइएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ । ब्लेड ब्याट्री बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ । अटोबेष्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’ अटोबेष्टका प्रमुख भान भार्डीले बीवाईडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारिक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३औं अटोवेष्ट गालामा गरिने छ ।