मारुती कारले दुई गाडीमा हाइब्रिड भेरियन्ट ल्याउँदै

काठमाडौं । मारुती सुजुकीले आफ्ना दुई गाडीमा छिट्टै नै हाइब्रिड भेरियन्ट ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक र सेडान कारलाई हाइब्रिड बनाउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक कार स्वीफ्ट र सेडान कारमा हाइब्रिड भेरियन्ट डिजाइन थपेर छिट्टै नै भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ । यी कारको अहिलेको डिजाइनमा समेत परिवर्तन हुनसक्ने र कम्पनीले यी कारको फेसलिफ्ट डिजाइन ल्याउन सक्नेछ । हाइब्रिड भेरियन्टले ग्राहकलाई धेरै फाइदा पुग्न सक्ने साथै एक लिटर पेट्रोलमा ३५ किलोमिटरसम्म चलाउन सकिने छ । कम्पनीले बलियो हाइब्रिडसँगै माइल्ड हाइब्रिड समेत दिनसक्ने जनाइएको छ । एजेन्सीको सहयोगमा ।

बीवाईडीले ५० लाख गाडी सार्वजनिक गर्यो

काठमाडौं । बीवाईडीले ५० लाखौं गाडी सार्वजनिक गरेको छ । गत अगस्ट ९ तारिखका दिन बीवाईडीको डेन्जा एन७ गाडीले सो माइलस्टोन हासिल गरेको हो । यति धेरै न्यु इनर्जी भेइकल उत्पादनको लक्ष्य हासिल गर्ने बीवाईडी विश्वकै पहिलो कम्पनी समेत बनेको छ । बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चान्फुले ५० लाखौ सवारी साधन सार्वजनिक गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक क्षण भएको बताए । सो अवसरमा उनले कम्पनीलाई विश्वास गरी सो लक्ष्य हासिल गर्न सफल बनाउने सम्पूर्ण ग्राहक तथा अटोमोबाइल उद्योगका सहकर्मी एवं कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे । बीवाईडीले १० लाखौ न्यु इनर्जी भेइकल उत्पादनका लागि १३ वर्ष कुर्नुपरेको थियो । अर्को १८ महिनामा त्यस्ता ३० लाख र त्यसपछिको ९ महिनामै ५० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ । कम्पनीका लागि सन् २०२२ निकै नै उल्लेख्य रह्यो । यो वर्ष १८ लाख ६० हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भयो । सो कार्यले सन् २०२३ मा पनि निरन्तरता पाएको छ । जनवरी देखि जुलाई सम्मको अवधिमा १५ लाख सवारी साधन बिक्री गर्न कम्पनी सफल भएको छ । ती मध्ये ९२ हजार ४६९ सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न कम्पनी सफल भएको छ, जुन सन् २०२२ को पुरै वर्षमा बिक्री गरिएको भन्दा बढी संख्या हो । जुलाई महिना सम्ममा बीवाईडीले विश्वभर ४८ लाख भन्दा बढी न्यु इनर्जी भेइकल बिक्री गरिसकेको छ । सन् २०१० देखि बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउदै गएको छ र सार्वजनिक यातायातका लागि न्यु इनर्जी बस र ट्याक्सी समेत उपलब्ध गराइरहेको छ । विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले सार्वजनिक यातायातका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको छ । हाल विश्वका ५४ भन्दा बढी देशमा बीवाईडीका एट्टो ३ लगायतका न्यु इनर्जी भेइकल उपलब्ध छन् ।

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ सुरु हुँदै, ४ जना ग्राहकलाई होलिडे प्याकेज

काठमाडौं । सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ हुने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो । मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।