दुई करोड पर्ने फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो

काठमाडाैं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा भित्रिएकाे छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन गरिएको यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन् जसले अफ रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ । अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट ख्ट पेट्रोल ईन्जिन जडान गरिएकाे छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर ¥यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ । नेक्स्ट–जेन रेन्जर ¥यापटरमा चालकले ईलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एडजस्ट सिस्टमद्वारा आफ्नो र्यापटरको आवाज चार एडजस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाईट, नर्मल, स्पोर्ट र बाजा । वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर ¥यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ । यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर–¥यापटरको ड्राईभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर ¥यापटरमा फक्स २.५ इन्च लाइभ भाल्भ इटर्नल बाइ पास सक अब्र्जबर रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ । नयाँ नेक्स्ट–जेन रेन्जर र्याटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा । नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई ¥यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । र्यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् । नेक्स्ट–जेन रेन्जर र्यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ ईन्च डिजिटल क्लस्टर र १२ ईन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको सिन्कका साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफरोड स्क्रिन समावेश छन् । फोर्ड रेन्जर र्यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लि.भिसिक्स पेट्रोल र १०–स्पीड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्यापटरको मूल्य २.१५ करोड तोकिएको छ ।

निर्वाचन नजिकिएसँगै सवारी साधनको बुकिङ बढ्यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए । ‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहेका छन्’, उनले भने । महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।

ग्रेडर मेसिन हाँक्दै दाङकी अनिता

घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आएकी छिन् । उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन् । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छिन् । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन् । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, चालक अनिता बताउँछिन् । ‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए’, उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।’ घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँछन् । उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछन् । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन् । तर उनीसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन् । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला थिइन् । ‘पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफल भए, अनिता भन्छिन् । उनले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरिन् । ‘ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो’, उनले भनिन्, ‘विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनि बताउँछिन् । ‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्छिन्, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ’, अनिताले भनिन्, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।’ अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुन् । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरेकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन् । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छन् । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको ‘, अनिताले भनिन् ।