हाइड्रोजन कार किन्दैछन् प्रधानमन्त्री प्रचण्ड, ३३ सयको हाइड्रोजनले १३०० किमी गुड्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइड्रोजनबाट चल्ने गाडी चढ्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन गाडी चड्न प्रस्ताव गरेको र त्यसमा आफू सहमत भएको उनले बताए । ‘प्रधानमन्त्रीको रुपमा तपाईले अब पेट्रोल वा डिजेलबाट चल्ने गाडी चढ्ने होइन, हाइड्रोजन गाडी चढ्नु पर्यो भन्नुभयो’ प्रचण्डले भने-‘हामीले प्रधानमन्त्री कार्यालयमा छलफल गरेका छौं । म हाइड्रोजनबाट चल्ने गाडी चढ्ने तयारीमा छु ।’ विकसित देशहरुमा हाइड्रोजनबाट चल्ने गाडीको संख्यामा गुणात्मक वृद्धि भएको पनि उनले बताए । नेपालको यातायत क्षेत्रमा विद्युतीय र हाइड्रोजन गाडीको बजार विस्तार र ग्रीन इनर्जीको प्रयोगलाई सरकारले प्रोत्साहित गर्ने उनले बताए । निजी क्षेत्रबाट बनेको सबैभन्दा ठूलो जलविद्युत आयोजना सोलुखोला जलविद्युत (८६ मेगावाट) को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड बोल्दै थिए । एक ट्यांक (पाँच किलाेग्राम) हाइड्रोजनले १ हजार ३ सय किलोमिटर भन्दा धेरै माइलेज दिने कारहरु विश्व बजारमा उपलब्ध भैरकेका छन् । एक किलाेग्राम  हाइड्रोजनकाे मूल्य विश्व बजारमा ३ देखि ५ अमेरिकी डलर पर्छ । तसर्थ  करिव ३३ सय रुपैयाँकाे इन्धनले  हाइड्रोजन १३०० किलाेमिटर गुड्ने देखिन्छ । कारमा हाइड्रोजन भर्न १ मिनेटमात्र लाग्नेछ । चीन, जापान, कोरिया, जापान लगायत विश्वका विकसित देशहरुले देशले हाइड्रोजन कार उत्पादन तथा विक्री वितरणमा जोड दिदै आएका छन् । २०३० सम्ममा नेपालमा पनि शून्य प्रदूषण सवारी नीतिमा जाने लक्ष्य रहेको छ । ग्रीन मोबिलिटीमा जाने सरकारको नीतिलाई प्रोत्साहित गर्न विद्युतीय सवारीको साथै हाइड्रोजन सवारीको प्रयोगलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको छ ।

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए । ‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ दशमलव ६० महसुल निर्धारण गरेको छ’, विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट आठ दशमलव ५० विद्युत् महसुल निर्धारण गरिएको छ ।’ ‘चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ’, चालक मोहन थापाले भने, ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडाैं पुगेर आउँदा कम्तीमा १० हजारको तेल मात्रै खर्च हुन्थ्यो’, उनले थपे, ‘विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ ।’ रासस

चांगन एक्सचेन्ज कार्निभल सुरु, २.५ लाखसम्मको नगद छुट

काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान अल्सिभिन र यसै चांगनको प्रिमियम पिकअप हन्टरसँग साट्न सक्नेछन् । ग्राहकहरुलाई यस अफर अन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउनु सक्ने कम्पनीले बताएकाे छ ।