सवारी करमा ५ वटा हेरफेर, ३ बुँदा राम्रो, २ बुँदा खराव

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल बजेटको तीन बुँदामा स्वागत गरेको भने तीन बुँदामा विरोध गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने नीति लिएकोमा नाडाले स्वागत गरेको छ । त्यसैगरी सरकारले १०० किलोवाट क्षमताका विद्युतिय सवारी साधन, १५०० सि.सि सम्मका कम्बसन इन्जिन भएका सवारी साधन लगायत २०० सि.सि.सम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुलाई आवश्यकताको सवारी साधनको रुपमा लिएको तिनमा करको दर वृद्धि नगरेकोमा पनि नाडाले बजेटको स्वागत गरेको छ । त्यस्तै नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि जुन बजेटको व्यवस्था गरेको छ त्यसले नेपालमा चादै नै प्रदर्शनीहल निर्माण हुने अपेक्षा गरिएको नाडाले जनाएको छ । तर, अर्कोतर्फ यस बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधन तथा २०० सिसि भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोे छ, त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुने नाडाको भनाई रहेको छ । यसरी कर वृद्धि गर्दा आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिएकोले यसमा लाग्ने महशुलमा केही सुधारको आवश्यकता रहेको नाडाको भनाई छ । त्यसैगरी यस बजेटले सवारी साधन नविकरण तथा लाइसेन्स नविकरण गर्दा अनिवार्य रुपमा प्यान कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेकोमा विरोध गर्दै यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र गरिनु न्यायोचित भएको नाडाको भनाई छ ।

सोमबार साँझदेखि खुल्दै सवारी लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं । लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रका (नयाँ तथा वर्ग थप) अनलाइन आवेदन सोमबार साँझदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै साँझ ६ बजेदेखि नयाँ अनलाईन आवेदन खुल्ने जनाएको हो । विभागले आजदेखि नयाँ अनलाईन आवेदन खुला गरिएको जनाउँदै अर्काे साताको सोमबारबाट खुला गरिने जनाएको छ । सेवाग्राहीको अधिक चाप र सर्भरमा समस्या देखिएपछि विभागले गत चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो ।

एसेम्बलीङ उद्योगमा पाटपूर्जा आयात गर्दा ५० र आयकरमा ४० प्रतिशत छुट

काठमाडौं । सरकारले नेपालमा नै सवारी एसेम्बल गर्ने उद्योगलाई छुट दिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले चार पांग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलाई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन । यस्तै, उनले चार पांग्रे सवारी साधन खरिद गर्दा अनिवार्यरुपमा स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था मिलाइने समेत बताए । उनले नेपालमै सवारीसाधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४० प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरे । यस्तो आयकर छुट कारोबार शुरू गरेको ५ वर्षसम्म दिइने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख छ ।