नाडा अटो शो भदौ ७ देखि १२ गतेसम्म हुने, बिहीबारदेखि स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेदेखि हुन लागेको हो । नाडाले भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५ औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने जनाईएको छ । सिमित स्थान भएको र प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकोले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरुमा कमर्शियल भेहिकल नराखिएको र धेरै अबलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्शियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

गगन थापा भन्छन् : इम्बोस्ड नम्बरमा धम्की दिने काम बन्द गर्नु पर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गरे । नम्बर प्लेट जडान गर्दा अत्यधिक शुल्क लिइएको, त्यसको गुणस्तरसमेत नभएको भन्दै प्रयोगकर्तालेसमेत गुनासो गरेका छन् । निजी सवारी साधनमा अनिवार्यरुपमा आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको सूचनामा उल्लेख छ । एकैपटक १५ लाख बढी सवारी साधनमा उक्त नम्बर प्लेट जडान गर्नुपर्नेछ । त्यस आधारमा दैनिक पाँच हजार ५०० जनाले सवारी साधनमा उक्त नम्बर प्लेट राख्नुपर्ने देखिएको सांसद थापाको भनाइ छ । भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै उहाँले त्यसमा सरकारकोसमेत दायित्व हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे । भारत र बङ्गलादेशको तुलनामा असाध्यै महँगो रहेको सो नम्बर प्लेट नागरिकले सस्तो र गुणस्तरीय पाउनुपर्नेमा जोड दिए । सांसद थापाले भने, ‘सरकारले जबर्जस्ती बन्द गरोस् होइन भने नागरिकले अवज्ञा गर्नेछन् ।’ सांसद थापाले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमा हुन नसकेकामा आपत्ति प्रकट गर्नुभयो । अन्य देशमा आफ्नै देशको लिपीमा हुनसक्ने, नेपालमा भने किन हुन सकेन भनेर नागरिकस्तरमा प्रश्न उठेको सांसद थापाको भनाइ छ । तोकिएको जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालयले पूरा नगरेको यातायात व्यवस्था विभागका महानिर्देशकले नै सार्वजनिकरुपमा बताउनुभएको तथ्य पेश गर्दै उनले जिम्मेवारी पूरा नगर्नेलाई कारवाही गर्ने कि नागरिकलाई डर देखाएर तर्साउने भन्दै जिज्ञासा व्यक्त गरे । सांसद समिना हुसनेले हजयात्रीलाई दोब्बरभन्दा बढी शुल्क लिएको भन्दै त्यससँग जोडिएकालाई कारवाहीको दायरामा ल्याउन माग गरिन् । त्यस्तै सांसद यज्ञबहादुर बोगटी र रामबहादुर विष्टले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्यमा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरे । उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

फाइल फाेटाे काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महँगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ । सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मेहम्मे पर्ने तथा आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान किसानलाई हम्मेहम्मे पर्ने गरेको छ । केही समय अघिसम्म छालिङमा सार्वजनिक यातायात सञ्चालन भएको भएता पनि हाल बन्द हुँदा नजिकका आफन्तले समेत हेला गर्ने गरेको छालिङका स्थानीय गोकर्ण पुरीले बताए । विकासको क्षेत्रमा छलाङ मारेपनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको स्थानीय गोविन्द थापा बताउँछन् । यसैबीच राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भए पनि यातायात सेवा नहुँदा झौखेल र छालिङवासीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गरेका छन्। चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच विस्तारका लागि उनी जुट्नथालेका छन् । यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीकोे समस्या समाधानका लागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु गरेको बताए । “चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामीण परिवेशभन्दा फरक छैन”, नगर प्रमुख खत्रीले भने, “जहाँ यातायातको सेवा नहुँदा काठमाडौँबाट नजिक भए पनि धेरै टाढाको दूरदराजको गाउँ जस्तो महसुस हुने गरेको छ ।” उनले चाँगुनारायणको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन भइरहेका सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न र नियमित समय तालिका निर्माण गरी सञ्चालन गर्न यातायात व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेको समेत बताए । छलफलका क्रममा समितिका पदाधिकारीले झौखेल र छालिङमा एक महिनाभित्र यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नगरका सडकको सुधार गर्नुपर्ने, विगतमा यातायात सञ्चालन गर्दा अनेक समस्या आएकाले त्यस्ता समस्या फेरि दोहोरिन नदिन नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए ।