विद्युतीय कार उत्पादन गर्न उद्योग खोले घिमिरेले, साझेदारीका लागि तीन देशका कम्पनीसँग छलफल
काठमाडौं । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा परिचित व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमै विद्युतीय सवारी साधान एसेम्बल गर्ने उद्योग खोल्ने भएका छन् । घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता गरेका हुन । उनले देशभित्रै दुई पांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि नयाँ उद्योग दर्ता गरेका हुन् । घिमिरेले ३ अर्ब रुपैयाँ लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा उद्योग रहने जानकारी दिए । उनले उद्योग दर्ता गरेर आवश्यक तयारी थालिएको बताए । ‘अहिले उद्योग दर्ता मात्रै भएको हो, आवश्यक तयारीमा नै छौँ, उत्पादन नै सुरु भएको होइन, उद्योग विभागमा दर्ता गरेर आवश्यक तयारी थालेको हो’, उनले भने । उनले उद्योगका लागि आवश्यक पर्ने कानुनीदेखि लागत, साझेदार भित्र्याउने विषयमा विदेशी कम्पनीहरुसँग परामर्श भैरहेको बताए । ‘भारत, चीन र कोरियामा रहेका विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुसँग साझेदारीको कुराहरु भैरहेको छ, कुन देशको कुन कम्पनीसँग साझेदारी गर्ने भन्ने विषय टुङगिसकेको छैन, हामीसँग अटो उत्पादनको अनुभन छैन, विद्युतीय गाडी उत्पादन गरेका मल्टी नेशनल कम्पनीसँग जोइन्ट भेन्चरमा उद्योग सञ्चालन गर्ने योजनाका साथ कुरा हुँदैछ,’ उनले भने । उनले राम्रो कम्पनीसँग साझेदारी गर्न सकिए नेपालसँगै छिमेकी देशमा गाडी निर्यात गर्न सकिन्छ कि भन्ने योजना सहित तयारीका कामहरु भैरहेको बताए । ‘विद्युतीयसँगै डिजेट तथा पेट्रोलियम पदार्थका गाडीहरु समेत उत्पादन गर्ने गरी उद्योग दर्ता गरिएको छ, तर हाम्रो टार्गेट डिजेल पेट्रोलका गाडीभन्दा पछि विद्युतीय गाडी उत्पादन गर्ने हो, विश्वका विकसित देशले २०३० भित्रमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी विस्थापन गरी विद्युतीय बनाउने उद्घोष नै गरिसकेका छन्, सोही अनुसार हाम्रो टार्गेट पनि विद्युतीय गाडी नै हो’, उनले भने । आफू विगत ३० वर्षदेखि उर्जा क्षेत्रमा नै आवद्ध भएको र सोही क्षेत्रमा आफ्नो अनुभव भएकोले अनुभव अनुसार नै नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको घिमिरेले बताए । उनले एकै उद्योगबाट विद्युतीय, चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेका छन् । उनले उद्योगका लागि बारामा ३२ बिघा जग्गा खरिद गरिसकेको बताए । घिमिरेले हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकलको व्यापार गर्दै आएका छन् । उनले एलपी ग्यास, अक्सिजन ग्यास तथा जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । उनले उद्योग विभागमा दर्ता गराएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ । यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ । उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् भने उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ ।
चौधरी ग्रुप विद्युतीय सवारीको व्यवसायमा प्रवेश, नेपाल भित्र्यायो निटाको ३८ लाख पर्ने कार
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले वातवरण मैत्री विद्युतीय सवारीको व्यापार शुर गरेको छ । बुधबार निटा ब्राण्डको विद्युतीय कार निटा सार्वजनिक गर्दै कम्पनी विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो । निटा ब्राण्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो जोन अटोमोबाइल कम्पनीले उत्पादन गर्दै आएको कार हो । सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयत घटाइ व्यापार घाटा कम गर्ने सरकारको नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्युतीय सवारीको प्रवर्द्धन थालेका बताए । अधिकांश सवारी उत्पादनले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको भएकाले निकै इफिसियन्ट रहेको कम्पनीको दाबी छ । यस कारले एकपटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । पाँच जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ । ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।
बजेटको असर : पल्सर २२० एफको मूल्य २० हजारले बढ्याे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत २०० सीसी माथिका दुई पाँग्रे सवारी (मोटरसाइकको) भन्सार तथा अन्तशुल्क महशुल बढाएसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ । नेपालमा विभिन्न कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएका कम्पनीहरुले मूल्य बढ्न थालेको जनाएका छन् । बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्ने दुई पाँग्रे सवारीको मूल्य बढेको जनाएको छ । कम्पनीले बिक्री वितरण गर्दै आएका मोडलमध्ये बजेटका कारण तीन मोडलका बाइकको मूल्य बढेको जनाएको छ । बजेटका कारण बजाजका बाइकको मूल्य ३ हजारदेखि २० हजार रुपैयाँसम्म मूल्य बढेको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै तीन मोडलको मोटरसाइकलमा मूल्य वृद्धि भएको जनाएको छ । मूल्य वृद्धि हुनेमा बजाज पल्सर १५०, पल्सर २२० एफ र एभेन्जर २२० रहेको छ । अन्य मोडलको मोटरसाइकलको मूल्य भने यथावत रहेको मूल्यसूचीमा उल्लेख छ । आजदेखि बढ्यो मूल्य कम्पनीले जेष्ठ २५ गते अर्थात बुधबारदेखि लागू हुने गरी पल्सर १५० को सिंगल डिस्क भर्सनमा ३ हजार रुपैयाँ, एभेन्जर २२० क्रुजरमा ३ हजार र पल्सर २२० एफमा २० हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । यी तीन मोटरसाइकलको नयाँ मूल्य क्रमशः २ लाख ८२ हजार ९००, ३ लाख ९९ हजार ९०० र ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै २०० सीसी माथिका मोटरसाइकलको भन्सार तथा अन्तशुल्क महशुल बढेको बताएका थिए । उनले सार्वजनिक गरेको बजेट अनुसार २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलको अन्तशुल्क ८० प्रतिशतले बढेको छ । हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो ।