दक्षिण एसियाकै ठूलो विद्युतीय गाडीहरूको फ्लिट सञ्चालन गर्दै साइमेक्स
काठमाडौं । नेपालका लागि विवाइडी अटो इन्डस्ट्रिको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइडी इसिक्स इलेक्ट्रिक एसयुभी सञ्चालनका लागि सम्झौता गरेको छ । दक्षिण एसियामा नै सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरूको फ्लिट रहेको कम्पनीको दाबी छ । नेपालमा आरामदायी इलेक्ट्रिक गाडीहरूको फ्लिट सञ्चालन हुनु विवाइडी र स्पार्क ग्रुप दुवैका लागि कोसेढुंगा साबित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको जनाइएको छ । पाँचवटा इलेक्ट्रिक, इमिसन फ्री विवाइडी इसिक्स मोडलहरूबाट पहिलोपल्ट फ्लिट सुरु गरेको यसले आगामी दिनमा नयाँ गाडीहरू थप्ने योजना रहेको जनाएको छ । इलेक्ट्रिक प्रविधिमा आधारित विवाइडी इसिक्स गाडीहरूमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको कम्पनीको दाबी छ । यी गाडीमा विश्वभर १० करोड ट्याक्सी र एक करोड ४० लाख माइल प्यासेन्जर बसहरूमा प्रयोग भएर प्रमाणित भइसकेको युएल सर्टिफाइड आइरन–फोस्फेट ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ । साइमेक्स इन्कका सिइओ साहिल श्रेष्ठले विवाइडीका इमिसन फ्री इलेक्ट्रिक गाडीहरू नेपालमा प्रवर्द्धन गर्नका लागि विभिन्न अप्सनहरू हेरिरहेको बताए । आफूहरूले सेल्फ ड्राइभका रूपमा विश्वस्त उचित पार्टनर पाएको उनको भनाइ छ । सेल्फ ड्राइभका सिइओ रोशन पोखरेलले विवाइडीको इसिक्स मोडलले प्यासेन्जरलाई आरामदायी यात्रा गराउने, राम्रो रेन्ज र ¥यापिड चार्जिङ गर्ने सबै आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे ।
अब तीन दिनमा नयाँ लाइसेन्स: आज बायोमेट्रिक, भोलि लिखित परीक्षा र पर्सी ट्रायल
काठमाडौं । तपाई नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो, अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ ? दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लागि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दैछ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ । सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका निमित्त प्रमुख सञ्जय थापाले भने, ‘नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ, अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।’ लाइसेन्स वितरण, नविकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रबन्ध तथा राजस्व संकलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट ’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ । ‘हामी तीन वर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौँ, यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छाैं, विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो’, उनले भने । अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका बताइएको छ । करिब तीन वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत उनले विसं २०७७ पुस ५ देखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । उनले भने, ‘मैले तीन वर्षे कार्ययोजना बनाइ मेरो तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरेको गरेँ, ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्ययोजना कार्यान्वयन भइराखेको छ, यसले नतिजा दिन थालेको छ ।’ आइतबार मात्र बागमती प्रदेश मुख्यमन्त्री रोजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए । ‘मुख्यमन्त्री तथा श्रम, रोजगार तथा यातायात मन्त्री यातायात क्षेत्र कसरी सुधार गर्ने भन्नेमा धेरै चिन्तित हुनुहुन्छ, सेवा प्रवाह चुस्त र सहज बनाउन निर्देश, समन्वय तथा आवश्यक बजेटका लागि सहजीकरण गरिदिइरहनुभएको छ, कार्ययोजना कार्यान्वयनमा सहयोग गरिराख्नुभएको छ ।’ मुख्यमन्त्री पाण्डेले आफ्नो पदको कार्यभार सम्हालेकै दिन यातायात क्षेत्रको तत्काल सुधारका लागि यातायात कार्यालयद्वारा प्रदान गरिने सेवालाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश गरेका थिए । यसक्रममा उनले आफूले दिएका निर्देश के कति कार्यान्वयनमा आए भन्ने दैनिक जानकारी लिने व्यवस्था समेत मिलाएका थिए । श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिता दिएका छन् । उनले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गरेको मन्त्रालयले जनाएको छ । विचौलिया विनाको सेवा प्रवाह कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउ सेवा प्रवाह तालिका कार्यान्वयनमा ल्याएको छ । कार्यालयको आगनमा नै सबै सेवाग्राहीले देख्ने गरी कुन कोठामा के काम हुन्छ, त्यो काम कुन कर्मचारीको जिम्मेवारीभित्र पर्छ भन्ने जानकारीको सूचना पाटीे छ । निमित्त प्रमुख थापाले भने, ‘सेवा प्रावह तालिका कार्यान्वयनमा आएपछि सेवाग्राहीले विचौलियका हात समात्न परेको छैन, सेवाग्राहीले कोठामा रहेका कर्मचारीबाट सहज सेवा पाइरहेका छन् । यसका लागि मैले कर्मचारी साथीलाई सेवाग्राही मैत्री बन्न विशेष आग्रह तथा निर्देश गरेको छु । सेवाग्राहीका हरेक गुनासो म आफैले सम्बोधन गर्दै आइरहेको छु । मलाई भेट्न सेवाग्राहीलाई कुनै समस्या छैन । सेवाग्राही मलाई भेट्न होइन,म उहाँहरुलाई भेट्दै काम गरिदिन्छु । कार्यालय विचौलियामुक्त बनाएको छु ।’ सो कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा फैलिएको नेपालको सबैभन्दा ठूलो, अत्याधुनिक तथा सुविधा सम्पन्न सो भेहिकल एकेडेमीको क्षमता दुई हजारभन्दा बढी रहेको जनाइएको छ । कार्यालयले यातायातका सबै साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । कार्यालयले लाइसेन्सको लिखित परीक्षा हुने हललाई अत्यन्त व्यवस्थित बनाएको छ । लाइसेन्स नवीकरणका लागि सेवाग्राहीले घरमा बसेर नै टोकन लिने व्यवस्था छ, सबै कोठामा सिसीटिभी जडान गरिएका छन्, यसलाई मैले ‘मनिटर’ गरिहेको हुन्छ ,म यातायात क्षेत्रमा सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्छु, यस्तो पो होस् भन्ने सेवा भन्ने बनाउने प्रयत्नमा छु’, उनले भने । उनका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षासम्बन्धी केही नीतिगत परिवर्तनसमेत गर्न लागेको छ । लिखित परीक्षा उत्तीर्ण भएपछि तीन पटकसम्म ट्रायल दिन पाउने प्रावधानलाई संशोधन गरी ‘ट्रायल’ पास नभएसम्म दिन पाउने व्यवस्था गर्न लागिएको जनाइएको छ ।
विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, डेढदेखि दुई लाख रुपैयाँ पर्ने
काठमाडौं । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटो र माटो सुहाउँदो रहेको जिकिर गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नाष्ट परिसरमा आज आयोजित समारोहमा उक्त विद्युतीय स्कुटर आराम्भ गरिन् । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको लडाइँका कारण लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिनुपर्नेमा उनको जोड थियो । विद्युतीय सवारीसाधन उत्पादनका लागि अन्तर्राष्ट्रियरूपमा उपलब्ध प्रविधि नेपालमा ल्याउने कि नेपालमै नयाँ खोज गर्ने भन्नेबारेमा नास्टजस्ता संस्थाले अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन मन्त्री भुसालले आग्रह गरिन् । विद्युतको खपत वा भण्डारण गर्न सकिने वा नसकिने भन्नेबारेमा पनि उपयुक्त खोज गर्न आग्रह गर्दै उनले भनिन्, ‘विद्युतीय सवारीसाधन नेपालमा नै ‘मेड इन’ गर्ने कि ‘मेक इन’ गर्ने भन्नेबारेमा पनि नास्टले उपयुक्त सुझाव दिनुपर्छ ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिन सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले यहाँ प्रयोग गरेर बढी भएको बिजुली, भारत तथा बङ्गलादेशमा पनि निर्यात गर्न सकिने र त्यसका लागि वातावरण बनेको बताइन् । सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारीसाधन चलाउनेको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनले पठाउने मूल्यसूची र त्यसैका आधारमा निगमले निर्धारण गर्ने मूल्यका आधारमा आफ्ना सवारीसाधन चलाउने हरेक नागरिकले थप खर्चको जोहो गर्नुपर्ने वातावरण बनेको छ । कोरोनाका कारण आर्थिक उपार्जनका क्षेत्र क्रमशः कमजोर बन्दै गएको तर इन्धनको लगातार मूल्यवृद्धि भइरहँदा त्यसले हरेक घरका लागि आर्थिक सङ्कटको समस्या निम्त्याउँदै आएको छ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्न नागरिक बाध्य हुँदै गएका छन् । त्यसो त, सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिँदै आएकाले नागरिकले पनि यसप्रति चासो देखाउन थालेका तर उपयुक्त स्थानमा चार्जिङ स्टेशन नहुनु र पेट्रोलियम पदार्थ प्रयोग भएजस्तै सवारीसाधन उपलब्ध नहुनाले पनि बाधा उत्पन्न गरिरहेको छ । हरेक सामान बिक्री गर्ने बजारमात्रै नेपाल भइरहेको सन्दर्भमा सरकारी तहबाटै विद्युतीय स्कुटरबारे अध्ययन गरेर नास्टले तार्किक निष्कर्षमा पुर्याएको उपकुलपति डा सुनिलबाबु श्रेष्ठले बताए । नेपालका अधिकांश प्रतिष्ठानले प्रभावकारी काम गर्न नसकेको तथा खोजी अनुसन्धानमा नलागेको भन्ने गुनासोका बीचमा विद्युतीय स्कुटर निर्माण गरेर नयाँ सन्देश दिइएको चर्चा गर्दै उनले व्यावसायिकरूपमा विद्युतीय स्कुटरको कारखाना नै स्थापना गरेर उत्पादन गर्न चाहनेलाई मार्गप्रशस्त गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा एकपटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने विद्युतीय सवारीसाधन उपलब्ध भइसकेको छ । विद्युतीय सवारीसाधनको निर्माणमा चीन र भारत दुवै देशले ठूलो प्रगति गरिसकेका छन् । नेपालका सडकमा पनि विभिन्न नमूनाका विद्युतीय सवारीसाधन गुड्न थालिसकेका छन् । प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख एवं विद्युतीय स्कुटर निर्माण कार्यक्रमका प्रमुख डा रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको स्कुटर विकास गरिएको र व्यावसायिक उत्पादनका लागि समेत यो स्कुटर योग्य छ । प्रतिष्ठानले हालै यसको प्रोटोटाइप (नमूना) निर्माण गरेको हो । यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के–कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ । प्रतिष्ठानको परिसरमा नै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ । हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने बारेमा तयारी भइरहेको उनले जानकारी दिए । नेपालमै उत्पादनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ जनशक्तिसमेत तयार गरिएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो । एउटा स्कुटर बनाउन प्रतिष्ठानले तीन लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाखसम्ममा विद्युतीय स्कुटर उत्पादन गर्न सकिन्छ । नेपाल बजारमात्रै होइन, उत्पादनको थलो पनि बन्नुपर्छ भन्ने सोच राखेर आफूहरूले यसमा अध्ययन गरेको उल्लेख गर्नुहुँदै प्रमुख डा ढकालले विद्युतीय स्कुटर नेपालमै बनाउन सकिनेमा आफू आशावादी रहेको बताए । प्रतिष्ठानले उनकै संयोजकत्वमा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने अध्ययन पनि गरेको थियो । भारतको अघोषित नाकाबन्दीको समयमा गरिएको सो अध्ययन अवस्था सामान्य भएपछि त्यत्तिकै हराएर गए पनि त्यो प्रविधिलाई थप विकास र विस्तार गर्न सकिने जानकारहरुको भनाइ थियो । स्कुटर निर्माणमा टिम लिडरका रूपमा प्रह्लाद गुप्ताले विशेष भूमिका निर्वाह गरेका थिए । प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । प्रमुख डा ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ । विशेषगरी अधिकांश विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीकै समस्या देखिने गरेकाले नेपालमै लिड सेल ब्याट्रीको अनुसन्धान भइरहेको छ । प्रतिष्ठानले त्यसमा प्राविधिक तथा प्राज्ञिक सहयोग गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन जताततै चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम र नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहेका ढकालको भनाइ थियो । प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिसमेत विकास गरेको छ । देशभित्र नै विद्युतीय सवारीसाधन निर्माण हुनसक्छ भन्ने आत्मविश्वास जगाउन पनि नास्टले यस खालको भूमिका निर्वाह गरेको गरेको हो ।