हुन्डाईको गाडी किन्दा चार लाखसम्म छुट

काठमाडौं । नयाँ वर्षको अवसरमा हुन्दाईको गाडी किन्दा छुट र नयाँ वर्ष बोनस पाइने भएको छ । हुन्डाई अटोमोबाइलको नेपालका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेसँगै विभिन्न अफरहरू ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकहरूले चार लाखसम्म नगद छुट, नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार र मोडल योर डिस्काउन्टमा ९९ हजार रुपैयाँसम्म छुट तथा स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर पाइने कम्पनीले बजनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूबाट सेवा दिइएरहेको छ ।

विद्युतीय गाडीको मूल्यका विषयमा अध्ययन गर्दै आन्तरिक राजस्व विभाग

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा अन्तःशुल्क नलाग्ने व्यवस्था गर्‍यो । सरकारको घोषणा अनुसार विद्युतीय सवारी साधनको आयात तथा नेपालमा नै एसेम्बलिङ गर्ने उद्योगले अन्तःशुल्कमा छुट पाए । आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले विद्युत‍्को आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पूरै छुट गरी भन्सार महसुलसमेत घटाएको थियो । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा विद्युतीय सवारी आयात गर्दा भन्सार महसुल ८० प्रतिशतसम्म बढाएका थिए । भन्सार महसुलमा बृद्धि भएपछि विद्युतीय सवारीको आयातमा कमी आएको भन्दै सरकारले स्वदेशी विद्युतको उपयोगमा प्रोत्साहन गर्न अन्तःशुल्कमा छुटदेखि भन्सार महसुलसमेत घटाएको थियो । उपभोक्ताले पाएनन् छुट सरकारले करमा छुट दिए पनि त्यस अनुरूप बजारमा उपलब्ध विद्युतीय सवारीको मूल्य भने घट्न नसकेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् । यद्यपि, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा सरकारले २५० प्रतिशतभन्दा बढी कर लिने गरेको छ । उपभोक्ताले सरकारले दिएअनुसारको छुट नपाएको गुनासो आउने गरेको भन्सार विभागका अधिकारीहरू बताउँछन् । सरकारले बजेटमा छुट दिए पनि बजारमा विद्युतीय सवारीको मूल्य नघटेको भन्दै धेरै उपभोक्ताले गुनासो गर्ने गरेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् । ‘धेरै उपभोक्ताको गुनासो आउने गरेको छ, हामीले भन्सारको विषयमा मात्र हेर्ने हुँदा सरकारले दिएअनुसारको छुट पाए नपाएको विषयमा विभागीय छलफल भने हुने गरेको छ,’ उनले भने । भन्सार विभाग, आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको मासिक रुपमा हुने विभागीग छलफलमा समेत मूल्यको विषयमा कुरा उठेको उनले जानकारी दिए । उक्त बैठकमा विद्युतीय सवारीको मूल्यको विषयमा प्रश्न उठेपछि आन्तरिक राजस्व विभागले अध्ययन गर्ने भएको छ । कति तिर्नुपर्छ कर ? व्यवसायीले भारत लगायतका देशबाट विद्युतीय सवारी साधन नेपाल ल्याउँदा ४० प्रतिशतसम्म बढी कर तिर्ने गरेका छन् । भन्सार विभागले कार, जीप तथा भ्यान नेपाल ल्याउँदा किलोवाट क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ । विभागले १०० किलोवाटसम्मको क्षमता भएका विद्युतीय सवारी ल्याउँदा १० प्रतिशत भन्सार शुल्क, १०० देखि २०० किलोवाट क्षमतासम्म १५, २०० देखि ३०० सम्म ३० र ३०० देखि बढी क्षमता भएका साधान ल्याउँदा ४० प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तै, भन्सार शुल्कसँगै ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ । नेपाली बजारमा एमजी, ह्युन्डाई, किया, टाटा, महिन्द्रा र बीवाइडी लगायतका कम्पनीले उत्पादन गरेका चार तथा दुई पांग्रे विद्युतीय सवारीसाधन नेपालमा आयात हुने गरेका छन् । गुनासो आएको छैन : वाणिज्य विभाग बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विद्युतीय सवारी साधनको मूल्यको विषयमा कुनै गुनासो नआएको प्रतिक्रिया दिएको छ । सवारी साधनको विषयमा कुनै गुनासो नआएको विभागका निर्देशक हरि पंगेनी बताउँछन् । ‘हामी नियमित बजार अनुगमनमा हुन्छौँ, हाम्रो ध्यान वस्तुको मूल्य र गुणस्तरमा छ, मूल्य र गुणस्तरमा हामी केन्द्रीत भए पनि अहिलेसम्म सवारी साधनको मूल्य र गुणस्तरको विषयमा कुनै गुनासो आएको छैन, गुनासो नआएपछि हामीले ध्यान दिएका छैनाैं’, उनले भने । उनले विद्युतीय मात्र नभएर कुनै पनि सवारी साधनको मूूल्य र गुणस्तरको विषयमा विभागमा कुनै गुनासो नआएको दाबी गरे ।

हुण्डाइको दुई मोडेलका विद्युतीय कार नेपाली बजारमा : यस्ता छन् विशेषताहरू

काठमाडौं । नेपाली बजारमा हुन्डाइले नयाँ विद्युतीय गाडी सार्वजनिक भएका छन् । नेपालमा हुन्डाईको आधिकारसक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली अटो बजारमा दुइटा विद्युतीय कार भित्र्याएर सार्वजनिक पनि गरिसकेको छ । कम्पनीले हुण्डाइका ‘कोना’ र आइओनिक–५ सार्वजनिक गरेर अहिले बजारमा खरिद बिक्री भइरहेको छ । उत्कृष्ट ढंगले डिजाइन गरिएको गाडी आधुनिक सुविधायुक्त छ । आइओनिक–५को डिजाइनलाई कम्पनीले प्रिमियम विद्युतीय गाडीकै स्वरुप भनेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पूर्वाधार र अपरेसनहरूमा मिडिया वित्तीय बजार प्राधिकरण (एफएएम ) यात्रा अभिमुखीकरण कार्यक्रम गरेर कारको बारेमा पनि जानकारी दिएको छ । कम्पनीले विगत लामो समयदेखि विद्युतीय गाडीको विक्री गर्दै आएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेसँगै पछिल्लो समय नेपाली बजारमा सो सवारी साधनको माग पनि बढ्दो नै छ । विगत दुई वर्षदेखि बिक्री हुँदै आएको हुण्डाई कोना एक सफल क्रसओभर कार हो । कम्पनीका अनुसार नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने सुरक्षा र एड्भान्स कनेक्टिभिटी विशेषता पनि थप भएर आएको छ । कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्ट, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ । नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयूक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने छ । ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । यस्तै, आइओनिक ५को नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यो गाडी अन्य इलेक्ट्रिक गाडीको तुलनामा फरक विशेषता रहेको कम्पनीको दावी छ । आइओनिक–५ मा भएका विशेषताहरूका कारण गाडीबारे धेरैको चासो छ । यसको ‘डिजाइनिङ’ र ‘स्टाइल’ निकै आधुनिक हुनुका साथै आकर्षक छ । सुरक्षाको लागि आइओनिक–५ मा सात वटा एयरब्याग, हाइवे–ड्राइभिङ असिस्ट, रिभर्स पार्किङ, इएससीसहितको एबिएस, टायर मनिटरिङ प्रविधि, हिल असिस्ट, रिअर–भ्यू प्रविधिलगायत विशेषताहरू समावेश गरिएको छ । हुन्डाई आइओनिक–५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरियन्टमा उपलब्ध छ। सोलार रुफ भेरियन्ट ५ देखि ७ प्रतिशत सोलार पावरबाटै चार्ज हुन्छ । कम्मनीका अनुसार कोनाको ६० लाखभन्दा र आइओनिकको ८० लाख रुपैयाँको हाराहारीमा मूल्य पर्छ । आइओनिक–५ मा ५८ किलोवाटको लिथियम आयन ब्याट्री हुने अनुमान छ । जसले १०० किलोवाट पावर र २९५ एनएम टर्क जेनेरेट गर्छ । यो विद्युतीय गाडीलाई सामान्य सर्किटबाट समेत चार्ज गर्न सकिन्छ। एक पटकको पूरा चार्जमा यसले ३ सय ६५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ । कम्पनीले विद्युतिय सवारीको माग बढेसँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । सो स्टेशनबाट निःशुल्क गाडिको चार्ज गर्न सकिने छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुण्डाइ विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो ।