यामाहाको एसेम्बलिङ उद्योग भैरहवामा खुल्दै, एक वर्षभित्रै सञ्चालन हुने

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज कम्पनीले भैरहवामा यमाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका विष्णु अग्रवालले भैरहवामा यामाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्न लागेका हुन् । हाल यामाहाको एसेम्बलिङ उद्योग स्थापना गर्नको लागि तयारी भइरहेको अग्रवालले बताए । त्यसकाे लागि जग्गा प्राप्तिदेखि अन्य काम भइरहेको पनि उनले बताए । ‘नेपालमा पनि विस्तारै अटो बजार बढ्दै गइरहेको छ, हरेक देशले आफ्नो इको सिस्टम बनाउँछ, केही कम्पनीले एसेम्बलिङको काम सुरु गरिसकेका छन्, त्यसैले पनि हामीले यसमा हात हालेका हौं, उनले भने । एमएडब्लुले विश्वका चर्चित अटो ब्राण्डहरु भित्र्याएर बिक्री वितरण गर्दै आएको छ । यामाहा मोटरसाइकलको व्यापारबाट अटोमोवाईल क्षेत्रमा प्रवेश गरेको यस कम्पनीले स्कोडा, जीप, जेसीवी, स्कोटस्, फोटोन, विएण्डटी लगायत ब्राण्डको नेपालको आधिकारिक बिक्रेता भएर काम गर्दै आएको छ । उनका अनुसार हालसम्म लगानी कति लाग्छ भन्ने यकिन भइसकेको छैन । तर, ठूलै लगानीमा उद्योगको स्थापना हुने उनको भनाई छ । संसारभर अटोमोवाइल उद्योगको विकास एसेम्बलिङ उद्योगबाट नै हुने र नेपालमा पनि त्यसको शुरुवात भएको उनले बताए ।  हाल नेपालमा २ वटा कम्पनीले  माेटरसाइकल एसेम्बलिङ गरिरहेका छन् । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटरसाइलकको एसेम्बल गरिहरेको छ भने गोल्छा अर्गनाइजेशनले बजाजको मोटरसाइकल एसेम्बल गरिरहेको छ ।

बजाजको नयाँ शोरुम अब धनुषामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले धनुषामामा सुविधासम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटोमोबाइल्स ” को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्माँपनीले दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारी ज्यूलाई डिलरसीप प्रदान गरेको छ । यस नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले विश्वास् लिएको जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको र ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफुहरुको जिम्मेवारी रहेको बताए । शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

जगदम्बा मोटर्सद्वारा अपाचे १६० टुभि सार्वजनिक, मूल्य २ लाख ६९ हजार ताेकियाे

काठमाडाैं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको निर्माता कम्पनी टिभिएस मोटरले नयाँ मोडल ‘अपाचे १६० टुभि’ नेपालमा सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङ्ग सोरुम मार्फत कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरुमार्फत सार्वजनिक गरेको हो । अपाचे १६० टुभिको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रणबारे जानकारी गराइरहन्छ । अपाचे १६० टुभिमा बेस्ट इन क्लास आर.टि.आर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आर.पि.एम मा १४. १४ पि.एसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर.पी.एम मा १३.२ एन.एमको अधिकतम टर्क प्रदान गर्दछ। यसैगरि यसमा बेस्ट इन क्लास एम.आइ.जी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन् । यसको मूल्य भने २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुमा स्थान जमाउन सफद भएको छ ।