टाटाको बिएससिक्स इन्जिनका गाडीहरुको प्रि–बुकिङ खुल्ला

काठमाडौं । नेपालको लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि. बुकिङ खुल्ला गरेको छ । कम्पनीले भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरेको हो । न्यु फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने कम्पनीकाे दाबी छ । साथै प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ बर्षको निःशूल्क सर्भिसिङ्ग र निःशूल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नेछन् । ग्लोबल एन क्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन । उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।

सौरभ ज्योतीको ‘एनएक्स २५०’ क्रस र उनको बाइकप्रतिकाे क्रेज

काठमाडौं । भनिन्छ नि सपनाले भावी दिनको संकेत गर्छ । हामी सबैसँग सपना र रहर हुन्छन् । सपना सबैले देख्छन् । समयसँगै हिड्दै जाँदा कति सपना अधुरा र कयौं रहर अपुरा नै हुन्छन्, यो निश्चित नै हो । उद्योगी घरानाका शौरभ ज्योतीसँग पनि आफ्नै सपना र रहर थिए र छन् पनि । उनको प्रमुख सपना र रहर हो मोटरबाइक । सानैदेखि मोटरबाइकका पारखी सौरभको मोटरबाइकप्रति शौख र क्रेज अहिलेसम्म छ । उनी अझै पनि आफ्ना सपना र रहरहरुलाई पछ्याइरहेका छन् । त्यही सपना र रहरहरुको एक अंश हो एसजे मोटो । शुक्रबार सौरभ ज्योतीले एसजे मोटो सार्वजनिक गरे । जहाँ हरेक मोटरबाइक, कफि, कल्चर र फनसहितको सेवा सुविधा लिन पाइनेछ । पूराना–पूराना मोटरबाइकदेखि नयाँ–नयाँ मोडेलका बाइकहरु सो एसजे मोटो स्वरुममा अवलोकन र खरिदबिक्री गर्न सकिन्छ । एसजे मोटो लञ्च कार्यक्रममा सौरभले आफ्नो मोटर बाइकप्रतिको क्रेज निकै भावुक भएर सुनाए । ‘म १४ वर्षको थिएँ, हजुरबुवा साइकल व्यापारी हुनुहुन्थ्यो, सानैमा मोटरबाइक चलाउन सिकेँ, ममा मोटरबाइकप्रतिको क्रेज फरक किसिमको थियो,’ आफ्नो वाल्यकाल सम्झिँदै ज्योतीले भने, ‘बाइक चलाउने रहरकै कारण दिनभर स्वरुमको बाहिरीबाट सिसामा नाक टाँसेर बाइक नियालिरहेको दृश्य म अहिलेसम्म सम्झिन्छु ।’ कार्यक्रममा उनले आफ्नो बाइक चलाउने रहर र सपनाकै कारण अहिले आफु यहाँसम्म आइपुगेको बताए । उनले चुनौतीलाई अवसरमा बदल्दै सपना साकार गर्न पनि सबैलाई सुझाए । ज्योतीको क्रस एनएक्स २५० ‘आफ्ना सपना साकार गर्न कोशिस सबैले गर्छन, मेरो पनि कोशिस जारी छ, अझै पनि साना–साना रहरहरुलाई सम्हाल्दै यथार्थमा परिणत गर्ने मेरो सपना छ, मोटरसाइकलप्रतिको मेरो मोह अहिलेको होइन, सानैदेखि सपना बोकेकै कारण म अहिले यो स्टेजमा छु, यसमा मेरो घरपरिवार र मेरा सबै सहकर्मीहरुको ठूलो हात र योगदान छ’ उनले भने । सौरभको ‘एनएक्स २५०’ क्रस जापानिज कम्पनीको एनएक्स २५० डोमिनेटर मोटरबाइकसँग सौरभ ज्योतीको गज्जवको सम्बन्ध छ । आजको दिनसम्म आइपुग्दा उनलाई मन परेको उत्कृष्ट बाइकमध्येको एक हो ‘एनएक्स २५० डोमिनेटर ।’ कलेजको अध्ययन पुरा गरेर स्वदेश फर्किएपछि सौरभलाई एनएक्स २५० मोटरबाइक एकदमै मन पर्यो । तर, विडम्बना सौरभका आमाबुवा भने उनको लागि त्यो बाइक खरिद गर्न इच्छुक भएनन् । सोही कारणले पनि उनी त्यही बाइक स्वरुमको सिसाबाट नियालिरहन्थे । एनएक्स २५० लाई नियाल्नु उनको दैनिकी थियो त्यतिखेर । ‘त्यसबेला मेरो क्रस नै एनएक्स २५० डोमिनेटर थियो, तर आमाबुवाले त्यो बाइक किनिदिनु भएन, मैले बाइकप्रति देखाएको मोह मेरो हजुरबुवा मणिहर्ष ज्योतीले बुझ्नुभयो, र उहाँले मेरो लागि एनएक्स २५० खरिद गरिदिनु भयो, त्यो क्षण मेरो लागि असाध्यै खुसीको थियो, मेरो सफलताको श्रेय नै मेरो हजुरबुवा हुनुहुन्छ,’ उनले भावुक हुँदै भने । उनले एनएक्स २५० आफुले अहिलेसम्म सम्हालेर राखेको समेत सुनाए । आफुले किनेका अधिकांश बाइकहरु अहिलेसम्म आफुसँगै राखेको पनि उनको भनाई छ । ती सबै बाइकहरु अहिले उनले एसजे मोटो स्वरुममा राखेका छन् । ‘१९६९ को त्यो बाइक मसँग अहिले पनि सुरक्षित छ, अझै पनि कन्डिसन राम्रो छ, सबै पाटपुर्जा फेरिसकेको छु, धेरैले मैले किनेका र चढेका बाइकहरु हेर्ने रहर गरेकै कारण मैले एसजे मोटो स्वरुमै राखेको छु,’ उनले भने । पाँच दशकदेखिका बाइक एसजे मोटोमा होण्डा नेपाल विगत ५0 वर्षदेखि नेपालमा सेवा दिँदै  आएको छ । जाे नेपाली र माेटरबाइक पारखीहरूकाे लागि प्रख्यात बनिरहेकाे छ । नेपाली अर्थतन्त्रमा समेत ठूलो योगदान दिँदै आएको होण्डाको नेपालमा एक गौरवपूर्ण इतिहास छ । जसको नेतृत्व विगत २५ वर्षदेखि सौरभ ज्योतीले सम्हाल्दै आएका छन् । होण्डा आफैमा एक ब्राण्ड हो । अहिले एसजे मोटोमा विभिन्न किसिम तथा मोडेलका मोटरबाइक मात्र होइन पाँच दशक अगाडिका बाइकहरु पनि सो स्वरुममा रहेको ज्योतीले बताए । मसँग १९६९ देखिका बाइकहरु छन्, मैले चलाएका एक बाइक पनि मैले फ्याँकेको छैन, कसैले ग्यारेजमा छोडेर गएको पूरानो बाइक पनि मैले सुधारेर आफैसँग राखेको छु, ती सबै बाइकहरु स्वरुमममा देख्न सकिन्छ, ड्याक्स ७०, १९७७ को बेण्ली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक मसँग छ,’ उनले सुनाए । एसजे मोटो सार्वजनिक कार्यक्रममा सौरभ एक सपना हो एसजे मोटो शुक्रबार सार्वजनिक भएको एसजे मोटो सौरभ ज्योतीको सपनाकाे एक अंश हो । जो उनको सानैदेखिको सपना हो । पूराना-पूराना बाइकहरु जम्मा गरेर एक संग्राहलय जस्तै बनाउने उनको सपना शुक्रबार मात्रै पूरा भएको छ । ‘मलाई भट्ने अधिकांश साथीहरु पूराना-पूराना  माेडेलका मोटरबाइकहरु देखाउन आग्रह गर्थे, मेरो पनि सपना थियो कि सबै मोडलका पूराना बाइकहरु राखुँ, त्यही भएर पनि ग्राहकले छोडेका बाइकहरु पनि सुधारेर राख्थेँ, मैले किनेको सबै बाइक मसँग छन्, त्यसैले पनि म अहिले एसजे मोटो सार्वजनिक गर्न सफल भएँ,’ उनले भने । ज्योतीले एसजे मोटोमा नयाँ पूराना मोडलका बाइक अवलोकन र खरिद गर्नका साथै, ग्राहकका लागि कफिको व्यवस्था, देशको संस्कृति झल्किने र साथीभाईहरुका लागि रमाइलो गर्नकोे लागि एसजे मोटो राम्रो प्लेटफर्म बन्न सक्ने पनि दावी गरे । साथै उनले सबैले आफ्नो सपना साकार गर्नको लागि सपनामा अडिग रहन र संघर्ष गरिरहन आग्रह गरे । बाल्यवस्थामा सौरभ

सवारी लाइसेन्सकाे ट्रायल पास गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने

काठमाडाैं । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था भएकामा सेवाग्राहीलाई सहज हुने गरी नयाँ व्यवस्था गरिएको हो । गत आर्थिक वर्षमा प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले कोभिड–१९ का कारणले राजश्व तिर्न नपाएकाले अवधि अहिलेका लागि बढाइएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी सो व्यवस्था गरिएको हो । उनले भने, “धेरै सेवाग्राहीले कोभिडका कारणले राजश्व तिर्न नपाएको भनी गुनासो आएकाले अवधि बढाएको हो ।” कोभिडका कारण तोकिएको अवधिमा सेवाग्राहीले राजश्व बुझाउन नसकेकाले हालका लागि सो व्यवस्था गरिएको भए पनि पछिसम्म सोही व्यवस्थाले निरन्तरता नपाउन सक्ने निर्देशक पौडेलको भनाइ छ । चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण, नवीकरण प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयले गरिरहेका छन् । अनुमतिपत्रको सर्भरको काम र छपाइको काम विभागले गरिरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागू गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालय पनि बन्द भएका थिए । कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने जनाउँदै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो । संविधानानुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरू नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । काठमाडौं उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चाबहिल, सानो भ¥याङ र जगातीमा कार्यालय राखेको छ ।