फोर्ड र गुगलबीच रणनीतिक साझेदारी: २०२३ देखि फोर्ड र लिंकन गाडीमा एन्ड्रोइड एप हुने
काठमाडाैं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो । यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् जसमा दुवै कम्पनीका प्रतिभाको प्रवर्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरिद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ । ‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्डसँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ,’ फोर्डका सीईओ जिम फार्लीले बताए । ‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए । उनका अनुसार फोर्डको व्यापार र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पु-याउने उनको विश्वास छ । फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्दछ । यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ
एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै, अग्रिम बुकिङ खुल्ला
काठमाडौं । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने कम्पनी बताउँछ । एसयूभीलाई विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ । कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् । साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुनेछ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको छ । एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्ने कम्पनीले जनाएकाे छ जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् ।
नाडाद्धारा बुटवलमा कर, भन्सार तथा भिसिटिएसको प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा शुक्रबार बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ । अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भिसिटिएससम्बन्धी प्रशिक्षण संचालन गरिएकाे नाडाले जनाएको छ । उक्त प्रशिक्षण भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख ध्रव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार वि.सी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले दिएका थिए ।