सिप्रदीले गर्यो एनएलजी, प्रिमियर र ओरियन्टसँग क्यासलेस बीमासम्बन्धी सम्झौता
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रालिको मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीजका उपाध्यक्षसौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो योजना मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको जनाएको छ ।
हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा हाइब्रिड कारमा भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्यो । नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजस्व ६१ प्रतिशतले कम हुने व्यवसायीहरु बताउँछन् । चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क (इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको छ । यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । उक्त छुटको विषयलाई लिएर व्यवसायीहरु दुई भागमा विभाजित भएका छन् । एक थरी व्यवसायीहरु उक्त छुट ठिक भएकोले कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छन् भने अर्काथरी व्यवसायी उक्त व्यवस्था गलत भएको भन्दै त्यसको विरोधमा देखिएका छन् । हाइब्रिड कारको परिभाषा स्पष्ट नभएकोले यस विषयमा विवाद भएको नाडा अटोमोवाईल्स एसोशिएशन नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । हाइब्रिड कारमा कति प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने र कति प्रतिशत पेट्रोल वा डिजेल प्रयोग हुने भन्ने विषय विवादमा रहेको उनले बताए । केही हाइव्रिड कारमा १० प्रतिशतभन्दा कम नविकरणीय उर्जा प्रयोग हुने र ९० प्रतिशतभन्दा बढी पेट्रोल/डिजेल प्रयोग हुने भएकोले यस्तामा ६१ प्रतिशतसम्म कर छुट दिँदा देशलाई कतै पनि लाभ नहुने एकथरी व्यवसायीहरुको तर्क छ । तर ४६ प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने हाइब्रिड कार आयात गर्दा पनि सरकारले दिएको कर छुट सुविधा नपाएको नाडाका कार्यकारिणी सदस्य करण चौधरी बताउँछन् । ‘हाइबिीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन भएको छैन । यो व्यवस्था लागू हुने हो भने उपभोक्तालाई लाभ हुने थियो’ उनले भने । हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । ‘यस विषयमा छलफल भइरहेको छ,’ उनले भने ‘नविकरणीय ऊर्जा र इन्धन खपत हेरेर कर छुट दिइन्छ ।’ कस्तो खालको हाइब्रिड गाडीमा कति प्रतिशत छुट दिने अर्थात कति प्रतिशत नविकरणीय ऊर्जा उपयोग हुनेले कति छुट पाउने विषयमा अहिले निर्णय नभएको उनले बताए । ‘उनले भने यस विषयमा निर्णय हुन वाँकी छ ।’
सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा
काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ । २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबैको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए । नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए । नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने आगन्तुकहरुलाई मध्य नजर गरी अस्थाइ आकाशे पुलको निर्माण गरिने बताए । अटो शोमा नयाँ र पुराना ५ वटा ब्रान्डका विद्युतीय र हाइब्रिड गाडीहरु रहने बताए । यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले दशैं आउन एक महिना अगाडि गर्न लागिएको अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ । ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत प्रदर्शनीमा रहने छन् । ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमाताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरिएको छ ।