काठमाडाैं उपत्यकाभित्र बस चढ्दा टिकट अनिवार्य, साउन १ बाटै लागू हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो । ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ अनिवार्यरुपमा टिकट दिनुपर्ने सम्बन्धित परिचालकको दायित्व रहेको उल्लेख छ । दफा ५ मा टिकट अनिवार्य लिनुपर्ने व्यवस्थामा महानगर क्षेत्रभित्र रुट कायम भई सञ्चालन हुने सार्वजनिक यातायात साधन प्रयोग गर्ने यात्रुले आफू चढ्ने बस बिसौनीमा वा सवारी साधन चढे लगत्तै निर्धारित भाडा तिरेर टिकट लिनुपर्ने व्यवस्था गरेको छ । तर ऐन जारी भएको तीन महिना बित्दा पनि न सार्वजनिक यातायातका परिचालकले यात्रुलाई टिकट दिन्छन् न यात्रुले नै टिकट माग्दछन् । दिनहुँ लाखौँ रुपैयाँ यात्रुबाट उठाए पनि यातायातका परिचालकले टिकट दिने गरेका छैनन् । महानगरभित्र साझा यातायातबाहेक अहिले अन्य यातायातले यात्रुलाई टिकट दिने गरेका छैनन् । ऐनमा यात्रुलाई ई–टिकट र टिकट दिनुपर्ने व्यवस्था रहेको छ । सार्वजनिक यातायातमा यात्रा गरेपछि अनिवार्यरुपमा टिकट दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनको चरणमा महानगरपालिका रहेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले महानगरभित्र चल्ने यातायातलाई व्यवस्थित गर्न टिकट अनिवार्य गर्न थालिएको बताएका छन् । “सार्वजनिक यात्रा गर्दा यात्रु पनि नठगिउन् भन्नका लागि टिकटको व्यवस्था अनिवार्य गर्न थालेका हौँ”, उनले भने, “यात्रुलाई पनि कहाँसम्म कति भाडा पर्दछ भन्ने कुरा टिकटमा नै उल्लेख गर्ने हुनाले ठगिँदैनन् ।” अहिले रु २० लिने भाडामा रु २५ पनि लिने गरेको पाइएको उनले बताए । अहिले काठमाडौँमा दैनिक लाखौँ यात्रुले काठमाडौँका विभिन्न सडकमा यात्रा गरे पनि त्यसको एकिन तथ्याङ्क रहेको छैन । वास्तविकरुपमा कति यात्रुले यात्रा गर्दा रहेछन् भन्ने कुराको पनि उक्त व्यवस्थाबाट थाहा हुने बताइएको छ । प्रवक्ता डङ्गोलले साउन महिनादेखि यात्रा गर्दा टिकट दिने÷लिने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने बताएका हुन् । टिकट लागू नगर्दा यात्रु भन्दा बढी मार गाडी मालिक पर्ने गर्छन् । “टिकट प्रणाली लागू गर्न स्वयं हामी नै चाहन्छौँ । टिकट प्रणाली लागू नगर्दा कति यात्रु चढे भन्ने कुराको थाहा हँुदैन ।” यातायात महासंघका महासचिव सरोज सिटौलाले भने, “टिकट हामीले दिँदा टिकट काटेका आधारमा भाडाबापतको पैसा पाउने थियौँ । गाडी चालक र सहचालकले विनाटिकटका आधारमा भाडा बुझिरहेका छन् ।” रासस

म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट सम्पन्न, उत्कृष्टलाई विभिन्न दश विधामा पुरस्कार वितरण

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पारे । कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशापनि धेरै रहेको कुरामा जोड दिए । सोही अवसरमा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिंदै आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिएका थिए ।

साझाले शुरु गर्यो रात्रिकालीन बस सेवा

काठमाडौँ । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उनले बताए । उनले भने, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।” अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताए । उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रु ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ । विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रु ३० करोड, काठमाडौँ महानगरपालिकाबाट रु १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले रु दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो । विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताए । उनले भने, “उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।” अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो । बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् । यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्गमा बस सञ्चालन शुरु भएको थियो । दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दो र विस्तार भएको सेवा प्रदायकका रुपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्यष्ठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको हो । विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस ९अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस० र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरु मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरीद र सञ्चालनको तयारीसमेत गरिरहेको छ । रासस