‘इजीट्याक्सीनेपाल’ एप्स, ५ मिनेटमै घरमा आउँछ ट्याक्सी

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो । प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपाल मार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो । इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यका भरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत सो अनुरोधलाई स्वLकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले-‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’

आइएमई मोटर्सद्वारा यूरो-४ मापदण्ड बस बिक्री आरम्भ, २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका सहरी बस बिक्री शुरु गरेको छ । सोमबार २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण गरी नेपालमा बिक्री वितरणको सुरुवात गरेको हो । एलवाइएनएक्स स्मार्ट बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको कम्पनीले जनाएको छ । यी बसका विशेषताको रुपमा इन्जिनमा एक समकालीन–४ सिलिण्डर सीआरएस डीजल जुन ईजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर रहेको छ । अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपीको अधिकतम शक्ति, २४०० आरपीएम, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ । आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता हो । नेपालभर आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रा लि नेपालमा महत्वपूर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।

साझाका २० बस थपिए, विद्युतीय बस सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारसँग सम्झौता

काठमाडौं । साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु आजदेखि सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका अध्यक्ष कनकमणी दिक्षितले नयाँ बस सञ्चालनको उद्घाटन गरेका हुन् । आजदेखि सञ्चालनमा आएका युरो ४ का बसहरु उपत्यकाका विभिन्न रुटहरुमा सञ्चालन हुने छन् । साझाले आजबाट साझा कार्डपनि प्रयोगमा ल्याएको छ । जसबाट यात्रुले सेवा प्रयोग गरेका भाडा तिर्न सक्नेछन् । नयाँ २० वटा बस मध्ये ६ वटा बस नयाँ बसपार्क, बालाजुचोक, बनस्थिली, स्वयम्भु, कलंकी, त्रिपुरेश्वर, रत्नपार्क, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी पेप्सीकोला, पुरानो ठिमी, भक्तपुर व्यासी–कमलविनायक, च्यामासिङ, जगाती हुँदै सुर्यविनायक रुट हुँदै गुड्ने छन् । ती बाहेक ६ वटा बस नयाँ बसपार्कदेखि माथि उल्लेखित रुट हुँदै जडिबुटीबाट कौशलटार, राधेराधे, कटुङ्जे, चोक, सूर्यबिनायक, च्यामासिङ, कमलविनायक रुटमा सञ्चालन हुने छन् । ८ वटा बस नयाँ बसपार्क, बसुन्धारा, नारायणगोपाल चोक, चण्डोल, सुकेधारा, चाबहिल, गौशाला, एयरपोर्ट सिनामंगल, नयाँ बानेश्वर, थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेलमा सञ्चालन हुने छन् ।  २० वटा नयाँ बस सहित अब साझाको बसको संख्या ७१ पुगेको छ । यसैबीच, आजै साझा सहकारीले निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं  महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारले ३० करोड, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख चेक साझालाई हस्तान्तरण गरेको छ भने काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ साझामा लगानी गर्ने भएको हो । साझा सहकारीले पनि विद्युतिय बस सञ्चालन गर्न २ करोड ५० लगानी गर्ने भएको छ । आजै ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातबीच सझौता भएको छ । साझाले चाँडैनै विद्युतिय सब सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कार्यक्रममा ३ नम्बर प्रदेश सरकार मुख्यमन्त्री डोरमणी पौडेलले साझा बसमा घाटा भएपनि जनताको सेवा र सुविधालाई मध्यनजर गर्दै प्रदेश सरकारले लगानी गरेको बताए । देशमा नै उत्पादित उर्जाबाट विद्युतीय बस सञ्चालन गर्दा देशको व्यापार घाटा पनि कम र प्रदुषण कम हुने बताए । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने– ‘ जनप्रतिनिधिहरुले केही गरेनन् भन्ने जनगुनासो थियो । हामीले आजबाट राम्रो कामको सुरुवात गरेका छौं ।’