यातायात व्यवसायीको लगानी डुब्न दिदैनौँः मन्त्री महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको लगानी डुब्न नदिने बताए । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘यातायात क्षेत्रलाई सरकारको सधैँ साथ सहयोग रहन्छ ।’ उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले आफूहरु रुपान्तरित भएर कम्पनीमा आइसकेको बताए । अध्यक्ष कर्माचार्यले सरकारबाट थप सहयोगको अपेक्षा गरेको र सबै यातायात व्यवसायीहरु कम्पनीमा जाने समेत वताए । त्यसैगरी सिप्रदी सिईओ राजनबाबु श्रेष्ठले नेपालको बाटो र भौगोलिक क्षेत्रलाई हेरेर मात्र आफ्नो कम्पनीले गाडी भित्र्याएको बताए । लोत्से सहकारी संस्थाका अध्यक्ष दीपक कुवँरले सरकारले बसपार्कलाई व्यवस्थित र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।

यातायात व्यवसायी भन्छन्-भिसिटिएसबारे राज्य नै पूर्ण जानकार छैन, हामीले ट्रक कसरी चलाउने ?

काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको बताए । उनले भने-‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक त थियो नै, भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)बारे राज्य नै पूर्ण जानकार नहुँदा हामी व्यवसायी कसरी अभ्यासमा ल्याउन सक्छौँ ?’ पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग कर मात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसक्ने बताए । उनले भने, ‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनु भएन ।’ कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेकाले यथास्थितिमा सडकमा ट्रक ल्याउन नसकिने बताए ।

अशोक लेलैण्ड र कामना सेवाबीच सम्झौता, ग्राहकले ७५ प्रतिशतसम्म कर्जा पाउने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले कामना सेवा विकास बैंक लिमिटेडमा सहज रुपमा ७५प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन् । यग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्राण्ड अवार्नेसका लागि विभिन्न कार्यक्रमहरुमा सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।