विपी राजमार्ग उच्च जोखिममा, क्रसार उद्योग राजमार्गको जग खोतल्दा राजमार्ग जोखिममा

काठमाडौं, १३, मंसिर । विपी राजमार्गको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ। यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्गको जग खोतल्ने काम बढ्दै गएको छ । अत्याधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँुदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् । कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला विकास समितिले पनि सुनकोसी उत्खान गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएको छ । ठूला ठेकेदारले र्कचारीलाई समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ । नागरिक दैनिकबाट ।

सार्वजनिक यातायातको बेतिथि, २७ किलोमिटर यात्रा गर्न साढे तीन घन्टा

काठमाडौं ११, मंसिर । काठमाडौंमा चल्ने सार्वजनिक यातायातको यात्रा कम्ता पीडादायी छैन् । मर्मत नगरिएका गाडीमा ठेलमठेल यात्रु राखेर खाल्डाखुल्डी सडकमा धुलो उडाउँदै गुडाउँदा थाकेका यात्रु भनेको भन्दा ढिलो मात्रै गन्तव्यमा पुग्छन् । काठमाडौंमा ओहोरदोहोर गर्ने लाखौँ यात्रुको यो कष्टकर दैनिकी उल्लेख गरिएको छ । स्टेसनमा खचाखच यात्रु गत सोमबार घडीमा साँझको ४स्३० बजेको थियो । हामी अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेनगेट अगाडिको ‘बस स्टेसन’मा उभिएका थियौँ । स्टेसनमा यात्रुको भीड थियो । सबै गन्तव्यमा पुग्न निकै हतारोमा देखिन्थे । बस स्टेसनमा तीनवटा बस क्युमा थिए । सबैमा यात्रुको भीड थियो । बसका सहचालक यात्रु बोलाउँदै चर्को स्वरमा कराए, ‘गौशाला‘चाबहिल, ‘गौशाला‘ चाबहिला’ हामी चक्रपथ घुम्ने बसको प्रतीक्षामा थियौँ । करिब १५ मिनेट प्रतीक्षापछि स्टेसनमा बा.४ख १३२ नम्बरको ‘महानगर’ लेखिएको बस रोकियो । बसको अघिल्लोतर्फ ‘चक्रपथ परिक्रमा’ लेखिएको प्लेकार्ड देखियो । सोही बसबाट चक्रपथ घुम्ने मनस्थिति बन्यो । हामी बसको ढोकातर्फ बढ्यौँ । यात्रुले बस खचाखच थियो । सहचालकले भएभरका यात्रु बसभित्र पठाए । त्यसमा हामी पनि मिसियौँ । बसको ढोका बन्द भयो । सहचालकले ओठ दोब्य्राउँदै सुसेली बजाए । घ्याच्च‘घ्याच्च गर्दै बस अघि बढ्यो । बस एयरपोर्टमा रोकियो । जहाँबाट हामीले साढे तीन घन्टाअघि यात्रा थालेका थियौँ । यात्रा सक्दा शरीर थाकेको थियो । मस्तिष्क गलेको थियो । चक्रपथ मात्रै २७ किलोमिटरको छ । विनाअवरोध यात्रा गर्ने हो भने २७ किलोमिटर दूरी पार गर्न एउटा कारलाई ३० मिनेट मात्रै लाग्छ । तर, हामीले सार्वजनिक बसमा साढे तीन घन्टा लगाएर चक्रपथ परिक्रमा गर्‍यौँ । नयाँ पत्रिका दैनिकबाट ।

आईतबारदेखि साझाले ३८ वटा बस सञ्चालन गर्ने, ३० वटा नयाँ बस थपिए

काठमाडौँ, १० मंसिर । आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन् । उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित अब साझाका ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ । सहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला सवारीमार्फत काठमाडौँ उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । सहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालन गर्दैछ । आधुनिक सुविधा सम्पन्न साझाको बस अपाङगमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा बसमा रहेको छ । बसभित्र दुई वटा ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार वटा सिसिटिभी छन्, मनोरञ्जनका लागि एलइडी टिभी, मोबाइल चार्जरको व्यवस्था छ, भने अहिलेका बसमा २ क्रस ३ ‘साइड क्रोम’ सिट रहेकोमा नयाँ बसहरुमा २ क्रस २ छन् । ४० वटा समाउने ‘स्ट्राप ह्याङ्गर’ रहेका छन् । यी रुटमा गुड्दैछन् बस साझाको पहिलो रुट लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, त्रिवि शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी रहेको छ । त्यस्तै त्रिभुवन विमानस्थल, गौशाला, रातोपुल, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, जमल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु हुँदै बसपार्कसम्म दुईतर्फी अर्को रुट रहेको छ । कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, शहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म दुईतर्फी सञ्चालनमा हुनेछन् । त्यसैगरी ग्वार्को, सातदोबाटो, लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, गङ्गालाल अस्पताल हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी सञ्चालन हुने साझाले जनाएको छ । साझाले उपत्यका बाहिर चार गन्तव्य गोरखा, बागलुङ, वीरगन्ज र लुम्बिनी, भैरहवामा आठ वटा बसमार्फत सेवा दिँदै आएको छ । साझासँग थपिएका नयाँसहित जम्मा ४६ वटा बस रहेका छन् । रासस