दसैँमा घर हिँडेका यात्रु जाममा, समस्या हुनसक्ने १६४ स्थान पहिचान, समयमै गन्तव्यमा पुग्नै सास्ती
काठमाडौं २१, असोज । सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार र चार सय निरीक्षकलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । वर्षा लागेसँगै यो तयारी थालिएको र यथावत् राखिएको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । अवश्यक परेमा सुरक्षाकर्मीको पनि सहयोग लिइने उनले बताए । उपत्यकाबाट दसैँ मनाउन घर हिँडेका यात्रुलाई बाटोमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले पनि समस्या छ । पृथ्वी राजमार्गको आँबुखैरेनीमा बुधबार झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न नसकेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने कुनै समस्या नरहेको भट्टले बताए । नयाँ पत्रिका दैनिकबाट ।
बिहीबारदेखि शनिबारसम्म थप एक हजार बस थपिने, दसैंमा घरजानेलाइ राहत
काठमाडौं १९, असोज । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन्। यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सय वटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन भन्ने समाचार बुधबारको अन्नपूर्ण पोष्टले छापेको छ। यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैं बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको हुन्। नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार शुक्रबार र शनिबार दैनिक ती यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।
अरनिको यातायातको सिन्डिकेट तोडियो, काभ्रेको कोसीमापरी जाने सुनकोसी पूर्व यातायातको १७ वटा टाटासुमो
काठामाडौं १९, असोज । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको समाचार बुधबारको कान्तिपुरले छापेको छ। कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो । काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले ऐन, कानुन अनुसार नयाँ यातायात कम्पनी आउन पाउने बताए । ‘राज्यको ऐन, कानुन मानेर आउने यातायात कम्पनीलाई स्वागत गर्ने सरकारको नीति हो’ उनले भने, ‘यातायातमा सिन्डिकेट तोड्ने राज्यको दायित्व हो ।’ उनले प्रक्रिया पुर्याएर आउने यातायात कम्पनीलाई आवश्यक परे सुरक्षा व्यवस्था मिलाउने बताए । सुनकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको अध्यक्ष रमेश सेढाईंले जानकारी दिए । उनका अनुसार तत्काल १६ वटा सुमो सञ्चालन गरिएकोमा बिस्तारै थप्दै लगिनेछ । १७ वटै गाविसमा सेवा दिने उनले जानकारी दिए । ‘कच्ची सडकमा ठूला गाडीले जोखिम बढाएपछि स्थानीयको मागका आधारमा सञ्चालन गरेका हौं,’ सेढाईंले भने, ‘सबै गाविस र रुटमा सेवा पुर्याउन गाडी संख्या थप्दै लैजान्छौं ।’ जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रमुखसमेतको उपस्थिति अन्तिम स्टप (कात्तिके देउराली)सम्मको भाडा साढे ५ सय निर्धारण गरिएको उनले जानकारी दिए । पोखरीचौरी ५ का व्यापारी नवराज गौतमले प्रालिले नयाँ गाडी चलाउन सुरु गरेपछि यात्रा सहज भएको बताए । उनले भने, ‘ठूलो गाडीको तुलनामा सजिलो भएको छ ।’ अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप)मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ । ती सबैको मूल समिति अरनिको यातायात नै हो । कच्ची सडकमा चल्ने पुराना गाडीका कारण कोसीपारिका १७ गाविसमा पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन् ।