बाल गृहलाई हिमालय एअरलाइन्सको सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स्ले संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । ‘शिक्षातर्फ पाइला’ अभियान अन्तर्गत अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि तीन लाख ९६ हजार सहयोग उपलब्ध गराएको एआरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् । यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग स्वरुप उपलब्ध गराएको एअरलाइन्सले बताएको छ । काठमाडौंको सुन्दरीजलमा रहेको उक्त बाल गृहमा हाल १३ जना बालबालिकालाई आश्रय र शिक्षा लिइरहेका छन् । ‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एअरलाइन्स्ले लामो समयदेखि गरेको प्रतिबद्घता हो । लव प्रसाद बालगृहलाई गरिएको सहयोगले बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं’, एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले भने । बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुची बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेकोमा आभार व्यक्त गरेकी छिन् ।

ड्रागन फलको मूल्य नपाएपछि किसान निराश

काठमाडौं । यू–ट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो’, गौरीगञ्ज गाउँपालिका–२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको अवस्था छ ।’ उनले ४० हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । दुई वर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर, दाम भने प्रतिकिलो दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ । यू–ट्युवमा हेर्दा ड्रागन फल मिठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने देखेर त्यसको खेती सुरु गरेको बताए । प्रतिकिलो एक हजारसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, अहिले बजारमा यसको भाउ आधाभन्दा बढी घटेको उनले सुनाए । थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । गतवर्ष नै उनको फार्ममा फल लाग्न थालेका थिए । यसपाली त लटरम्मै फलेका छन् । दमक, विर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पु¥याएर बेच्दा पनि बढीमा प्रतिकेजी पाँच सय पाएको उनले बताए । धेरै फल टिप्नु परेका बेला घाटा बेहोरेर प्रतिकेजी दुई सयमा पनि बिक्री गरेको हुँदा ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिम बढेको उनको भनाई छ । बुद्धशान्ति गाउँपालिका–१ मा ब्रह्याकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताए । उनले १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । खेतीका लागि बनाइएको सिमेन्टको पिलर र त्यसमा बिरुवा अड्याउने टायरको दामसमेत महङ्गिएको उनले बताए । श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै उनले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताए । उनले गत वर्ष फार्मबाटै न्यूनतम प्रतिकेजी ६ सयमा बिक्री गरेको ड्रागन फलको मूल्य अहिले आधासम्म ओरालो झरिसकेको छ । सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्बीर पोस्ट्याएर बिक्री बढाउने उपाय खोजिरहेका छन् । कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीका लागेका किसानलाई समेत प्रोत्साहनस्वरुप अनुदान दिनेको गरेको जनाएको छ । ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतवर्ष सात लाख अनुदान पाएको थियो । अरु किसानले पनि अनुदान पाएका छन् । सुमेरु कृषि फार्मका सञ्चालक भूपेन्द्र थापाले गत वर्ष १२ लाखको ड्रागन फल बिक्री गरेको बताए । यसवर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उनले आम्दानी घट्ने बताए । कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले पाँच सय ६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन ६ सय ८५ मेट्रिक उत्पादन भएको थियो । रासस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहककले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने भएका छन् । उक्त बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त छुट सुविधा सम्बन्धी बैंक र काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले व्यवसायिक सम्झौता गरेका छन् । त्यसैगरी, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकले बताएको छ ।