मह बेचेर एक याममा १२ लाख आर्जन

घोराही । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा १२ लाख रुपैयाँको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ । उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । ‘परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्’, किसान मगरले भने, ‘मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।’ उनको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । मौरीपालनबाट उनी वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताए । उनले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ । साथै उनले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गरेका छन् । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उनले बताए । नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको पाँच सय रुपैयाँ र जङ्गली स्रोतको छ सय रुपैयाँमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ । रासस

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित, लाखौं आम्दानी

बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रूपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । ‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई-चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’ तामाङले एउटै बगैँचालाई तीन लाख रूपैयाँसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए । खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीको भनाइ छ । धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महंगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् । रासस

९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०/८१ को अवधिमा सात करोड १२ मूल्य रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।