सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ । रासस
तनहुँमा बाख्राको दूधबाट बनेको चीजको माग धेरै
बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरूले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो । विदेशीहरूले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताउछन् । अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढिरहको छ । उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दुध पुर्याउन सक्ने बताए । एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि चार लिटरसम्म दूध दिने गरेको उनको भनाइ छ । दूधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए । उनले स्थानीयको माग, होटल व्यवसायीहरूको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताए । यो बाख्राले सबै किसिमका घाँसहरू खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ । अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरू पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसाबमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ । त्यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दूधभन्दा चीजको बढी माग आइरहेको बताए । त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउछन् । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताए । अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरूलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरूको सुरक्षा गर्ने काम गरिरहेको बताए ।
आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा शाखा उद्घाटन गरेको छ । मोटर्सले दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेको हो । शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताए । यस्तै अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको बताए । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीले सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा दिँदै आएको छ ।