नेपालले अमेरिकालाई बेच्यो साढे ३८ लाखको छुर्पी

गलकोट । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैयाँको छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने । दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आवद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाख रुपैयाँको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए । कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।

पञ्चकन्या स्टीलले पायो ग्रीनप्रो प्रमाणपत्र

काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन टीएमटी रिब्डबारले सीआईआई ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे । प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको १ लाख ६५ हजार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।