सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
अत्तरिया । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच छुट रुपैयाँ दिएर बिक्री गरिरहेको उनले बताए । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उनले जानकारी दिए ।
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
गलेश्वर । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछन् । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक दुई करोड रुपैयाँ बढी रकम भित्रिने गरेको उनी बताउँछन् । विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । ‘खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।’ खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । ‘भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ’, कृषक कार्कीले भने । स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,’ अर्का कृषक जगत्बहादुर घिमिरेले भने । खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम ३० हजार रुपैयाँदेखि १० लाखरुपैयाँ सम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बताउँछन् । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ । रासस
दशैं सकिएपछि तोलामा १४ सयले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।