एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा

काठमाडौं । एनआईसी एशिया बैंकले वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् । मिति २०७५ वैशाख १९ गतेबाट कारोबार शुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका छन् । हाल बैंकले २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१८ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ । कुल निक्षेप करिब १७५ अर्ब तथा कर्जा १४९ अर्ब रुपैयाँ पुगेको छ ।

सुन्तला बेचेर ३८ करोड आम्दानी, छ हजार ६ सय टन बिक्री

गोरखा । गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए । ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ ।’ अधिकारीले भने । जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम ५० देखि अधिकतम ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताए । उनका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । “अघिल्लो वर्ष चैत महीनामा खडेरी र असिनाले सुन्तला राम्रो हुनसकेको थिएन”, प्रमुख अधिकारीले भने, “तर यस पटक गएको चैत महीनामा पानी राम्रो परेकाले उत्पादनमा वृद्धि भएको हो ।” यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यस्थापन, सिँचाइको राम्रो व्यवस्था लगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पुर्याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताए । त्यस्तै जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यावसयिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कूल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । रासस

५ महिनादेखि १३ करोडको चिनी भन्सारमै थन्कियो, यस्तो छ कारण

वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी असोज ६ गते सुख्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ । विगत पाँच महीनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडावापत साल्ट ट्रेडिङ कर्पोरेशनले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई रु चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन । गोदाममा राखे वापतको भाडा दर प्रतिदिन तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेशनले भाडा तिर्न नसकेको गोदाम इञ्चार्ज सुनिलकुमार सिंहले बताए । गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले बन्दरगाहमा थन्किएर बसेको सो परिणामको चिनीका लागि भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि यस सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए । यता साल्ट ट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न एलसी खोलेको थियो । चिनी आपूर्तीकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले चिनी गोदाममै थन्किएको हो । विगत पाँच महीनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकोले बोरा च्यातिएको, चिनी जथाभावी छरिएको, मजदुरलाई काम गर्न समस्या भएको तथा चिनीका बोरा बिग्रिन थालेपछि चिनी खराब भइरहेको मजुदरको भनाइ छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ । सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको थियो । फलस्वरुप असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल भित्रिएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रति केजी ७० का दरले किन्न बाध्य छन् । सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा भारतबाट तस्करी गरी ल्याएको चिनी महङ्गो दरमा उपभोक्ता किन्ने गरेका छन् । रासस