गाउँगाउँमा इन्टरनेट पुर्याउने डिस होमको तयारी, यसरी काम अघि बढ्दैछ
ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ । उक्त कम्पनीले ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडका रुपमा सेवा प्रदान गर्न लागेको विषयमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका अध्यक्ष हेमराज ढकालले यस कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिए । उनले भने, “हामीले स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महङ्गो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।” “नेपालमा ‘पे’ टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले १० वर्षअघि यसको शुरुआत गर्यौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेका छौँ”, ढकालले भने । नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकाले यस प्रणालीलाई डिजिटलस्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उनले डिजिटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लगिने धारणा राखे । सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा बिक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुर्याएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करीब १५ लाख सेट–टप बक्स बिक्री गरिसकेको जानकारी दिए । उनले भने, “यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागिमात्र पैसा तिर्ने गरेकोले ग्राहकको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानितरुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ ।” त्यस कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ । प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए । उक्त कम्पनीले सञ्चालनमा आएयता रु चार अर्ब, १० करोड, ९१ लाख राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिक आठ हजार जना रहेका छन् । यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुर्याएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विश्वप्रसिद्ध ब्राण्ड किनबोनको आधिकारिक विक्रेता गोर्खा इको प्यानल
काठमाडौं । चीनको विश्वप्रसिद्ध कम्पनी किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ । गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता गरेको छ । यसको लागि गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोर्खा विण्डोरका सञ्चालक ईन्जिनियर कृष्णभक्त दुवाल र किनबोनका प्रबन्धक मेलिसा दोङले चीनमै संयुक्त हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा प्रबन्धक दोङले आफना उत्पादनमा १० वर्ष वारेन्टी रहेको बताइन् । साथसाथै कलर नखुइलिने पनि उनले जनाइन् । १४ वर्ग किलोमिटर क्षेत्रफलमा सन् १९९९ मा स्थापित किनबोन चीनकै सवैभन्दा ठूलो यूपीभीसीको उत्पादनकर्ता कम्पनी हो । भारतका मुख्य सहरहरु दिल्ली, चेनाई, हैदराबादमा पनि आउटलेट राखेको किनबोनले नेपाली बजारमा पनि आफनो यूपीभीसी प्रबद्र्धन गर्न गोर्खा विण्डोरलाई आधिकारिक विक्रेता दिएको उनले जनाइन् । किनबोन युपीभीसी झ्यालढोका उत्पादन गर्ने संसारकै प्रख्यात कम्पनी हो । किनबोनबाट उत्पादित सामानहरु संसारका २० भन्दा वढी देशहरुमा निर्यात भइरहेका छन् । अमेरिका, भारतलगायतका देशहरुमा उसका सामानहरु विक्रीवितरण भइरहेका छन् । चीनमा मात्रै ९० प्रतिशत भन्दा वढी बजार किनबोनका सामानहरुको रहेको बताइएको छ । आफूहरुले आफनो उत्पादनको गुणस्तरमा कहिले पनि सम्झौता नगरेको र सोही कारणले अमेरिकालगायतका मुलुकहरुमा पनि यूपीभीसी निर्यात भएको उनले बताइन् । किनबोनबाट उत्पादित सामान गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि पनि काठको विकल्पको रुपमा रहेको युपीभीसी झ्यालढोकाको उत्पादन गर्ने नेपाली कम्पनी हो । मुख्य कार्यालय चाँंगुरोड भक्तपुरमा रहेको यस कम्पनीले विण्डोरका साथै प्रिकाष्ट (कारखानामा पहिला नै तयार पारिएको ढलानका स्लायाब) उत्पादन गर्दै आएको छ । गोर्खा विण्डोरले किनबोनका यूपीभीसी सामानहरु आफूले बनाउने झयालढोकामा प्रयोग गर्नुका साथै अरु कम्पनीहरुलाई पनि बेच्न यो आधिकारिक विक्रेता लिएको जनाएको छ । गोर्खा विण्डोरका सञ्चालक इन्जिनियरि कृष्णभक्त दुवालले आफूहरुले विगत दुई वर्षदेखि विभिन्न देशका विभिन्न ब्राण्डका यूपीभीसीहरु आयात गरी झयालढोका बनाउँंदै आएको र किनबोनको सामान उत्कृष्ट रहेकाले यसपाली नेपालमा प्रबद्र्धन गर्न आधिकारिक विक्रेता लिएको जनाए ।
जुनसुकै लगानीको विद्युत किन्न भारत तयार
काठमाडौं । भारतले नेपालमा उत्पादन हुने सबैखाले लगानीको विद्युत किन्ने भएको छ । भारतले क्रसबोर्डर विद्युत् व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरी विद्युत किन्ने भएको हो । भारतले अब जुनसुकै लगानीमा उत्पादन भएको विद्युत खरिदको बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।