भायनेटको नयाँ शाखा पोखरामा, नोकियासँगको सहकार्यमा १०० एमबीपीएसको नेटवर्क शुरु गर्ने

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्यूनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरामा कम्पनीको यो पहिलो शाखा हो । भायनेटले नोकियासँगको सहकार्यमा आफ्नो “अल्ट्रा ब्रोडब्यान्ड” क्षमतायुक्त नेटवर्कको शुरुवात गर्दैछ । “अल्ट्रा ब्रोडब्यान्ड” भनेको यस्तो इन्टरनेट सेवा हो जसले १०० एमबीपीएस(मेगाबिट्स पर सेकेन्ड) भन्दा बढीको स्पीड प्रदान गर्न सक्छ । भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई २.५ जीबीपीएस(जीगाबीट्स पर सेकेन्ड)सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ । जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन(फोरके) भिडियो सामाग्री, आईपीटिभी, अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ । भायनेटले फ्युचर प्रुफ नेटवर्क निर्माणमा विश्वास राख्छ र प्रयोगकर्ताहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । भायनेटको प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले भने- “भायनेटको प्यान नेपाल एफटीटीएच नेटवर्क विस्तारको योजना अनुरुप हामीले पोखरामा सफलतापूर्वक सेवा विस्तार गर्न पाएकोमा गौरवान्वित छौँ । पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौं । जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सँधै नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौं ।” अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न भएको छ । जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महा प्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बाक्लो स्थानिय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथ कम्पनीका महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्वकाे बारे जानकारी दिएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकको चार शाखा एकसाथ विस्तार

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चार शाखा कार्यालयहरु संचालनमा विस्तार गरेको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो । हालसम्म ८ पुगेको र छिट्टै ३ शाखा खोल्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताएका छन् । बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ । बैंङ्गको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत  विस्तार गर्दै लग्ने योजना रहेको बताएको छ ।