‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए । ‘पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,’ उनले भने,’छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’ ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेको छ । ‘छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने ‘घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।’ १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताए । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् । वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताए । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन् । ‘दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने, ‘मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।’ २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए । रासस

महालक्ष्मी विकास बैंकले टाटाका गाडी किन्न ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बैंकले जनाएको छ । कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर एक योजना सार्वजनिक गरेको छ । ‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढीमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने बैंकले स्पष्ट पारेको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने बैंकले जनाएको छ ।