सुनचाँदीको मुल्यले राख्यो रेकर्ड, सुन भण्डारण गर्ने रणनीतिको प्रभाव

काठमाडौं । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुन भण्डारणमा लगानी बढाउने चिनको रणनीतिसँगै मुल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार दुवै दिन मुल्यले एक पछि अर्को उचाई कायम गर्दै त्यस पछिका दिनमा भने मुल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन हालसम्मकै उचाईमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राख्यो । त्यस पछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य १ लाख १७ हजार ३ सय ७० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४ सय ३० बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैस रहेको मुल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुग्यो । जुन त्यस पछिका दिनमा भेन घटेर पछिल्लो दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९० रुपैयाँ कायम भयो ।

तोलामा १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा एक हजार ८०० रुपैयाँले घटेर एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ८५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उपप्राध्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६.५६ रुपैयाँ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५.३३ रुपैयाँ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उनका अनुसार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, उद्योग संघ चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाट, पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक बब्लु ठाकुर, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक इन्दु राय यादवको उपस्थितिमा छलफल गरिएको हो । यसैगरी नेपाल पोल्ट्री महासंघका महासचिव दिनेश मिश्र, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, नेपाल ह्याचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानु विसुराल लगायत सरोकार पक्षबीच छलफल भएको थियो । कार्यक्रममा डा. अनन्त दाहालले अण्डाको लागत मूल्य १६.५६ रुपैयाँ हुनुका कारणबारे प्रकाश पारेका थिए। फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उनले जानकारी दिए । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले हालको अण्डाको बजारको अवस्था र उत्पादनको बारेमा जानकारी गराएका थिए । उनका अनुसार यस अघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाई छ ।