सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार २ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा शुक्रबार १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सय रुपैयाँलेनै बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उखुको जुस बेचेर मनग्य आम्दानी, मासिक एक लाखको कारोबार
कैलाली । धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएकी छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेकी छन् । शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताइन् । ‘पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ’, उनले भनिन् । धनगढीस्थित स्थानीय बजारबाट ६० हजार रुपैयाँमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक ७० हजार रुपैयाँ बराबरको उखु जुसको कारोबार हुने गरेको बताइन् । उनका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपविारको सम्पूर्ण खर्च कटाएर ३५ हजार रुपैयाँ जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास ३० रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् । धनगढीको जुगेडाबाट प्रतिक्विन्टल एक हजार पाँच सय रुपैयाँमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आएकी हुन् । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उनको भनाइ छ । लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएमा छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए । कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख रुपैयाँ बराबरको कोरोबार हुने गरेको जानकारी दिए । करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन् । उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए । उनले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताए । मासिक रुपमा ९० हजार रुपैयाँ जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर ३५ हजार रुपैयाँ फाइदा हुने उनको भनाइ छ । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् । रासस
एकैदिन तोलामा २३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।