ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा
काठमाडौं । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पुरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मलनमार्फत जानकारी गराएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए । ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले जानकारी दिए । साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहनेछ । एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहनेछ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्धनमा सघाउ पुग्ने छ । मेलाले सहभागी मुलुकका व्यवसायीहरुलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रर्दशन गरिने छ ।
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु गरेको हो । चैत १५ गते बिहीबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकासको सवालमा नविन सोच र तयारी तथा नविन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले बताएको छ । नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनगर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजि गर्ने विश्वास राखिएको छ । सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रश्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुनेछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।
तोलामा ११ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय १० रुपैयाँ निर्धारण गरिएको छ ।