कृषिबाटै करोडपति बनेका कृष्ण राई
धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफुले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् । त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन् । उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन् । पचपन्न रुपैयाँबाट सुरु अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।’ सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झ्छिन्, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’ कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।’ खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनी भन्छन्, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’ रासस
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २६ हजार पुग्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो । त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँसत दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।
काठमाडौंको व्यवसाय छाडेर कागती खेतीमा रमाउँदै रामबहादुर
पर्वत । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उनी कागती बगानमा मेहनत गरिरहन्छन् । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उनलाई भ्याइनभ्याइ छ । कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भुभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर उनले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाए । नगदे बालीको रुपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा आफैँले थालेको कुरिलो खेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । लामो समय काठमाडौंमा बसेर व्यापार गरेका क्षत्री ६० वर्षको उमेरमा काठमाडौं छाडेर गाउँ फर्किएका थिए । गाउँ फर्केपछि व्यावसायिक रुपमा कृषि पेसामा लागेका हुन् । काठमाडौं बस्ने क्रममा बोटानिस्ट डा खेमराज भट्टराईसँग भेट भयो । डा भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए । पुर्खाले आर्जेको माटोमा आफैँ नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौंको व्यवसाय छाडेर गाउँमा फर्किए । विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोप्नुभएका क्षत्रीको बगैँचामा कागतीका करिब एक हजार बोट छन् । कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थालेका क्षत्रीले सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा बिक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती बिक्री वितरण गर्दै आएका छन् । उनले प्रतिकिलो दुई सय खुद्रा र होलसेलमा एक सय ८० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै बिक्री हुने उनले बताए । गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उनको भनाइ छ । आफ्नो बगैँचामा कुनै प्रकारको रासायनिक पदार्थ ९विषादी मल० को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थालेका छन् । काँचो रस बिक्री नभए पकाएर चुक बनाएर बेच्ने । यसको बोक्राबाट स्वादिलो क्यान्डी बन्छ । उनले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा बिक्री गरेका थिए । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उनले बताए । कृषि ज्ञान केन्द्र पर्वतले कागतीको स्रोत केन्द्रको रुपमा उनको फार्मलाई छनोट गरेको छ । कागतीसँगै क्षत्रीले २०७५ सालबाट कुरिलो खेती सुरु गरेका छन् । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उनले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नुपरेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उनले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाए । उनको बगैँचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताए । कुरिलो बिक्री गरेर प्रत्येक छ महिनामा सन्तोषजनक आम्दानी भइरहेको उनको भनाइ छ । सुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौंका कम्पनीमा कुरिलोको जरा बिक्री गरेका उनले आजभोलि भने कुरिलोको टुसा घरबाटै बिक्री गर्दै आएका छन् । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैँचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उनको भनाइ छ । पोखरा–काठमाडौंका बजारमा धेरै मूल्यमा टुसा बिक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो रु एक हजारका दरमा बिक्री गर्दै आइरहेको पौडेलले बताए । कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उनले बताए । काममा उनलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उनले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिए । पौडेलले गत वर्षदेखि ८० हजार रुपैयाँको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि सुरु गरेका छन् । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि सुरु गरेको उनले बताए । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताए । क्षत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थालेका छन् । बेमौसममा बिक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरिद गरेर भण्डारण गरेको उनले बताए । खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरुको भर पर्नुपर्दैन उनले भने, ‘एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।’ उनले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताए । रासस