प्रति १० ग्राम दुई हजारले बढ्यो सुन, विश्वबजारमा सुनको मूल्य उच्च

काठमाडौं । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम ९९ हजार २५ मा पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम दुई  हजार एक सय ४५ ले बढी हो । इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएका कारणले सुनको मूल्य वृद्धिमा चाप परेको बताइएको छ । दुई साता अघिसम्म निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्नसक्ने विश्लेषकको अनुमान छ । यस्तै यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन एक हजार एक सय ९२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय रुपैयाँ पुगेको छ ।

दशैंमा सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

काठमाडौं । दशैंमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । बिहीबारको तुलनामा आज छापावाला सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

दशैं अगावै बेमौसमी सुन्तला फलाउँदै बागलुङका टोपबहादुर खड्का

गलकोट । सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए । ‘परीक्षणका लागि ६ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए’, खड्काले भने, ‘अहिले दशैं खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।’ सुन्तला गाउँका रुपमा परिचय कमाउदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै रु तीन करोड वार्षिक रुपमा गाउँ भित्रिदै आएको छ । अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् । खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर, मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यतः सुन्तलाको सिजन मङ्सिरबाट सुरु भएपनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ । बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । ‘बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो’, खड्काले भने, ‘मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।’ बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए । २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन् । खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् । रासस