कम एमविपीएसको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । जसअनुसार यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् । यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन् ।  हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको पनि टेलिकमले जनाएको छ । साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले बताएका छन्

हरेक पसलमा अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । साथै समितिको निर्देशन कार्यान्वयन भए वा नभएको प्रगति विवरण एक महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि आजको बैठकले निर्देशन दिएको छ । निर्देशन परिपालना भए नभएको सम्बन्धमा समितिबाट पनि अनुगमन र मूल्याङ्कन हुने समितिको भनाइ छ । समितिले गैरकानुनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ । साथै वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न÷गराउन, गैरकानुनी काम गर्नेलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैर कानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून बिजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न गराउन पनि समितिले निर्देश गरेको छ । समितिले कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्याङ्कनका लागि आवश्यक संयन्त्र निर्माण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ग्यास उद्योगले होटललगायत औद्योगिक प्रयोजनको लागि ५० केजी र चार सय ५० केजीका सिलिन्डर बिक्री वितरण गरेको विषयमा केकस्तो भएको हो रु स्पष्ट पार्न पत्राचार गरेकामा हालसम्म जानकारी नगराएकाले तीन दिनभित्र सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ । त्यसैगरी यस्तो गैरकानुनी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्यास उद्योगलाई कायम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । ‘अत्यावश्यक खाद्यान्नलगायतका ग्यास, पेट्रोलियम पदार्थ भण्डारणको अवस्था विगतदेखि नै कमजोर छ । यस विषयमा विगतदेखि नै संसदीय समितिले विषय उठान गरे पनि परिणामुखी कार्यसम्पादन हुन सकेको देखिँदैन । भण्डारणका सम्बन्धमा हालसम्म भएका कामको विवरण र भावी कार्ययोजना के छ भन्ने विषयमा सात दिनभित्र समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार उद्योग, तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देश गर्दछ’, समितिको निर्देशनमा भनिएको छ । समयमा टेन्डर नगर्ने, अरु निकायलाई दोष दिने प्रवृत्तिलाई अन्त्य गरी आफ्नो कार्यक्षेत्रभित्रको विषयमा जवाफदेही बन्न जिम्मेवारी पन्छाउने काम नगर्न र नगराउन साथै नागरिकको हकअधिकारप्रति सचेत भई कार्यसम्पादन गर्न र सार्वजनिक उत्तरदायित्वको विषयलाई आत्मसात गरी कार्यसम्पादन गर्न समितिले निर्देशन दिएको छ ।

स्याङ्जाको एउटै गाउँबाट पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

वालिङ । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै पाँच करोड रुपैयाँ भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो । आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत्  यहाँ सिंचाईको ब्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो । आक्वामा हाल ५५८ किसान आवद्ध छन् । उनीहरु ब्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि  खेती किसानी गर्दै आएका  छन् । जिमुहामा बीउ आलु तथा  खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको ब्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताए। यहाँ करिव दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिव तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कडेलले बताए । त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिव चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बीउ करिव एकसय मेट्रिकटन, साबित्री, रामधान करिव एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनको भनाइ थियो । वर्षेनी अनुमानित बीउ आलु बिक्रीबाट २१ लाख, खाने आलु बिक्रीबाट १२ लाख, मकैको बीउ बिक्रीबाट एक करोड २० लाख, धानको बीउ बिक्रीबाट एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट ६० रुपैयाँलाख गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो । ‘आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आवद्ध भएर यहाँका कृषकहरु ब्यावसायिकरुपमा अगाडि बढेका छन्’ उनले भने, ‘ब्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ ।’ उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि  समस्या नभए पनि कहिलेकाँही तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ । कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ छन् । ‘ठूलो जमिनमा ब्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्’ अध्यक्ष कँडेलले भने, ‘सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।’ गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यसवर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए । रासस