२५ वर्षको लगानी १० करोडभन्दा बढी सम्पत्ति क्षणभरमै खरानी

जनकपुरधाम । धनुषा जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकस्थित रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थल पुगे पनि मार्टमा कपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो । सञ्चालक रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए उनले मार्टको दोस्रो तलामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए । जनकपुरधाम। धनुषा जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकस्थित रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थल पुगे पनि मार्टमा कपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो । सञ्चालक रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए उनले मार्टको दोस्रो तलामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए । ‘क्षणमै जल्यो सम्पत्ति’ सर्लाही मलङ्गवा नगरपालिका-११ स्थायी घर भएका राय २५ वर्षदेखि व्यापार गरिरहेका छन् । सुरुमा उनले काठमाडौंमा घरघर गएर सामान बेच्ने काम गरे र पछि अरूकै पसलमा बजार व्यवस्थापक भएर काम गरेका थिए । त्यसपछि आफ्नै व्यापार सुरु गरेका थिए । ‘म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौंका घरघर गएर सामान बेचेँ। त्यसपछि काठमाडौं बाहिर जिल्ला–जिल्ला गएँ। त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ,’ रायले भने, ‘तर, २५ वर्षसम्म गरेको मिहिनेत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोलामात्रै बोकेर सडकमा आइपुगेँ ।’ व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौं न्युरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरेका थिए। तर, २०७२ सालको भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले रामानन्द चोक नजिकै कपडा व्यापार थालेका थिए । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सबै लगानी डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा खन्याएका थिए । ‘म एकैपटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएर जनकपुर आएँ । यहाँ आएपछि अरू सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब ३ करोडमा यही घर र व्यापारमा लगानी गरेँ, तर एकरातमा सबै सखाप भयो,’ रायले भने । रायले यही व्यापार बढाउन काठमाडौं थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक जनकपुरबाट ३ करोड ६५ लाख रुपैयाँ ऋण लिएको बताए । ‘पीडामाथि पीडा’ रायलाई व्यापारमा हिम्मत गर्न सघाउने श्रीमती हुन्, उनले बाहिर र श्रीमतीले पसल सम्हालिरहेका थिए । ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुईवटै किड्नी फेल भयो । त्यसपछि हाम्रा दुःखका दिन सुरु भए,’ रायले पीडा सुनाए, ‘आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो ।’ जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रको व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे। सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दीले समस्या भोगेका उनी दसैं आएपछि केही राहत होला भन्ने आशामा थिए । दसैं लक्ष्य गरी केही दिनअघि मात्रै मार्टमा नयाँ सामान थपेका थिए । ‘समस्या थियो, तर पनि हिम्मत हारेको थिइनँ । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैं–तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपेँ, तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए,’ आँसु पुछ्दै रायले भने, ‘भगवान, पीडामाथि पीडा किन दिएको? अब के गरेर खानु? कसरी ऋण तिर्न? कुनै विकल्प रहेन मसँग ।’ सबैभन्दा दुःखको कुरा, रायले बैंकबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमा गरेका छैनन् । ‘जायजेथा बेचेर लगानी बढाएँ। २५ वर्ष पसिना बगाएँ काठमाडौंबाट भूकम्पले विस्थापित गर्‍यो, फेरि उठ्न खोज्दै थिएँ,’ उनले निराश हुँदै भने, ‘जनकपुरले त उठिबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने?’  रासस

दशैंको मुखमा अखाद्य वस्तुको बिगबिगी, स्वास्थ्यमा प्रतिकूल असर पर्ने

गलकोट । बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । उक्त झिनियाँको न त उत्पादन मिति छ न त उपभोग्य मिति नै छ । यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा ल्याएको छ । भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ । झिनियाँ र भुजा मात्रै होइन कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा र सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ । यस्ता वस्तुहरु उपभोगका लागि अखाद्य मानिन्छ । बागलुङ बजारमा दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ । चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य बस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘व्यापारीले ज्ञान नभएर हो या उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर हो, आफ्नो पसलमा बिक्रीका लागि राखिएको सामग्रीको उपभोग्य मिति हेर्न आवश्यक छ, कतिपय खुद्रा व्यापारीहरुले मिति सकिएको सामग्री खरिद गरेर ल्याएको समेत पाइयो’, बरालले भने, ‘बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइयो जुन अखाद्य पदार्थ हो, स्वास्थ्यका लागि व्यापारीहरुले खेलबाड गरिरहेका छन् ।’ पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो । बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ । अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरुले साथ दिइरहेका छन् । बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ । अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर बिक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिए । उनका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य बस्तु नष्ट गरिएको छ । दशैंको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुमगनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताए । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ । चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बीचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र बिक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरिद बिक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा बिक्रेताहरूको सूची तयार गरि राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताए । रासस

चाडपर्वमा लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटबल । लुम्बिनी केबलकारले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आइतबारदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको हाे । यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ। चाडपर्वकाे अवसरमा आमसर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले बताए । चाडपर्वमा आमसर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ । आइएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ। टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ। उक्त रकम दुई पालिकाले ५०-५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको हाे । टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँच तारे होटेल बनाउने तयारी गरिएकाे छ ।