दराजले ल्यायो दशैं धमाका, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । दराज अनलाइन सपिङ्गले आउँदै गरेको दशैंलाई लक्षित गर्दै ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । असोज १७ गतेबाट लागू हुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशतसम्मको छुट र सात हजार रुपैयाँ बराबरको भौचर पाइने छ । यो योजनाअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् । यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत अर्थात १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डमा २० प्रतिशत अर्थात २ हजार रुपैयाँसम्मको छुट, ३५ सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भौचर पाउने छन् । दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि रहेको दराजले जानकारी गराएको छ ।

दशैंतिहारमा स्कोडाले ल्यायो ‘फाइभ स्टार अफर’

काठमाडौं । दशैंतिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’ ल्याएको छ । नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको हो । जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउँनेछन् । स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ । ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि निशुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ । त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउँनेछन् जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिनेछ । ‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भन्नु भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं ।’ यो स्किमले सुरक्षाप्रति स्कोडाको प्रतिबद्धतालाई दर्शाउँछ । स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन् जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन् ।

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बागलुङ । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन् । समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो । बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ । पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैँले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् । ‘किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्’, कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘बाँकोबाट राम्रो आम्दानी हुन्छ ।’ यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उनले भने । छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए । उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन् । ‘नजिकको जङ्गल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ’, छन्त्यालले भने, ‘समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।’ उनका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले भने । सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनको भनाइ थियो । ‘दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन् । यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ’, अध्यक्ष छन्त्यालले भने, ‘समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ ।’ एक प्याकेटको मूल्य तीन सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । गत वर्षभन्दा प्रति एक सय ग्राममा ५० रुपैयाँ मूल्य कम गरिएको उनले बताए । ‘जेठ/असारमा जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ’, छन्त्यालले भने, ‘यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ ।’ रासस