एनआईसी एशिया बैंकद्वारा पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरमा बिरामी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम २०८३ साल ज्येष्ठ २८ गते सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । बैंकले प्रदान गरेको सहयोगले स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आएको सेवा अझ प्रभावकारी बन्ने र स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहकाबीच स्वागत गरेका छन् । उक्त कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायहरूमा सेवा दिएकी छन् । पूर्व सचिवका रूपमा उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । शैक्षिक रूपमा उनी त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक हुन् । साथै, उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छन् । हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन् । उनको नियुक्तिसँगै बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यहरूलाई अझ सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउन मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकिङ कसुरमा बर्दिबास नगरपालिका वडाध्यक्ष पक्राउ

जलेश्वर । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  ।      महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।