राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, गोरखा र जुम्लामा सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखा र जुम्लामा नयाँ शाखा विस्तार गर्दै सेवा सञ्जाल थप विस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा जेठ २६ गतेदेखि नै शाखा कार्यालय सञ्चालनमा आइसकेको छ । यी शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले कर्जा तथा निक्षेप सेवासँगै एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ । 

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई लक्षित गर्दै पोखरास्थित फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवामा छुट सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित उक्त दुई लजबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापछि बैंकका ग्राहकहरूले फिस्टेल लज (लेकसाइड, पोखरा) र जगतपुर लज (चितवन) मा सेवा लिँदा विशेष छुट पाउनेछन् । समझदारीअनुसार ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् भने आवासीय सेवामा कर्पोरेट दर लागू हुनेछ । यस सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।   

एनआईसी एशिया बैंकद्वारा श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत चितवनको रत्ननगरस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको उक्त विद्यालयमा हाल १२६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । साथै, चेपाङ समुदायका ८५ भन्दा बढी विद्यार्थीलाई आवासीय सुविधा सहित अध्ययनको व्यवस्था मिलाइएको छ । विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसहित बैंकका नारायणगढ सर्कल प्रमुख रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रम २०८३ असार १ गते सम्पन्न भएको हो । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १५ का अध्यक्ष आशिक तामाङ, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले गरेको यस सहयोगले विद्यार्थीहरूको पठनपाठन थप सहज हुने तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।