गाउँबाट मान्छे पलायन हुँदा विद्यालयहरू बन्द हुने अवस्था आयो : मेयर न्यौपाने

काठमाडौं । रामेछाप नगरपालिकाका नगर प्रमुख हुन् लवश्री न्यौपाने । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर न्यौपाने नगर विकासको लागि अहोरात्र खट्दै आएका छन् । दीर्घकालीन सोचका साथ आफ्ना योजना अगाडि सारेका न्यौपाने नगरलाई सम्बृद्ध बनाउने दौडधुपमा लागेका छन् । उनै नगरप्रमुख न्यौपानेसँग समसामयिक विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् । तपाईं पालिकामा निर्वाचित भएर आउनु भएको डेढ वर्ष भयो, यो अवधिमा तपाईंले गर्नु भएको महत्त्वपूर्ण काम के हो ? डेढ वर्षको अनुभव कस्तो रह्यो ? रामेछाप नगरपालिका सुख्खा क्षेत्र हो । यहाँ पानीको समस्या छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता खानेपानीमा छ । भौतिक पूर्वाधार क्षेत्रको विकासमा सबैभन्दा महत्वपूर्ण विषय सडकलाई लिइन्छ । नगरभित्र सडक स्तरोन्नती तथा विकास र विस्तारको लागि पनि राम्रै बजेट छुट्याएका छौं । र, सडकको विकास पनि तीव्र गतिमा भइरहेको छ । हामीले नागरिकको स्वास्थ्य बीमा गर्नुका साथै स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मीलाई दरबन्दीको व्यवस्था पनि मिलाएका छौं । हामी शिक्षा, स्वास्थ्य खानेपानी, सडक, पर्यटन र कृषि लगायतका क्षेत्रको विकासका लागि निरन्तर लागि रहेका छौं । डेढ वर्षको अनुभव सुनाउँदा, जनताको चाहना अनुरूपको काम गर्न सकिँदैन रहेछ । किनभने पालिकामा असाध्यै न्यून बजेट हुन्छ । अब हिउँदे अधिवेशन पुषमा हुन्छ । त्यो बेलासम्म पालिकाको बजेट खर्च गरेको देखिँदैन । राज्यले भर्खर मात्र कर्मचारीलाई पेस्की खाने पैसा दिएको छ । विकास बजेटको पैसा आएको नै छैन । बजेट नै नआएपछि कसरी गर्ने काम ? हामीले यहाँका समस्या तथा आवश्यकताका आधारमा पठाएका योजना संघ र प्रदेशबाट आएनन् । हामीले राखेका योजनालाई प्राथमिकता नराखी व्यक्तिवादी योजनाहरू धेरै आए । जसका कारण पनि केही समस्या सिर्जना भए । केन्द्रीय सांसदले नीति नियम, विधि विधान र कानुन तथा ऐन बनाउने हो । प्रदेशको सांसदले प्रदेशमा भएका गतिविधि र नियम कानुन र बजेटको व्यवस्थापन गरिदिने हो । बजेट स्थानीय तहलाई पठाउनु पर्ने हो । किनभने विकास निर्माण स्थानीय तहभित्र गर्ने हो । उनीहरूले मनिटरिङ गर्ने हो । योजना छनोट गर्दा प्रायः धेरै जसो माननीयहरू नै आफै संलग्न हुने गर्छन् । अनि टेन्डर गरेर ठेक्का लगाउने योजनामा उपभोक्ता समिति लगाउने उपभोक्ता समितिले काम गर्नुपर्ने ठाउँमा टेन्डर गरेर गर्नुपर्छ भन्ने परिपाटी छ । योजना छनोटमा पनि राजनीतिक पूर्वाग्रह धेरै छन् । त्यसैले पनि मलाई नेताको चरित्र ठिक नभएको लाग्छ । पालिकाले के–कस्ता योजनालाई प्राथमिकता दिएर अगाडि बढाइरहेका छन् ? हामीले बृहत् रामपुर र बृहत् गोठपानी खानेपानीको योजना सञ्चालन गर्ने तयारी गर्दैछौं । वडा नम्बर २ र ३ मा खानेपानीको काम गर्ने तयारी भइरहेको छ । वडा नम्बर ४ को खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा छ । यस्ता खानेपानीको आयोजनाहरू निरन्तर चलिरहन्छन् । हामीले ४÷५ वटा खण्डका सडकलाई फोकस गरी कतिपयको काम गरिरहेका छौं भने कतिपय सडकको काम अगाडि बढाउने तयारी गरिरहेका छौं । राजनीतिकर्मी भएर जनताको सेवा गर्दा र जनप्रतिनिधि भएर सेवा गर्दा के फरक पाउनुभयो ? नेतृत्वमा भएर काम गर्नु र राजनीतिकर्मी भएर काम गर्नुमा धेरै फरक छ । राजनीतिकर्मी भएर काम गर्दै गर्दा यस्तो भएन यसरी गरेको भए ठिक हुन्थ्यो भन्ने विषय बढी हुन्थ्यो । नेतृत्वमा पुगेपछि काम गर्न चाहिँ सहज हुँदो रहेछ । किनभने लक्ष्य अनुसारको काम गर्न सक्यो । तर, भनेअनुसारको काम गर्न सकिँदो रहेनछ । विकासको लागि राजनीति हुनु पर्ने राजनीतिको लागि विकास हुने परिपाटिको विकास भएको छ । तपाईंको पालिकाको मुख्य आवश्यकता के हो ? जनताले भौतिक पूर्वाधार, विकास निर्माण सर्वसुलभ तरिकाले जीवन यापन हुने खाललका विकास चाहेका छन् । गाउँबाट दिनप्रतिदिन अभिभावक तथा विद्यार्थीहरू पलायन हुँदैन छन् । गाउँबाट मान्छे बाहिरिँदा गाउँका विद्यालयहरू बन्द हुने अवस्थाको सिर्जना भएको छ । यो अवस्था आउनु दुःखद हो । संघीय सरकारले के कस्तो काम गरिदियो भने स्थानीय तहहरू विकास निर्माणको काममा अग्रसर हुन सक्छन् ? संघीय सरकारले गर्नु पर्ने काम धेरै छन् । ५० करोड रुपैयाँ भन्दा माथिका योजना संघीय सरकारले गर्ने । त्यो भन्दा तलको बजेट प्रदेशले गर्ने अनि स्थानीय तहलाई बाँकी रहेका योजना स्थानीय तहलाई दिने प्रवद्र्धन छ । ५० हजारदेखि लिएर एक÷दुई अर्ब रुपैयाँसम्मका योजना पनि संघले नै छुट्याउने बाँकी रहेको प्रदेशले छुट्याउने समस्याले गाह्रो बनायो । समयमा बजेट, नगरका आवश्यकता अनुसारका कार्यक्रम र बजेट विनियोजन भयो भने स्थानीय तहमा धेरै राम्रो कामहरू हुन्छन् । फलानो माननीयले यसरी यो आयोजनामा पैसा हाल्नु भयो उहाँलाई धन्यवाद भनेर फेसबुकमा हाल्ने प्रचार प्रसार गर्ने कार्यलाई अन्त्य गर्नुपर्छ । रोजगारीको लागि युवाहरू बिदेसिने क्रम धेरै नै छ । नगर भित्र रोजगारी सिर्जना गराउने, उत्पादन तथा व्यापार वृद्धि गर्ने काम के–के भएका छन् ? पहिलो विषय शिक्षालाई नै जोड दिनुपर्ने रहेछ । शिक्षालाई जोड दिइसकेपछि उद्योग, कलकारखाना सञ्चालन गर्न तथा उत्पादन वृद्धि गर्नको लागि किसानहरूलाई बढी फोकस गर्नुपर्छ । कृषकहरूलाई उत्पादन वृद्धि गर्नेतर्फ जोड दिनु पर्छ । उत्पादन वृद्धि भइसकेपछि कच्चा पदार्थ पनि बढी भयो । उद्योग स्थापना गरी सञ्चालन गर्न पनि सहज तरिकाले सकियो । संघ वा सम्बन्धित निकायहरूले आय आर्जन हुने खालका काममा लगानी गर्ने हो भने गाउँमा मान्छे अडिन्छन् । अवसर भने उनीहरूको लागि पर्याप्त मिलाउनु पर्छ । शैक्षिक गुणस्तर तथा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने काममा पालिका कसरी काम गरेको छ ? नगर शैक्षिक सुधारका विषयलाई लिएर निकै सजक छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु साथै शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यमा पनि नगर लागेको छ । विद्यालयमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक गाउँमा पाइन छाडे । यसको लागि तीन पटक सूचना प्रकाशन गर्यो होला तर कसैको आवेदन परेन । विद्यार्थीको क्षमता जागरूकको लागि अभिभावक पनि जागरूक हुनु पर्यो । विद्यार्थीले पढ्नु पर्यो । अर्को विषय शिक्षकले पढाउनु पर्यो । त्यो तीन वटै कमजोरी मिल्यो भने समस्या हुन्छ । नगरले प्रत्येक विद्यालयमा इन्टरनेट कम्प्युटरको व्यवस्था गरिदिएको छ । पढ्न र पढाउन समस्या भएन । लामो समयदेखि अध्यापन गराइराख्नु भएको शिक्षक अझै पढाउँदै हुनुहुन्छ । उहाँहरूले पढाउने, सिकाउने तरिका, शैक्षिक सामाग्रीदेखि लिएर प्रविधिले जुन फड्को मारेको छ । ती सबै विषयसँग हाम्रो गुरुहरू अभ्यस्त हुनु हुन्न जस्तो मलाई लाग्छ । पहिला पढाइलाई मात्र फोकस गरिन्थ्यो भने अहिले विद्यार्थीलाई प्रविधि तथा यस सम्बन्धी ज्ञानसँग पनि अभ्यस्त बनाउन आवश्यक छ । विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । तपाईले एक वर्ष किसानको नजिक भएर काम गरिसक्नुभएको छ । पालिकाको कृषि कार्यक्रमबाट किसानहरू कत्तिको सन्तुष्ट हुनुहुन्छ ? नगरभित्रका कृषि पेसासँग संलग्न साथीहरू सन्तुष्ट नै भएको देख्छु । उहाँहरूलाई गर्ने सहयोग नगरले गरिरहेका छ । केही गुनासोहरु आए सुधार गर्दै अगाडि बढ्छौं । अन्त्यमा, बाँकी अवधिमा के कस्ता काम गर्ने सोचमा हुनुहुन्छ ? हामीले अगाडि बढाएका र अघिल्ला कार्यकालका साथीहरूले अगाडि बढाएका योजनालाई निरन्तरता दिई सम्पन्न गर्दै जानेछौं । नगरको आन्तरिक आम्दानीको स्रोत बढाउन सोच बनाएका छौं । बालमैत्री शासन लागूगर्ने योजनामा छ । कृषि पर्यटन स्वास्थ्य भौतिक पूर्वाधारको विकासमा नै बढी फोकस हुने लक्ष्य छ । हामीले योजना बनाएका विषयहरू गर्नका लागि बजेट धेरै लाग्छ । तर, बजेट कम आउनाले समस्या छ ।

इजरायलमा रहेका नेपालीले धैर्य गर्नुहोस्, नेपाली दूताबासमा उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं : मन्त्री साउद

काठमाडौं । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताएका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर मन्त्री साउदसँग गरिएको कुराकानीको अंश : इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ?   इजरायलमा प्यालिस्टाइनी हमास समूहको आक्रमणबाट सयौं नागरिकको हताहती भयो । ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० जना विद्यार्थीले आक्रमणमा परी ज्यान गुमाएका छन् । घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ । इजरायलमा विद्यार्थी बाहेक करिब चार हजार पाँच सय नेपाली नागरिक छन् । अधिकांश ‘केयर गिभर’मा कार्यरत हुनुहुन्छ । हमासको आक्रमणपछि नेपालीहरु त्यहाँ सन्त्रासको वातावरणमा बस्नु परेको थियो । मुलुकमा संसद, राजनीतिक दल, नागरिक समाज, र विद्यार्थीका अभिभावकबाट पटक-पटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो । यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो । संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अविव गई उद्धारमा जुटेको हुँ । पहिलो चरणमा दुई ५४ नेपालीको उद्धार गरेका छौँ । अहिलेपनि उद्धार जारी नै छ । इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ? इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु । निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ? आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेशमन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन । बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ? विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक-पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौं । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौं । पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ ? उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौं । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौं । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौं । यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौं, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिलेनै आउँछन् जस्तो लाग्दैन । धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्केलान् जस्तो मलाई लाग्दैन । काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घट्नाबाट के पाठ सिक्न सकिन्छ ? विदेशमा हामीले कानुनी रुपमा र सुरक्षित रुपमा पठाएका नागरिकमाथि पनि साङ्घातिक आक्रमण भएको यस घट्नाले हामीलाई पाठ सिकाएको छ । कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो । वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौं । सरकारले निश्चित मापदण्ड निर्धारण नगरी तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिन अघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा सो विषयमा छलफल गरेका थियौं । यस विषयमा हामी सहयोग गर्न तयार छौं । इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ ? इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूताबासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेको छ । यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसाथ गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन । इजरायल घट्नापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ? इजरायलको घट्नाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेकोे छ । उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गछौँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौं । इजरायल घट्नासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घट्नाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? सम्पूर्ण देशबासीलाई देश बाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु । राजनीतिक दलले पनि यस्ता घट्नाको कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन । कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ । त्यसैमा गर्दा राम्रो हुन्छ । तर विपद् र सङ्कटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ । यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु ।

पाँच वर्षमा ५० हजार किसानसँग जोडिन्छौं: पवन गोल्यान

नेपालमा हरेक वर्ष कृषिजन्य वस्तुहरुमा खर्बौं आयात हुने गर्छ । जसमा चामल, मकै, गहुँ र हरियो तरकारी समेत अन्य मुलुकबाट आयात भइरहेको छ । कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुन सुखद् होइन । मुलुकेको व्यापार घाटा वृद्धि हुँदै जानु कृषिजन्य वस्तुको आयात नै हो । मुलुक उत्पादन वृद्धिभन्दा पनि आयातमुखी अर्थतन्त्रमा तल्लीन छ । कृषि उत्पादन बढ्ने भन्दा घट्दै गएको छ । कृषिप्रधान देश भएर पनि कृषिजन्य वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालको व्यवसायिक समूह गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै र किसानको समेत आम्दानी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा लागेका छन् । उनले पूर्वी नेपालमा २ सय बिघा जमिनमा कृषि खेती अघि बढाइसकेका छन् । तराईमा मात्रै नभएर अब पहाडी जिल्लाहरुका पालिकाहरुसँगको सहकार्यमा किसानले उत्पादन गरेको कृषि उत्पादन ‘माटो’ ब्राण्डमार्फत बजारमा लैजाने र विदेश समेत निर्यात गर्ने योजना बनाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानसँग नेपालमा कृषि क्षेत्रमा लाग्नुको कारण, नेपालको कृषि क्षेत्रको सम्भावना, समस्या, समाधानका उपायहरूका बारेमा संक्षिप्त कुराकानी गरेको छ । बैंक तथा वित्तीय संस्था र उद्योगलाई छाडेर कृषिमा जोडिनुभएको छ, कृषिमा नै जोडिनुको कारण के छ ? किसानको आयआर्जन बढोस् भन्ने मेरो चाहना हो । यससँगै कृषि प्रशोधन उद्योगहरूले साना उद्योगी जन्माउनुपर्यो भनेर यसमा लागेको हुँ । यसका लागि हामीले १०-१२ ठाउँमा टाइअप गरेका छौं । माटो ब्राण्डमा महिलाले उत्पादन गर्ने अचार, मह, घिउ लगायत संकलन गर्न सहकार्य गरेका छौं । यस्तै हिमाली रसुवाको पानी रद्रगंगा फ्क्ट्रीले उत्पादन गरेको छ । हामीले बजारीकरण गरिदिएका छौं । साना उद्यमीलाई टेवा पुगोस् भनेरै माटो ब्राण्डमा जोडेर बजारीकरण गरिएको हो। यी काम मैले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र साना उद्यमीलाई सहज होस् भनेर गरिएको हो। यसले देश त बन्छ। कृषि भनेको सजिलो काम होइन । आजको भोलि नाफा आउँदैन । यसलाई दिगो नाफामुलक बनाउन अरू कर्पोरेट हाउस पनि छिर्नुपर्छ । खेतीको जग्गा घडेरीमा नजाओस् भन्ने मेरो चाहना हो । यहाँ खाद्य सुरक्षा छैन । यसको सुरक्षा गरेर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने मेरो चाहना छ। साथै मेरो सपना भनेको सबै नेपालीहरू स्वस्थ होउन भन्ने हो । उमेर ढल्केसँगै हरेकले बढी औषधि खानु परिरहेको छ। धेरै पैसा औषधि उपचारमा खर्च हुन थालेको छ । विषादीरहित खानामा ध्यान दियौं भने सबै नेपालीको स्वस्थ जीवन जिउन मद्दत पुग्छ । अब हामीले पालिकाहरूसँग सम्झौता गरेर करार खेतीमा जाने योजना बनाएका छौं । पालिकामार्फत किसानसँग करार खेती गर्दा भरपर्दो हुने भएकाले यस्तो गर्न खोजेका हौं। यसबाट किसानलाई अर्गानिक उत्पादन गर्न बिउ, बिरुवा, उपलब्ध गर्ने, लगाउनु अघि कसरी फलाउने सिकाउने, जैविक मल र विषादी कसरी बनाउने भनेर सिकाउने र फलाउनुअघि नै मूल्य तय गरिदिन्छौं । जस्तै कसैको १ बिघा जमिन छ भने उसँग २ वर्षको करार हुन्छ । अहिले ५० हजार पनि आम्दानी छैन भने हामीले २ लाख आम्दानी गराउँछौं । अझै यसैगरी किसानले ५ वर्षसम्म हामीसँगै जोडिए भने यसअवधिमा ५ लाख आम्दानी पुर्याउँछौं । कृषि उत्पादन गर्न किसानहरुले मल,बीउ, सिंचाई लगायत वन्यजन्तुको समस्या भोग्नुभएको छ, वन्यजन्तुको समस्या समाधान गर्न राज्यले के कदम चाल्नुपर्छ वा कस्तो नीति लिन आवश्यक छ ? किसानहरु हामी सबैको अन्नदाता हो । कुनैपनि देशमा सबै काम किसानले नै गर्नुपर्छ भन्ने विश्वमा कहीँ छैन । नेपाली अन्नदाता किसानहरुलाई सबै काम काँधमा बोकाउने काम भएको छ । किसानलाई सबै भन्दा पहिला राम्रो बीउ कहाँबाट ल्याउने भन्ने पत्ता लगाउन ग्राहो छ । त्यसको पनि खोजेर किसान आफैँले व्यवस्था गर्नुपरेको छ । मलको अभाव भएर कसरी मल प्राप्त गर्ने भन्ने समस्या छ । यी सबै समस्या झेल्दै केही उत्पादन गर्यो त्यो पनि वन्यजन्तुहरुले खाई दिने र वन्यजन्तुबाट बचेको उत्पादन बजारमा बेच्न बजार र मूल्य नपाउने अवस्था छ । नेपाली किसानलाई सबै काम आफैँ गर भन्ने भएको छ । यस्ता समस्याको कारण किसानहरु माथि उठ्न सकेका छैनन् । त्यसकारण अब किसानले अन्य समस्या झल्नु नपरोस् र उनीहरुले उत्पादन मात्रै गर्नुपर्ने वातावरण बनाउन लाग्नुपर्छ । नेपालका पूर्वदेखि पश्चिमसम्म विभिन्न वन्यजन्तुहरुले बाली नष्ट गर्ने गरेको अवस्था छ । वन्यजन्तु बदेल,दुम्सी,बादर लगायतका समस्या रामेछाप,दोलखा,काभ्रे लगायतका क्षेत्रमा बढी आतंक देखिएको छ । त्यहाँका किसानहरुले जतिखेती लगाए पनि आलु,मकै बदेल र अन्य फलफूल लगायतमा बादरले दुःख दिने गरेको पाइयो । नेपालको पूर्वदेखि पश्चिमसम्म जाँदा हात्ती,निलगाई,अर्ना र बाँदरलाई सरकारले समेत कन्टोल नगरी कृषि उत्पादन जोगाउने कुनै उपाय छैन । सरकारले वन्यजन्तु बाँदर,दुम्सी,बदेल,हात्ती नियन्त्रणको लागि राज्यले कुनै न कुनै नीति तत्काल ल्याउनुपर्छ । नत्र मुलुकको पहाडी भेग रित्तो हुने तर बाँदरको जनसख्या वृद्धि हुँदै जाने अवस्था छ । अहिले नेपालबाट हरेक दिन ७ देखि १० हजार मानिसहरु विदेश गइरहेको अवस्था छ । सरकारले वन्यजन्तुको नियन्त्रण नगरी खाद्यको सुरक्षा हुन सक्दैन । खाद्यन्नमा ४ खर्बको खाडल पूर्ण सक्ने अवस्था छैन । २ खर्ब रहेकोमा ५ वर्षमा डब्बल भयो । यस्तै भइरहे भोलिको दिनमा हामीलाई खानको लागि पनि पुग्दैन । अहिले सबैतिर कृषि पेशमा लाग्नेहरु युवाहरु छैनन् । सबै ५० माथिमा मानिसहरु मात्रै कृषिमा हुनुहुन्छ । गाउँघरमा आय स्रोत नहुँदा सबै विदेश जानुपर्ने बाध्यता छ । पहाडी क्षेत्रमा धेरै राम्रो हावापानी रहेको छ । त्यहाँ बस्न र त्यहाँ उत्पादन भएको खानेकुरा खाँदा मानिस समेत स्वार्थ बन्नसक्छ । त्यस्ता ठाउँहरुमा कृषि उत्पादन वृद्धि गर्न आवश्यक छ तर वन्यजन्तुबाट उत्पादन भएको वस्तुहरु जोगाउन समस्या छ । खेतीबालीमा वन्यजन्तुको आंतक रोक्न राज्यले कस्तो भुमिका खेल्यो भने मात्रै किसानहरुले वन्यजन्तुको आंकतबाट राहत पाउन सक्छन् ? किसानले उत्पादन गरेको बालीमा वन्यजन्तु लाग्छ भने राज्यले वन्य जन्तुलाई वनमा राख्न सक्नुपर्छ । वन्यजन्तुहरु खेतखारीमा आउन दिनु भएन । सरकारले कृषि उत्पादन र उत्पादित सामानको वन्यजन्तुवाट सुरक्षित राख्ने विषयमा कुरा मात्रै होइन । उपयुक्त नीति बनाएर वन्यजन्तुको आतंक रोक्न नसके सबैतिर मानिसहरु भन्दा बढी वन्यजन्तु मात्रै हुने अवस्था नआउला भन्न सकिँदैन । सरकारले वन्यजन्तुलाई ४५ प्रतिशतको भू-भागमा सिमित कसरी गर्ने, कसरी नियन्त्रण गर्ने भन्ने नीतिगत योजना ल्याउनुपर्छ । किसानहरुलाई वन्य जन्तुहरुको आतंकबाट उन्मुक्ति दिलाउनुपर्छ । सरकारले यस्तो गर्न नसके हाम्रा खेतहरु बाझो नै हुन्छन् । विदेश जानेक्रम पनि रोकिँदैन । पहाडी भेग खाली हुँदा मानिसहरु बिस्तारै सहज ठाउँमा सर्दैछन् । पानी अन्य समस्या नभएको राम्रो क्षेत्रमा पनि वन्यजन्तु लगायतका समस्याको कारण खेती गर्न सकेका छैनौं । पछिल्लो समय यसले डरलाग्दो अवस्था सिर्जना हुँदै गएको छ । यसलाई रोक्न सक्नुपर्छ । यसमा सरकारले प्राथमिकताका साथ लाग्नुपर्छ । हामी सबैले यसलाई छलफलको विषय बनाउनुपर्छ । किसान अन्नदाता भएकाले सबैभन्दा पहिला सरकारले किसानलाई जोगाउनुपर्छ । जबसम्म सरकार किसानको लागि सेन्सेटिभ हुँदैनौं । तबसम्म जति नीति बनाए पनि हामी सफल हुन सक्दैनौं । कृषि क्षेत्रमा बीउ, मल, सिंचाई लगायत पछिल्लो समय वन्यजन्तुको पनि समस्या निम्त्याएको छ । राज्यका नीतिहरु पनि कृषि उत्पादन मैत्री छैनन् । यस्तो अवस्थामा कृषि क्रान्ति गर्ने भनेर लाग्नुभएको छ । यसलाई सफल बनाउने योजना कस्तो छ ? नेपाल कृषि प्रदान देश भनेर म जन्मेदेखि भन्ने गरेको सुनेको हो । नेपालले त्यो बेला चामल,धान,जुट विदेशमा निर्यात गर्ने गर्थ्यौं । यति धेरै कृषि उपजहरु विदेश निर्यात गर्दा राम्रो आम्दानी थियो । तर अहिले बिस्तारै कृषि उपज सबै वस्तुहरु आयात गर्न थाल्यौं । नेपाल एकैचोटी कृषिबाट सर्भिस उद्योगतिर गयौं । यसले गर्दा कृषिमा अटोमाईजेशन,विविधिकरण आयो नत ठूला व्यवसायिक घरना कृषिमा लाग्यो । बाल्यकालमा आमाबुबाले राम्रो पढ नभएर हलो जोत्नुपर्छ भन्ने गरेको सुनेका थियौं । अब यसलाई नतिरी भएन । म कृषिमा लाग्नुको कारण कमाउन भन्दा पनि देशको लागि केही गरौं भनेर हो । अहिले पनि ६० प्रतिशत मानिसहरु किसान नै छन् । करेशाबारीमा लगाएर आफ्नो जीविका गर्नका लागि वा उत्पादन गरेर अरुलाई बेच्नको लागि होस् । जबसम्म अब हामी कृषि उत्पादनमा लाग्न सक्दैनौं । तबसम्म हाम्रो देशले आर्थिक रुपमा फण्डको मार्न सक्दैन । कृषि र वनपैदावर नेपालको धरोहर हो । किसानहरुलाई थाहा छ कुन ठाउँमा के हुन्छ । उनीहरुलाई करप क्यालेण्डर चाहिन्छ । कुन बाली लगायो भने बेच्दा राम्रो मूल्य पाउन सक्छौं र कति नाफा हुन्छ । कृषि उत्पादन र प्रशोधन धेरै ग्राहो काम होइन । मैले जन्मेदेखि कृषिमा भन्दा उद्योगधन्दामा बढी लागेको छु तर उद्योगधन्दा भन्दा पनि नेपालको लागि चाहिने दिगो विकासको लक्ष्य भनेको नै एक नम्बरमा कृषि पर्छ । कृषिमा अब लाग्नुपर्छ भने आफै लागेको हो । कृषि क्षेत्रमा नै सबै भन्दा राम्रो नाफा हुन्छ भनेर देखाउनु छ । यो च्यालेन्ज आफूले आफैँलाई दिएको छु । कृषिको लागि पूरै नेपाल घुम्न चाहन्छु । ७५३ स्थानीय तहमा पुग्न चाहन्छु । नेपालको तराई भन्दा पनि पहाडी भागहरु भुगोल फरक-फरक छ । कृषिलाई उद्योगको मोडलमा लैजानको लागि तयारी गर्न सकियो भने अरु व्यवसायी घरनाहरु पनि कृषिमा लाग्छन भन्ने हो । जनता एग्रोमार्फत सबैको पुँजीलाई एकिकृत गरेर कृषिमा फड्को मारौं भन्ने अठोटका साथ अगाडि बढेका छौं । उद्योग र बैंकिङ क्षेत्रमा लामो समय अनुभव प्राप्त गरेर अब कृषिमा लाग्नुभएको छ, किसानसँग तपाईहरु कसरी जोडिनु हुन्छ ? तराईमा १० विघा जग्गा भएको किसानले मुस्किलले वर्षभरीमा ५० हजार कमाउँछ । त्यसलाई दुई वर्षमा दुई लाख पुर्याउने र पाँच वर्षमा ५ लाख पुर्याउने भन्ने योजना बनाएका छौं । त्यसको लागि कसरी खेती गर्नुपर्छ र केके मिक्स गरेर जानुपर्छ भन्ने कुरा हामीले तयारी गरेका छौं । त्यो मोडल अनुसार हामीले झापामा शुरु गरेका छौं । पहाडी क्षेत्रमा हामी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा शुरुवात गर्न लागेका छौं । पहाडी जिल्लाहरुमा परीक्षण गर्ने क्षणमा छौं । आशापुरी फर्म जोडिएपछि पहाडी क्षेत्रमा काम गरिरहेका छौं । बेसारमा करम्पुमेण्ट उच्च भएको बेसार लगाउने तयारीमा छौं । नेपालमा अहिले २ प्रतिशत भन्दा कम छ हामीले ५ प्रतिशत भन्दा बढी भएको बेसार फलाउने तयारीमा छौं । किबी पनि रातो किवीमा प्राथमिकता दिएका छौं । जुन सिजनभन्दा पहिला नै फल्छ । रामेछापमा भुईं स्याउ,खुरपार्ने,अंजिरको ठूलो सम्भावना देखियो । यसरी किसानको आय वृद्धि भएपछि किसान आफैँ जोडिन आउँछन् । पालिकाहरु आफैँ जोडिन आउनुहुन्छ । हामीले शुरुवात गर्ने भनेको झापाका ५ ओटा नगरपालिकासँग र पहाडी भेगको ३ गाउँपालिकामा जोडिन खाज्दैछौं । काठमाडौंको वरिपरि भएका नगरपालिकाहरुसँग पनि जाडिन कोशिस गर्छौं । एक वर्षमा यो मोडल सफल हुने बित्तिकै पाँच वर्षमा ५० हजार किसानसँग जोडिन त्यति समस्या छैन । कृषिमा अहिले समस्या छन् । कृषिमा काम नै गर्न नसक्ने समस्या छैनन् । सरकारले वन्यजन्तुको नियन्त्रण गरिदिनुपर्छ । अन्य समस्याको लागि हामी राज्यसँग यो गरिदिनु प¥यो भनेर राज्यसँग जाँदैनौं । त्यो बाहेकका समस्या हामी आफैँ समाधान गर्छौं । किसान,पालिका,नगरपालिको बीचमा हामी आफैँ समन्वय गछौं । सरकारले यसमा साथ दियो भने चाँडै सफल हुन्छ । स्थानीय सरकार हाम्रो लागि अत्यावश्यक पर्छ । हामी स्थानीय तहका सरकारसँग जोडिएर काम गर्न चाहन्छौं । त्यही हिसावमा लागेका हौं । सरकारले किसानलाई दिने सहुलियत र कृषिकर्जा समेत वास्तविक किसानलाई पुग्न सकेको छैन भने कसरी कृषि क्षेत्रको विकास बिस्तार र व्यवसायीकरण गर्न सकिन्छ ? सरकारले किसानलाई दिने कृषि कर्जा वास्तविक किसानले नपाएको कुरा सत्य हो । केहीले पहुँचको आधारमा पाएका छन् । तर वास्तममा १० प्रतिशत किसानले पनि कृषि सहुलियत तथा सहुलियत पाउन सकेका छैनन् । तर पछिल्लो समय कर्जा लिएर कृषि उत्पादन भए पनि बजार पाउन सकेको छैन । बैंकबाट कृषि कर्जा लिएर उत्पादन गर्ने किसानहरु पनि कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । जसको कारण किसानले मल,बीउ समस्या झेलेर उत्पादन गरेको बाली वन्यजन्तुले खाने र वन्यजन्तुबाट जोगिएको उत्पादन विचौलियाले खाइदिने गरेको छ । त्यस्तो हुँदा किसानको हातमा के त ? किसानले गरेको मेहनतको एक पैसा पनि आएन । किसानले लगाएको खर्च पनि उठेन । त्यसैले किसानहरु कृषिबाट पलायन भइरहनु भएको छ । किसानलाई राम्रो नाफा हुने गरी मोडल ल्याएर एक ठाउँमा सफल भए मात्रै पनि त्यस्ता समस्या तोडर जान समस्या हुँदैन । हेरक कामको थालनी गर्दा शुरुवातमा यस्तै ग्राहो हुन्छ । क्यालकुलेटर जोखिम लिएर भने व्यापार व्यवसाय हुँदैन । जीवनमा जति धेरै जोखिम आउँछ त्यति आनन्द आउँछ । अहिले मलाई कृषि क्षेत्रका चुनौतिहरुको सामना गरेर सफल बन्ने हुटहुटी त्यत्तिकै छ । अबको एक वर्षमा अहिले शुरु गरेको कृषि मोडल सफल हुन्छ । कृषिमा जोखिम भनेको किसानहरुलाई जोखिम नहुने गरी आफ्नै पैसाको जोखिम लिने हो । मैले पाँच वर्षमा सबै जोखिम पार गरेको छु । अब त्यो जोखिम पार भएको छ । जब आफ्नो पैसा लगाइन्छ तब नोक्शान भोगिन्छ त्यसपछि विग्यता त्यहीबाट आउँछ । किसानहरुको भलो हामीले अपनाएको मोडलबाट नै हुन्छ । पछिल्लो समय नेपालीहरुको खाने बिल भन्दा डाक्टरले दिएको औषधीको बिल बढेको छ । नेपालमा हामीले खेती गर्यो भने नेपाल नै अर्को हुन्छ । बालक देखि वृद्धसम्म स्वार्थ हुन्छ भने पर्यटन आफैँ वृद्धि हुन्छ । हाम्रोमा कति सुन्दर डाडाहरु छन् । तर हामीले हाम्रो कुराहरुलाई प्राथमिकतामा राखेर प्रचार गर्न सकेका छैनौं । तपाई एक जना ठूलो व्यवसायीक घरना लागेर मुलुकमा कृषिमा क्रान्ति ल्याउन सम्भव छ ? म आँखा चिम्लेर हाम फाल्न लागेको होइन । कृषिमा जसरी लागेको छु । नेपालको समृद्धिको लागि ठूलो सम्भावना देखेर लागेको छु । गाउँ-गाउँमा गएर किसानहरुको कुरा सुन्दा र हामीहरु जाँदा किसानहरुको अनुहारको खुशी हेरेर भोलि किसानको आम्दानी बढ्छ र किसानहरुको परिवार नै खुसी हुन्छ त्यो भन्दा राम्रो कुरा के हुनसक्छ ? त्य भन्दा ठूलो सन्तुष्टि मेरो र मुलुकको लागि केही हुन सक्दैन । यसको मतलब त्यति मात्रैले पुग्छ भन्ने होइन । व्यापार गरेपछि नाफा गर्नैपर्छ । हामीलाई तत्काल नाफा चाहिएको पनि छैन । हाम्रोमा पारदर्शी व्यापार छ । कृषिमा पनि आफू पनि बाचौं र अरुलाई पनि बाच्न दिऔं भन्ने हिसावले जानुपर्छ । मलाई अहिले सबैले हेरेरहेका छन् । पवन गोल्यानले कृषि क्षेत्रको दिगो विकास गर्न सक्यो भने हामी पनि कृषिमा लगानी लगाउँछौं र आउँछौं भन्ने आशा गरिरहेका छन् । किसानहरुको आशा पूरा गर्नसक्यौं भने सबै व्यवसायी क्षेत्रपनि कृषिमा प्रवेश गर्छन् । कृषिको यो मोडल सफल भएर किसान र कम्पनी नाफामा गयो भने कृषिमा राम्रो फड्को मार्नेछौं । अहिले विदेशमा रहेका युवाहरुलाई मुलुक फर्कन मद्दत गर्छ भन्ने विश्वास छ । मुलुकको अर्थतन्त्र समस्यामा छ । अर्थतन्त्र लयमा ल्याउनको लागि सरकारले पनि कृषिलाई प्राथमिकता दिन थालेको छ । कृषिले मुलुकको अर्थतन्त्र लयमा ल्याउने सम्भावन कति छ र कसरी सहयोग गर्नसक्छ ? अर्थतन्त्रमा अहिले देखिएका समस्या र चुनौतिहरु हामी सबैले मिलेर बनाएको हो । यसमा कुनै विमति छैन । हामी युवा शक्तिहरु विदेशमा पठायौं । विदेशबाट रेमिट्यान्स लिएर आयौं । बाहिरको ब्राण्डहरु नेपालमा ल्याएर बेच्यौं । रेमिट्यान्सबाट आएको पैसालाई फेरि बाहिर पठाऔं । देशमा त्यो पैसा बस्दै बसेन । त्यसबाट आउने राजश्वबाट राज्य रमायो । आयात बढ्यो तर मुलुकभित्रको उत्पादन खच्किँदै गयो । आज मुलुकको औद्योगिक उत्पादन विलो १० प्रतिशतमा आइसक्यो । कृषिको उत्पादन दुई तिहाईबाट घटेर २५ प्रतिशतमा झरिसक्यो । यो अवस्था सरकार,नियमनकारी निकाय र निजी क्षेत्र सबै मिलेर गरेको हो । एक जनालाई दोष दिएर हुँर्दैन। अब हामीसँग विकल्प बाँकी छैन । मुलुकले फड्को मार्न सक्ने अवस्था भनेको पहिलो नम्बरमा कृषि छ । अहिले हामीलाई चाहिने तरकारी तीन महिनामा फलाउन सक्छौं । अफ सिजनमा पनि तरकारी नेपालमा नै फलाउन सक्छौं । यो वर्ष भारतमा नेपालले गोलभेडा निर्यात गरौं । तीन महिनामा नेपाल तरकारीमा आत्मनिर्भर बन्नसक्छौं । खाद्यन्नमा पनि राम्रो योजना बनाएर उत्पादन गर्न लाग्यौं भने एक वर्षमा आत्मनिर्भर बन्नसक्छौं । हामीलाई भू-भाग अपुग छैन । फलफूल पनि नेपालमा नै धेरै उत्पादन गर्न सकिन्छ । सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर बजेटमार्फत कृषिजन्य वस्तुहरुमा कर लगाउने काम गरेको छ । यसरी कृषि उत्पादन बढ्ने र किसान खुशी हुने अवस्था छ ? मुलुकले कृषिमा फड्को मारोस् भन्ने राज्यको चाहना छैन । आयातमुखी अर्थतन्त्रतिर हामी प्रवेश गरौं । आयातमुखी अर्थतन्त्रलाई परिमार्जन गर्नैपर्छ । यसको लागि राज्य संवेदनशिल हुन जरुरी छ । सरकारले लगाएको करले राज्य धनी हुने होइन । तर किसानहरु गरिब हुन्छन् । राज्य धनी हुँदैन । कृषिमा कर लगाउने कुनै पनि देशमा छैन । युरोपको मोडल नेपाल जस्तो देशले लिन मिल्दैन । नेपालको छिमेकी देश भारतमा आयकर र अन्तःशुल्क लगाएको छैन । चाइनामा पनि मलाई लाग्छ लाग्दैन । चीन कृषिबाट नै कहाँबाट कहाँ पुग्यो । चीनको कृषिको इतिहास त्यस्तो छ । नेपाल कृषिप्रदान देश भन्छौं तर चीन लगायतका मुलुकहरुले अहिल्यै कृषिप्रधान देश भनेको थिएन । हामी कसैलाई विश्वास छैन कृषिबाट फड्को मार्नसक्छौं । नेपालमा हामी सबै कृषिको राजनीति गर्छौं । राजनीति पार्टीका नेता, कर्मचारी वा व्यवसायीहरु सबै कृषिको राजनीति गर्छौं । सबैभन्दा पहिला कृषिको कुरा गर्छौं । तर कृषिमा कसैलाई विश्वास छैन । जबसम्म हाम्रो कृषिमा सोच परिवर्तन हुँदैन, हामी किसान भएर सोच्दैनौं । ग्राउण्ड वास्तविकता हेरेर कुरा गर्दैनौं । काठमाडौंमा बसेर हामी नीति बनाउँदैनौं । गाउँमा गएर नीति बनाउँछौं । त्योदिन मात्रै कृषिमा परिवर्तन आउँछ । हामी पालिकाहरुसँग जोडिन चाहन्छौं । काठमाडौंमा बसेर छलफल गर्दा सबै अनुमानित डेटाहरुको आधारमा योजना बनाउने काम हुन्छ । अनुमानित डेटा भएर काम हुँदैन । अहिले कसैलाई कृषिमा विश्वास छैन । हामीले सकारात्मक सोच ल्याए मात्रै परिर्वतन सम्भव छ । पछिल्लो समय हेरक समस्या भोग्नुपर्दा किसानहरुको समेत विश्वास हराएको छ । हाम्रो लागि कोही छैन भन्ने भएको छ । अब त्यसलाई तोडेर किसानलाई खुशी बनाउन हामी कम्मर कसेर लाग्छौं ।