नेपाली बैंकिङ अभ्यास म्यानमारमा लागू गरिरहेका छौं : सीईओ खतिवडासँगको कुराकानी

भेषराज खतिवडा पूर्व नेपाली बैंकर हुन् । तर, उनी अहिले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा छन् । एक वर्षअघि म्यानमार सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर म्यानमार पुगेका उनी हालै मात्रै सीईओमा नियुक्त भए । कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ यसअघि सो बैंकको सीईओ थिए । गुरुङले राजीनामा दिएपछि खतिवडाले कायमुकायम सीईओको जिम्मेवारी पाए । म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंक, प्रभु बैंक र साविक सिभिल बैंकको विभिन्न पदमा रहेर अनुभव बटुलिसकेका छन् । नबिल बैंकबाट बैंकिङ करिअर शुरू गरेका सीईओ खतिवडासँग विकासन्युजका सीआर भण्डारीले म्यानमारको बैंकिङ्ग अभ्यासका विषयमा कुराकानी गरेका छन् । विदेशी बैंकको नेतृत्वमा रहेर काम गर्दा कस्ता चुनौति खेप्नु पर्दाे रहेछ ? विदेशमा काम गर्ने भन्ने बित्तिकै त्यहाँको नियम, कानुन, व्यवसायीक वातावरण फरक हुन्छ । २०÷३० वर्ष एउटा वातावरणमा बसेर काम गरिरहेको बेला अर्काे ठाउँमा गएर काम गर्दा फरक वातावरण महसुुस हुन्छ नै । त्यसैले नयाँ ठाउँमा काम गर्न आएपछि व्यवसायिक र कानुनी वातावरण फरक हुन्छ, नियामक निकाय हुन्छ, ग्राहक फरक हुन्छन् । सबैभन्दा ठूलो फरक भनेको भाषा हो । म्यानमारमा यहाँको स्थानीय भाषा बोलिन्छ । अत्यन्तै थोरैले मात्रै अंग्रेजी भाषा बोल्ने गरेका छन् । त्यसैले हरेक ठाउँमा हरेक चुनौति हुनु स्वभाविक हो । म्यानमारको बैंकिङ्ग र नेपालको बैंकिङ्ग अभ्यासमा के फरक छ ? दुवै देशको बैंकिङ्ग तुलना गर्दा नेपालको बैंकिङ्ग अलि अगाडि छ । नियमनदेखि अन्य विषयमा नेपालको बैंकिङ्ग अगाडि नै छ । नेपालमा वासेल ३ लागू गर्ने तयारीमा छ भने म्यानमारमा वासेल १ लागू गर्ने तयारीमा छ । कतिपयमा ब्यवसायिक कारोवारमा म्यानमार अगाडि छ । नेपालको बैंकिङ्ग अभ्यास म्यानमारको भन्दा अलि अघि सुरु भएको देखिन्छ । नेपालको बैंकिङ्ग क्षेत्र विकास (ग्रो) गरेर ‘कन्सोलीडेसन’को फेजमा छ भने म्यानमारमा अझै कन्सोलीडेसनको फेज सुरु भएको छैन । बैंकिङ्ग अभ्यास नेपालको भन्दा पछि सुरु भएको हुँदा म्यानमारमा खाता खोल्ने, निक्षेप जम्मा गर्ने, कर्जा लिने रेसियो कम देखिन्छ । जस्तो नेपालमा आन्तरिक कर्जा र कूल ग्राहस्थ उत्पादन (डोमेस्टिक क्रेडिट र जिडीपी)लाई तुलना गर्दा १ सय प्रतिशतको हाराहारीमा छ । म्यानमारमा उद्योगी व्यवसायीहरुले आफैंले धेरै लगानी गरेर ब्यापार व्यवसाय गरिरहेका हुन्छन् । जिडीपीको २७÷२८ प्रतिशत मात्रै कर्जा लिएको देखिन्छ । ऋण लिएर उद्योग व्यवसाय गर्ने अभ्यास कम छ । कतिपय विषयमा म्यानमारको बैंकिङ्ग कन्जरभेटिभ छ । जस्तो नेपालमा लामो अवधीको कर्जा प्रवाह गर्ने गरिएको छ भने म्यानमारमा नियमाक निकायले ३ वर्षको सीमा तोकेको छ । उद्योग व्यवसायका लागि कर्जाको प्रयोग हुन्छ तर, अधिकांश छोटो समयका लागि मात्रै हुने गरेको छ । विदेशीमा कारोबार गर्दा नेपालमा एलसी प्रयोग गरिन्छ भने म्यानमारमा टिटिबाट कारोबार बढी हुन्छ । नेपालमा घरकर्जा एकदमै चर्चित छ भने म्यानमार भर्खरै मात्रै सुरुवात भएको छ । नेपालमा कुनै बेला कसैले ट्रक वा बस किन्न खोज्यो भने बैंकहरुले लगानी गर्न खोज्थे । तर, कार किन्न खोज्यो भने कर्जा लिएर पनि कार किन्ने हो भन्ने खालाको प्रश्न गर्थे । तर, अहिले त्यस्तो भन्दैनन् । अहिले कसैले कार किन्न खोज्यो भने बैंकहरुले सहज रुपमा कर्जा दिन्छन् । म्यानमारमा पनि भर्खरै मात्रै कर्जा लिएर कार किन्ने अभ्यास सुरु भएको देखिन्छ । नेपालमा राष्ट्र बैंकले प्राथमिकता क्षेत्र तोकेर कर्जा प्रवाह गर्छन् । म्यानमारमा कर्जाका लागि क्षेत्र तोकेको छ की छैन ? म्यानमारमा कर्जा प्रवाहका लागि क्षेत्र तोकिएको छैन । जुनसुकै क्षेत्रमा पनि जति कर्जा प्रवाह गर्दा हुन्छ । म्यानमारमा बैंकहरुले के आधारमा कर्जा दिन्छन् ? म्यानमारमा पनि धितो राखेर नै कर्जा दिने प्रचलन छ । नेपालको ठूला घरानाहरुमा कर्पाेरेट हाउसहरुमा धितो नराखेर कर्जा दिने गरिएको छ । तर, यहाँ कर्पाेरेट हाउसको पनि अधिकांश कर्जाहरुमा धितो राखेर दिईन्छ । धितोको रुपमा प्रायः घरजग्गा नै राखिन्छ । समग्रमा नेपालमा जुन रेसियोमा घरजग्गाको धितो छ त्यो भन्दा बढी यहाँ छ । कर्जाको अनुपात कम भएकाले त्यो संभव भएको हो । बैंकबाट कर्जा लिने परम्परा कम छ भन्नुभयो । सरकारले कर्जा प्रवाह गर्न नखोजेको हो की निजी क्षेत्रसँग प्रयाप्त पैसा छ भन्ने खोजेको हो ? सरकारले धेरै जोखिम लिएर दीर्घकालीन लगानी नगर्न खोजेको जस्तो देखिन्छ । जस्तो, टर्मलोनहरुमा लगानी गर्दा अधिकतम ३ वर्षसम्मको मात्रै सीमा छ । ३ वर्षमा कुनै प्रोजेक्ट सम्पन्न गरेर कर्जा चुक्ता गर्ने सम्भावना न्यून हुन्छ । तर, कर्जा अनुपात नै कम भएपछि त्यो सम्भव हुन्छ । ओभरड्राफ्ट लियो भने वर्षमा एकैचोटी पूर्ण रुपमा चुक्ता गर्नु पर्ने व्यवस्था भएकाले व्यवसायीको पूँजीमा कर्जा पूँजीको अनुपात कम हुने नै भयो । म्यानमारको केन्द्रिय बैंकले बैंकिङ्ग क्षेत्रलाई कसरी नियमन गर्छ ? नेपालमा ४ किसिमको बैंकिङ्ग प्रणाली छ भने म्यानमारमा वर्ग नछुट्याई एउटै वर्गमा राखेर नियमन हुन्छ । म्यानमारमा लघुवित्त वित्तीय संस्थाहरुलाई सरकारको छुट्टै निकायले नियमन गर्छ । लघुवित्त संस्थालाई केन्द्रिय बैकले नियमन गर्दैन । म्यानमारमा ४ वटा पूर्ण सरकारी बैंक र २७ वटा निजी क्षेत्रबाट सञ्चालित बैंक छन् । कुनै बैंकको नामको पछाडि डेभलपमेन्ट बैंक राखिएको भएपनि सबै बैंकको हैसियत एउटै हुन्छ । सबै बैंकले वाणिज्य बैंकसरह काम गर्छन् । सबै बैंकको कारोबारको सीमा पनि एउटै हो । नेपालमा बैंकको ब्याज उच्च भयो भनेर सडकदेखि सदनसम्म विरोध हुन्छ । म्यानमारमा ब्याजदरका विषयमा निजी क्षेत्रले कस्तो प्रतिक्रिया दिन्छन् ? केन्द्रिय बैंकले कर्जाको ब्याजदरमा सुरक्षित कर्जा र असुरक्षित कर्जा भनेर ब्याजदर सीमा तोकिएको हुन्छ । असुरक्षित कर्जाको १४.५० प्रतिशत ब्याजदर तोकेको छ भने सुरक्षित कर्जाको १० प्रतिशत ब्याज तोकेको छ । यस्तै, केन्द्रिय बैंकले बचतको निक्षेपमा न्यूनतम ब्याजदर ५ प्रतिशत तोकेको छ । यो बीचमा रहेर बैंकहरुले आफ्नो ब्याजदर कायम गर्छन् । त्यसैले नेपालको जस्तो ब्याजदर बढी भयो भनेर यहाँका निजी क्षेत्रले विरोध गर्ने अभ्यास छैन । सुरक्षित कर्जा र असुरक्षित कर्जा भनेर कसरी छुट्याइन्छ ? धितो भएको÷नभएको भनेर सुरक्षित कर्जा र असुरक्षित कर्जा भनेर छुट्याइन्छ । म्यानमारमा नगद पनि धितो राख्ने चलन छ । स्थीर सम्पती, निक्षेप वा सरकारी ऋणपत्रहरुको धितो, नगद धितो भएको कर्जालाई सुरक्षित कर्जा भनिन्छ । नेपालमा अभ्यास गरिएको हाइपोथेकिसन धितो म्यानमारमा असुरक्षित कर्जा अन्तर्गत पर्छ । जुन कर्जामा धितो राखिएको हुँदैन त्यो कर्जालाई असुरक्षित कर्जा अन्तर्गत राखिन्छ । अहिले म्यानमा ब्याजदर कति छ ? म्यानमारमा ब्याजदरमा बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ । कर्जाको ब्याजदरमा अधिकतम् सीमा तोकेको हुँदा सोही अनुसार सुरक्षित कर्जा १० प्रतिशत भित्र प्रवाह भइरहेको छ । असुरक्षित कर्जा अत्यन्तै कम प्रवाह हुन्छ । असुरक्षित कर्र्जा कर्जामा १० प्रतिशतभन्दा बढी लिने गरिएको छ । निक्षेपतर्फ भने समग्र बैंकहरुको औषत ब्याजदर ७ प्रतिशत हाराहारी छ । तर, बैंक अनुसार अधिकतम ९.५० प्रतिशतसम्म ब्याज दिने गरेका छन् । म्यानमारमा कर्जा दुरुपयोगको अवस्था कस्तो रहेको छ ? म्यानमारमा पनि कर्जा दुरुपयोग हुन्छ । लघुवित्त संस्थामा अझै बढी देखिन्छ । कोरोना महामारी र राजनीतिक परिवर्तनका कारण वाणिज्य बैंकको खराब कर्जा उच्च थियो । तर, अहिले सामान्य स्थितीमा आउँदैछ । यसलाई कर्जा दुरुपयोगभन्दा पनि डिफल्ट भएको भन्न सकिन्छ । कर्जा दुरुपयोग भनेको एउटा उद्देश्यका लागि लिएको कर्जा अर्कै क्षेत्रमा लगानी गर्नु हो भने डिफल्ट भनेको सही ठाउँमा लगानी गर्दा पनि तिर्न नसक्ने स्थिती हुनु हो । त्यसैले डिफल्टको स्थिती नेपालको भन्दा बढी छ । तर म्यानमारमा असुरक्षित कर्जा अत्यन्तै कम भएकाले ढिलोचाँडो कर्जा असुल हुन्छ । नेपाली बैंकरहरुले म्यानमारको बैंकिङ्गबाट सिक्नु पर्ने मुख्य कुरा के हुन सक्छ ? धेरै कुराहरुमा नेपालको बैंकिङ्ग अगाडि छ । तर, नेपालमा नीतिगत ब्यवस्थाले दबाव पैदा भएर कर्जा प्रवाह भएको छ । जस्तै, वाणिज्य बैंकहरुको पूँजी २ अर्बबाट ८ अर्ब पुर्याउँदा ५० प्रतिशत मुनाफा गरिरहेको बैंकले त्यही आकारमा बिजनेस गर्दा पनि मुनाफा १२.५० प्रतिशतमा झर्ने भयोे । त्यसैले रिटर्न अन इक्विटी कायम गर्न ४ गुणा लगानी गर्नु पर्ने स्थिती श्रृजना भयो । नीतिगत दबावका कारण बैकहरुले कर्जा बढाउनै पर्ने अवस्था आयो । केन्द्रिय बैंकको खुकुलो नीति भएका कारण कर्जा वृद्धिदर उच्च भयो । खुकुलो गरी गएको कर्जा उत्पादनमुलक क्षेत्रभन्दा पनि घरजग्गा र उपभोगतिर गएको देखिन्छ । जसकारण जिडीपी र कर्जाको सन्तुलन खलबलिन पुग्यो । त्यसैले अहिले सन्तुलनमा ल्याउन खोजिएको छ । तर, गइसकेको कर्जा ट्रयाकमा आउन समय लाग्छ । त्यसलाई ट्रयाकमा ल्याउँन नीतिगत कडाइ गर्दा सही उद्योगी व्यवसायीहरुले पनि कर्जा पाउन कठिनाई हुन सक्छ । अहिले त्यो स्थिती नेपालमा देखिएको छ । म्यानमारमा नियन्त्रणमुखी हिसाबले अघि बढेको छ । व्यवसायीहरुले पहिला नै बढी मात्रामा स्वपूँजी लगानी गरेका हुन्छन् । थप पूँजीको लागि मात्रै बैंकबाट कर्जा लिन्छन् । खराब कर्जाको स्थिती कस्तो छ ? म्यानमारको अर्थतन्त्र ‘बन्दमुखी अर्थतन्त्र’ हो । सबै बैंकहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्दैनन् । नेपालमा तीन÷तीन महिनामा वित्तीय विवरण प्रकाशन गर्छन् । सबै बैंकहरु पूँजी बजारमा सूचीकृत छैन् । र, वित्तीय विवरण प्रकाशन पनि गर्दैनन् । मैले काम गरिरहेको बैंक पूँजी बजारमा सूचीकृत भएको हुँदा वर्षमा एकचोटी वित्तीय विवरण प्रकाशन गर्छ । अन्य बैंकहरुले त्यो अभ्यास पनि गर्दैनन् । केन्द्रिय बैंकमा वित्तीय प्रतिवेदन पठाउँछन् तर, प्रकाशन गर्दैनन् । बास्तविक स्थिती सम्बन्धित बैंक र केन्द्रिय बैंकलाई मात्रै थाहा हुन्छ । अनुमानित रुपमा भन्दा सबै बैंकहरुको समग्र खराब कर्जा १० प्रतिशत हाराहारी होला । तर, लघुवित्त वित्तीय संस्थाको खराब कर्जा समावेश छैन । ३१ वटा बैंकहरुधमध्ये २ वटा बैंक मात्रै स्टक मार्केटमा सूचीकृत छन् । सूचीकृत संख्या कम भएकाले प्रकाशन गर्ने बाध्यता हुँदैन । केन्द्रिय बैंकको नियमन प्रक्रिया कस्तो छ ? केन्द्रिय बैंकले ‘कन्जरभेटिभ’ हिसाबले नियमन गर्छ । जस्तो कर्जा विस्तार भन्दा पनि ‘कन्जरभेटिभ’ भएर थोरै जोखिम लिएर प्रवाह गर्ने गरेको छ । चालू पूँजीमा दिएको पैसा वर्षभरि चलाइरहेको हुन्छ । तर, ओभरड्राफ्ट लियो भने वर्षमा एकचोटी चुक्ता गर्नु पर्ने हुन्छ । टर्म लोन दियो भने ३ वर्षभित्र चुक्ता गर्नु पर्ने हुन्छ । त्यो खालको व्यवस्था भएको हुँदा विस्तारकारी नीति नभएर कन्जरभेटिभ नीति लागू छ । म्यानमारको मौद्रिक नीति नेपालको तुलनामा नियन्त्रणात्मक खालको छ । म्यानमारमा बैंकको जनशक्ति कमजोर हो ? १५÷१६ वर्ष अघि नेपालमा पनि नेपाली सीईओ हुनै सक्दैन भन्ने खालको भाष्य थियो । विदेशबाटै सीईओ ल्याउनु पर्छ भन्ने थियो । त्यो विकासको प्रारम्भिक अवस्था थियो । त्यतिबेला नेपाली बैंकमा कोही सीईओ भयो भने नेपालीले पनि सीईओ चलाउन सक्छ र ? भन्थे । तर, म्यानमारमा मिश्रित अवस्था छ । धेरै जसो बैंकहरुमा स्थानीय सीईओ नै छन् । केही बैंकहरुमा बाहिरीबाट आएका छन् । स्थानिय जनशक्ति विस्तारै विकास हुँदै जान्छ । केही बैंकको मध्यम तहमा केही नेपाली बैंकर पनि छन् । म्यानमारको बैंकमा नेपाल, भारत, सिंगापुर, मलेसिया लगायतका देशका सीईओ पनि छन् । म्यानमारको बैंकमा नेपालको बैंकिङ्ग लागू गर्न के कस्ता सुझाव दिनु हुन्छ ? नेपालको बैंक अभ्यासबाट सिकेर यहाँको वातावरण अनुसार काम गर्ने हो । केही अघिसम्म धितोमुखी कर्जामात्रै हुन्थ्यो । अब जोखिम विश्लेषण गरेर, रिस्क रेटिङ गरेर कर्जा प्रवाह गर्ने अभ्यास गरिरहेको छु, जुन प्रभावकारी पनि देखिएको छ । कर्जाको फाइल एसेसमेन्ट गर्ने, जोखिम विश्लेषण गरेको अनुभवलाई यहाँ लागू गरिरहेको छु । घरकर्जा भिन्न तरिकाले प्रवाह भइरहेको थियो । अहिले नेपालको अनुभवलाई लिएर यहाँ कर्जाका प्रडक्टहरु लागू गर्ने गरेको छु । बैंकिङ्ग जनसंख्या र भूगोलका आधारमा पहुँच कस्तो छ ? नेपाल भन्दा म्यानमार क्षेत्रफलको हिसावले करिव ४.४४ गुणा ठुलो छ भने अर्थतन्त्रको हिसावले करिव १.५ गुणा ठुलो छ । आयातको आकार करिव उस्तै हो भने निर्यात करिव १२ गुणा ठुलो छ । तर प्रतिब्यक्ति कर्जा वा निक्षेपको हिसावले बैकिङ्ग पहुँच नेपालको भन्दा कम छ । बैंकको संख्या बढी भएपनि जिडिपिको २७ प्रतिशत मात्र कर्जा प्रवाह भएको भनेपछि पहुँच कम हुनु स्वभाविक हो । र, मान्छेहरु बैंकमा निर्भर कम छन् । यसको मतलब बैकिङ्ग विस्तारको लागि धेरै संभावना छ भनेर बुझ्न पनि सकिन्छ । म्यानमारमा पनि विदेशी बैंकहरु छन् । थाइल्याण्ड, सिंगापुर, मलेसियाका १७ बटा बैंकहरुको शाखा छन् । अब नेपालका नेपाली बैंकहरुले पनि म्यानमारमा पनि शाखा खोल्न सक्छन् । म्यानमारमा डिजिटल बैंकको अवस्था कस्तो छ ? म्यानमारमा पनि डिजिटल बैंकिङ्ग सुरुवात भएको छ । जस्तो इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कार्ड ट्रान्जेक्सन, इकमर्स, क्यूआर कारोबार लगायतको सुरु भएको छ । नेपालमा एक कदम अघि बढेको छ । म्यानमारमा सपिङ मल र ठूला होटल रेस्टुरेन्टहरुमा अभ्यास छ भने स–साना व्यवसायमा भरखरै सुरुवात भएकोछ । नेपालमा तरकारी तथा चिया पसलमा डिजिटल बैंकिङ्ग अभ्यास छ । म्यानमारमा पनि त्यो अभ्यास पच्छ्याउने स्थितीमा छ । म्यानमारमा अहिलेसम्म ‘क्यास इकोनोमि’ नै छ । क्यास बढी कारोबार भएर डिजिटल कम हुने गरेको छ । तपाईं काम गरिरहेको बैंक कस्तो प्रकारको हो ? म्यानमार सिटिजन्स बैंक म्यानमारको सबैभन्दा पुरानो बैंक हो । ३१ वर्ष अघि अर्थात् सन् १९९२ मा सरकारी बैंकका रुपमा सञ्चालनमा आएको हो । पछि निजीकरण गरेर मुख्य सेयर निजी क्षेत्रको स्वामित्वमा छ । ३१ वटा बैक मध्य २ वटा मात्र बैक मात्र धितोपत्र बजारमा सूचिकृत भएमध्ये म्यानमार सिटिजन्स बैंक एक हो । धेरै शेयर यहाँका प्रतिष्ठित ब्यावसायिक घरानाहरुले राखेर थोरै सेयर मात्रै सरकारको स्वामित्वमा छ । सरकारको प्रभाव कम पर्ने हिसाबले सेयर संरचना तयार गरिएको छ । म्यानमार सिटिजन्स बैंकले कुनै एउटा क्षेत्रलाई मात्रै फोकस गर्दैन । कर्पारेट, साना तथा मझौला, उपभोगमैत्री बैंकिङमा लगानी गरिन्छ । र, निक्षेपतर्फ पनि सबै प्रकारको निक्षेप स्वीकार गरिन्छ । डिजिटल बैंकमा पनि सबै प्रडक्टहरु उपलब्ध छन् । आकारको हिसाबले ३१ वटा बैंकहरुमध्ये १०/११ औ स्थानमा छ । अब प्रुडेन्ट बैंकिङ अभ्यास गर्दै अब्बल बनाउने कोसिस गर्छु । सञ्चालक समितिले व्यवस्थापन र कर्मचारीलाई कति हस्तक्षेप गर्छ ? सामान्यतया व्यवस्थापन समूह स्वतन्त्र हुन्छ । सञ्चालक समितिको नीतिगत स्वीकृति चाहिने आफ्नो ठाउँमा छँदैछ । तर, सामान्यतया काम गर्ने मामलामा स्वतन्त्र भएर काम गर्न मिल्छ । नेपाली बैंकहरुले यो अभ्यास सिक्नु पर्छ । सञ्चालक समितिले यसलाई कर्जा दिनै पर्याे र यो कर्मचारी राखिदिनु पर्याे भन्ने खालको हस्तक्षेप गर्दैन ।

दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : वरिष्ठ आँखा रोग विशेषज्ञ

काठमाडौं । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ । छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यस रोगको सङ्क्रमणबाट धेरै जना प्रभावित बनेका छन् । अहिले आँखा पाक्ने रोग अधिकांशमा भाइरल इन्फेक्सनका रुपमा देखिएको चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैँ निको हुने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुमनशम्शेर थापा बताउँछन् । चौबिस वर्षदेखि जलविन्दु तथा मोतिविन्दुको  विशेषज्ञका रुपमा काम गर्दै आएका डा थापा २३ वर्षसम्म तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् भने अहिले राजधानीको थापाथलीस्थित एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा रही सेवा गरिरहेका छन् । प्रस्तुत छ, हाल देशभर सङ्क्रमणका रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापासँग गरेको कुराकानीको सारसंक्षेप : केही समयदेखि देशभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ, यसको कारण के होला ? आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरुमा पुगेका छन् । काठमाडौँलगायत धेरै भागमा आँखा पाक्ने रोग यो झरीको मौसमसँगै व्यापक रुपमा देखिएको छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलिन्छ । यो भाइरसको कारणले बिरामीको सम्पर्कमा आएको एक दुई दिनभित्रै अत्याधिक छिटो सङ्क्रमण हुने रोग हो । यस रोगका लक्षणहरु के के हुन त ? आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । आँखा बिझाउँछ । रोगका भाइरस आँखामा सङ्क्रमित भएपछि बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । आँखा झिम्काउँदासमेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । एउटामात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ । आँखा गोलभेँडाजस्तो रातो हुने, आँसु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा बालुवा पसेजस्तो बिझाउने हुनसक्छ । यस भाइरसको कारण कतिपयलाई टाउको र घाँटी दुख्ने, ज्वरो आउने र कसैकसैलाई कानको अगाडिको भाग सुनिनेजस्ता समस्या पनि आउन सक्छ । यस रोगले आँखालगायत शरीरको अन्य भागमा पनि असर पुर्याउँछ कि ? आँखा पाक्ने रोग हेर्दा जति डरलाग्दो देखिए पनि आत्तिनु पर्दैन । यद्यपि यसको असर कसैकसैलाई दुई हप्तासम्म पनि रहनसक्छ । भाइरस कन्जङ्किटभाइटिसमात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन तर भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमात्र नभएर नानीलाई पनि असर गर्न सक्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो । सङ्क्रमण निको भएपश्चात् प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केही मात्रामा असर रही दृष्टिमा न्यून असर पर्न सक्छ । यतिबेला आत्तिएर होइन, सजग रह्यौँ भने यस रोगबाट चाँडै नै मुक्ति पाउन सकिन्छ । रोग लागिसकेपछि कसरी छिटोभन्दा छिटो निको पार्न सकिन्छ ? सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, विद्यार्थी भए केही दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाहबमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता विधिहरु अपनाउनु पर्छ । सङ्क्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । दिनमा दुई÷तीन पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । नरम खालको कपडा प्रयोग गर्नुपर्छ । सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ । बिरामीले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूले प्रयोग नगर्ने वा गर्नै परे राम्ररी साबुनपानीले धोएर मात्र प्रयोग गर्नुपर्छ । यस रोगबाट कसरी बच्न सकिन्छ त ? धेरैलाई आँखा पाकेको बिरामीलाई देख्दा आफूलाई पनि सर्यो भन्ने भ्रम छ, त्यो होइन । बिरामीको आँखा हेरेर सर्दैन । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ । औषधि हालिदिने सहयोगीले राम्रोसँग साबुनपानीले हात धुनु पर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितिमा यसले चाँडो सङ्क्रमण गर्नसक्ने भएकाले पोसिलो खाना खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ । यो रोगको ध्यान दिनुपर्ने मुख्य कार्यमा बिरामीले आँखा नछुने, बिरामीलाई औषधि हाल्न वा अन्य कामले छोएमा राम्रोसँग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधिहरु प्रयोग गर्ने र अरूलाई यो रोग सर्न नदिन सजग हुने कार्य गर्नुपर्दछ । बिरामीलाई अलग्गै बस्ने, सुत्ने गर्नुपर्छ । घरबाहिर निस्कनु परेमा कालो चस्मा प्रयोग गर्न सकिन्छ । सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ । विद्यालय नै बन्द गर्नुभन्दा बिरामीलाई दुई/चार दिन विद्यालय नआउन भन्ने वा अलग्गै राख्न सकिन्छ तर ठूलो सङ्ख्यामा बिरामी बढेमा बन्द गराउनु पनि पर्नसक्छ । यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने समाचारहरु पनि आएका छन् नि ? हो मैले पनि कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो गरेको सुनेको छु । यो एकदमै नराम्रो कुरा हो । यसरी देशभरि नै सङ्क्रमणको रुपमा फैलिएको यस रोगबाट छिटोभन्दा छिटो मुक्ति पाउनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेलामा नाफाका लागि औषधि लुकाउने काम भएको छ भने त्यो निकै ठूलो अपराध हो । कसैले त्यस्तो गलत काम गरेको छ भने त्यस्ता मानवताविरोधी काम नगर्नुहोला । र राज्यले पनि यसमा निगरानी बढाएर गलत कार्य गर्नेलाई कारबाही गर्ने र साँच्ची नै औषधिको अभाव भएको ठाउँमा तत्काल औषधि पठाएर बिरामीलाई आश्वस्त तुल्याउनुपर्छ । अझै कति दिनसम्म यस रोगको सङ्क्रमण रहिरहन्छ ? यो मौसमसँग सम्बन्धित रोग हो । ह्युमडिटी कम भएपछि विस्तारै कम हुँदै जान्छ । सामान्यतः अझै दुई सातासम्म यसको सङ्क्रमण रहनसक्छ । यस रोगमा अस्पताल नै जानुपर्ने हो कि घरमै पनि उपचार गर्न सकिन्छ ?  आँखा पाकेको लक्षण देख्नेबित्तिकै अघि भनेअनुसार सावधानी अपनाउँदै आँखाको उचित हेरविचार गर्नुपर्छ । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाएर घरमै उपचार गर्न पनि सकिन्छ । आत्तिएर अस्पताल दौडिहाल्नुपर्ने वा अनेक औषधि प्रयोग गरिहाल्नु पर्दैन । तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ । उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्शअनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । आफूखुसी औषधि प्रयोग गर्नु भने हुँदैन, चिकित्सकको रायअनुसार औषधोपचार गराउनु पर्छ । नेपालमा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ? नेपालमा आँखासम्बन्धी रोग एउटा क्रोनिक रुपमा र अर्को नसर्ने खालको पाइन्छ । उमेर बढ्दै जाँदा जलविन्दु र मोतिविन्दुको समस्या देखिन थाल्छ । मोतिविन्दुको समस्या त धेरै कम भएको छ ।  मधुमेह, रक्तचापका बिरामीमा पनि आँखाको समस्या धेरै छ । पछिल्लो समय जीवनशैलीका कारण कम उमेरमै यी समस्या बढ्न थालेको छ । आँखा रोग विशेषज्ञ र उपचार सेवाको अवस्था कस्तो छ नि ? नेपालमा औसत जनसङ्ख्याको अनुपातमा आँखा रोग विशेषज्ञको सङ्ख्या निकै न्यून छ । हाल करिब तीन सयको सङ्ख्यामा विशेषज्ञ छन्, जबकि एक हजारभन्दा बढी हुन आवश्यक छ । विशेषज्ञसहितका आँखा अस्पतालहरु पनि राजधानी बाहिर निकै कम छ । अस्पतालहरुमा रहेका प्राथमिक आँखा उपचार केन्द्रहरुको स्तरोन्नति गर्न सकिएमा र कम्तीमा महिनामा एकपटक विशेषज्ञहरुमार्फत केन्द्रमा नै शल्यक्रिया गर्न सकिएमा धेरै बिरामीले राहत पाउने थिए । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ । रासस

नेपालकै शैक्षिक संस्था विश्वस्तरीय छन्, उच्च शिक्षा पढ्न बैंकबाट ऋण पाइन्छ : प्रिन्सिपल पौडेल

कक्षा १२ उत्तिर्ण विद्यार्थीहरू यतिबेला विश्वविद्यालय शिक्षाको तयारीमा छन् । विश्वविश्वालयहरुले पनि विभिन्न विषयमा भर्ना आह्वान गरेर प्रवेश परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् । तर, कक्षा १२ उत्तिर्णमध्ये ठूलो संख्याका विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने तयारी गरेको देखिन्छ । शिक्षण संस्थाहरू नेपालमै विश्वस्तरीय शिक्षा दिइरहेको दावी गर्छन तर, विद्यार्थी भने विदेशका विश्वविद्यालय खोजिरहेका छन् । नेपालको शैक्षिक संस्थाको अवस्था, शिक्षण प्रणाली, नेपाली शैक्षिक संस्थामै अध्ययन गर्नुपर्ने कारण र नेपालमा उपयोगितामूलक (एप्लाईड) कोर्ष अध्ययनको स्थिति जस्ता विषयमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश : स्नातक तह अध्ययनको लागि सबै विश्वविद्यालयहरुले विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएका छन् । सबै विद्यार्थीको पहुँचमा विश्वविद्यालयका कार्यक्रमहरु पुगेका छन् ? नेपालका धेरैजसो विश्विद्यालयहरुको धेरैजसो विषय नै मिल्दोजुल्दो अवस्थामा रहेका छन् । कुनै पनि देशमा विश्वविद्यालयहरुले कस्तो जनशक्तिको आवश्यकता छ भनेर विषयवस्तुको डिजाइन गरेका हुन्छन् । जुन विषयवस्तुको डिजाइन गरिएको छ, सो अध्ययन पश्चात उत्पादन हुने जनशक्ति राष्ट्रकै लागि हो । जनशक्तिको आवश्यकताका आधारमा नै पाठ्यक्रम तयार गरिएको हुन्छ । नेपालका विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति नेपालको आवश्यकता अनुरुप नै भैरहेको छ । कतिपय शैक्षिक कार्यक्रम मिल्दोजुल्दो छ, तर सबै ठाउँमा सबै विश्वविद्यालय पुग्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय पुरानो भएकोले धेरै ठाउँमा पुगेको छ भने प्रादेशिक तह र केही विशेष ठाउँहरुमा अन्य विश्वविद्यालय पनि पुगेका छन् । संघीय व्यवस्था पछि कतिपय अध्ययन गर्नको लागि काठमाडौं नै आउनपर्ने बाध्यता पनि हटेको छ । आफ्नो क्षेत्र तथा आफ्नो प्रदेशमा विद्यार्थीले रोजेको विषय पढ्न पाउने, सबै विषयका कलेज उपलब्ध हुने अवस्था बन्दै गएको छ । केही नयाँ कार्यक्रम पनि विस्तारै आउँदै छन् । कक्षा १२ उत्तिर्ण भएको विद्यार्थीले कुन विषय रोजेर स्नातक तहमा पढ्दा राम्रो हुन्छ ? तपाईंको सुझाव के छ ? विद्यार्थी स्वयंको रुचि के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानव जातिको स्वभाव भनेको ऊ सँधै नै हरेक ठाउँमा अग्रस्थानमा हुन चाहन्छ । अहिले २१ औं शताब्दीको विद्यार्थीले विश्वलाई राम्रोसँग देखिसकेको छ । विद्यार्थीको रुचिअनुसार कसैले सिभिल इन्जिनियर, कसैले बिबिए, कसैले चाटर्ड एकाउन्टेन्ट, कसैले डाक्टर त कसैले आइटी राम्रो मान्न सक्छन् । यी विषयहरु नेपालको सन्दर्भमा केन्द्रित गरेर अगाडि बढाइएको भए पनि विश्वबजारमा बिक्ने विषयहरु हुन् । विश्वबजारमा काम गर्न नेपाली युवा सक्षम भएको अवस्था छ । विश्वविद्यालयहरुले पनि बजारको मागअनुसार विषयको विस्तार गरेको देखिन्छ । साथै विश्विद्यालयहरुले देशलाई आवश्यक पर्ने जनशक्तिमा आधारित नयाँ–नयाँ विषयहरुको पनि विकास गरेका छन् । सूचना प्रविधिको सहायताले अहिलेको युवाले विश्व आफ्नै हातमा देखेको छ । त्यसैले उसले इच्छाअनुसार देशमा अथवा विदेशमा बिक्ने प्रकारको विषय रोजेर पढ्न सक्छ । पछिल्ला वर्षहरुमा सामान्यतया कक्षा १२ पास भइसकेपछि अध्ययन तथा करिअर निर्माणका लागि विदेश जाने प्रवृत्ति विकास भइरहेको छ । तपाईंले कसरी हेर्नुभएको छ ? मानवजाति हो, उसले सुविधा खोजिरहेको हुन्छ, जहाँ सुविधा हुन्छ ऊ त्यहाँ जान चाहन्छ । यो स्वभाविक पनि हो । देशमा नयाँ पुस्ताले सोचेजस्तो नभएको पनि होला । तर, केही नभएको पनि होइन, धेरै भएको पनि छ । तर, हामीले अपेक्षा गरेअनुरुप नभएको हुनसक्छ । माटो सुहाउँदो विकास भइरहेको हुनसक्छ ।  सुविधा खोज्ने केही विद्यार्थीहरुले यहाँ गर्ने मिहेनतले विदेशमा गएर गर्दा राम्रो हुन्छ भन्ने मानिरहेका छन् । पछिल्लो समयमा केसम्म हुँदै गएको छ भने उसको छोराछोरी विदेश गए, मेरा गएनन् मलाई समाजले कसरी हेर्ला भन्नेसम्म भइसक्यो । यो निकै गलत भइरहेको छ । हामीले १८ वर्षसम्मका बालबालिकालाई नाबालक भन्ने गर्छौं, कतै हामीले हाम्रा बालबालिकाहरुमा परिपक्वताको विकास नहुँदै विदेश पठाइरहेका त छैनौं ? कतै उनीहरु विदेश गएर आफ्नो शिक्षालाई अगाडि बढाउने भन्दा पनि पैसाको पछाडि मात्रै त दौडिरहेका छैनन् ? राज्यले र अभिभावकले यो विषयलाई कसरी हेर्ने ? नेपालबाट अध्ययन गर्ने नाममा विदेश गएका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छैनन् । त्यहाँको समाजमा उनीहरु तल्लो स्तरका नागरिक भएर आफ्नो जीवन गुजारिरहेका छन् । तपाईंले भनेजस्तै हाम्रो मुलुकमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने झण्डै डेढ दर्जन विश्वविद्यालय पुगिसके । तर ठूलो संख्याका विद्यार्थीहरु अध्ययनको नाममा विदेश गइरहेका छन् । वास्तवमा विद्यार्थीहरुले स्नातक तह नेपालमा नै पढ्दा उनीहरुको करिअर राम्रो बन्छ की विदेशमा ? यहाँनेर एउटा महत्वपूर्ण प्रश्न उठ्छ । करिअर केलाई मान्ने ? पैसा र शिक्षा भनेका दुई भिन्न विषयहरु हुन् । हामीले के बुझिरहेका छौं भने ब्याचलर डिग्री पढ्ने वित्तिकै यसले यती कमाउनुपर्छ भन्ने गरेका छौं । यसले यस्तो किसिमको जागिर खानुपर्छ भन्ने काम गरिरहेका छौं । नेपालमा यो–यो काम यति पढेको व्यक्तिले गर्न हुँदैन भन्ने कुरा गरिरहेका हुन्छौं । यहाँबाट कक्षा १२ पढेर विदेश गएको विद्यार्थीले पैसा कमाएको छ, तर उसले आफ्नो शिक्षालाई अगाडि बढाइरहेको छैन । करिअर भनेको पैसा हो की शिक्षा अथवा उसको बुझाईमा परिपक्वतामा विकास हो ? हामीले ब्याचलर डिग्री यहाँ पढ भन्नुको अर्थ कक्षा १२ पछिको चार वर्षमा उसले आफ्नो जीवन, समाज र वास्तविक जीवनमा एक स्तरको परिपक्वता हासिल गर्न सकोस् भनेर हो । त्यसपछिको अवस्थामा ऊ नेपालमा मात्रै नभएर विदेशमा पनि राम्रोसँग आफ्नो क्षमतालाई बेच्न सक्छ । यहाँ बसेर ब्याचलर डिग्री पढेकोलाई होइन, विदेशमा गएर पैसा कमाएकोलाई समाजले ठूलो मान्ने काम गर्यो । जुन विषय क्षणिक हो । समाजमा एउटा भनाइ छ, ‘मुतको न्यानो’ वास्तवमा त्यही नै हो । जुन देशको युवाहरुले शिक्षामा छलाङ मार्दैनन् त्यो देशको विकास सम्भव छैन । हामीले हाम्रा युवाहरुलाई देशमा नै शिक्षित बनाउन सक्नुपर्छ । नेपालमा चार वर्षको एप्लाइड कोर्ष सरकारी संस्थामा अध्ययन गर्दा कलेजको शुल्क र बसोबार खर्चसमेत गरेर १५ लाख र निजीमा जाँदा न्यूनतम २५ लाख खर्च हुने रहेछ । यहाँ यति धेरै खर्चिनुभन्दा विदेश जाँदा ठिक भन्ने मानसिकता विद्यार्थीमा विकास भएको छ । यसमा राज्यको भूमिका हुनुपर्दैन ? आर्थिक अवस्था कमजोर भएका, दुर्गम क्षेत्रका र सरकारी स्कुल पढेका विद्यार्थीहरुलाई सरकारले १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । सो सुविधा जुनसुकै विश्विद्यालय तथा कलेजमा पनि लागू हुन्छ । यो भनेको ठूलो परिणाम हो । हाम्रो कलेजले नै वर्षेनी १४ जना सिभिल इन्जिनियर पढ्ने विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिरहेका छौं । त्यस्तै, नेपाल राष्ट्र बैंकले प्राविधिक तथा अप्लाइड विषयको अध्ययन गर्ने विद्यार्थीलाई ४ देखि ६ प्रतिशत ब्याजमा सफ्ट लोनको व्यवस्था गरेको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा ९० जना विद्यार्थीहरुले अहिले पनि सो सुविधा लिइरहेका छन् । जुन ऋण प्राप्त गर्न विद्यार्थीले धितोको व्यवस्था गर्नुपर्दैन । कलेजलाई तिर्नुपर्ने शुल्कको पाँच लाखसम्म यस्तो सुविधा विद्यार्थीले प्राप्त गर्न सक्छन् । तर, यो सुविधाको लागि कलेजले बैंकसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने हुन्छ । आइटी पढ्ने विद्यार्थीले दोस्रो सेमेस्टरबाट नै आफै आम्दानी गर्ने क्षमता समेत राख्ने गर्छ । उसले आफ्नो ऋण आफै तिर्न सक्छ । त्यस्तै इन्जिनियर पढ्ने विद्यार्थीले पनि सातौं समेस्टरबाट पार्ट टाइम काम गरेर आम्दानी गर्न सुरू गर्छ । हामीले यो सुविधालाई प्रयोग गर्न सकिरहेका छैनौं । आर्थिक अवस्था कमजोर भएको विद्यार्थीले आफ्नो परिवारसँग बसेर सरकारले दिएको सो ऋण सुविधालाई प्रयोग गरेर पढ्न सक्ने अवस्था छ । पढ्दै कमाउँदै गरेर यो सुविधा विद्यार्थीले प्रयोग गर्न सक्छन् । कतिपयले गर्वका साथ विदेशको डिग्रीको उल्लेख गर्ने गरेका छन् । के नेपालमा शिक्षण संस्था अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने हैसियत बनाएका छैनन् ? नेपाली विश्वविद्यालय तथा कलेजहरुले विश्वस्तरीय जनशक्ति उत्पादन गर्न नसकेको भए विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुले नेपालबाट स्नातक उत्तिर्ण गरेको विद्यार्थीलाई स्नातकोत्तर गर्न किन दिन्थे र ? विदेशी विश्वविद्यालयमा नेपाली विद्यार्थी पहिलो रोजाइमा किन पर्थे ? हाम्रो पाठ्यक्रम र शिक्षण राम्रो भएर नै उनीहरुको रोजाइमा परेको हो । नेपाली विश्वविद्यालयमा दक्षिण एसिया, युरोप तथा सबै मुलुकको पाठ्यक्रमलाई मध्यनजर गरेर नै विकास गरिएको छ । त्यसकारण हाम्रो सेलेबसमा कमजोरी छैन र पढाउने तरिकामा पनि कुनै कमि रहेको छैन । केही वर्ष अगाडि समस्या थियो । अहिले पढाउने दक्ष जनशक्तिको सन्दर्भमा पनि अहिले कुनै समस्या छैन । हाम्रो कलेजमा पढ्ने ६ सेमेस्टर सकेको विद्यार्थीले भर्खरै आफ्नो सम्पूर्ण क्रेडिट ट्रान्सफर गरेर क्यानडाको प्रतिष्ठित विश्वविद्यालयमा गएको अवस्था छ । त्यसैले पढाइको गुणस्तरीयतामा नेपाली विश्वविद्यालयलाई सबै विश्वविद्यालयहरुले स्वीकार गरेको अवस्था छ । आम्दानीको कुरामा नेपालको तुलनामा अन्य देशमा फरक हुनसक्छ । तर, नेपाल विश्वको तुलनामा कम खर्चिलो र सस्तो पनि छ । यो विषयलाई पनि हामीले तुलना गरेर हेर्यौं भने हामीलाई स्वभाविक लाग्छ । स्नातक तहमा विभिन्न विषयमा भर्ना आह्वान भएका छन्, कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई पढ्ने अवसरको विषयमा तपाईंको के सुझाव छ ? शैक्षिक दृष्टिकोणबाट हेर्दा १२ कक्षा पढेर पुरा गरेको भनेको बल्ल त्यो विद्यार्थी साक्षर भयो भनेर पनि बुझ्नु पर्छ । अब त्यो विद्यार्थी विश्वविद्यालयको नर्सरी तहमा प्रवेश गर्छ । हाम्रो मानसिकता के बनेको छ भने ब्याचलर डिग्री वा मास्टर डिग्री गरेपछि उसले यो जागिर खानपर्छ । हामीले के सोचिरहेका छैनौ भने विद्यार्थी पढेपछि ऊ उद्यमी बन्नुपर्छ । उसलाई उद्यमशील कसरी बनाउने भनेर राज्यले पनि कल्पना गरेको छैन ।  जस्तै बिएस्सीएजी पढेको विद्यार्थीले कृषि क्षेत्रमा उद्यमको विकास कसरी गर्न सकिन्छ भनेर सोच्न र गर्न सक्ने हुनुपर्छ । पछिल्लो समयमा कृषि क्षेत्रमा प्रविधिको विकास कसरी भइरहेको छ, त्यसको उपयोग कसरी गर्ने विषयमा उसले बुझ्न सक्ने हुनुपर्छ । शिक्षा क्षेत्रबाट अब पूर्ण प्रकारको मान्छे निस्कनुपर्छ । अब हामीले शिक्षा क्षेत्रको विषयमा पनि अवधारणा बदल्नुपर्छ । पढ्ने विद्यार्थीहरुलाई अब सूचनाप्रविधिमैत्री कसरी बनाउने विषयमा लैजान सक्नुपर्छ । अहिले मास्टर्स डिग्री उत्तिर्ण गरेका विद्यार्थीहरु नेपालमा जनशक्ति नचाहिने भएर विदेश गएका होइनन् । विकास हुन नसकेको कारणले उनीहरु विस्थापित भएका हुन् । अहिले कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर जस्ता विषयमा मास्टर्स डिग्री गरेको जनशक्ति नेपालमा नै नरहेको अवस्था छ । देशको विभिन्न कारणले गर्दा मानिसले काम नपाएको जस्तो देखिएला तर, देशको विकासको लागि दक्ष र शिक्षित जनशक्तिको आवश्यकता पर्छ । नेपाल सानो मुलुक छ, पढ्नको लागि जहाँ गएर बस्न पनि सकिन्छ । विद्यार्थीको रुचि मुख्य विषय हो । सकेसम्म विद्यार्थीले आफ्ना अभिभावकहरु र समाजमा बसेर अध्ययन गर्न सक्यो भने उसले आफ्नो समाजलाई बुझ्न सक्छ । पूर्वदेखि पश्चिमसम्मको अवस्थालाई हेर्दा प्राविधिक शिक्षामा कमी छ जस्तो लाग्दैन । कतिपय केन्द्रीय विश्वविद्यालयले व्यवस्था गरेका छन् भने कतिपय ठाउँमा प्रादेशिक सरकारले व्यवस्था गरेका छन् । विद्यार्थीले प्राविधिक शिक्षा पढ्न चाहेको अवस्थामा प्राप्त गर्न नसक्ने अवस्था छैन । तर, मुख्य पढ्ने काम भने स्वयं विद्यार्थीको नै हो । विद्यार्थीहरुले सकेससम्म छात्रवृत्तिमा अध्ययन गर्नको लागि कुन विश्वविद्यालयले कति कोटा छात्रवृत्ति प्रदान गरेको छ र त्यसको छनौैटको परीक्षा कहिले हुँदैछ भन्ने विषय पनि बुझ्न जरुरी हुन्छ । धेरै एप्लाइड कोर्षहरु पढ्दा पार्टटाइम काम पनि पाउन सकिन्छ र पढाइको खर्च पनि उठाउन सकिन्छ ।