इजरायलमा रहेका नेपालीले धैर्य गर्नुहोस्, नेपाली दूताबासमा उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं : मन्त्री साउद

काठमाडौं । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताएका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर मन्त्री साउदसँग गरिएको कुराकानीको अंश : इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ?   इजरायलमा प्यालिस्टाइनी हमास समूहको आक्रमणबाट सयौं नागरिकको हताहती भयो । ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० जना विद्यार्थीले आक्रमणमा परी ज्यान गुमाएका छन् । घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ । इजरायलमा विद्यार्थी बाहेक करिब चार हजार पाँच सय नेपाली नागरिक छन् । अधिकांश ‘केयर गिभर’मा कार्यरत हुनुहुन्छ । हमासको आक्रमणपछि नेपालीहरु त्यहाँ सन्त्रासको वातावरणमा बस्नु परेको थियो । मुलुकमा संसद, राजनीतिक दल, नागरिक समाज, र विद्यार्थीका अभिभावकबाट पटक-पटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो । यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो । संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अविव गई उद्धारमा जुटेको हुँ । पहिलो चरणमा दुई ५४ नेपालीको उद्धार गरेका छौँ । अहिलेपनि उद्धार जारी नै छ । इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ? इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु । निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ? आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेशमन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन । बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ? विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक-पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौं । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौं । पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ ? उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौं । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौं । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौं । यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौं, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिलेनै आउँछन् जस्तो लाग्दैन । धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्केलान् जस्तो मलाई लाग्दैन । काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घट्नाबाट के पाठ सिक्न सकिन्छ ? विदेशमा हामीले कानुनी रुपमा र सुरक्षित रुपमा पठाएका नागरिकमाथि पनि साङ्घातिक आक्रमण भएको यस घट्नाले हामीलाई पाठ सिकाएको छ । कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो । वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौं । सरकारले निश्चित मापदण्ड निर्धारण नगरी तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिन अघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा सो विषयमा छलफल गरेका थियौं । यस विषयमा हामी सहयोग गर्न तयार छौं । इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ ? इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूताबासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौं । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेको छ । यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसाथ गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन । इजरायल घट्नापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ? इजरायलको घट्नाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेकोे छ । उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गछौँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौं । इजरायल घट्नासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घट्नाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? सम्पूर्ण देशबासीलाई देश बाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु । राजनीतिक दलले पनि यस्ता घट्नाको कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन । कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ । त्यसैमा गर्दा राम्रो हुन्छ । तर विपद् र सङ्कटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ । यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु ।

पाँच वर्षमा ५० हजार किसानसँग जोडिन्छौं: पवन गोल्यान

नेपालमा हरेक वर्ष कृषिजन्य वस्तुहरुमा खर्बौं आयात हुने गर्छ । जसमा चामल, मकै, गहुँ र हरियो तरकारी समेत अन्य मुलुकबाट आयात भइरहेको छ । कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुन सुखद् होइन । मुलुकेको व्यापार घाटा वृद्धि हुँदै जानु कृषिजन्य वस्तुको आयात नै हो । मुलुक उत्पादन वृद्धिभन्दा पनि आयातमुखी अर्थतन्त्रमा तल्लीन छ । कृषि उत्पादन बढ्ने भन्दा घट्दै गएको छ । कृषिप्रधान देश भएर पनि कृषिजन्य वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालको व्यवसायिक समूह गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै र किसानको समेत आम्दानी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा लागेका छन् । उनले पूर्वी नेपालमा २ सय बिघा जमिनमा कृषि खेती अघि बढाइसकेका छन् । तराईमा मात्रै नभएर अब पहाडी जिल्लाहरुका पालिकाहरुसँगको सहकार्यमा किसानले उत्पादन गरेको कृषि उत्पादन ‘माटो’ ब्राण्डमार्फत बजारमा लैजाने र विदेश समेत निर्यात गर्ने योजना बनाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानसँग नेपालमा कृषि क्षेत्रमा लाग्नुको कारण, नेपालको कृषि क्षेत्रको सम्भावना, समस्या, समाधानका उपायहरूका बारेमा संक्षिप्त कुराकानी गरेको छ । बैंक तथा वित्तीय संस्था र उद्योगलाई छाडेर कृषिमा जोडिनुभएको छ, कृषिमा नै जोडिनुको कारण के छ ? किसानको आयआर्जन बढोस् भन्ने मेरो चाहना हो । यससँगै कृषि प्रशोधन उद्योगहरूले साना उद्योगी जन्माउनुपर्यो भनेर यसमा लागेको हुँ । यसका लागि हामीले १०-१२ ठाउँमा टाइअप गरेका छौं । माटो ब्राण्डमा महिलाले उत्पादन गर्ने अचार, मह, घिउ लगायत संकलन गर्न सहकार्य गरेका छौं । यस्तै हिमाली रसुवाको पानी रद्रगंगा फ्क्ट्रीले उत्पादन गरेको छ । हामीले बजारीकरण गरिदिएका छौं । साना उद्यमीलाई टेवा पुगोस् भनेरै माटो ब्राण्डमा जोडेर बजारीकरण गरिएको हो। यी काम मैले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र साना उद्यमीलाई सहज होस् भनेर गरिएको हो। यसले देश त बन्छ। कृषि भनेको सजिलो काम होइन । आजको भोलि नाफा आउँदैन । यसलाई दिगो नाफामुलक बनाउन अरू कर्पोरेट हाउस पनि छिर्नुपर्छ । खेतीको जग्गा घडेरीमा नजाओस् भन्ने मेरो चाहना हो । यहाँ खाद्य सुरक्षा छैन । यसको सुरक्षा गरेर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने मेरो चाहना छ। साथै मेरो सपना भनेको सबै नेपालीहरू स्वस्थ होउन भन्ने हो । उमेर ढल्केसँगै हरेकले बढी औषधि खानु परिरहेको छ। धेरै पैसा औषधि उपचारमा खर्च हुन थालेको छ । विषादीरहित खानामा ध्यान दियौं भने सबै नेपालीको स्वस्थ जीवन जिउन मद्दत पुग्छ । अब हामीले पालिकाहरूसँग सम्झौता गरेर करार खेतीमा जाने योजना बनाएका छौं । पालिकामार्फत किसानसँग करार खेती गर्दा भरपर्दो हुने भएकाले यस्तो गर्न खोजेका हौं। यसबाट किसानलाई अर्गानिक उत्पादन गर्न बिउ, बिरुवा, उपलब्ध गर्ने, लगाउनु अघि कसरी फलाउने सिकाउने, जैविक मल र विषादी कसरी बनाउने भनेर सिकाउने र फलाउनुअघि नै मूल्य तय गरिदिन्छौं । जस्तै कसैको १ बिघा जमिन छ भने उसँग २ वर्षको करार हुन्छ । अहिले ५० हजार पनि आम्दानी छैन भने हामीले २ लाख आम्दानी गराउँछौं । अझै यसैगरी किसानले ५ वर्षसम्म हामीसँगै जोडिए भने यसअवधिमा ५ लाख आम्दानी पुर्याउँछौं । कृषि उत्पादन गर्न किसानहरुले मल,बीउ, सिंचाई लगायत वन्यजन्तुको समस्या भोग्नुभएको छ, वन्यजन्तुको समस्या समाधान गर्न राज्यले के कदम चाल्नुपर्छ वा कस्तो नीति लिन आवश्यक छ ? किसानहरु हामी सबैको अन्नदाता हो । कुनैपनि देशमा सबै काम किसानले नै गर्नुपर्छ भन्ने विश्वमा कहीँ छैन । नेपाली अन्नदाता किसानहरुलाई सबै काम काँधमा बोकाउने काम भएको छ । किसानलाई सबै भन्दा पहिला राम्रो बीउ कहाँबाट ल्याउने भन्ने पत्ता लगाउन ग्राहो छ । त्यसको पनि खोजेर किसान आफैँले व्यवस्था गर्नुपरेको छ । मलको अभाव भएर कसरी मल प्राप्त गर्ने भन्ने समस्या छ । यी सबै समस्या झेल्दै केही उत्पादन गर्यो त्यो पनि वन्यजन्तुहरुले खाई दिने र वन्यजन्तुबाट बचेको उत्पादन बजारमा बेच्न बजार र मूल्य नपाउने अवस्था छ । नेपाली किसानलाई सबै काम आफैँ गर भन्ने भएको छ । यस्ता समस्याको कारण किसानहरु माथि उठ्न सकेका छैनन् । त्यसकारण अब किसानले अन्य समस्या झल्नु नपरोस् र उनीहरुले उत्पादन मात्रै गर्नुपर्ने वातावरण बनाउन लाग्नुपर्छ । नेपालका पूर्वदेखि पश्चिमसम्म विभिन्न वन्यजन्तुहरुले बाली नष्ट गर्ने गरेको अवस्था छ । वन्यजन्तु बदेल,दुम्सी,बादर लगायतका समस्या रामेछाप,दोलखा,काभ्रे लगायतका क्षेत्रमा बढी आतंक देखिएको छ । त्यहाँका किसानहरुले जतिखेती लगाए पनि आलु,मकै बदेल र अन्य फलफूल लगायतमा बादरले दुःख दिने गरेको पाइयो । नेपालको पूर्वदेखि पश्चिमसम्म जाँदा हात्ती,निलगाई,अर्ना र बाँदरलाई सरकारले समेत कन्टोल नगरी कृषि उत्पादन जोगाउने कुनै उपाय छैन । सरकारले वन्यजन्तु बाँदर,दुम्सी,बदेल,हात्ती नियन्त्रणको लागि राज्यले कुनै न कुनै नीति तत्काल ल्याउनुपर्छ । नत्र मुलुकको पहाडी भेग रित्तो हुने तर बाँदरको जनसख्या वृद्धि हुँदै जाने अवस्था छ । अहिले नेपालबाट हरेक दिन ७ देखि १० हजार मानिसहरु विदेश गइरहेको अवस्था छ । सरकारले वन्यजन्तुको नियन्त्रण नगरी खाद्यको सुरक्षा हुन सक्दैन । खाद्यन्नमा ४ खर्बको खाडल पूर्ण सक्ने अवस्था छैन । २ खर्ब रहेकोमा ५ वर्षमा डब्बल भयो । यस्तै भइरहे भोलिको दिनमा हामीलाई खानको लागि पनि पुग्दैन । अहिले सबैतिर कृषि पेशमा लाग्नेहरु युवाहरु छैनन् । सबै ५० माथिमा मानिसहरु मात्रै कृषिमा हुनुहुन्छ । गाउँघरमा आय स्रोत नहुँदा सबै विदेश जानुपर्ने बाध्यता छ । पहाडी क्षेत्रमा धेरै राम्रो हावापानी रहेको छ । त्यहाँ बस्न र त्यहाँ उत्पादन भएको खानेकुरा खाँदा मानिस समेत स्वार्थ बन्नसक्छ । त्यस्ता ठाउँहरुमा कृषि उत्पादन वृद्धि गर्न आवश्यक छ तर वन्यजन्तुबाट उत्पादन भएको वस्तुहरु जोगाउन समस्या छ । खेतीबालीमा वन्यजन्तुको आंतक रोक्न राज्यले कस्तो भुमिका खेल्यो भने मात्रै किसानहरुले वन्यजन्तुको आंकतबाट राहत पाउन सक्छन् ? किसानले उत्पादन गरेको बालीमा वन्यजन्तु लाग्छ भने राज्यले वन्य जन्तुलाई वनमा राख्न सक्नुपर्छ । वन्यजन्तुहरु खेतखारीमा आउन दिनु भएन । सरकारले कृषि उत्पादन र उत्पादित सामानको वन्यजन्तुवाट सुरक्षित राख्ने विषयमा कुरा मात्रै होइन । उपयुक्त नीति बनाएर वन्यजन्तुको आतंक रोक्न नसके सबैतिर मानिसहरु भन्दा बढी वन्यजन्तु मात्रै हुने अवस्था नआउला भन्न सकिँदैन । सरकारले वन्यजन्तुलाई ४५ प्रतिशतको भू-भागमा सिमित कसरी गर्ने, कसरी नियन्त्रण गर्ने भन्ने नीतिगत योजना ल्याउनुपर्छ । किसानहरुलाई वन्य जन्तुहरुको आतंकबाट उन्मुक्ति दिलाउनुपर्छ । सरकारले यस्तो गर्न नसके हाम्रा खेतहरु बाझो नै हुन्छन् । विदेश जानेक्रम पनि रोकिँदैन । पहाडी भेग खाली हुँदा मानिसहरु बिस्तारै सहज ठाउँमा सर्दैछन् । पानी अन्य समस्या नभएको राम्रो क्षेत्रमा पनि वन्यजन्तु लगायतका समस्याको कारण खेती गर्न सकेका छैनौं । पछिल्लो समय यसले डरलाग्दो अवस्था सिर्जना हुँदै गएको छ । यसलाई रोक्न सक्नुपर्छ । यसमा सरकारले प्राथमिकताका साथ लाग्नुपर्छ । हामी सबैले यसलाई छलफलको विषय बनाउनुपर्छ । किसान अन्नदाता भएकाले सबैभन्दा पहिला सरकारले किसानलाई जोगाउनुपर्छ । जबसम्म सरकार किसानको लागि सेन्सेटिभ हुँदैनौं । तबसम्म जति नीति बनाए पनि हामी सफल हुन सक्दैनौं । कृषि क्षेत्रमा बीउ, मल, सिंचाई लगायत पछिल्लो समय वन्यजन्तुको पनि समस्या निम्त्याएको छ । राज्यका नीतिहरु पनि कृषि उत्पादन मैत्री छैनन् । यस्तो अवस्थामा कृषि क्रान्ति गर्ने भनेर लाग्नुभएको छ । यसलाई सफल बनाउने योजना कस्तो छ ? नेपाल कृषि प्रदान देश भनेर म जन्मेदेखि भन्ने गरेको सुनेको हो । नेपालले त्यो बेला चामल,धान,जुट विदेशमा निर्यात गर्ने गर्थ्यौं । यति धेरै कृषि उपजहरु विदेश निर्यात गर्दा राम्रो आम्दानी थियो । तर अहिले बिस्तारै कृषि उपज सबै वस्तुहरु आयात गर्न थाल्यौं । नेपाल एकैचोटी कृषिबाट सर्भिस उद्योगतिर गयौं । यसले गर्दा कृषिमा अटोमाईजेशन,विविधिकरण आयो नत ठूला व्यवसायिक घरना कृषिमा लाग्यो । बाल्यकालमा आमाबुबाले राम्रो पढ नभएर हलो जोत्नुपर्छ भन्ने गरेको सुनेका थियौं । अब यसलाई नतिरी भएन । म कृषिमा लाग्नुको कारण कमाउन भन्दा पनि देशको लागि केही गरौं भनेर हो । अहिले पनि ६० प्रतिशत मानिसहरु किसान नै छन् । करेशाबारीमा लगाएर आफ्नो जीविका गर्नका लागि वा उत्पादन गरेर अरुलाई बेच्नको लागि होस् । जबसम्म अब हामी कृषि उत्पादनमा लाग्न सक्दैनौं । तबसम्म हाम्रो देशले आर्थिक रुपमा फण्डको मार्न सक्दैन । कृषि र वनपैदावर नेपालको धरोहर हो । किसानहरुलाई थाहा छ कुन ठाउँमा के हुन्छ । उनीहरुलाई करप क्यालेण्डर चाहिन्छ । कुन बाली लगायो भने बेच्दा राम्रो मूल्य पाउन सक्छौं र कति नाफा हुन्छ । कृषि उत्पादन र प्रशोधन धेरै ग्राहो काम होइन । मैले जन्मेदेखि कृषिमा भन्दा उद्योगधन्दामा बढी लागेको छु तर उद्योगधन्दा भन्दा पनि नेपालको लागि चाहिने दिगो विकासको लक्ष्य भनेको नै एक नम्बरमा कृषि पर्छ । कृषिमा अब लाग्नुपर्छ भने आफै लागेको हो । कृषि क्षेत्रमा नै सबै भन्दा राम्रो नाफा हुन्छ भनेर देखाउनु छ । यो च्यालेन्ज आफूले आफैँलाई दिएको छु । कृषिको लागि पूरै नेपाल घुम्न चाहन्छु । ७५३ स्थानीय तहमा पुग्न चाहन्छु । नेपालको तराई भन्दा पनि पहाडी भागहरु भुगोल फरक-फरक छ । कृषिलाई उद्योगको मोडलमा लैजानको लागि तयारी गर्न सकियो भने अरु व्यवसायी घरनाहरु पनि कृषिमा लाग्छन भन्ने हो । जनता एग्रोमार्फत सबैको पुँजीलाई एकिकृत गरेर कृषिमा फड्को मारौं भन्ने अठोटका साथ अगाडि बढेका छौं । उद्योग र बैंकिङ क्षेत्रमा लामो समय अनुभव प्राप्त गरेर अब कृषिमा लाग्नुभएको छ, किसानसँग तपाईहरु कसरी जोडिनु हुन्छ ? तराईमा १० विघा जग्गा भएको किसानले मुस्किलले वर्षभरीमा ५० हजार कमाउँछ । त्यसलाई दुई वर्षमा दुई लाख पुर्याउने र पाँच वर्षमा ५ लाख पुर्याउने भन्ने योजना बनाएका छौं । त्यसको लागि कसरी खेती गर्नुपर्छ र केके मिक्स गरेर जानुपर्छ भन्ने कुरा हामीले तयारी गरेका छौं । त्यो मोडल अनुसार हामीले झापामा शुरु गरेका छौं । पहाडी क्षेत्रमा हामी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा शुरुवात गर्न लागेका छौं । पहाडी जिल्लाहरुमा परीक्षण गर्ने क्षणमा छौं । आशापुरी फर्म जोडिएपछि पहाडी क्षेत्रमा काम गरिरहेका छौं । बेसारमा करम्पुमेण्ट उच्च भएको बेसार लगाउने तयारीमा छौं । नेपालमा अहिले २ प्रतिशत भन्दा कम छ हामीले ५ प्रतिशत भन्दा बढी भएको बेसार फलाउने तयारीमा छौं । किबी पनि रातो किवीमा प्राथमिकता दिएका छौं । जुन सिजनभन्दा पहिला नै फल्छ । रामेछापमा भुईं स्याउ,खुरपार्ने,अंजिरको ठूलो सम्भावना देखियो । यसरी किसानको आय वृद्धि भएपछि किसान आफैँ जोडिन आउँछन् । पालिकाहरु आफैँ जोडिन आउनुहुन्छ । हामीले शुरुवात गर्ने भनेको झापाका ५ ओटा नगरपालिकासँग र पहाडी भेगको ३ गाउँपालिकामा जोडिन खाज्दैछौं । काठमाडौंको वरिपरि भएका नगरपालिकाहरुसँग पनि जाडिन कोशिस गर्छौं । एक वर्षमा यो मोडल सफल हुने बित्तिकै पाँच वर्षमा ५० हजार किसानसँग जोडिन त्यति समस्या छैन । कृषिमा अहिले समस्या छन् । कृषिमा काम नै गर्न नसक्ने समस्या छैनन् । सरकारले वन्यजन्तुको नियन्त्रण गरिदिनुपर्छ । अन्य समस्याको लागि हामी राज्यसँग यो गरिदिनु प¥यो भनेर राज्यसँग जाँदैनौं । त्यो बाहेकका समस्या हामी आफैँ समाधान गर्छौं । किसान,पालिका,नगरपालिको बीचमा हामी आफैँ समन्वय गछौं । सरकारले यसमा साथ दियो भने चाँडै सफल हुन्छ । स्थानीय सरकार हाम्रो लागि अत्यावश्यक पर्छ । हामी स्थानीय तहका सरकारसँग जोडिएर काम गर्न चाहन्छौं । त्यही हिसावमा लागेका हौं । सरकारले किसानलाई दिने सहुलियत र कृषिकर्जा समेत वास्तविक किसानलाई पुग्न सकेको छैन भने कसरी कृषि क्षेत्रको विकास बिस्तार र व्यवसायीकरण गर्न सकिन्छ ? सरकारले किसानलाई दिने कृषि कर्जा वास्तविक किसानले नपाएको कुरा सत्य हो । केहीले पहुँचको आधारमा पाएका छन् । तर वास्तममा १० प्रतिशत किसानले पनि कृषि सहुलियत तथा सहुलियत पाउन सकेका छैनन् । तर पछिल्लो समय कर्जा लिएर कृषि उत्पादन भए पनि बजार पाउन सकेको छैन । बैंकबाट कृषि कर्जा लिएर उत्पादन गर्ने किसानहरु पनि कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । जसको कारण किसानले मल,बीउ समस्या झेलेर उत्पादन गरेको बाली वन्यजन्तुले खाने र वन्यजन्तुबाट जोगिएको उत्पादन विचौलियाले खाइदिने गरेको छ । त्यस्तो हुँदा किसानको हातमा के त ? किसानले गरेको मेहनतको एक पैसा पनि आएन । किसानले लगाएको खर्च पनि उठेन । त्यसैले किसानहरु कृषिबाट पलायन भइरहनु भएको छ । किसानलाई राम्रो नाफा हुने गरी मोडल ल्याएर एक ठाउँमा सफल भए मात्रै पनि त्यस्ता समस्या तोडर जान समस्या हुँदैन । हेरक कामको थालनी गर्दा शुरुवातमा यस्तै ग्राहो हुन्छ । क्यालकुलेटर जोखिम लिएर भने व्यापार व्यवसाय हुँदैन । जीवनमा जति धेरै जोखिम आउँछ त्यति आनन्द आउँछ । अहिले मलाई कृषि क्षेत्रका चुनौतिहरुको सामना गरेर सफल बन्ने हुटहुटी त्यत्तिकै छ । अबको एक वर्षमा अहिले शुरु गरेको कृषि मोडल सफल हुन्छ । कृषिमा जोखिम भनेको किसानहरुलाई जोखिम नहुने गरी आफ्नै पैसाको जोखिम लिने हो । मैले पाँच वर्षमा सबै जोखिम पार गरेको छु । अब त्यो जोखिम पार भएको छ । जब आफ्नो पैसा लगाइन्छ तब नोक्शान भोगिन्छ त्यसपछि विग्यता त्यहीबाट आउँछ । किसानहरुको भलो हामीले अपनाएको मोडलबाट नै हुन्छ । पछिल्लो समय नेपालीहरुको खाने बिल भन्दा डाक्टरले दिएको औषधीको बिल बढेको छ । नेपालमा हामीले खेती गर्यो भने नेपाल नै अर्को हुन्छ । बालक देखि वृद्धसम्म स्वार्थ हुन्छ भने पर्यटन आफैँ वृद्धि हुन्छ । हाम्रोमा कति सुन्दर डाडाहरु छन् । तर हामीले हाम्रो कुराहरुलाई प्राथमिकतामा राखेर प्रचार गर्न सकेका छैनौं । तपाई एक जना ठूलो व्यवसायीक घरना लागेर मुलुकमा कृषिमा क्रान्ति ल्याउन सम्भव छ ? म आँखा चिम्लेर हाम फाल्न लागेको होइन । कृषिमा जसरी लागेको छु । नेपालको समृद्धिको लागि ठूलो सम्भावना देखेर लागेको छु । गाउँ-गाउँमा गएर किसानहरुको कुरा सुन्दा र हामीहरु जाँदा किसानहरुको अनुहारको खुशी हेरेर भोलि किसानको आम्दानी बढ्छ र किसानहरुको परिवार नै खुसी हुन्छ त्यो भन्दा राम्रो कुरा के हुनसक्छ ? त्य भन्दा ठूलो सन्तुष्टि मेरो र मुलुकको लागि केही हुन सक्दैन । यसको मतलब त्यति मात्रैले पुग्छ भन्ने होइन । व्यापार गरेपछि नाफा गर्नैपर्छ । हामीलाई तत्काल नाफा चाहिएको पनि छैन । हाम्रोमा पारदर्शी व्यापार छ । कृषिमा पनि आफू पनि बाचौं र अरुलाई पनि बाच्न दिऔं भन्ने हिसावले जानुपर्छ । मलाई अहिले सबैले हेरेरहेका छन् । पवन गोल्यानले कृषि क्षेत्रको दिगो विकास गर्न सक्यो भने हामी पनि कृषिमा लगानी लगाउँछौं र आउँछौं भन्ने आशा गरिरहेका छन् । किसानहरुको आशा पूरा गर्नसक्यौं भने सबै व्यवसायी क्षेत्रपनि कृषिमा प्रवेश गर्छन् । कृषिको यो मोडल सफल भएर किसान र कम्पनी नाफामा गयो भने कृषिमा राम्रो फड्को मार्नेछौं । अहिले विदेशमा रहेका युवाहरुलाई मुलुक फर्कन मद्दत गर्छ भन्ने विश्वास छ । मुलुकको अर्थतन्त्र समस्यामा छ । अर्थतन्त्र लयमा ल्याउनको लागि सरकारले पनि कृषिलाई प्राथमिकता दिन थालेको छ । कृषिले मुलुकको अर्थतन्त्र लयमा ल्याउने सम्भावन कति छ र कसरी सहयोग गर्नसक्छ ? अर्थतन्त्रमा अहिले देखिएका समस्या र चुनौतिहरु हामी सबैले मिलेर बनाएको हो । यसमा कुनै विमति छैन । हामी युवा शक्तिहरु विदेशमा पठायौं । विदेशबाट रेमिट्यान्स लिएर आयौं । बाहिरको ब्राण्डहरु नेपालमा ल्याएर बेच्यौं । रेमिट्यान्सबाट आएको पैसालाई फेरि बाहिर पठाऔं । देशमा त्यो पैसा बस्दै बसेन । त्यसबाट आउने राजश्वबाट राज्य रमायो । आयात बढ्यो तर मुलुकभित्रको उत्पादन खच्किँदै गयो । आज मुलुकको औद्योगिक उत्पादन विलो १० प्रतिशतमा आइसक्यो । कृषिको उत्पादन दुई तिहाईबाट घटेर २५ प्रतिशतमा झरिसक्यो । यो अवस्था सरकार,नियमनकारी निकाय र निजी क्षेत्र सबै मिलेर गरेको हो । एक जनालाई दोष दिएर हुँर्दैन। अब हामीसँग विकल्प बाँकी छैन । मुलुकले फड्को मार्न सक्ने अवस्था भनेको पहिलो नम्बरमा कृषि छ । अहिले हामीलाई चाहिने तरकारी तीन महिनामा फलाउन सक्छौं । अफ सिजनमा पनि तरकारी नेपालमा नै फलाउन सक्छौं । यो वर्ष भारतमा नेपालले गोलभेडा निर्यात गरौं । तीन महिनामा नेपाल तरकारीमा आत्मनिर्भर बन्नसक्छौं । खाद्यन्नमा पनि राम्रो योजना बनाएर उत्पादन गर्न लाग्यौं भने एक वर्षमा आत्मनिर्भर बन्नसक्छौं । हामीलाई भू-भाग अपुग छैन । फलफूल पनि नेपालमा नै धेरै उत्पादन गर्न सकिन्छ । सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर बजेटमार्फत कृषिजन्य वस्तुहरुमा कर लगाउने काम गरेको छ । यसरी कृषि उत्पादन बढ्ने र किसान खुशी हुने अवस्था छ ? मुलुकले कृषिमा फड्को मारोस् भन्ने राज्यको चाहना छैन । आयातमुखी अर्थतन्त्रतिर हामी प्रवेश गरौं । आयातमुखी अर्थतन्त्रलाई परिमार्जन गर्नैपर्छ । यसको लागि राज्य संवेदनशिल हुन जरुरी छ । सरकारले लगाएको करले राज्य धनी हुने होइन । तर किसानहरु गरिब हुन्छन् । राज्य धनी हुँदैन । कृषिमा कर लगाउने कुनै पनि देशमा छैन । युरोपको मोडल नेपाल जस्तो देशले लिन मिल्दैन । नेपालको छिमेकी देश भारतमा आयकर र अन्तःशुल्क लगाएको छैन । चाइनामा पनि मलाई लाग्छ लाग्दैन । चीन कृषिबाट नै कहाँबाट कहाँ पुग्यो । चीनको कृषिको इतिहास त्यस्तो छ । नेपाल कृषिप्रदान देश भन्छौं तर चीन लगायतका मुलुकहरुले अहिल्यै कृषिप्रधान देश भनेको थिएन । हामी कसैलाई विश्वास छैन कृषिबाट फड्को मार्नसक्छौं । नेपालमा हामी सबै कृषिको राजनीति गर्छौं । राजनीति पार्टीका नेता, कर्मचारी वा व्यवसायीहरु सबै कृषिको राजनीति गर्छौं । सबैभन्दा पहिला कृषिको कुरा गर्छौं । तर कृषिमा कसैलाई विश्वास छैन । जबसम्म हाम्रो कृषिमा सोच परिवर्तन हुँदैन, हामी किसान भएर सोच्दैनौं । ग्राउण्ड वास्तविकता हेरेर कुरा गर्दैनौं । काठमाडौंमा बसेर हामी नीति बनाउँदैनौं । गाउँमा गएर नीति बनाउँछौं । त्योदिन मात्रै कृषिमा परिवर्तन आउँछ । हामी पालिकाहरुसँग जोडिन चाहन्छौं । काठमाडौंमा बसेर छलफल गर्दा सबै अनुमानित डेटाहरुको आधारमा योजना बनाउने काम हुन्छ । अनुमानित डेटा भएर काम हुँदैन । अहिले कसैलाई कृषिमा विश्वास छैन । हामीले सकारात्मक सोच ल्याए मात्रै परिर्वतन सम्भव छ । पछिल्लो समय हेरक समस्या भोग्नुपर्दा किसानहरुको समेत विश्वास हराएको छ । हाम्रो लागि कोही छैन भन्ने भएको छ । अब त्यसलाई तोडेर किसानलाई खुशी बनाउन हामी कम्मर कसेर लाग्छौं ।

सिद्धार्थ प्रिमियरलाई बीमितकाे फर्ष्ट च्वाइस बनाउँछौं : रामजी ढकाल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत भदौ पहिलाे साता ‘एसपीआईएल डिजी’ सार्वजनिक गर्यो । नेपाली बीमा क्षेत्रमै पहिलो पटक विद्युतिय (डिजिटल) माध्यमबाट बीमालेख खरिद र बीमा दाबी भुक्तानी गर्न मिल्ने गरी कम्पनीले एसपीआईएल डिजी ल्यायो । एक/डेढ महिनाको अवधिमा कम्पनीले एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री गरिसकेको छ भने २८० वटा बीमा दाबीको सेटलमेन्ट गरेको कम्पनीले जनाएको छ । विगत ४ वर्षदेखि कम्पनीको बजार विभाग प्रमुख छन्, रामजी ढकाल । ढकाल विगत २३ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका छन् । सगरमाथा इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनले सो कम्पनीमा १० वर्ष काम गरे । उनै बजार प्रमुख ढकालसँग एसपीआईएल डिजीले कसरी ग्राहकहरुलाई सरल र सहज बीमा सेवा प्रदान गरिरहेको छ भन्ने विषयमा केन्द्रित भएर विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एसपीआईएल डिजी भनेको के हो ? सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच गत मार्चमा एकीकृत कारोबार भयो । एकीकृत कारोबारपश्चात् कम्पनीलाई पुनः ब्राण्डिङ गर्न र ग्राहकलाई छिटोछरितो सेवा दिने उद्देश्य अनुरुप डिजिटल प्रडक्टमा प्रवेश गर्याैं । डिजिटल माध्यमबाट बीमा कारोबार गर्ने बीमा क्षेत्रकै पहिलो कम्पनी बन्यौं । ग्राहकलाई छिटोछरितो वा ठाउँको ठाउँ (अन दी स्पट) सेवा दिनका लागि एसपीआईएल डिजी सञ्चालनमा ल्याइएको हो । एसपीआईएल डिजीमार्फत् बीमा लेख खरिद र बीमा दाबी भुक्तानी गरिन्छ । बीमालेख खरिददेखि सेटलमेन्ट र बीमा सम्बन्धिका सबै कार्य एउटै प्लेटफर्मबाट गर्ने गरी कम्पनीले एसपीआईएल डिजी सञ्चलानमा ल्याएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डिजिटल माध्यमबाट बीमालेख जारी गर्न थालेको एक महिना बढी भयो । यो अवधिमा कस्तो प्रतिक्रिया आएको छ ? कम्पनीका सबै बीमालेख एसपीआईएल डिजीमार्फत खरिद गर्न सक्ने व्यवस्था गरेको छ । तत्कालका लागि दुर्घटना बीमा, ट्राभल्स मेडिकल बीमा र सवारी साधन बीमालाई प्राथमिकतामा राखेर एसपीआईएल डिजीमार्फत् खरिद गर्न सकिन्छ । स्वदेश तथा विदेशमा भ्रमण गर्दा ट्राभल मेडिकल इन्स्योरेन्स खरिद गर्न सकिन्छ । जस्तो कुनै ठाउँको यात्रा गर्नु पर्नेछ भने एसपीआईएल डिजीमार्फत् बीमा गर्न सकिन्छ । विदेशको यात्राका लागि एयरपोर्टमा हुनु हुन्छ भने एयरपोर्टबाटै ट्राभल्स बीमा लेख खरिद गर्न सकिन्छ । चाडपर्वको समयलाई लक्षित गरी सवारी साधन बीमालाई कम्पनीले जोड दिएको छ । मोटरसाइकल वा निजी सवारी खरिद गर्ने बित्तीकै आफैंले एसपीआईएल डिजी माध्यमबाट उक्त सवारीको बीमा गर्न सकिन्छ । प्राकृतिक विपत, बाढी, पहिरो, भूकम्प, आगजनी लगायत क्षतिलाई कभर हुने गरी एसपीआईएल डिजीबाट बीमा लेख खरिद गर्न सकिन्छ । यस्ता घटनाहरुमा सरकारबाट क्षतिपूर्ति लिने भन्दापनि विपतबाट सुरक्षित हुन आफ्नो सम्पत्ति घरको बीमा गर्न सकिन्छ । ब्यक्तिका लागि अतिआवश्यक स्वास्थ बीमा पनि एसपीआईएल डिजीमार्फत खरिद गर्न सकिन्छ । स्वास्थ उपचार महँगो भएको बेला यो प्रडक्टले धेरै राहत पुर्याउनेछ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग ४० वटा अस्पतालहरु आवद्ध छन् । यदि स्वास्थ बीमा गरेको छ भने सो अस्पतालहरुबाट ग्राहकहरुले नगदरहित सेवा पाउनु हुन्छ । कम्पनीले नगदरहित कार्ड बनाइ दिएको हुन्छ । उक्त कार्ड अस्पतलामा देखाएपछि बीमालेखको सीमाभित्र रहेर कम्पनी उपचार वापतको रकम भुक्तानी गरिदिन्छ । बिरामी पर्दा ऋण निकालेर उपचार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बीमा गरेर स्वास्थ उपचार, सम्पत्तिको सुरक्षा, सवारीको मर्मतको खर्च र ढुक्क भएर यात्रा गर्न सकिन्छ । एसपीआईएल डिजीमार्फत हालसम्म कतिको कारोबार भयाे ? एक/डेढ महिनाको अवधिमा एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री भइसकेका छन् । जसमध्ये मोटरसाइकल र निजी सवारी साधनका बीमालेख बढी छन् । क्याम्पेनिङ गरेर एसपीआईएल डिजीको प्रचार प्रसार गर्ने योजना छ । भुक्तानी प्रदायक कम्पनी डिजिटल वालेट सुरुमा आउँदा चोकचोकमा बसेर क्याम्पेनिङ गरेका थिए । आजभन्दा १०/१२ वर्षअघि डिजिटल वालेटप्रति सर्वसाधारण विश्वास नै थिएन । त्यसकारण एसपीआईएल डिजी प्ल्याटफर्मलाई सहज बनाउन मोबाइल एप ल्याइरहेका छौं । दशैं तिहारमा एसपीआईएल मोबाइल एप लञ्च गर्ने तयारी भइरहेको छ । त्यसपछि कम्पनीको पोर्टलमा गएर खोजिराख्नु पर्दैन । ग्राहकहरुले मोबाइल एपबाटै बीमा खरिद र दाबी भुक्तानी लिन सक्ने छन् । मोबाइल एप आइसकेपछि शाखामा आउन पर्दैन । एसपीआईएल डिजीमार्फत चालू आर्थिक वर्षमा २ करोड बढीको प्रिमियम संकलन गर्ने लक्ष्य छ । एसपीआईएल डिजीमार्फत् हालसम्म ४ सय दाबी आएका छन् । जसमध्ये २८० वटा दाबीको सेटलमेन्ट भइसकेको छ । बाँकी रहेका दाबी भुक्तानी पनि प्रक्रियामा छन् । डकुमेन्ट पठाउने बित्तीकै सेटलमेन्ट गर्छाैं । बीमालेख बिक्री गर्ने मात्रै नभएर दाबी भुक्तानीमा छिटोछरितो सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाउनु कम्पनीको मुख्य लक्ष्य हो । त्यसैले एसपीआईएल डिजी प्लेटमर्फ पोलिसी बिक्रीसँगै बिक्री भइसकेको पोलिसीलाई छिटोछरितो सेवा दिन सञ्चालनमा ल्याइएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘फर्ष्ट च्वाइस अफ ननलाइफ’ बनाउने योजना छ । सर्वसाधारण आफै आएर कम्पनीमा बीमा खरिद गर्ने गरी सेवालाई छिटोछरितो बनाएका छौं । कागज वा फोटोका आधारमा कसरी विश्वास गर्नु हुन्छ ? र, भुक्तानी दिनु हुन्छ ? स्थलगत अध्ययन आवश्यक पर्दैन ? बीमा व्यवसाय विश्वसनीय वातावरणमा मात्रै हुन्छ । यदि अविश्वास भयो भने बीमा नै गरिँदैन । जस्तो बीमा खरिद गर्दा ग्राहकहरुले नगद रकम दिनु हुन्छ । र, कम्पनीले एउटा कागज मात्रै दिएको हुन्छ । एउटा कागजको आधारमा ग्राहकले करोडौं, अर्बाैं रकमको उद्योगको बीमा गरेका हुन्छन् । दुई पक्षको विश्वासको आधारमा मात्रै चल्ने कारोबार भनेको बीमा हो । त्यसकारण जब ग्राहकले बीमा कम्पनीलाई विश्वास गरेर पैसा दिन्छ भने ग्राहकलाई पनि बीमा कम्पनीले विश्वास गर्नु पर्छ । कहिलेकाँही १ सयमा १० प्रतिशत ठगी हुन सक्छ । तर, त्यसलाई हामीले रियल टाइमको फोटो मात्रै स्वीकार गर्छाैं । पुरानो फोटो देखाएर दाबी नगरोस् भन्ने हिसाबले रियल टाइमको फोटोलाई चारैतर्फबाट स्पष्ट देखिने गरी अपलोड गरेपछि मात्रै हामीले स्वीकार गर्छाैं । ताकी भोलिका दिनमा कुनै झण्झट नआओस् । कहिले लागत बढि आएको हुन्छ । बीमामा मूल्य धेरै राखेर दाबी गर्याे भने बढी रकम पाइन्छ भन्ने सोच छ । त्यो सोचलाई पनि चिर्ने काम भएको छ । हिजोका दिनमा भुक्तानी पाउन पनि एक/डेढ महिना लाग्थ्यो । आजको दिनमा मर्मतको प्रक्रियामै ग्राहकको खातामा दाबी भुक्तानी पाइन्छ । सोही रकम वर्कसपलाई भुक्तानी गर्छ । यो प्रडक्टबाट कसलाई कति लाभ ? बीमितलाई कसरी लाभ हुन्छ ? सर्भेयरलाई कसरी लाभ हुन्छ ? कम्पनीलाई कसरी लाभ हुन्छ ? एसपीआईएल डिजीबाट ग्राहक र कम्पनीलाई मात्रै लाभ हुन्छ । यसमा सर्भेयरको भूमिका न्यून हुन्छ । यदि कम्पनीलाई शंकास्पद लाग्यो भने मात्रै सर्भेयर, मिडियटर वा कम्पनीबाट प्रतिनिधि गएर निरिक्षण गरिन्छ । अन्यथा यसमा सर्भेयरको भूमिका न्यून रहन्छ । कम्पनी र ग्राहकहरुको विनविन अवस्था रहन्छ । किनभने दाबी परेकै समयमा भुक्तानी गर्याे भने कम्पनीको बारेमा सकरात्मक सन्देश प्रवाह हुन्छ । अस्वस्थ प्रतिस्पर्धा र अण्डर टेबल भुक्तानी चिर्न एसपीआईएल डिजी प्ल्याटफर्म सफल भएको छ । ग्राहकहरुले विश्वास जितेपछि कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुग्छ । छिटोछरितो सेवा पाएपछि ग्राहकको समय पनि जोगिन्छ । एकडेढ महिना लाग्ने समय एकैछिनमा भयो भने शाखा कार्यालयमा धाउनु पर्ने बाध्यता अन्त्य भयो । ग्राहकको समय, इन्धन लगायतक बच्यो । त्यसैले अबको भविष्य भनेको एसपीआईएल डिजी वा डिजिटल बीमा हो । ग्राहकलाई चाहिने भनेको सस्तो र लागत कम हो । यो बीमा योजनाबाट कसरी यसलाई सरलीकरण गर्नु हुन्छ ?  बीमा खरिद गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुन्छ । ग्राहकले आफ्नै मोबाइलबाटै बीमालेख खरिद गर्नु भयो भने बीमालेखको प्रकृति अनुसार ५ प्रतिशतदेखि १० प्रतिशतम्मि छुटसम्म पाइन्छ । किनभने मिडियटरले लिने शुल्क उसले लिन पाउँदैन । त्यसैले एसपीआईएल डिजीमार्फत खरिद गर्दा बीमालेख सस्तो पर्न जान्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका १३० वटा आउटलेटमा बजार विभागतर्फ ३ सय जना कर्मचारी कार्यरत छन् । आगामी दिनमा पूर्णरुपमा एसपीआईएल डिजीमार्फत् बीमालेख बिक्री हुन थालेपछि थोरै कर्मचारी भएपनि हुन्छ । यसले पनि कम्पनीलाई फाइदा नै हुन्छ । जसरी ईसेवा, एफवान सफ्ट लगायत डिजिटल वालेट उदाएका छन् त्यसरी एसपीआईएल डिजीले आक्रामक ब्यापार गर्न सक्ला ?  समयअनुसार अघि बढ्न सकिएन भने पछाडि परिन्छ । समयको दौरानमा कम्पनीहरु पनि अगाडि बढ्नु पर्छ । बीमा प्राधिकरणले डिजिटल सम्बन्धि ऐन ल्याउने भनेर प्रक्रिया अघि बढाइसकेको छ । डिजिटल सम्बन्धि निर्देशिका ल्याएर सबै कम्पनीमा सर्कलर जारी गरिसकेको छ । अब डिजिटलको विकल्प छैन भनेर केही कम्पनीहरु अघि बढिसकेका छन् । बीमा कम्पनीहरु दूरदराजमा पुग्न सकेनन् भनेर हालै ७ वटा लघुबीमा कम्पनीले इजाजतपत्र अनुमति पाए । दूरदराजका जनताहरुलाई पनि बीमाको सेवा दिनु पर्छ भनेर लाइसेन्स दिइएको हो । तर, हामीलाई लाग्दैन की उहाँहरु दूरदराज पुग्नु हुन्छ । किनभने भौतिक रुपमा बीमा गर्दा लागत बढाउँछ । भौतिक रुपमा कार्यालय सञ्चालन गर्नु पर्याे, नियम अनुसार ५ जना कर्मचारी राख्नै पर्याे । जसमा बीमाको प्रिमियम संकलन १५÷२० लाख रुपैयाँ मात्रै हुन्छ । त्यसकारण ती शाखा दीर्घकाल सञ्चालन हुन सक्दैनन् । आजको दिनमा कूल जनसंख्याको ८० प्रतिशत मान्छेहरु मोबाइल प्रयोग गरिरहेका छन् । इसेवा, खल्ति लगायतका वालेट कम्पनीको जस्तै अघि बढ्ने एसपीआईएल डिजीको लक्ष्य छ । देशको दूरदराजमा बसेको मान्छेले पनि एसपीआईएल डिजीमार्फत बीमा लेख खरिद गर्न सक्छन् । त्यसैले बीमा कम्पनीहरु दूरदराजमा पुग्न एसपीआईएल डिजीले सहयोग गर्छ । कम्पनीहरुले नयाँ योजना बनाउँछन्, प्रविधिमैत्री बनाउँछन्, तर कार्यान्वयन कमजोर हुन्छ । प्रचार प्रसारको कमीले हो कि अरु कारण छन् ? कम्पनीले कुनै पनि प्रडक्ट ल्याएपछि तत्काल रिजल्ट खोज्छन् । पक्कैपनि यस्ता प्रडक्ट ल्याउँदा केही न केही चुनौति आउँछन् । त्यसमा कम्पनीले लगानी गर्नु पर्ने हुन्छ । एसपीआईएल डिजी सुरु गरेपछि अन्य कम्पनीहरु पनि यसमा आइसकेका छन् । नियाकको दृष्टिकोण र अनुगमन नरम हुनु पर्छ । बीमितहरुको हस्ताक्षरदेखि हार्ड कपी नै चाहियो भनेपछि यस सफ्टवेयरको काम छैन । यसलाई नियमन र अनुगमन गर्न नियामकले छुट्टै नीति ल्याउनु पर्छ । र, बीमा कम्पनीहरुले पनि यसमा लगानी थप्नु पर्छ । अहिले सानो लगानीमा सुरुवात मात्रै गरिएको हो । दीर्घकालिन अपेक्षा पुरा गर्न प्रविधिलाई विश्वसनीय बनाउन जरुरी छ । कम्पनीका सञ्चालकहरु लगानी थप्ने आह्वासन दिनु भएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीको साझा सफ्टवेयर बनाउन आवश्यक छ । पछिल्लो समय डिजिटलाइजेशनसँगै ठगीको जोखिम पनि बढेको पाइन्छ । बीमा क्षेत्र पनि डिजिटल बन्दै गर्दा डिजिटल ठगी न्यूनीकरणमा कस्ता प्रयास भइरहेका छन् ?  हरेक कुराको सकरात्मक र नकरात्मक पक्ष हुन्छन् । नयाँ प्रडक्ट ल्याउँदा चुनौति अवश्य हुन्छन् । डिजिटल बीमामा भारत धेरै अगाडि बढिसकेको छ । त्यसैले कम्पनीको आइटि डिपार्टमेन्टका हेड र डेपुटी हेडलाई डिजिटल ठगी न्यूनीकरण सम्बन्धि तालिम लिन भारतमा पठाएको थियो । उहाँहरु अध्ययन गरेर आउनु भएको छ । त्यहाँको प्रविधिलाई नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ, कति लगानी आवश्यक पर्छ, कस्ता किसिमका चुनौति हुन्छन्, कस्ता प्रकृतिका ठगी हुन्छन् भनेर अध्ययन गर्नु भएको छ । उहाँहरुको सुझाव अनुसार कम्पनीले त्यस्ता समस्या नियन्त्रणका लागि थप कार्य अघि बढाउने छ । हामीले एसपीआईएल डिजीलाई विश्वसनीय बनाउन कोसिस गरिरहेका छौं । कम्पनीका कर्मचारीहरुबाटै ग्राहकहरुको गोपनियता पनि भङ्ग भएको देखिन्छ । यो विषयमा कम्पनी कति सतर्क छ ?  ग्राहको गोपनियता कायमै राख्न पेमेन्ट गेटवेहरुसँग सम्झौता गरेका हुन्छौं । ग्राहकको गोपनियता भङ्ग हुने कार्य गरेको खण्डमा कारवाही गर्ने र सम्झौता रद्द गर्छाैं । पेमेन्ट गेटवेमार्फत ग्राहकहरुको गोपनियता भ्ग हुन नदिनबाट हामी सचेत छौं । एसपीआईएल डिजीसँग लिंक भएका ग्राहकको समस्या भने छैन । हालसम्म कस्ता किसिमका चुनौति खेप्नु पर्याे ?  एसपीआईएल डिजीको प्रयोग कसरी गर्ने र विश्वसनीयता कसरी दिलाउने भन्ने चुनौति खेप्नु पर्याे । कुनै पनि प्रडक्ट लञ्च गर्दा सजिलो हुन्छ तर, त्यसलाई निरन्तरता दिन गाह्रो हुन्छ । जबसम्म ग्राहकहरुले विश्वास गर्नु हुन्न तबसम्म गाह्रो हुन्छ । त्यसकारण त्यसको विश्साव दिलाउन हामीले हरप्रयास गरिरहेका छौं । सामाजिक सञ्जालमा क्याम्पेनिङदेखि सातै प्रदेशमा कर्मचारीहरुले जानकारी दिने काम भइरहेको छ । एकएक ग्राहकलाई सिकाइरहेका छौं । यदि कुनै ग्राहकले दाबी भुक्तानीका लागि पत्र पेश गर्नु भयो भने हामीले उहाँलाई फोन गरेर एसपीआईएल डिजीबाट सेटलमेन्ट गर्न सिकाइरहेका छौं । संखुवासभाको खाँदवारी शाखामा एक जना ग्राहकले ५० हजार रुपैयाँको गाडीको क्षतिवापत दाबी गर्नु भयो । तर, शाखा प्रमुखले ग्राहकलाई एसपीआईएल डिजीमार्फत दाबी गर्न भनेर सझाउनु भएछ । दाबी गरेकै दिन खातामा रकम जम्मा भएपछि उहाँले त्यो क्षेत्रभरिका मान्छेहरुलाई यो प्रडक्टका बारेमा मार्केटिङ गर्नु भएछ ।