म्युचुअल फण्डले घरजग्गा र सुनमा लगानी गर्न पाउनुपर्छ : सीईओ कार्की

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । १० वर्षे अवधिको यो योजना बन्दमुखी प्रकृतिको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई रहेको जनाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई छुटाइएको छ । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्ड छिटोमा चैत २९ गतेसम्म खरिद गर्न सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यहि विषयमा आधारित भएर सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ कस्तो प्रकारको फण्ड हो ? बजारमा सबै फण्डहरु इक्विटी ओरियन्टेड छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ पनि इक्विटी ओरियन्टेड फण्ड हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बाट संकलन रकम सेयर बजारमै लगानी गर्ने हो । फण्डहरुलाई सेयर बजार बाकेह अन्य क्षेत्रमा लगानी गर्नका लागि अनुमति छैन । यो योजनाका विशेषता के-के हुन् ? सेयर बजार ४५ प्रतिशतसम्म झरेको छ । सेयर बजारमा अहिले लगानी गर्दा धेरै नाफा कमाउन सकिन्छ । त्यसैले अहिले जारी गरिएका फण्डले इकाईधनीहरुलाई धेरै प्रतिफल दिन सक्छन् । सेयर बजार घटेर तल्लो विन्दुमा पुगेको हुँदा लगानी गर्न सहज हुन्छ । अहिले सस्तो मूल्यमा सेयर खरिद गरेर दीर्घकालमा मूल्य बढ्न सक्छ । सेयर बजार तल्लो तहमा झरेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम छ । लगानीकर्ताको मनोबल कमजोर बनेको छ । यस्तो समयमा फण्ड बिक्री हुन्छ त ? पक्कै पनि फण्ड बिक्री हुन्छ । किनभने सेयर बजार बुझेका लगानीकर्ताहरुका लागि अहिले उपयुक्त समय हो । लगानीकर्ताको मनोबल पक्कै घटेको छ । बजार अझै के हुन्छ भन्ने अन्यौलता छ । बजारमा धेरै उतारचढाब पक्कै भएको छ । तर, सधैं यस्तै रहन्छ भन्ने पनि छैन । अब बजार विस्तारै सुधार हुन्छ । लगानीकर्ताले छोटो अवधिका लागि मात्रै फाइदा खोजिरहेका छन् । अधिकांश फण्डहरु ८/१० वर्ष अवधिका छन् । दीर्घकालका लागि बजारको स्थिति राम्रो देखिन्छ । अहिले बजारमा लगानीकर्ताको मनोबल कमजोर भएपनि अब बजार माथि नै उक्लिने हो । बजार घट्दा म्युचुअल फण्डलाई कस्तो असर गर्छ ? बजारमा फण्डहरुको मूल्य पार भ्यालू भन्दा तल झरेको छ । म्युचुअल फण्डको मूल्य १०/१५ प्रतिशतसम्म घटेको देखिन्छ । अब धेरै तल झर्नु पर्ने कारण छैन । लगानीकर्ताहरुमा बुझाईको कमी छ । फण्डहरु पनि विभिन्न समयमा बजारमा आएका छन् । यदि बजार ५० प्रतिशत बढ्यो भने फण्डहरुले राम्रो प्रतिफल दिन्छन् । फण्डहरुमा विभिन्न तत्वहरुले पनि प्रभाव पारेको हुन्छ । अहिले ५ वर्ष अघि आएका फण्डको कस्ट फरक परेको हो । तर, अहिले आएका फण्डहरुबाट तत्काल फाइदा लिन सकिन्छ । प्रत्येक फण्डहरुको आ-आफ्नै विशेषता छन् । कुनै फण्ड बजार बढेको बेला आएका छन् भने कुनै फण्ड बजार घटेको बेला । १० रुपैयाँ भन्दा कम मूल्य भएका फण्डहरुले लाभांश वितरण गरेका पनि छन् । जस्तो सिद्धार्थ क्यापिटलका २ वटा फण्ड सञ्चालित छन् । एउटा फण्डले ५७ प्रतिशत र अर्काे फण्डले ४५ प्रतिशत लाभांश वितरण गरेको छ । अन्य फण्डहरुले पनि प्रत्येक वर्ष लाभांश वितरण गरिरहेका छन् । लगानीकर्ताहरुले छोटो अवधिभन्दा दीर्घकालका लागि हेर्दा फाइदा नै छ । ५ वर्षको अवधिमा फण्डहरुले ३/४ पटक लाभांश वितरण गरिसकेका हुन्छन् । फण्डहरुले क्षमता अनुसार प्रत्येक वर्ष इकाईधनीहरुलाई लाभांश वितरण गर्दै आएका छन् । फण्डहरुले औषतमा १५/२० प्रतिशतसम्म प्रतिफल वितरण गरेका छन् । केही परिपक्व भएका फण्डहरुले औषतमा ४० प्रतिशतसम्म प्रतिफल बाँडेका पनि छन् । म्युचुअल फण्डहरुले वार्षिक प्रतिफल वितरण गर्दा नराम्रो भन्न पक्कै पनि मिल्दैन । म्युचुअल फण्डहरुले राम्रो पर्फमेन्स पनि गरिरहेका छन् । आजको भोलि प्रतिफल खोेज्ने हो भने म्युचुअल फण्ड राम्रो नदेखिन सक्छन् । तर, दीर्घकालका लागि होल्ड गर्ने लगानीकर्ताका लागि म्युचुअल फण्ड उत्कृष्ट क्षेत्र हो । म्युचुअल फण्डको धेरै लामो इतिहास पनि छैन । त्यसैले बजारमा एक/दुई फण्डहरुले राम्रो प्रर्फमेन्स गर्न नसेकेका हुन सक्छन् । कतिपय कुराहरुमा हामी पनि गर्दै सिक्दै छौं । नेपालमा म्युचुअल फण्डको इतिहास १० वर्ष मात्रै भयो । विदेश (भारत)मा म्युचुअल फण्डको ६० वर्षको इतिहास छ । तैपनि हामीले सञ्चालन गरेका फण्डबाट असन्तुष्ट नै हुनुपर्ने अवस्था छैन । जस्तो सिद्धार्थ क्यापिटलले सञ्चालन गरिरहेका फण्डहरुले वार्षिक औषत २० प्रतिशत लाभांश वितरण गर्दै आएको छ । अर्थतन्त्र पनि स्थीर हुँदैछ । आगामी वर्षमा सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षेत्र म्युचुअल फण्ड नै हुनेछ । त्यसकारण पनि म्युचुअल फण्डमा आकर्षण नै देखिन्छ । परिपक्व हुने समयमा वास्तविक न्याभभन्दा बढीमै कारोबार भएका हुन्छन् । अबको सेयर बजारमा म्युचुअल फण्डले नै राज गर्छ । म्युचुअल फण्ड बजार बढेको बेला खरिद गर्ने की घटेको बेला ?  यो लगानीकर्ताको व्यक्तिगत निर्णय हो । जसले सानो ‘होराइजन’ राखेको छ, उसले बजार बढेको बेला खरिद गर्छ । अहिले फण्ड खरिद गरेर ४/५ महिनापछि लाभांश बुक गरेर बाहिरीन्छन् । बजारको स्थिती पनि बढेको बेला बढ्यै हुन्छ भने घटेको बेला घटेको घट्यै हुन्छ । बजार घटेको बेला धेरै औजार प्रयोग गर्न सकिन्छ । घटेको बेला राम्रो गर्न सक्ने क्षमता हामीसँग छ । हामीले बजार घटेकै बेला पनि राम्रो नाफा कमाउन सक्छौं । बजार बढेको बेला राम्रो देखिन्छ भने घटेको बेला नराम्रो देखिनु स्वभाविक हो । बजारमा सबै जना डाउन भएर बसेका छन् । बजार बढेको बेला न्याभ बढी हुने भएकाले लाभांश पनि राम्रो दिन सक्ने क्षमता हुन्छ । अन्य समूहका कम्पनीहरुसँग तुलना गर्ने हो बजार घटेको बेला पनि म्युचुअल फण्डहरुले औषत १५ प्रतिशत लाभांश वितरण गरेका छन् । अब त्यसलाई नराम्रो भन्न त मिल्दैन । गत वर्ष सिद्धार्थ क्यापिटलका फण्डहरुले १० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । तर, अन्य क्षेत्रका कम्पनीहरुले १० प्रतिशत पनि लाभांश सकेका छैनन् । अब बजार भाइब्रेट भएर माथि उक्लिएपछि राम्रो प्रतिफल दिन्छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? नियामक निकायले स्टक मार्केटमा मात्रै लगानी गर्न अनुमति दिएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले पनि नियामकले दिएको क्षेत्रभित्रै लगानी गर्छ । सेयर बजारको वस्तु स्थिती हेरेर लगानी गर्छ । सेक्टरमा आधारित फण्डहरु पनि आइरहेका छन् । भविष्यमा अन्य क्षेत्रमा पनि लगानी गर्ने वातावरण बन्यो भने त्यतापनि लगानी सक्छौं । आजको दिनमा अन्य क्षेत्रमा अनुमति नदिएको हुँदा इक्विटीमा मात्रै लगानी गर्छाै । यो स्किमले इकाईधनीहरुलाई कति प्रतिफल दिने प्रक्षेपण गरेको छ ? सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को अवधि १० वर्षको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ का इकाईधनीहरुलाई वार्षिक २०/२२ प्रतिशतसम्म प्रतिफल दिने प्रक्षेपण छ । कुनै वर्ष बढी र कुनै वर्ष कम हुन सक्छ । तर, औषतमा वार्षिक २०/२२ प्रतिशत प्रतिफल दिन्छौं । बजारको परिपेक्ष हेर्दा सर्ट टर्म हावी देखिन्छ । त्यो बेलामा हाम्रो प्रक्षेपण नमिल्न पनि सक्छ । प्रत्येक वर्ष नै वितरण गर्नुपर्छ भन्ने मान्यता लगानीकर्तामा छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव बटुल्नु भएको छ ? मलाई ठिक लाग्छ । हामी यहि क्षेत्रबाट विकास हुँदै गर्दै सिक्दै आएका छौं । एक/दुई फण्डको पर्फमेन्स तलमाथि हुन सक्छ । तर, समग्रमा म्युचुअल फण्ड धेरै परिपक्व भइसके । पहिलाको तुलनामा धेरै प्रगति गरेका छन् । विगतको तुलनामा अहिलेका फण्डहरुको पर्फमेन्स राम्रो छ । ७०/८० प्रतिशत लाभांश दियो भने राम्रो, नत्र भने नराम्रो भन्ने जमात बजारमा छ । तर, व्यवहारिक रुपमा सधैं सम्भव हुँदैन । धेरै जोखिम लिन सक्ने ठाउँमा पनि हुँदैनौं । समग्रमा हेर्दा म्युचुअल फण्डको स्थिति बैंकको फिक्स्ड डिपोजिट रेट (एफडी)भन्दा माथि नै छ । औषतमा वार्षिक २५ प्रतिशतसम्म लाभांश बाँडिरहेका छन् । कतिपय सूचीकृत कम्पनीहरुले लाभांश नै दिन सकेका छैनन् । म्युचुअल फण्डको न्याभ र लाभांश दर घटेको छ । लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा कम देखिन्छ नी ? अहिले बजार पक्कै पनि सेन्टिमेन्टमा छ । बजार घटेको बेला कमाउन सकिने औजार छैनन् । हाम्रो बजार वान वे छ । अब बजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्छ । आर्थिक सूचकमा पनि सकारात्मक सुधार हुँदैछ । जति चाँडो अर्थतन्त्रमा सुधार हुँदै जान्छ त्यति नै छिटो लगानीकर्ताको मनोबल पनि बढ्दै जान्छ । आफै कारोबार गर्न नसक्ने लगानीकर्ताले म्युचुअल फण्ड खरिद गर्दा राम्रो हुन्छ । म्युचुअल फण्डमा व्यक्तिगत जोखिमभन्दा पनि धेरै जोखिम हुन्छ । विस्तारै अर्थतन्त्र खुकुलो हुँदै जाँदा आकर्षण बढ्दै जान्छ । बजार बढेको बेला शतप्रतिशत लाभांश र घटेको बेला लाभांश नै वितरण गरेनन् । यसले बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता भएन र ? बजार बढेको बेला मूल्य पनि बढी हुन्छ । सेयर बजार घटेको बेला खरिद गर्याे भने मूल्य कस्टमाइज हुन्छ । १ सय प्रतिशत लाभांश दिएका फण्डको मूल्य पनि त्यो बेला बढी नै हुन्छ । उनीहरुले १८ रुपैयाँमा खरिद गरेर लाभांश बुक गरेका हुन्छन् । तर, आजको दिनमा सेयर खरिद गरेर होल्ड गर्न सक्यो भने भविष्यमा राम्रो हुन्छ । फण्डहरुले आ-आफ्नै पोलिसी बनाएका हुन्छन् । फण्डहरुले एक रुपता कायम गरेर लाभांश वितरण गर्न सके भने राम्रो नै हुन्छ । फण्ड व्यवस्थापनमा ध्यान दिन सकियो भने लाभांश वितरणमा एकरुपता कायम बन्न सक्छ । समग्र म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । १०/११ वर्षअघि म्युचुअल फण्डको आकारभन्दा अहिलेका म्युचुअल फण्डको आकार पनि बढेको छ । पहिला म्युचुअल फण्ड भनेको के हो भन्ने पनि थाहा थिएन । आजका दिनमा एउटा क्षेत्रको विकास तथा विस्तार भएको छ । म्युचुअल फण्डमा भएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ । विदेशमा म्युचुअल फण्डको ठूलो इण्डष्ट्रि छ । १० वर्षअघि बन्दुमुखी फण्डबाट यात्रा सुरु भएकोमा ३/४ वर्षअघिदेखि खुलामुखी फण्ड पनि सुरु भएको छन् । अब यो क्षेत्र ठूलो हुँदैछ । अन्य लगानी गर्ने क्षेत्र पनि खुला भइरहेका छन् । विदेशमा फण्डहलाई घरजग्गा तथा सुनमा लगानी गर्न पाउँछन् । यदि नेपालमा पनि घरजग्गा तथा सुनमा लगानी गर्न पाउने व्यवस्था गरियो भने म्युचुअल फण्डको भविष्य चम्किलो छ । ४०/५० करोडको आकारबाट सुरु भएका फण्डहरु ४०/५० अर्ब पुग्न सक्ने अवस्था पुगिसकेको छ । बजारका लागि पनि राम्रो हो । म्युचुअल फण्डमा कर छुटको व्यवस्था गर्नुपर्छ । विदेशमा म्युचुअल फण्डमा कर छुटको व्यवस्था छ । साथै फण्डका लागि सुविधा बढाउँदै जाने र प्रक्रिया सहज बनाउदिने हो र समय अनुसारको व्यवस्था गर्ने हो भने राम्रो नै हुनेछ । यस विषयमा सहकार्य गरेर तयारी अघि बढाउनु पर्याे । हामीले यो क्षेत्रलाई स्थापित बनाएका छौं भने भविष्यका पुस्ताहरुका लागि पनि यो ठाउँलाई राम्रै बनाउनुपर्नेछ । सबै मान्छे आफै लगानी गर्न सक्दैनन् । त्यसकारण यो फण्डलाई व्यवस्थित गर्नुपर्छ । यी विषयमा हामीले पनि गृहकार्य गर्नुपर्नेछ । म्युचुअल फण्डको १० वर्षको इतिहाशमा भएका कमीकमजोरी पहिचान गरी समाधानतर्फ लाग्नू पर्छ । विदेशमा फण्डहरुलाई भाइटल लगानीको भाग मानिन्छ । बजारमा स्थीरता कायम गर्न फण्डहरुको भूमिका रहन्छ । १० वर्षमा कति वटा बुल आउँछन् ? ठ्याक्कै भन्न सक्ने अवस्था छैन । बजार बढेपछि घट्नै पर्ने र घटेपछि बढ्नैपर्छ । पुराना तथ्याङ्क विश्लेषण गर्दा १० वर्षमा २ वटा बुल आउने अनुमान छ । तर, बजारले आफ्नो प्रकृति वा पवृत्ति परिवर्तन गरिरहेको हुन्छ । यसपटक बजार ४४ प्रतिशत घट्दा हाम्रा लागि नयाँ अनुभव भएको छ । फण्ड म्यानेजरहरुले पनि लामो समय अनुभव सँगालेका छन् । कहिले काँही लामो समय काम गर्दा पनि नयाँ अनुभव लिनुपर्छ । हरेक बुल सरप्राइज, हरेक वियर सरप्राइज भन्ने कुरालाई हामीले बुझ्नुपर्छ ।

हामीले सम्भावना र अङ्क गणितका खेल खेल्यौं, अब चुनाव जित्छौ: अञ्जन श्रेष्ठसँग

नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही लक्ष्मी ग्रुपका सञ्चालकमध्येका एक हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा विगत दुई दशकदेखि संलग्न रहेका श्रेष्ठ चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनले आफ्नो टीम बनाएर प्रचारप्रसार गरिरहेका छन् । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि आफ्नो टिम सशक्त र जुझारु रहेको उनको भनाइ छ । महासंघको चुनावी रणनीति, उनको चुनाव जित्ने आधार र चुनावी एजेण्डा लगायतका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । तपाईंलाई मतदाताले किन भोट दिने ? व्यवसायमा मेरो ३० वर्षको अनुभव छ । ४८ वर्षअघि पारिवारिक पृष्ठभूमिमा ३ सय रुपैयाँबाट व्यवसाय शुरु गरेको हुँ । त्यहि व्यवसायलाई आजको दिनमा प्रतिष्ठित व्यवसायीक समूहका रुपमा चिनाउन सफल भएको छु । मेरो अभिभावकले सुरु गरेको व्यवसायलाई मैले पनि निरन्तरता दिए । पारिवारिक व्यवसायलाई मैले नेतृत्व गरेर यहाँसम्म ल्याएँ । ३० वर्षअघि अभिभावकलाई सघाएको थिएँ । त्यसपछि मैले आफैँ नेतृत्व गर्दै आएको छु । लक्ष्मी समूह उत्पादनमुलक, कृषिजन्य, निर्माण सामाग्री उद्योग, अटोमोबाइल ट्रेडिङ लगायत अन्य ट्रेडिङमा संगलग्न छ । निकट भविष्यमा पर्यटन र जलस्रोतमा पनि लगानी गर्ने योजना रहेको छ । लक्ष्मी समूहले प्रत्यक्ष रुपमा ३२ सय जनालाई रोजगारी दिएको छ । लक्ष्मी समूहका उत्पादन भएका वस्तुहरु ११ वटा मुलुकमा निर्यात भइरहेका छन् । यो समूहलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको छु । व्यवसाय सफलतामा छुट्ट पाट पनि छ । २० वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा एउटा समितिको सदस्य भएर प्रवेश गरेको थिएँ । त्यसपछि निरन्तर रुपमा उद्योग वाणिज्य महासंघसँग संलग्न भएर काम गर्दै आएको छु । उद्योग समिति सदस्य, वाणिज्य समिति सदस्य र रोजगारदाता परिषदमा ९ वर्ष सदस्य भएर काम गरेको छु । अघिल्लो कार्यकालमा उद्योग समितिको सभापति पनि थिए । अहिले २ वर्षदेखि उद्योग वाणिज्य महासंघको वस्तुगत संघको निर्वाचित उपाध्यक्ष छु । यहाँसम्म आउँदा मैले धेरै अनुभव हाँसिल गरेको छु । मेरो संलग्नताले मलाई निखारेको छ । उपाध्यक्षको हैसियतले मैले गरेका कामहरु, मैले देखाएको नेतृत्व क्षमता, मेरो कार्यशैलीप्रति सबै उद्योगी व्यवसायीहरु सकारात्मक छन् । जिल्ला/नगर उद्यमी व्यवसायीहरुसँग लामो समयदेखि भेटघाट तथा छलफल गर्दै आएको छु । जिल्ला/नगर, वस्तुगत, एशोसिएट, द्धिराष्ट्रिय उद्योगी व्यवसायीहरुले तपाईं अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नु भएको छ । अहिले राम्रो माहोल बनेपछि चुनाव जित्छु । तपाईंले चुनाव जित्ने आधारहरु के-के हुन् ? मसँग शसक्त टिम छ । मिल्ने र मिलाउन सक्ने युवा टिम छ । समय परिवर्तनशील छ । अहिलेको समयले जोसजाँगर भएका युवा खोजिरहेको छ । हाम्रो टिममा युवा र अनुभवी छन् । वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अरुण सुमार्गी सशक्त हुनुहुन्छ । उहाँको आफ्नै किसिमको व्यवसायीक पृष्ठभूमि छ । अर्का उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधानसँग पनि लामो समयको व्यवसायीक पृष्ठभूमि छ । उहाँ पनि महासंघकै पूर्वअध्यक्ष महेशलाल प्रधानको छोरा हुनुहुन्छ । संस्थागत लगायत व्यक्तिगत रुपमा उहाँको महासंघमा ठूलो योगदान छ । मनिषजी निर्यात परिषदको सभापति र अरुण सुमार्गी कृषि उद्यम केन्द्रको सभापति हुनुहुन्छ । मजबुत, सशक्त, उर्जावान टिमलाई देशभरिका उद्यमी व्यवसायीको समर्थन छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्धिराष्ट्रिय संघ, एशोसिएट प्रतिष्ठानका उद्यमी व्यवसायीको समर्थनले अघि बढ्न हौशाला र हुटहुटी पैदा भएको छ । एशोसिएट तर्फका उपाध्यक्ष पदका उम्मेदवारले तपाईंको साथ छोड्नु भयो, पछि साझा उम्मेदवार बनाउनुभयो । टीममा पनि आशिंक सदस्यहरु मात्रै छन् । तपाईं एशोसिएटमा कमजोर बन्नुभएको हो ? चुनाव भनेको सम्भावना र अङ्क गणितको खेल हो । अङ्क गणित र सम्भावनाका केही खेल भएर नयाँ परिस्थिति बन्यो । फेरी पनि हामीले सम्भावना र अङ्कगणितका खेल खेल्यौं । अब हामी बलियो बनेका छौं । टीमको सोलो उपाध्यक्ष उम्मेदवार हुँदा तपाईंलाई फाइदा थियो की साझा उम्मेदवार हुँदा फाइदा छ ? आजको दिनमा सम्भावना र अङ्क गणितको कुरा गर्दा म बलियो छु । यो मामिलामा मैले जितेको पनि छु । मैलेभन्दा विश्वास नलाग्न सक्छ तर, रिजल्ट जितेको देखाउनेछ । यसले भोट हाल्छ उसले भोट हाल्दैन भनेर भन्दिन । जुन नयाँ सम्भावना र अङ्क गणितका खेलहरु भएका छन् ती सबैको आधारमा म बलियो बनेको छु । चुनावमा अङ्क गणित, रणनीतिक चाल, चुनावी माहोल विकास, स्थीर रहेका भोट आफ्नो समूहमा ल्याउन तपाईंका कदमहरु के-के हुन् ? चुनावका सबै रणनीति बाहिर खुलस्त भन्न मिल्दैन । चुनावमा चाल्ने कदमहरु सबै प्रयोग भएपछि देखिन्छन् । मेरा स्टेपहरु पनि सबै देखिरहनु भएको छ । मैले उम्मेदवारी घोषणा गर्दा हतारमा गर्याे भनेका थिए । तर, त्यसको पनि छुट्टै उद्देश्य तथा रणनीति थियो । निर्वाचनमा यी सबै कदमहरुका आ-आफ्नो महत्व हुन्छन् । केही न केही उद्देश्य पुरा गर्न ती कदमहरु चालिएका हुन्छन् । रणनीतिक रुपमा हामी सशक्त भएर अघि बढेका छौं । अञ्जन श्रेष्ठले चुनाव जित्ने माहोल कहिले विकास हुन्छ ?  प्रत्येक दिन माहोल बन्दै गएको छ । प्रत्येक स्टेपसँगै माहोल बढिरहेको छ । चुनाव जित्ने माहोल बनिसकेको छ । मैले अवश्य चनाव जित्छु । वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवार हुनुहुन्छ, पहिलो राउण्डमा नतिजा नआउने अनुमान छ । पहिलो राउण्डमै ५१ प्रतिशत ल्याएर जित्नुहुन्छ की दोस्रो राउण्डमा जान्छ ? दोस्रो चरणमा के हुन्छ माहोल ? मैले चुनाव जित्छु भन्नेमा पूर्ण विश्वास छ । त्यो विश्वास टिम र मतदाताले दिएको छ । पहिलो र दोस्रो राउण्ड प्रक्रिया मात्रै हो । चुनाव दुई पटक भएपनि मैले नै चुनाव जित्ने हो । व्यवसायीहरुको हकहितको लागि नेतृत्व चयन गर्दैछौं । नेतृत्व तहमा पुग्नका लागि राजनीतिक आशिर्वाद लिँदा राजनीतिक एजेण्डालाई अघि बढाउनु हुन्छ की व्यवसायीक एजेण्डा ? उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायीक संस्था हो । निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन, व्यवसायीक वातावरण बनाउन, व्यवसायलाई प्रवर्द्धन तथा सम्वर्द्धन गर्न हामीहरु एकजुट भएका हौं । हाम्रो उद्देश्य योभन्दा अरु केही छैन । यी सबै काम गर्न सबै राजनीतिक दलहरुसँग सम्बन्ध बनाउनु पर्ने हुन्छ । साथै, राज्यका तह-तप्कासँग पनि सम्बन्ध कायम राख्नुपर्छ । त्यसैले राजनीतिक दलसँग भेट गरेर सम्बन्ध विकास गर्नु स्वभाविक हो । महासंघमा कुनै पनि राजनीतिक गतिविधि हुँदैनन् । बजारमा हल्ला अनेकन आउँछन् । तर, हल्लाका पछि लागेर हुँदैन । महासंघमा कुनै राजनीति हुँदैन । यहि नै वास्तविकता हो । अर्थतन्त्र समस्याग्रस्त छ । उद्योगी व्यवसायीहरु तनावमा छन् । यो समस्या समाधान गर्न तपाईंको भूमिका के रहन्छ ? लगानी गर्नका लागि पूँजी प्रयाप्त छैन । पूर्वाधारको समस्या छ । नीतिगत व्यवस्था अस्पष्ट छन् । तरलता अभाव र ब्याजदरको समस्या तत्काल समाधान गर्नुपर्नेछ । ब्याजदर घट्नै पर्नेछ । चुनावी प्रचारका लागि देशभरी दौडाह गर्दा पसल-पसलमा गएर व्यवसायीहरुसँग बसेर छलफल तथा कुराकानी गरेको छु । उनीहरुका पीडालाई मैले पनि महशुस गरेको छु । ब्याजदर उच्च हुँदा व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको छ । १ सय रुपैयाँको ब्यापार गर्नेको आज २०÷३० रुपैयाँमा झरेको छ । व्यवसाय निरन्तर घटिरहेको छ तर लागत बढिरहेको छ । कोरोना महामारी पश्चात् लजिस्टीक लागत बढ्यो । रुस र यूक्रेनको युद्धका कारण मूल्य वृद्धि उच्च भयो । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्यो । लागत बढ्ने तर, व्यापार घट्ने भएपछि ब्याज तथा साँवा तिर्न नसक्ने अवस्था छ । कर तिर्न सक्ने अवस्था छैन । त्यसैले सरकारले ब्याजदर घटाएर तरलता सहज गराउनुपर्छ । जसले गर्दा बजार चलायमान हुन्छ । ब्याजदर घटेपछि व्यवसाय आफै बढ्छ । त्यसपछि ऋण र ब्याज तिर्न सक्ने वातावरण बन्छ । हाम्रो देशको अर्थतन्त्रको आकार बढ्न सकेको छैन । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि १४ अर्बको बजेट थियो । अहिले १७ खर्बको पुगेको छ । रिफर्म हुन सकेको छैन । लगानीको आकार बढेको छैन । तथ्याङ्क विभागका अनुसार समग्र अर्थतन्त्र समस्या छ । २९ प्रतिशत व्यक्तिहरु अझै सक्रिय अर्थतन्त्रमा सहभागी भएका छैनन् । यो तथ्याङ्कले पनि हाम्रो अर्थतन्त्र सानो भएको देखाउँछ । हामीले तत्काल पूँजीको व्यवस्थापन गरेर अर्थतन्त्रको आकार बढाउनु पर्नेछ । सर्वसाधारणको आम्दानी बढाउनु पर्नेछ । यी सबै काम गर्नका लागि जोड दिन्छौं । सरकार र निजी क्षेत्रले समन्वय गरेर पूँजी ल्याउनु पर्नेछ । बचतबाट मात्रै पूँजी निर्माण हुने सम्भावना छैन । भारतमा ६० किलोमिटर प्रतिघण्टा पूर्वाधार निर्माण हुन्छ । तर, नेपालमा २३ किलोमिटर मात्रै प्रतिघण्टा पुर्वाधार निर्माण भएको देखिन्छ । जसले गर्दा लागत बढेको देखिन्छ । भन्सारमा सामान छुटाउन वर्ष दिन कुर्नुपर्छ । हाम्रो बिजुली गुणस्तरीय छैन । आवश्यकता अनुसार पाइँदैन । नीति नियमहरु पनि धेरै पुराना छन् । केही नीति नियम परिवर्तन भएपनि निजी क्षेत्रलाई दोहन गर्ने र कारवाही मात्रै गर्ने काम भएका छन् । सरकारको प्रक्षेपण स्पष्ट छैन । नीति बनाउनेले एउटा सोचले बनाएको हुन्छ भने कार्यान्वयन गर्ने पक्षले अर्कै किसिमले परिभाषित गरेका हुन्छन् । २० वर्षदेखि महासंघमा आवद्ध हुनु हुन्छ । महासंघको उपाध्यक्ष भएर काम पनि गर्नु भएको छ । नीतिगत रुपमा महासंघले राम्रोसँग पहल गर्न सकेन । निजी क्षेत्रमैत्री नभएका कानुन संशोधन गर्न महासंघले प्रयाप्त वकालत गर्न सकेन । तपाईं निर्वाचित भएपछि के गर्नुहुन्छ ? महासंघको बलियो भूमिका नभएकोमा तपाईं स्वीकार गर्नुहुन्छ ? म स्वीकार गर्दैन । हामीले गर्नुपर्ने कसुर कुनै पनि बाँकी राखेको छैन । २०४६ सालपछि ३ पटक राजनीतिक परिवर्तन भयो । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि सरकार र हामीसँगै बसेर छलफल गर्यौं । त्यसपछि द्धन्द्धकाल आएपछि तरल राजनीति भयो । संविधान बनाउन १४ वर्ष लाग्यो । ७ वर्षदेखि आर्थिक पाटोले प्रशय पाउँछ भनेर हामी कुरिरहेका छौं । तर, त्यो पनि पुरा हुन सकेको छैन । सरकारसँग बहस पैरवी गर्नुपर्ने, कानुन संशोधन गर्नुपर्ने सबै काम गरेका छौं । भिजन डकुमेन्ट कागजमा मात्रै बनाएको होइन । भिजन डकुमेन्टको महत्व कसैले बुझ्न सकेको छैन । प्रत्येक १० वर्षमा कुनै पनि मुलुकको अर्थतन्त्र माथि गएर तल झर्छ भनेर अर्थशास्त्रीहरु भन्नु हुन्छ । एउटै नीतिले सधैंभरि काम गर्न सक्दैन । समय समयमा नीतिगत परिवर्तन भइरहनुपर्छ । रिफर्मका लागि भिजन डकुमेन्ट बनाएको हो । हिजोका दिनमा कुनै ऐन संशोधन गर्दा तपाईंहरुको सुझाव दिनुहोस् भनेर चिठी आउँथ्यो । तर, अहिले त्यो वातावरण छैन । उल्टै यो – यो ऐन संशोधन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं । यदि ती व्यवस्था परिवर्तन गरियो भने १ सय खर्बको अर्थतन्त्र बन्छ । २२ लाखलाई रोजगारी दिन सकिन्छ । ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिन्छ । उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर भिजन पेपरमा बनाएको हो । तर, सरकारले स्वामित्व लिएन नी । त्यो डकुमेन्टलाई कार्यान्वयनमा लैजाने शिलशिलामा महासंघको भूमिका कमजोर रह्यो नी ? सरकार चाँडो चाँडो परिवर्तन भइरहेको छ । प्रशासनिक संयन्त्र अन्यौलमा छ । हामीले सरकारसँग एमओयू गर्याै । गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालय नेतृत्वविहीन बन्यो । यसवर्ष २ महिनाजति अर्थमन्त्रालय नेतृत्वविहीन बन्यो । यस्तो परिस्थितिमा कसरी काम हुन्छ ? सरकारले खर्च गर्न सक्दैन । यो ऐनमा यो व्यवस्था गरियो भने खर्च बढ्न सक्छ भनेर सुझाव दिएका छौं । हामी निर्णयकर्ता होइनौं । हामीले दबाव मात्रै दिने हो । यदि तपाईं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने जिल्लागत, वस्तुगत र एशोसिएटका व्यवसायीहरुका लागि गर्ने मुख्य कामहरु के-के हुन् ? नेपाल उद्योग वाणिज्य महासंघको प्रभावकारिता बढाउनु पर्नेछ । महासंघको भूमिका र प्रभाकारीतामा ब्यापकता कायम गर्नु पर्नेछ । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सुन्ने दृष्टिकोणमा एकरुपता कायम गर्नु पर्नेछ । साथै निजी क्षेत्रको मर्यादा र सम्मानका लागि काम गर्छु । हाम्रो सदस्य संस्थाहरुको क्षमता वृद्धि गर्नु पर्नेछ । जिल्ला, वस्तुगत, एशोसिएट, प्रदेश उद्योग वाणिज्य संघको क्षमता वृद्धि गर्नु पर्नेछ । उनीहरुको लागि स्रोतको व्यवस्थापन गर्नु पर्नेछ । विधान संशोधनको विषय सबै क्षेत्रबाट उठेको छ । समय सापेक्ष विधान परिवर्तन गर्नु पर्नेछ । प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरी विधान संशोधन गर्नु पर्नेछ । म निर्वाचित भएपछि प्रत्यक्ष रुपमा सम्पूर्ण सदस्यहरुले अध्यक्ष पदमा भोट हाल्न पाउनु हुन्छ । समय सापेक्ष सबै संघ संस्थाहरुलाई संगठनात्मक रुपमा मजबुत बनाउने छु । वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघको संठनलाई बलियो बनाउनु पर्नेछ । ७५३ स्थानीय तहमा गठन भएका उद्योग वाणिज्य संघका इकाइहरुलाई व्यवस्थापन बनाउने छु ।

नेताको पनि नेता बन्ने फर्मुला मैले गरेको काम नै हो : हेमराज ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै चिया उद्योगमा लागेका ढकाललाई अहिले महासंघको चुनाव लागेको छ । सरल र अनुशासित उद्योगी व्यवसायीको छवि निर्माण गरेका ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि तीन वटा प्यानल चुनावी प्रस्पिर्धामा छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार ढकालसँग हामीले महासंघको चुनाव र उनीको चुनावी रणनीतिका विषयमा कुराकानी गरेका छौं । तपाईंले वस्तुगत उपाधयक्षका लागि उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ? नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघहरुसँग म नजिकसँग जोडिएको छु । म आफै पनि उत्पादन, कृषि, व्यापार तथा उद्योग सेवा क्षेत्र लगायतका आवद्ध छु । नेपालको अर्थतन्त्रको आधार पनि त्यही हो । त्यस कारणले मैले जानेको, बुझेको र दुई वर्षदेखि वस्तुगत संघहरुसँग आवद्ध भएर उनीहरुका समस्या, चुनौति र सम्भावनाका विषयसँग विभिन्न कार्यक्रमहरुमा गएर वहस गरेको छु । समस्या समाधानका लागि सहयोग गरेको छु । उनीहरुले नै अब तपाईंले स्वास्थ्य तथा सीप विकास समिति, कृषि उद्यम केन्द्रमा बसेर नेतृत्व गर्नु भयो अब उपाध्यक्ष बन्नु पर्छ भनेर प्रस्ताव गरेपछि म अगाडि सरेको हुँ । .ती दुवै समिति मेरो नेतृत्वमा अब्बल ठहरिएका छन् । सबैले तारिफ गरेका छन् । यति काम गरेपछि र अनुभव सम्हालेपछि मैले किन दाबी नगर्ने भनेपछि अगाडि बढेको हुँ । मसँग क्षमता पनि छ र साथीहरुले चाहना देखाइसकेपछि उम्मेदवारी दिएको हुँ । मैले डेलिभर पनि गर्न सक्छु भन्नेमा विश्वस्त छु । अहिले एकातर्फ अर्थतन्त्र समस्यामा छ भनेर विभिन्न बहसहरु हुन थालेका छन् अर्कोतर्फ महासंघको चुनाव महँगो हुँदै गयो भन्ने गुनासो पनि सुनिन्छ, आकांक्षी पनि धेरै भए भन्ने कुरा छ, यस्तो किसिमको परिस्थिति किन आयो ? अहिले तीन वटा प्यानल भएका छन् । तर, केन्द्रिय सदस्यहरुमा धेरै आकांक्षी देखिएका छैनन् । आफ्नै व्यवसायमा समस्या भएपछि महासंघले खेल्नु पर्ने भूमीका खेलेन की भन्ने बुझाइ पनि धेरेको छ । सरकारले पनि महासंघको कुरा नसुनेको होकी भन्ने बुझाइ धेरैको हुन सक्छ । महासंघमा गएर पनि काम छैन की भन्ने धेरैको बुझाइ होला । हो, महासंघको धेरै ठूलो सञ्जाल छ । यसअघि एकवर्ष अघिदेखि नै चुनाव लाग्थ्यो । तर, अहिले एक महिनादेखि नै सुरु भएको छ । अहिले धेरै आर्थिक समस्यामा छन् । मलाई लाग्छ धेरै महँगो नहोला । तपाईंहरु नेताको पनि नेता हो, विभिन्न वस्तुगत संघका नेतृत्वहरुलाई कन्भिन्स गरेर मत बटुल्न सक्ने तपाईंको रणनीति के हो ? नेताहरुको पनि नेता बन्न गाह्रो नै छ । त्यो अनुभव मैले पनि गरेको छु । कन्भिन्स गर्ने विषयमा मैले सामान्य फर्मुला प्रयोग गरेको छु । आफुलाई महासंघले दिएको जिम्मेवारी अनुशासित ढंगबाट निभाउने, साथीहरुलाई परेका समस्याको समाधान गर्ने हो । मेरो काम गर्ने शैली, मेहेनती नेचर र अुनशासनले नै साथीहरुले मलाई विश्वास गर्नु हुन्छ । यो मान्छे हामीलाई चाहिन्छ भन्ने महसुस उहाँहरुले गर्नु भएको छ । मेरो स्ट्रेन्थ पनि यही हो । तीन जना प्रतिस्पर्धीहरुमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्ने ? कृषि उद्यम केन्द्र महासंघकै ठूलो डिपार्टमेन्ट हो । यो एउटा ठूलो जिम्मेवारी पनि हो । त्यसमा पनि मैले राम्रो काम गरें । ७७ वटै जिल्लामा घुमेको छु । म कृषिमा पनि आवद्ध छु । कोरोनाको समयमा अस्पतालहरुको भौतिक पूर्वाधार निर्माणका लागि पनि सरकारसँग सम्वाद गरेर समस्याको समाधान गरेको छु । गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढेको थियो । त्यसमा थोरै प्रिमियम तिरेर सरकारले अनुदान गर्नु पर्ने कुरा थियो । त्यसमा केही समस्या थियो । त्यो समस्या समाधानका लागि मैले ठूलो भूमीका खेलें । त्यस्तै, ब्रिटिस काउन्सिल र यूरोपियन युनियनले इलम भन्ने कार्यक्रम सुरु गरेको थिए । त्यसअघि विभिन्न निकायले आ–आफ्नै किसिमले सीप दिने अभ्यास थियो । तर, पछि आधिकारिक सीप दिने किसिमले पेशागत मापदण्ड बनाएर काम गर्यौं । त्यसमा पनि ठूलो भूमीका निर्वाह गरेर काम गरियो । अहिले त्यो मापदण्ड पाठ्यक्रममै समावेश गरिएको छ । यी सबै कामहरुको बारेमा म अब्बल छु । मैले एक दशक भयो महासंघका विभिन्न समितिमा बसेको । तर, दुई कार्यकालमा समितिको नेतृत्व गर्ने अवसर पाएँ । तपाईंका मतदाताको अपेक्षा चाहिँ के रहेछ ? अहिले बैंकको ब्याज बढेको छ । लगानी गर्न पुँजी छैन । कच्चा पदार्थको मूल्य बढेको छ । ‘कष्ट अफ डुइङ बिजनेस’ बढेको छ । बैंकमा तरलता समस्या हुँदा कर्जा पाइएको छैन । यी विभिन्न समस्याहरु समाधान गर्नु पर्ने मतदाताको अपेक्षा हो । अहिले उत्पादन र बजारको पनि समस्या छ । मेरो व्यवसायिक जीवनमा अहिलेको जस्तो समस्या कहिल्यै थिएन । यो सबैको समस्या हो । म उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवार बनेको हुँ । उहाँ पनि स्पष्ट र निडर उम्मेदवार हो । उहाँ बोल्ड क्यारेक्टर भएकोले मैले पनि उहाँलाई रोजेको हुँ । सबैले उहाँसहित हाम्रो टीमलाई रोज्नु हुन्छ । आफ्नो उत्पादनले देशको माग धान्ने, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्नु पर्ने, रेमिट्यान्सलाई विकास निर्माणमा लगाउने, निर्यात प्रवद्र्धन गर्ने विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रा मतदाताको अपेक्षा पनि यही हो । कर प्रणाली पनि पारदर्शी छैन । भ्याट प्रणालीलाई पनि पुनर्विचार गर्नु पर्छ । उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्छ । वस्तुगत संघहरुको क्षमता विकासका लागि के सोच्नु भएको छ ? वस्तुगत संघहरु अर्थतन्त्रको मेरुदण्ड नै हो । ती सबै हामीसँग सम्भावना भएका वस्तुहरुका संघहरु नै हुन् । ठूल्ठूला जलविद्युतका संघहरु पनि छन् । उनीहरुका समस्या पनि छन् । नीति नियमका समस्या पनि छन् । सरकारले समयमै पैसा निकासा नगर्ने समस्या पनि छ । अहिले धेरै वस्तुगत संघहरुले मौलिक उत्पादनरु उत्पादन गर्छन् । उहाँहरुको समस्या पनि मैले बुझेको छु । उहाँहरुलाई कसरी समावेश गराउने, कसरी अपनत्व महसुस गराउने भन्ने विषयमा पनि मैले बुझेको छु । उहाँहरुको संलग्नतामा हामी महासंघको समितिमा राख्छौं । र, समस्याहरुलाई सरकारलाई बुझाउँछौं । कार्यान्वयनका लागि लविङ गर्छौं । कतिपय वस्तुगत संघहरु महासंघमा आवद्ध हुन नसकेको गुनासो पनि सुनिन्छ, यस विषयमा तपाईंले के सोच्नु भएको छ ? हामीसँग सम्भावना भएका क्षेत्रहरु उजागर हुँदै गएका छन् । संगठन बन्ने क्रम पनि जारी छ । महासंघको पनि आफ्नै सीमाहरु छन् । त्यहाँ क्राइटेरियाहरु छन् । अहिले २० वटा बढी वस्तुगत संघहरु थपिएका छन् । महासंघको तदारुकता पनि नभएको हुन सक्छ । यी विविध छन् । अब अध्यक्ष हुँदै गरेका चन्द्र ढकालज्यूले पनि महासंघको पछाडि जग्गा छ । त्यो जग्गामा भवन बनाएर वस्तुगत संघहरुका कार्यालय राख्ने भन्ने विषय पनि उठेको छ । मेरो पनि त्यसमा सहयोग हुन्छ । अन्य संगठनहरुलाई पनि संलग्न गराउनेमा सक्रिय हुन्छु । अहिले तीन वटा प्यानल भएको कारण पनि महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने धेरैको बुझाइ छ, तपाईंको प्यानलले पहिलो चरणमै विजयी हुने सम्भावना कत्तिको देख्नु भएको छ, दोस्रो चरणमा प्रवेश गरेमा तपाईंको प्यानलको रणनीति कस्तो बन्छ ? स्वभाविक रुपमा विधानले दिएको व्यवस्था अनुसार ३/४ प्यानल हुन सक्छन् । हामीले उम्मेदवारी घोषणा गर्दा हाम्रो प्यानललाई ६ वटा उद्योग वाणिज्य संघले सर्पोट छ भनेको थियाे । अहिले सबै प्रदेशको साथ छ ।  जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । लगभग जिल्लानगरका साथीहरु हामीसँग नै समाहित भएका छन् । हाम्रो प्यानल मात्रै एउटा प्यानल हो जसले जिल्ला नगर, वस्तुगत र एशोसिएटमा पुरै प्यानल नै घोषणा गरेको छ । अन्यको त्यो अवस्था देखिँदैन । मलाई लाग्छ, पहिलो चरणमै हामी ५१ प्रतिशत ल्याएर विजयी हुन्छौं, यदी त्यसो हुन नसकेमा टप टु ले वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुन्छ । पहिलो त हामी हुन्छौं नै । दोस्रो हुनेसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।