‘मतगणना सुरु भएको ७ दिनमा नतिजा निकाल्न सक्छौं’

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् । निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल र उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ छन् । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका नेपाल सरकारको सचिवको अनुभवप्राप्त प्रमुख आयुक्त थपलियासँग यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्र तयारी र व्यवस्थापनका सन्दर्भमा गरेकाे कुराकानीको सम्पादित अंश : मुलुक निर्वाचनको सम्मुखमा रहेकाबेला राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई के आह्वान गर्न चाहनुहुन्छ ? निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार रोकिइसकेको अवस्थामा सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ । निर्वाचनमा निर्भिकतापूर्वक सबै मतदातालाई सहभागी हुन तथा राजनीतिक दल र उम्मेदवारले अहिलेसम्म अपनाउनुभएको संयमतालाई कायमै राखी साँच्ची नै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको आपसी साझेदारी, समन्वय सहकार्य र अन्तरसम्बन्धबाट आवश्यक छ, त्यही भएमा निर्वाचन शान्तिपूर्णरूपमा सम्भव छ भन्ने उदाहरण विश्वसमुदायलाई पनि प्रस्तुत गरिदिन म आग्रह गर्छु । निर्वाचनको तयारीका हिसाबले अघिल्ला निर्वाचनको तुलनामा यसपटक अनुपम र उदाहरणीय काम के कस्ता भएका छन् ? अहिले हाम्रो ध्यानदृष्टि भनेको छ महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जे जस्ता समस्या भोगिएको थियो वा कमजोरी भएको थियो, त्यो यस निर्वाचनमा आउन हुँदैन भन्नेतर्फ छ । विगतका निर्वाचनमा भन्दा यसमा मतदाता नामावलीको शुद्धतादेखि छिटो मतपरिणाम दिने तयारीसम्ममा केही न केही नयाँपन र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रयत्न गरिएको छ । उदाहरणका लागि, मतदाता नामावलीमा दोहोरिएका र मृतकहरूको नाम आयोगलाई प्रक्रियागतरूपमा जानकारीमा आएसम्म हटाइएको छ । स्थानीय तहको निर्वाचनमा कतिपय मतदान स्थल र मतदान केन्द्र जो अलि पहुँचयोग्य भएनन् भन्ने गुनासो थियो । अहिले सकेसम्म सबै केन्द्र मतदाताको घरदैलो नजिक पु¥याउन प्रयत्न गरिएको छ । पहुँचयोग्य भनिएको छ । मतदान केन्द्र अपाङ्तामैत्री भएन भन्ने विगतका गुनासालाई कसरी सम्बोधन गरिएको छ ? यसतर्फ हामी सचेत र गम्भीर छौँ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपाङ्गतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आयोगले निर्देशन दिएको छ । साथै, करिब ३०० मतदान केन्द्रलाई सम्पूर्णरूपले अपाङ्तामैत्री कस्तो हुन्छ भनेर देखाउने गरी नमूना कार्य प्रारम्भ गरिएको छ । निर्वाचनमा आयोगबाट सामाजिक सञ्जाल नियमनको नयाँ केही कार्य प्रारम्भ गरिएको देखिएको छ, यसको कार्यान्वयनका चुनौती कस्ता छन् ? निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य हामीले प्रारम्भ गरेका छौँ । यसले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको छ । सडकका भित्ता रङ्गाएर होइन, फेसबुक र अरु सामाजिक सञ्चालका भित्तामा लेखेर पनि निर्वाचनको प्रचारप्रसार गर्न सकिन्छ भन्ने मूल्यमान्यता स्थापित गर्न पनि यो निर्वाचन सफल भएको छ । निर्वाचन प्रचारप्रसारको कार्य यसपटक साँच्ची नै वातावरणमैत्री छ भन्न सकिने अवस्था स्थापित गरिएको छ । मतदानका दिन यातायातका सवारी साधन सञ्चालनमा केही खुकुलो गर्न खोजिएको हो ? मतदानका दिन पनि बढीमात्रमा आमसञ्चारमा संलग्न पत्रकार तथा अन्य पेशा व्यवसायी र रोजगारमा रहेका व्यक्तिको आवागमनलाई जिल्लास्तरबाटै व्यवस्थित र सजिलो बनाऔँ भन्ने आयोगको धारणा हो । आवागमनलाई निर्वाचनको निष्पक्षतासँग जोडेर अघि बढाैँ भनेर यसको प्रक्रिया पनि प्रारम्भ गरिएको छ । अशक्त, ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि मतदानस्थल र घरसम्म आउन जानका लागि पनि सवारीसाधनको सहजीकरण गर्न भनिएको छ । स्थानीय निर्वाचनमा ठूलो आकारको मतपत्रका कारण धेरै सङ्ख्यामा मत बदर भएको थियो, यस पटक त सुधार आउछ कि ? मतपत्रसम्बन्धी उठेको प्रश्नलाई यस निर्वाचनमा सम्बोधन गरिएको छ । अहिलेको मतपत्र धेरै सजिलो छ, सहज ढङ्गले मतदान गर्न सकिन्छ, बदर मत प्रतिशत घट्छ भन्ने विश्वास छ । दल र उम्मेदवारको निर्वाचन खर्चको अनुगमन कसरी भइरहेको छ ? निर्वाचन आचारसंहिता र खर्चको सीमाको विषय पनि राजनीतिक दल र सबै सरोकारवाला छलफल गरी सकेसम्म व्यवहारिक बनाउन प्रयत्न भएको छ । कुनै पनि निर्वाचन तडकभडक गरेर होइन, साँच्ची नै आफ्ना नीति, विचार, सिद्धान्त जनसमक्ष पु¥याएर सहज ढङ्गले निर्वाचनलाई अघि बढाउनुपर्छ भन्ने सैद्धान्तिक अवधारणा स्थापित भएको हुनुपर्छ । दल र उम्मेदवारको निर्वाचन खर्चको हद निर्धारण गरेर सबैलाई जानकारी गराइएको छ । त्यसको अनुगमनका लागि सुरक्षा निकायसमेतलाई आग्रह गरेका छौँ । निर्वाचनपछि दलहरूले बुझाउने खर्चको विवरणमा हामीले अवश्यकताअनुसार लेखापरीक्षण पनि गराउनेछौँ । निर्वाचन आचार सहिता पालनामा दल र उम्मेदवार यसपटक अलि बढी सकारात्मक देखिएका हुन् ? आचारसंहिता हामी आफैँले पालना गर्नुपर्छ भन्ने सन्देश यस निर्वाचनले दिएको छ । तुलनात्मकरूपले अबका कुनै पनि निर्वाचन पद, पहुँच, प्रतिष्ठा, प्रलोभन, पैसाजस्ता कुराले प्रभावित हुने छैनन् । त्याग, निष्ठा, सिद्धान्त, विचार, घोषणापत्र, कार्यक्रम, इमानजस्ता विषयले निर्वाचनलाई निर्धारण गर्नेछ भन्नेतर्फको मार्गदर्शन भएको अनुभव गरेका छौँ । हामीले पात्र मात्र परिवर्तन गर्ने होइन, अवस्था परिवर्तन गर्नेतर्फ पनि सोच्नुपर्छ भन्ने सोचाइ यस निर्वाचनले स्थापित गरेको छ । अर्काे विषय भनेको मुलुकमा आवधिक निर्वाचन तोकिएकै समयमा गरिनुपर्छ, अन्यथा मुलुक र जनताले त्यसको मूल्य थेग्न सक्दैनन् भन्ने मानक पनि कायम भएको छ । आयोगले निर्वाचनलाई व्यवस्थितरुपले अघि बढाउन राजनीतिक दल, सरकार र अन्तर्राष्ट्रिय जगतबाट कस्तो किसिमको सहयोग पाएको छ ? सबैभन्दा पहिला नेपाल सरकारबाट निर्वाचनको मिति तोक्नेदेखि आयोगका निम्ति आवश्यक पर्ने नीति, नियम, पद्धति, प्रक्रिया व्यवस्थित गर्नाका साथै आवश्यक पर्ने वित्तीय श्रोत, जनशक्ति र सुरक्षा व्यवस्थापनलगायतका सवालमा आयोगले माग गरेकै ढङ्गमा सहयोग प्राप्त भएको छ । यो पटक नेपाल सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय तहको पनि संलग्नता र सहयोग महत्वपूर्ण र अवीस्मरणीय छ । अब आयोगले निर्वाचनसम्बन्धी काम विकेन्द्रित गरेर स्थानीय र प्रदेशसँग सहकार्य र साझेदारी प्रारम्भ गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतसँग पनि हाम्रो अत्यन्त राम्रो सम्बन्ध छ । अन्तर्राष्ट्रिय जगतले हाम्रो निर्वाचनलाई नजिकबाट हेरिरहेको छ । दुई वटा अन्तर्राष्ट्रिय सङ्घसंस्था र काठमाडौँस्थित १८ वटा कुटनीतिक नियोगका प्रतिनिधि, चार देशका प्रमुख निर्वाचन आयुक्त तथा केही आयुक्तको टोली निर्वाचनको अवलोकन गर्न आइरहेको छ । मतदाता शिक्षालगायतका काममा निरन्तररूपमा युएसआइडी, युएनडिपी इएसपी, आइपफिएसलगायतबाट सहयोग भएको छ । भारत सरकारबाट यसपटक ८० वटा सवारीसाधन प्राप्त भएको छ । अरुले पनि निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि कहाँ सहयोग गर्न सक्छौँ भन्नुभएको छ । सञ्चार र नागरिक समाजबाट पनि निर्वाचनका लागि पर्याप्त सहयोग मिलेको छ । सबैबाट प्राप्त सहयोगबाट निर्वाचनप्रतिको निष्ठा कायम रहेको भन्ने पुष्टि भएको छ । निर्वाचन प्रचारप्रसारका बारेमा राजनीतिक दल र उम्मेदवारबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? यसमा मैले दुई किसिमका प्रवृत्ति र पृष्ठपोषण पाएँ । प्रचारप्रसारका निम्ति १५ दिनअघि मात्रै आमसभालगायतका क्रियाकलाप गर्दा उम्मेदवारका लागि त ठिकै हो र राजनीतिक दललाई भने समानुपातिकतर्फको प्रचारप्रसार गर्न देशैभरि केन्द्रीय नेतृत्व पुग्नुपर्ने भएकाले समय अपर्याप्त भएको भन्ने आएको छ । अलि व्यावहारिक गर्ने कि भन्ने सुझाव प्राप्त भएको छ । अर्काे निर्वाचनको समयमा यसलाई सम्बोधन गर्न सकिनेछ । आमसभाका लागि मञ्चको व्यवस्थापन, प्रचारप्रसारमा जाने सङ्ख्या, झण्डा र चिह्न व्यवस्थित गर्ने विषयमा पनि कुरा उठेको छ । तथापि, राजनीतिक दलको विचार र सिद्धान्तलाई तडक-भडकपूर्ण प्रचारले विस्थापित गर्न सक्दैन । दलीय व्यवस्था भएकाले नीति, विचार, सङ्गठन र कार्यकतालाई परिचालन गरी अहिलेको अवस्थालाई सहजरुपमा लिनुपर्छ भनिएकामा सकारात्मक नै जवाफ प्राप्त भएको छ । मतदाता शिक्षा र निर्वाचन वातावरणबारे कतिपय प्रश्न पनि उठेका छन् नि ? निर्वाचनको वातावरणको मापन विगतमा कत्रा जुलुस आए, कति मान्छे जम्मा भए, कति झण्डा बोकका थिए, कस्तो प्रकृतिको पोष्टर टाँसे भनेर निर्वाचनको वातावरणको आँकलन गरिन्थ्यो । अहिले त्यो समय फेरिएको छ, आचारसंहितामार्फत प्रबन्ध फेरिएको छ । हामी निर्वाचनको निष्ठा जोगाउन प्रयत्नशील भएका छौँ । अहिले विगतको त्यो कुरा नहुँदैमा निर्वाचन शिक्षा पनि पुगेन, वातावरण पनि बनेन भन्ने तर्क गर्न हुन्न । त्यो क्रम विद्युतीय माध्यमतिर स¥यो । हामीले डिजिटल प्लेटफर्मलाई निर्वाचन प्रचारप्रसारको माध्यम बनायौँ । निर्वाचन प्रचारप्रसारको रूप परिवर्तन भएको हो, वातावरण नबनेको होइन भन्ने आयोगको भनाइ छ । मतदातासँग सबै उम्मेदवार र राजनीतिक दल पुगिरहनुभएको छ । भित्रभित्रै राम्रो वातावरण बनिसकेको छ । आम मतदाताले मङ्सिर ४ गतेको सहभागिताबाट निर्वाचनको वातावरण कसरी बनेको रहेछ भन्ने देखाइदिनु हुनेछ । पछिल्ला दिनमा भएका छिटपुट घटनाले निर्वाचन सुरक्षाको संवेदनशीलता बढाएको हो ? यसमा आयोगले कस्तो कदम चालेको छ ? स्थानीय तहको निर्वाचन प्रारम्भ गर्दै गर्दा एकै चरणमा गरौँभन्दा केही समूहबाट बहिष्कार गर्नेलगायत असजिलो हुन्छ कि भन्ने प्रश्न उठेको थियो । राजनीतिक वातावरण बनाउने काम सराकारको हो एकै चरणमा गरौँ भनियो । निर्वाचन सफल पनि भयो । कुनै समूहबाट पनि निर्वाचनलाई लक्षित गरी अप्ठ्यारो पार्ने काम भएन । यसमा म सबै दलप्रति धन्यवाद पनि दिन चाहन्छु । अहिले कुनै पनि राजनीतिक दल वा समूहबाट निर्वाचनमा खटिएको कर्मचारी, सुरक्षाकर्मी, मतदाता र निर्वाचनको वातावरण बनाउन लागेका नागरिक समाज र सञ्चारकर्मीलगायतका व्यक्तिप्रति असहजता र अप्ठ्यारो आउँदैन भन्ने हामी ढुक्क छाैँ । असहजता आउने स्थिति भएमा कानुनबमोजिम कारवाही गर्न सुरक्षा व्यवस्था चुस्त र दुरूस्त तुल्याइएकाले मतदताले ढुक्क भएर मतदान गर्ने वातावरण बन्नेछ । राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको छ । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न म आग्रह गर्दछु । कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको पनि अवगत गराउन चाहान्छु । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार-पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतगणनामा हुने गरेको ढिलाइको गुनासोबाट आयोग यस पटक मुक्त हुन सक्ला ? हामी चौबिसै घण्टा मतगणनासम्बन्धी मुद्दाको सम्बोधन गर्न तम्तयार हुन्छौँ । यो पटक नयाँ रणनीतिका साथ मतगणना गराउन सबै निर्वाचन अधिकृतलाई भनेका छौँ । मतदान सकिएर मतपेटिका प्राप्त हुनासाथ समन्वय कामय गरी तत्कालै मतगणनाको कार्य प्रारम्भ गरौँ भन्ने हो । गणना गर्दा सानातिना समस्या र विवादलाई लामो समयसम्म समाधान नगरी नराखौँ । आपसी सहमति कायम गरी तत्कालै छिनोफानो गरौँ । कुनै समस्या भएमा आयोगले तत्कालै समाधानका लागि न्यायोचित निर्णय गर्छ । हामी तपाईलाई आवश्यक पर्ने सम्पूर्ण स्रोत, साधन र जनशक्ति उपलब्ध गराउँछौँ, धेरै टिम परिचान गर्नुस् भनेपछि लम्याइरहनुको कुनै अर्थ हुन्न । यो ढङ्गले मतगणना गर्नुस् भनेका छौँ । यसपटक जनशक्तिलाई आर्थिक प्रोत्साहनको पाटो राम्रो छ । मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्न सक्छौँ भन्ने विश्वास हो । राजनीतिक दलले समानुपातिको विवरण दिएको दुई दिनभित्र सम्पूर्ण काम गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन दिन सक्छौ । त्यसरी जाँदा मङ्सिरका २२ गते भन्दा लाग्दैन । आलोच्य नहुने गरी छिटो छरितो ढङ्गले निर्वाचनको काम सक्छौँ । मतगणनाको सूचना छिटो प्राप्त गर्ने केही त्यस्तो संरचना बनेको छ त ? हामीले आयोगमा स्थापित प्रेस अफिस र सामाजिक सञ्जालमार्फत आयोगका हरेक निर्णय र अभिव्यक्तिलाई समयमै सञ्चार माध्यमलाई सहजरुपमा उपलब्ध गराउँदै आएका छौँ । त्यसैगरी मतगणनाको नतिजा दिनको निम्ति त्यस्तै पद्धति अवलम्बन गरेर हाम्रो सूचना प्रणालीमा आउनासाथ सञ्चारमाध्यमले पाउने प्रणाली विकास गरेर जाने तयारीमा छौँ । सबै मतदान केन्द्रमा एउटा सूचना एकाइ राखेर एक एक घण्टामा गतिविधि पठाउन प्रेरित गर्दैछौँ । यस्तो भएपछि विगतमा लाग्ने आरोप पनि निस्तेज हुनेछ । साच्चै सूचनामा सहजता पनि हुनेछ । विगतमा कतिपय केन्द्रमा मतदाताभन्दा बढी वा शतप्रतिशत मत खसेर अस्वाभाविक मतदान भएका भन्ने प्रश्न पनि आएको थियो ? यसपटक शुद्ध मतदान गराउने सवालमा के रणनीति अपनाइएको छ ? कुनै पनि मतदान केन्द्रमा अश्वभाविक ढङ्गले निर्वाचन भयो वा मतदानको शुद्धतामा प्रश्न आएमा मतदान अधिकृतले नै पुनःमतदान गराउन सक्छन् । त्यस्तो अवस्थामा त्यहाँबाट निर्णय गर्नुअघि आयोगले त्यसको पुष्टयाईं गर्छ । शतप्रतिशत मतदान हुनु सुन्दा राम्रो देखिएता पनि निर्वाचनको तथ्याङ्क विश्लेषणले त्यसलाई आत्मसात गर्न अप्ठ्यारो पर्ने पनि देखिएको छ । त्यहाँ खटिने कर्मचारीले यो अवस्था आउन यसपटक दिनुहुने छैन ।

‘२३ वर्षमा नदिएको लाभांश ३ वर्षमा दियौं, निक्षेपको भन्दा कर्जाको ब्याज सस्तोमा दिन्छौं’

नेपाली बैंक क्षेत्रको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक । सोही बैंक आज (बुधबार) ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको छ । बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि।स १९९४ साल कात्तिक ३० गते स्थापना नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अहिले कृष्णबहादुर अधिकारीले नेतृत्व गरिरहेका छन् । उनै सीईओ अधिकारीसँग नेपाल बैंकको वर्तमान बिजनेस, बैंकका आगामी रणनीति र बैंकको वित्तीय सूचक लगायतका विषयमा कुराकानी गरेका छौं । तपाईं नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको तीन वर्ष पुरा भएको छ, यो अवधिमा के कस्ता उपलब्धि हाँसिल भए ? मेरो नेपाल बैक लिमिटेडमा सेवा अवधिका हिसाबले १८ वर्ष पूरा भएको छ । मेरो स्वभाव, आचरण, निष्ठा २०६१ साल कार्तिक १६ मा सेवा प्रवेश गर्दा जस्तो थियो, त्यसमा परिवर्तन भएको छैन । प्रमुख कार्यकारी अधिकृत भएर मात्र मेरो कार्यशैली परिवर्तन भएको हैन । प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपश्चात् जे गरियो त्यो मैले मात्र हैन बैंकमा कार्यरत ३३९६ जना कर्मचारीहरूको समस्त योगदान हो । यी तीन वर्षमा विगत ८२ वर्षमा वासलातको आकार जति तयार भएको थियो, त्यसलाई करिब दुई गुणा बनाउने कार्य भने भएको छ । जसलाई हाम्रो वासलातले पुष्टि गरेको छ । व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, खराब कर्जा अनुपात घट्न गई कर्जाको गुणस्तरमा वृद्धि, नयाँ जनशक्तिको भर्ना, २३ वर्षसम्म सेयरधनीले प्राप्त गर्न नसकेको लाभांश विगत तीन वर्षदेखि लगातार वितरण, न्यून वेतनमा भर्ना भएका कर्मचारीको आर्थिक सुविधा वृद्धि भई अन्य सरकारी बैकले समेत बेञ्च मार्किङ गर्ने संस्थाका रूपमा लिनु, संरचनागत सुधार, सन्तुष्ट ग्राहकको समूहमार्फत ग्राहक सिफारिस बढ्नु, ग्राहकको रकम सुरक्षाको शत प्रतिशत प्रत्याभूति हुनु नेपाल बैंक लिमिटेडका मूलभूत उपलब्धि हुन् । थप चुनौती र अवसर केके देख्नु हुन्छ ? हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशबाट चुनौती सृजना भएको छ । रसिया र युक्रेनका बिचको युद्धका कारण मन्दीतर्फ अग्रसर अन्तर्राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभाव, राष्ट्रिय स्तरमा रहेको तरलता तनाव शोधानान्तर घाटा चुनौतीका रूपमा रहेका छन् आन्तरिक रूपमा अपेक्षित कायम गर्ने, डिजिटलाइजेसन गर्ने, साइबर सेक्यूरिटी बढाउने, कोर बैंकिङ सफटवेयर कार्यान्वयन गर्ने काम पनि प्रमुख चुनौती हुन् सन्जालको सदुपयोग मानवपुँजीको उपलब्धता, जनविश्वासलाई नतिजामा परिवर्तन गरी व्यवसाय विस्तार गर्ने अवसर छन् । झण्डै शताब्दीको दशकमा प्रवेश गर्न लागेको नेपालको पहिलो बैंकको वित्तीय अवस्था कस्तो छ ? वित्तीय अवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गर्दा यसको अवस्था स्पष्ट हुन्छ । सो सन्दर्भमा आव २०७४/२०७५ र २०७८/२०७९ को वित्तीय विवरणलाई तुलना गर्दा निक्षेप ६७ प्रतिशतले वृद्धि भई रु.१९६ अर्व पुगेको छ । कर्जा सापटी ८७ प्रतिशतले वृद्धि भई १७८ अर्ब रुपैयाँ छ । पुँजीकोषको हिसाबले बैंक सबैभन्दा उच्च छ । खुद नाफामा २५ प्रतिशत वृद्धि भएको छ । पुँजीकोष पर्याप्तता अनुपात १५.०४ प्रतिशत छ। कुनै समय अत्यधिक रहेको निष्क्रय कर्जा २०७९ असार मसान्तसम्म १.९० प्रतिशत रहेको तथ्यांकलाई मध्येनजर गर्ने हो भने नेपाल बैंकको वित्तीय अवस्था सवल रहेको पुष्टि हुन्छ । देशको जेठो र पहिलो बैंकका रूपमा आफ्नो साख कसरी हाँसिल गर्दै हुनुहुन्छ ? सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कहिले सम्ममा कार्यान्वयनमा आउँछ ? २०५७ सालदेखि सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकले तत्कालीन समयमा व्यवसाय विस्तार भन्दा पनि सुधारलाई महत्व दिएका कारण बैंकमा व्यवसाय वृद्धिका हिसाबले केही समय सस्तता आएको थियो । बैंकको साखलाई–कायम रान औसतमा २६ वर्षका कर्मचारीले अनवरत कार्य गरिरहेका छन् । मुख्य रूपमा ग्राहकको सन्तुष्टिमार्फत व्यवसाय विस्तार गर्नु नै आजको आवश्यकता हो। तसर्वमानवीय, वित्तीय, भौतिक तथा प्राविधिक परिवर्तनका माध्यमबाट बैंकको साखलाई कायम राले प्रयास गरिएको छ । जहाँसम्म अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कार्यान्वयनको सबाल छ हामीले यसका लागि एक्स्प्रेसन अफ इन्ट्रेस्ट (इओआई माग गरिसकेका छौ । करिब डेढ वर्षमा सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । बजारमा देखिएको तरलता अभावको कसरी सामना गर्दै हुनुहुन्छ । कहिलेसम्ममा बैंकहरूमा तरलताको पर्याप्तता भई कर्जा सापटी सहज बन्ने आशा गर्न सकिन्छ। बजारमा तरलताको अभाव गत आर्थिक वर्षदेखि निरन्तर छ । कर्जाको माग सम्बोधन गर्न असहज भएको छ । कर्जा निक्षेप अनुपात अहिले करिब ८७.५० प्रतिशत पुगेको छ । बैंकसँग लगानी गर्ने स्पेस करिब २.५० प्रतिशत मात्र छ । त्यो स्पेस पनि बैंकले प्रयोग गर्दैनन् । किनकि निक्षेप फ्लाइटको डर छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात हाल सन्तोषजनक रहेको छ । रि–फाइनान्स परिपक्व भएपछि र स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने पुस मसान्तसम्मको अवधि सकिएपछि तरलतामा थप दबाब सिर्जना हुने नै छ। गैरआवासीय नेपालीलाई सहज रूपमा रकम मुलुकमा ल्याउन पाउने व्यवस्था गर्दै उत्प्रेरित गर्नुपर्दछ । विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन बढाउनपर्दछ । उत्पादनमखी क्षेत्रमा लगानी बढाउँदै भुक्तानी सन्तुलन सकारात्मक बनाउन सकियो भने तरलताको समस्या सहज हुन्छ । अन्य बैंकका तुलनामा नेपाल बैंकको पृथक पहिचान केके हुन् ? नेपाल बैंक मानक संस्थाका रुपमा रहने प्रमुख आधार भनेको सर्वप्रथम स्थापित भई मुलुकलाई बैंकिङ सेवा प्रदान गर्नु हा । यो मानक कहिल्यै परिवर्तन हुने वाला छैन । स्थापनामा अग्रणी भएसँगै यसले तत्कालीन समयमा केन्द्रिय बैंकका स्थापनाका लागि कर्मचारी काजमा पठाएर काम गरेको छ । नेपाल औद्योगिक विकासनिगमदेखि राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको पनि यसमा योगदान छ । बैंकिङ सघनता विस्तारका लागि विदेशी संयुक्त लगानी तथा निजी क्षेत्रको लगानीमा स्थापना बैंकमा संस्थापक सेयरधनी भएको इतिहास पनि छ । निक्षेपमा उच्च व्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । पूर्वमा सिरिजङ्गादेखि पश्चिममा दार्चुलाको गोकुलेश्वरसम्म शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । लोकसेवा आयोगबाट कठिन परीक्षा प्रकृया पार गरी आएका दक्ष जनशक्तिवाट बैंक परिचालित छ । आधार व्याजदर न्यून छ । यिनै विषय नेपाल बैंक मानक भइरहने आधार हुन् । बैकका ग्राहक, सेयरधनी, कर्मचारी लगायतका सरोकारवालालाई थप के सन्देश दिनुहुन्छ ? बैंक अहिले जुन स्थानमा छ, जसरी लक्ष्य प्राप्ति गरिरहेको छ यसको श्रेय हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई जान्छ । ग्राहक हाम्रा सर्वश्रेष्ठ देवगण हुन् । ग्राहकप्रति हार्दिक नमन छ । यो सहयोग र सद्भावको निरन्तर अपेक्षा राख्छी र ग्राहक सेवामा थप स्तरोन्नति गर्दै जाने प्रण गर्दछौ त् सेयरधनी महानुभावहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने वाचा गर्छौं। बैंक सञ्चालनमा नीति तर्जुमा गर्दै अभिभावकका रूपमा भूमिका निर्वाह गर्ने सञ्चालक समितिलाई हार्दिक आभार । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालयलगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई पनि धेरै धेरै धन्यवाद । बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई हार्दिक बधाई ।

मलाई पैसा पुगिसक्यो, मुस्ताङको विकासकै लागि ५५ करोडको रिसोर्ट खोलेँ : सोनाम शेर्पा

काठमाडाैं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रबारबाट सञ्चालनमा आएको हो । पर्यटकको चाप बढेपनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको उनी बताउँछन् । बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठको कोठा निर्माण कार्य पनि भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाकोसमेत सुविधा रहेको छ । होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाई छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि साकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी रहेको छ । रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताउनु भयो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी थिइन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा रिसोर्टका सञ्चालक लामासँग मुस्ताङमा नै रिसोर्ट बनाउन करोडौं लगानी गर्नुको कारण लगायत मुस्ताङको पर्यटन विकासका विषयमा कुराकानी गरेका छौं । हिमालपारिको जिल्लामा करोडौंको लगानीमा रिसोर्ट बनाउने सोच कहिलेदेखि आएको थियो ? म नेपालको हिमालपारी तथा विकट जिल्ला मुस्ताङको सामान्य परिवारमा जन्म लिएको मान्छे हुँ । म मुस्ताङ जिल्लामा जन्म लिएपनि काठमाडौंमा धेरै समय दुःख गरेर बसेँ । त्यसपछि विदेश गएँ । विदेशमा बस्दा गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्षसमेत भएर काम गरेँ । म मुस्ताङ जस्तो जिल्लामा जन्म लिएर विदेशमा गएर काम गरेर मुस्ताङको पर्यटन विकासको लागि केही काम गर्न पाउनु आफ्नो बुबा आमाको श्रेय हो । आफूसँग भए आफू जन्मको ठाँउ र समाजसेवा,आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ । समाजसेवा गर्नु धर्म हो । मैले मेरो छोराछोरीलाई कमाइ दिनुपरेको छैन । आफैँ राम्रो काम गर्ने भएका छन् । उनीहरुबाट नै मलाई मुस्ताङको पर्यटन विकास र समाज सेवा गर्न साथ सहयोग रहेको छ । आफू जन्मेको ठाउँमा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्नु मेरो पहिले देखिको उदेश्य रहेको थियो । तर अहिले आएर सम्भव भयो । मैले मेरो लागि भन्दा पनि मुस्ताङ मुक्तिनाथ क्षेत्रको लागि पर्यटन पूर्वाधार होटलमा लगानी गरेको हो । गैरआवासीय नेपाली संघ पूर्व उपाध्यक्ष भइसक्नुभएको मान्छे तपाई विश्वका जुनसुकै देशमा होटलमा लगानी गर्न सक्नुहुन्थ्यो, तर विदेशमा लगानी नलगाएर करौडौंको लगानी मुस्ताङमा नै किन ? मानिसहरुले गर्न नसक्ने भन्ने कुरा कुनै छैन । मुक्तिनाथ क्षेत्रमा अहिलेसम्म त्यति धेरै पर्यटकको लागि सुविधा सम्पन्न होटल बनेका छैनन् । मुक्तिनाथ क्षेत्रमा सबै होटलहरु होम स्टेको रुपमा चलेका थिए । होम स्टेका रुपमा होटलहरु चलाउँदा मुक्तिनाथ क्षेत्रमा आउने पर्यटकहरुले पर्यटकीय क्षेत्रमा राम्रो होटलहरुको सुविधा नभएको गुनासो गर्ने गरेका थिए । मैले मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा विदेशी पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा मुस्ताङका व्यवसायीहरुलाई पनि सिक्ने अवसर बनाउनको लागि रिसोर्टमा लगानी गरेको हुँ । पर्यटकहरु आएर बस्ने होटलहरुमा लजिङ, फुडिङ तथा शौचालयहरु कस्तो राख्ने, बेड रुम कस्तो बनाउने होटल तालिम समेत दिने सोच बनाएर रिसोर्ट बनाउन लागेको हो । मैले १०० रोपनी गाउँको जग्गा लिजमा लिएर होटल बनाएको हो । मुक्तिनाथ क्षेत्रलाई र यहाँको समाजलाई केही योगदान होस भनेर मुस्ताङ मुक्तिनाथ क्षेत्रमा लगानी लगाएको हो । मैले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कमाउनको लागि लगानी गरेको होइन । मुक्तिनाथ क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि हो । मलाई कमाउनको लागि देश तथा विदेशमा ठूलो लगानी गर्नसक्छु । अहिले पनि अमेरिकामा ७ वटा डिपार्टमेण्ट स्टोर सञ्चालनमा छन् । मैले समाज सेवाको लागि मात्रै आफू जन्मेको ठाँउमा लगानी गरेको हो । मलाई खर्ब र अर्बौ रुपैयाँ पैसा चाहिएको छैन । मलाई चाहिने पुगेको छ । म शिक्षा क्षेत्रको विकासको लागि सहयोग गरिरहेको छु । मेरो चाहना दुर्गम क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा विपन्नहरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रहेको छ । होटल सम्पूर्ण रुपमा तयारी हुँदा लागत कति पुग्छ, होटलका सेवा सुविधाहरु के–के छन् ? होटलमा २० कोठा रहेको छ । जसमा एक हल छ । होटलमा हिटिङ समेत भएको बुटिक स्तरको छ । बाँकी ८ वटा कोठा २ महिनामा तयारी हुन्छ । त्यसमा सोना, स्पा सेवा सुविधा थप हुन्छ । चिसो ठाउँ भएकाले होटलमा मौसम अनुसारका पर्यटकको सुविधाको लागि सोना स्पाको व्यवस्था गरिन्छ । होटलमा लगानी किस्ता किस्तामा भइरहेको छ । पहिलो पटक २५ करोड लगानी लागेको छ । सम्पूर्ण रुपमा होटल तयारी हुँदासम्म ५५ करोड लगानी गर्ने सोचमा रहेको छु । मुक्तिनाथमा धेरै हिन्दु धर्मालम्बिहरु आउने भएकाले हिन्दु तीर्थयात्रीहरुको लागि होटलमा मासु रहितको छुटै रेष्टटुरेन्ट सञ्चालनमा ल्याउने तयारी छ । होटलमा नै योगा सेन्टर खोल्ने योजना रहेको छ । होटलमा सबै सेवा सुविधा थप्दै जाँदा ५५ करोडभन्दा बढी लगानी लाग्नसक्ने आँकलन रहेको छ । ५५ करोड लगानी गरेर मुस्ताङमा लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा ल्याउँदा मुस्ताङका जनतालाई के फाइदा देख्नुहुन्छ ? यो होटल भएको स्थान बरागड मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा न १ मा पर्छ । यो होटल कागवेनीदेखी देख्न सकिन्छ । रिसोर्टको वरीपरी ६०० स्याउका बिरुवाहरु पनि रोप्न शुरुवात भएको छ । यो मुक्तिनाथको मुखमा नै छ । मान्छेहरुले मुक्तिनाथ जाँदा बस्ने खाने लजिङ फुङिङ राम्रो छैन भन्छन् । त्यसको व्यवस्थाको लागि पनि होटल बनाएको हो । अब होटलमा नै उच्च हिमाली क्षेत्र रहेकाले बिरामी पर्ने तिर्थयात्रीहरुको लागि अक्सिजन तथा औषधि मेडिकल खोल्ने तयारी पनि गरेको छु । मुक्तिनाथ क्षेत्रमा आउने धार्मिक तथा अन्य विदेशी पर्यटकहरुले दुःख नपाउने गरी सबै व्यवस्था सहितको रिसोर्ट बनाउने सोच बनाएको छु । विशेष गरी विदेशी पर्यटकको लागि बढी प्राथमिकता राखेर रिसोर्ट सञ्चालन गर्न लाग्नु भएको छ, मुक्तिनाथ क्षेत्रमा आन्तरिक पर्यटकहरु पनि आउछन्, मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक धार्मिक पर्यटनहरुले रिसोर्टको कस्तो सुविधा लिन सक्छन ? मुक्तिनाथ क्षेत्रमा पनि नेपालीहरु धेरै खर्च गर्ने राम्रो सेवासुविधा भएको होटलमा बस्ने हुन्छन् । सोना, स्पा भएको ठाउँमा बस्ने हुन्छन् । नेपालीहरु पनि धनी छन् । सामान्य परिवारका नेपालीहरुको लागि पनि मुक्तिनाथमा त्यही अनुसारका अन्य होटलहरु रहेका छन् । त्यहाँबाट सेवा पाउन सक्छन् । तर उहाँ स्टारहरु नभएकाले यो होटलमा स्टार होटलको रुपमा विस्तार गर्ने र त्यही अनुसारको सेवा सुविधा दिन्छौं । स्टार होटलको सुविधा खोज्नेहरुको लागि यो लो मुस्ताङ हिमालयन रिसोर्ट बनाएको हो । मुस्ताङमा पर्यटन क्षेत्रको विकास किन हुन नसकेको र अब राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ? मुस्ताङमा पर्यटन क्षेत्रको विकास गर्न मुख्य बाधक सडक सञ्जाल रहेको छ । कालीगण्डकी करिडोर बनाउन लागेको धेरै समय भएको छ । तर सडक बिस्तार राम्रो हुन सकेको छैन । त्यो सडक बिस्तार व्यवस्थित बनाएर चीनको कारोला नाका जोड्नसके मुस्ताङमा पर्यटन विकासमा धेरै अवसरहरु रहेका छन् । मुस्ताङको समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ । मुस्ताङमा फल्ने स्याउ,आलु र सिमी अग्र्यानीक हुन्छ । मुस्ताङ नेपालको पर्यटकको लागि पहिलो नम्बर ठाउँ हो । त्यसको लागि सडक राम्रो हुनुपर्छ । जलवायु परिवर्तनका कारण केही असर परेकोले जलवायु परिवर्तन नहुने गरी वातावरण संरक्षण गर्नुपर्ने अवस्था छ । ट्रेकिङ र साइकिलिङ पर्यटकका लागि राम्रो रुट बनाउनु पर्ने देखिएको छ । मुस्ताङको पर्यटक विकासको लागि मुख्य गरेर म्याग्दीको सडक बिग्रिरहने समस्याले मारमा पारेको छ । मुस्ताङ जिल्लाको सडक राम्रो रहेको छ । मुस्ताङ आउँदा नेपालीहरुले नै नेपाल नै होर भन्ने गरेका छन् । मुस्ताङ पर्यटनको लागि प्रचुर सम्भावना रहेको जिल्ला हो । वातावरणका हिसावले पनि सबै मिलेको ठाउँ रहेको छ । मुस्ताङको मात्रै नभएर समग्र नेपालमा पर्यटकको कस्तो सम्भावना देख्नुभएको छ ? मुस्ताङको मुक्तिनाथमा अहिले आन्तरिक पर्यटकहरुलाई नै ठाउँ दिन सकिएको छैन । कोरोला नाका नजिक भएकाले चीन नजिक छ । हिन्दुराज्य भारत नजिक रहेको छ । त्यसले गर्दा भारत र चीनबाटसमेत धार्मिक पर्यटक ल्याउन सडक राम्रो बनाउनसके मुक्तिनाथ क्षेत्र नेपालको धार्मिक पर्यटन क्षेत्रमा पहिलो नम्बरमा आउँछ । अहिले एयरप्लेनको समरमा समस्या रहेको छ बाँकी पर्यटनको लागि राम्रो अवसर रहेको छ । मुस्ताङमा मुक्तिनाथ दर्शन गर्नेदेखि हिउँ पर्दा हिउँ खेल्न पर्यटकहरु आउछन् । अहिले मुक्तिनाथ क्षेत्रमा विद्युतको समस्या रहेको छ । चिसो समयमा होटलहरुमा हिटिङ रुपको व्यवस्था गर्दा प्रशस्त आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिन्छ । नेपाल एक अथाह पर्यटकिय सम्भावना बोकेको देश हो । गर्नसके विदेशमा जानुपर्ने अवस्था छैन । गैर आवासीय नेपाली संघमा आवद्ध नेपालीहरुलाई नेपालमा आफू जन्मेको ठाउँमा लगानी लगाउने विषयमा के भन्न चाहनुहुन्छ ? गैर आवासीय नेपाली संघमा लाखौं नेपालीहरु आवद्ध हुनुहुन्छ । उहाँहरुको सोच र मेरो सोच मिल्दैन । संघको प्लेटफर्म प्रयोग गरेर काम गर्ने होइन । एनआएरएनमा मसँग विचार मिल्ने शेष घले दाई हुन् । हामीले नेपालको विकासको लागि काम गर्ने सोच राखेका छौं । तर अहिले गैर आवासीय नेपाली संघ आफ्नो व्यक्तिगत स्वार्थको लागि कमाउने थलो बनाउने काम भएको छ । एनआरएन संस्था राम्रो हो । संस्थामा भएर नै मुक्तिनाथ क्षेत्रमा भगवान गौतम बुद्ध र विष्णुको मूर्ति बनाउन सकेको हो ।