चार वर्षपछि पोखरा र भैरहवा विमानस्थल यात्रुले भरिभराउ हुन्छन् : महानिर्देशक अधिकारीसँगको कुराकानी
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस १७ गतेदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । दुई ठुला विमानस्थल निर्माण भएर सञ्चालनमा आएतापनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएतापनि अहिले उडान विहीन भएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटन नै आन्तरिक उडान बाट भएको थियो । दुई ठुला विमानस्थलमा किन अन्तर्राष्ट्रिय उडान हुन सकेनन ? आवश्यक उपकरण सञ्चालनमा भारतको अवरोध, आन्तरिक उडानको भाडादर लगायतका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीसँग विकासन्युजले कुराकानी गरेको छ । गत जेठबाट नियमित उडान भएको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन ? अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुनुको मुख्य कारण नै खराब मौसम हो । अहिले हामीले आइएलएस सिष्टम सञ्चालन गर्न सकेका छैनौं । उक्त सिष्टम सञ्चालन नहुँदा बिहान लाग्ने बाक्लो तुवालोले उडान तथा अवतरण ठप्प भएको हो । जजिरा एयरलाइन्सले बिहान उडान गर्ने गरेको थियो । बिहानको समयमा मौसम खराबकै कारण जजिराले उडान पोष्टपोन्ट गरेको हो । अन्य वायुसेवा कम्पनीलाई हामीले भैरहवाबाट उडान गर्न आग्रह गरेका थियौं । कोभिडका कारण खोसिएको व्यवसाय पहिलेकै रुपमा नआएको हुँदा उहाँहरुकै आग्रहमा हामीले फोर्स उडानलाई नियमित गर्न सकेनौं । सन् २०२६ मा मात्रै पुरानै अवस्थामा फर्कने हामीले अनुमान गरेका छाैं । आइएलएस सिष्टम सञ्चालनमा भारतकै अवरोध हो ? हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिष्टम जडान गरिसकेका छौं । सञ्चालनका लागि केही कामहरु बाँकी हुँदा सञ्चालन नभएको हो । हामीले नेगोसेसन गर्न बाँकी छ । सिष्टम अहिले पनि अपग्रेड भैरहेको छ, सञ्चालन मात्रै हुन नसकेको हो । उक्त सिष्टम सञ्चालन गर्न हामीले मित्रराष्ट्र भारतबाट अनुमति लिएर मात्रै पब्लिक गर्नुपर्ने हुन्छ, उताबाट अनुमति नपाउँदा तत्काल रोकिएको हो नेपाल आउने बाटो भारतसँग समन्वय नगरी छैन । उक्त सिष्टम सञ्चालनका लागि समन्वय भैरहेको छ, अब छिट्टै सञ्चालन हुने अपेक्षा छ । भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिसकेका छन । उताको सहमति मात्रै कुरेका हौं ।’ भैरहवामा जहाज कहिलेदेखि चल्छन ? अहिले चिसोका कारण तराईमा सितलहरका कारण बाक्लो हुस्सो लाग्ने गरेको छ । मौसम अलि सफा भएपछि उडान सुरु भैहाल्छ । मौसमका कारण उडान रोकिएको हो, अन्य कारण छैन, मौसममा सुधार आउनासाथ धमाधम उडान भैहाल्छ । भारत सरकारसँग उडान अनुमतिको कुरा बाइल्याटर एग्रिमेन्ट हो, यसमा क्यानले केही गर्न सक्ने अवस्था छैन । पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री लगायतका उच्च निकायबाट कुरा भैरहेको छ, हामीले आधिकारिक रुपमा पत्र पठाइसकेका छौं, अहिलेसम्म उताबाट केही जवाफ आएको छैन । हामी लागिरहेका नै छौं । अब यसको समाधान कुटनीतिक तवरबाट हुनुपर्छ । अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ र माग कम हुँदा मूल्य घट्छ तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ कम माग भयो भने घट्छ, यस्तो किन ? आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खादा हवाई भाडादर महंगो भएको हो । एक त हवाई इन्धनको मूल्य छ, अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ, उनीहरु व्यापार गर्न आएका हुन । मोनोपोली हुन नदिन सरकारले वायुसेवा कम्पनी सञ्चालन गरेको हो । यसमा निगमले हस्तक्षेप गर्न सके दुर्गमका बस्ने सेवाग्राहीले पनि जहाज चढ्न सक्छन् । नेपाल वायुसेवा निगम जहाज थन्काएर उडान नगर्ने, नेपाल आयल निगम हवाई इन्धनमा मात्रै ४० प्रतिशतभन्दा बढी नाफा राख्ने, अनि महंगो हुँदैन हवाई टिकट ? चर्काे शुल्क खाएर पनि निजी वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । प्राधिकरणले भैरहवा र पोखरा विमानस्थल बनाउन लागेको ऋण तिर्न सक्छ ? वार्षिक रुपमा प्राधिकरणको आम्दानी २० अर्ब बढी छ । जसमा हाम्रो खर्च ९ अर्ब हाराहारीमा आउँछ । वार्षिक रुपमा ९ अर्ब हामीसँग बचत हुन्छ, ऋण तिर्न समस्या नै छैन । हामीले वार्षिक रुपमा सरकारलाई १ अर्ब बराबर आयकर, ६ अर्ब सञ्चालन खर्च र विभिन्न आयोजनाका लागि लिइएको ऋणको ब्याज २ अर्ब भुक्तानी गर्ने गरेका छौँ । वार्षिक २० अर्ब हाराहारीमा आम्दानी गर्ने प्राधिकरणको ऋण करिब ३८ अर्ब बराबर छ । जसमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंक र चीन सरकारमो मिनिस्ट्री अफ कमर्शबाट २२ अर्ब, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली विकास बैंकको ७ अर्ब र नयाँ परियोजनाका लागि करिब ९ अर्ब हाराहारीमा हामीले ऋण लिएका छौं । उक्त ऋणको हामीले वार्षिक रुपमा सावाँ र व्याज भुक्तानी पनि गर्दै आएका छौं । दुई विमानस्थल बनाउन लिएको ऋण तिर्न क्यान सक्षम छ । भर्खर सञ्चालनमा आएका दुई विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो भरिभराउ देख्न सम्भव छ ? नेपालको हवाई क्षेत्र कोरोना अगाडीकै अवस्थामा फर्कन हामीले अझै पर्खनु पर्ने देखिएको छ । कोरोना अगाडिकै तुलनामा हवाई क्षेत्र फर्कन हामीले सन् २०२६सम्म पर्खनु पर्ने विभिन्न आंकलन गरिएको छ । विश्वभर असर गरेको कोरोनाकै असर गौतमबुद्ध र पोखरा विमानस्थलमा देखिएको हो । काठमाडौंको जस्तो यात्रुको भीड लाग्न हामीले केही समय पर्खनु पर्छ । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं विमानस्थल सञ्चालन गर्दा पनि यस्तै अवस्था थियो । यो प्रश्न काठमाडौं विमानस्थल निर्माण भएको भोलिपल्टै सोधिएको भए पनि त्यसबेला पनि सान्दर्भिक हुने थिएन । धेरै लामो पखाईपछि मात्र काठमाडौं विमानस्थल चलेको हो ।
जहाँ अवसर आउँछ त्यहीँ पैसा बग्छ : अध्यक्ष गोल्छासँगको विकास वहस
नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक दर्जन देशमा निर्यात हुन्छ । गोल्छाले नै नेपालमा पहिलो पटक बजाज मोटरसाइकल एसेम्बल उद्योग लगाएर स्थापित गरे, जसलाई अरु धेरै ब्राण्डहरुले पछ्याइरहेको छ । बहुराष्ट्रिय कम्पनी सामसुङको रेफ्रिजेरेटर र वासिङ मेसिन नेपालमा नै उत्पादन थालेर उनले अर्को ठूलो व्यावसायिक पहलकदमी लिएका छन् । अटो फाइनान्समा गोल्छाले थालेको व्यवसायलाई अधिकांश ठूला अटो विक्रेताले पछ्याएका छन् । व्यावसायिक ब्राण्ड बिल्डिङ्मा शेखर धेरैले लिने नाम हो । उनै शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घको समेत नेतृत्व गरिरहेका छन् । महासङ्घ सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था भएकोले पनि हामीले गोल्छाको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि र उद्योग व्यवसायमा हासिल गरेका उपलब्धीहरु समेटेनौं, गोल्छाको चाहना पनि त्यही रह्यो । वर्तमान आर्थिक सङ्कटको अन्त्य, व्यवसायीको सृर्जनशीलता, युवाहरुको लगाव र भविष्यको अवसरबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले अध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायीलाई पनि सकस परेको छ, महासङ्घको अध्यक्षको हैसियतमा तपाईंले उनीहरुलाई कसरी मोटिभेट गरिरहनु भएको छ ? पक्कै पनि कठिन समय छ । तरलताको अभावले धेरै क्षेत्र सङ्कुचनमा छ । मलाई लाग्छ यो नेपाली उद्योगीले अहिलेसम्म नदेखेको अवस्था हो । मैले साथीहरुलाई यही भन्न चाहान्छु कि ६ देखि ८ महिनामा हामी एकदमै सहज स्थितिमा आउन सक्छौं । सहज हुन्छ भन्ने आधार के हुन् ? यसका पाँचवटा आधार छन् । पहिलो, हाम्रो तरलता विप्रेषणसँग जोडिएको छ । जति जति हाम्रो विप्रेषण बढ्छ, त्यति नै तरलता सुध्रिन्छ । यस वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको छ । यसरी रेमिट्यान्स बढ्दा यो सीधै बैंकिङ्ग सिस्टममा जाने भएकोले यसले तरलता बढाउँछ । हाम्रो विदेशी मुद्राको आयको श्रोत पनि मुख्यतः रेमिट्यान्स नै हो । वल्र्ड बैङ्कले यस वर्ष १२ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढ्छ भनेको थियो, त्योभन्दा पनि बढेको देखिएको छ । जुन गतिमा हाम्रो भाइ बहिनीहरु बाहिर गइरहेका छन्, यसले पक्कै पनि भविष्यमा रेमिट्यान्स बढ्छ । जसले तरलतामा सहजता ल्याउँछ । दोस्रो, हाम्रो कमोडिटीको मूल्य रुस र युक्रेनको युद्धले निकै बढेको थियो । जसले पेट्रोलियम पर्दाथको मूल्य ७० प्रतिशतसम्म बढाएको थियो । त्यसका साथै तेल, कोइला, स्टीलको मूल्य अत्याधिक रुपमा बढेको थियो, जसले तरलतामा प्रभाव पारेको थियो र हाम्रो शोधानान्तर स्थिति कमजोर हँदै गएको थियो । तर, अहिले हेर्ने हो भने पेट्रोलियम, खाद्यान्य र स्टीलको मूल्य घट्दै गएको छ । त्यसैले अब आउने समयमा हाम्रो सेभिङ्ग बढ्दै जान्छ र तरलता पनि सुधार हुँदै जान्छ भन्ने विश्वास लिन सकिन्छ । तेस्रो, विगतमा बैङ्कमा लगानीयोग्य रकमको धेरै ठूलो अभाव हुँदा अर्थतन्त्र स्लोडाउन भइसकेको छ । जब अर्थतन्त्र स्लोडाउन हुन्छ तरलता स्वभाविक रुपमा बढ्छ । एउटा पोइन्टमा आइसकेपछि यो माथि जाने भन्ने अर्थतन्त्रको नियम नै हो । हामी पुस महिना बटम आउट गर्छौं होला । माघदेखि हाम्रो तरलता सुध्रिने देखिन्छ । चौथो, डिसेम्बर–जनवरीको होटल बुकिङ्गले अब आउने समय पर्यटनको लागि धेरै राम्रो रहने देखिएको छ । होटलको बुकिङ प्रि–कोभिड लेभलमा आइसकेको छ । एयरपोर्ट भरिभराउ भइरहेका छन्, ल्याण्डिङ्ग गर्ने स्पटहरु पाइरहेको छैन, भैरहवा एयरपोर्ट निश्चित रुपमा चल्छ किनभने काठमाडौंमा ल्याण्डिङ्ग स्पट नभएपछि त काँही न काँही त जान्छन् होला । यो आधारमा पर्यटकको आगमन हुने हो भने पर्यटनले झण्डै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ८ देखि १० प्रतिशत असर गर्न सक्छ । त्यसले ट्रेकिङ्ग व्यवसायदेखि रेष्टुरेन्ट व्यवसाय, ट्याक्सीदेखि लिएर माइक्रोबस बुकिङ्गसम्म पुरै इकोसिस्टम चल्नेछ । पाँचौ, नयाँ सरकार हो । नयाँ सरकार बनेपछि हाम्रा डेभलपमेन्ट ऐजेन्सीहरु जस्तै वल्र्ड बैङ्क, एडिबी र हाम्रा डोनर कन्ट्रीहरु नयाँ सरकारसँग सहकार्य गर्न चाहिरहेका छन् । मसँग भएको कुराकानीको आधारमा उनीहरु नयाँ सरकार बनेपछि नेपाललाई सहयोग गर्न तयार रहेको बुझिन्छ । नेपाललाई हामीले कसरी सहयोग गर्न सक्छौं त्यसको मोडल पनि तयार छ, नयाँ सरकार आउने बित्तिकै हामी सहयोग गर्छौं’ भन्ने जस्तो डाइरेक्सन उनीहरुले दिएका छन् । धेरै एफडीआई पनि यस्ता छन् जुन नयाँ सरकार आएपछि अवस्था हेरेर लगानी गर्छौं भनेर बसेका छन् । त्यसैले नयाँ सरकार आएपछि केही समय राम्रो जोश देखिन्छ होला । नयाँ सरकार बनेको छ । अब सरकारले कुन विषयलाई प्राथमिकता दिनुपर्छ ? सबैभन्दा पहिला नयाँ सरकारले अहिले आएको आर्थिक शिथिलतालाई पुनः कसरी गतिशील बनाउन सकिन्छ र निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन तबसम्म लगानी हुँदैन र जबसम्म देशमा दीर्घकालिन लगानी हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन । अहिले निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्ने, तरलतालाई द्रुत गतिमा ठिक गर्ने र नेपालमा निजी क्षेत्रको मनोबल बढाउने कामहरु नयाँ सरकारबाट अपेक्षित छ । अहिले आएको समस्या निजी क्षेत्रको मात्र होइन । राजस्व २० देखि ३० प्रतिशतले घटेको छ । साधारण खर्च धान्न सकिएको छैन । नयाँ रोजगारी सृजना हुन सकेको छैन । देशबाट जुन गतिमा मान्छे पलायन भइरहेको छ त्यो गति कहिले पनि थिएन । अर्को, मुद्रास्फिती राष्ट्र बैङ्कले १२ प्रतिशतसम्म पुग्न सक्छ भनेको छ, जसको अर्थ सर्वसाधारणको क्रयशक्ति त कम हुनु हो । सेयर बजारका ४० लाख सेयर होल्डर टाउकोमा हात राखेर बसिरहेका छन् । जग्गा व्यापार गर्नेहरु ब्रिकी नभएर ठूलो समस्यामा परेका छन् । हेर्नुहोला, बैङ्कहरुमा पनि अब पुस महिनामा नेपालले कहिले नदेखेको खराब कर्जा बढ्न सक्छ, त्यसले गर्दा बैंकिङ्ग क्षेत्रपनि ठूलो सङ्कटमा पर्छ । इन्स्योरेन्सको पनि कुरा गर्ने हो भने यसमा पनि पहिलोपटक ठूलो सङ्कुचन आएको छ । लाइफ इन्स्योरेन्समा पोलिसी सरेन्डर गर्नेहरु एकदमै बढिरहेको छ । सबैतिर निराशा छाएको छ । यो निराशालाई सम्बोधन गर्ने कि नगर्ने ? योभन्दा ठूलो एजेन्डा के हुन सक्छ ? नयाँ सरकारले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो अवस्थामा निजी क्षेत्रको फोकस केमा हुनुपर्छ ? निजी क्षेत्रसँग मेरो अपेक्षा के छ भन्दा अलिक सृजनशील भइदिनुहोस् । लहैलहैमा नलाग्नुस् । एउटा ठाउँमा राम्रो देख्ने बित्तिक्कै सबै त्यहीँ लगानी गर्छौं । हाम्रो श्रोतहरु सीमित छन् । हामीले नयाँ क्षेत्र खोज्न जरुरी छ । सृजनशील हुन जरुरी छ । हाम्रो प्रतिव्यक्ति आय १३ सय डलर रहेको छ । हाम्रो रेमिट्यान्सदेखि सेभिङ्गमा रहेको रकम धेरै खपतमा खर्च हुन्छ । सम्भावना धेरै छ तर सृजनशील हुनुपर्यो । हामीले सृजनशीलतालाई छोडेर जसको एउटा राम्रो व्यालेन्ससिट छ । त्यसको पछि लाग्यौं भने यसले आफूलाई पनि डुबाउँछ देश पनि डुबाउँछ र अन्य व्यवसायलाई पनि स्लोडाउन गर्छ किनभने हामीसँग सीमित श्रोतहरु छन् । मैले निजी क्षेत्रसँग यसपालि हाम्रो पुरानो गल्तीलाई आत्मासमीक्षा पनि गरौं भनेको छु । आउने समयमा सो विचार गरेर लगानी गर्न जरुरी छ । बैङ्कहरुलाई पनि मेरो आग्रह छ, अलिकति धितो हेरेर मात्र कर्जा नदिनुहोस्, बिजनेशलाई विश्लेषण गरेर सृजनशीलतामा लगानी गरिदिनुहोस् । ब्राण्डको नाम र धितोमा मात्र लगानी गरेर देश बन्ने वाला छैन । पछिल्लो समय व्यवसायीहरु कालो ब्यानर लिएर सडकमा उत्रिएका ेहामीले देख्यौं । बैङ्कर र व्यवसायीबीच यस्तो किसिमको दरार किन आइरहको छ ? समाधानका उपाय के हुन सक्छन् ? बैङ्कहरु पनि अर्थतन्त्रको मेरुदण्ड हुन् । सबल बैंकिङ्ग क्षेत्रले गर्दा अर्थतन्त्र चलायमान भएको हो । बैङ्क बलियो हुन अर्थतन्त्रलाई एकदमै जरुरी छ । तर, बैङ्कहरुले यो कठिन समयलाई मध्यनजर गरेर यसलाई अवसरको रुपमा हेरेर अनावश्यक रुपमा प्रिमियम बढाउने, अन्य शुल्कहरु लिने र अनावश्यक दवाव सृजना गरेको हुँदा निजी क्षेत्र आक्रान्त भएको हो । अहिले हाम्रो अपेक्षा भनेको बैङ्कहरुले यो समयमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । बैङ्कहरु बलियो नभए निजी क्षेत्र भोलीको दिनमा व्यवसाय गर्न असक्षम रहन्छ । तर, बैङ्कहरुले अहिलेको कठिन स्थितिलाई अवसरको रुपमा हेर्नु हुँदैन । यो सहकार्य गर्ने समय हो । व्यवसाय बाँचेन भने बैङ्क पनि बाँच्न सक्दैन । र, यो सम्बन्ध अझ बढी गाढा हुनुपर्छ । कर्जा लिने र दिनेले अर्थतन्त्र चल्ने हो र यसलाई निरन्तरता दिन र सम्बन्ध सुमधुर राख्नको लागि एकअर्कालाई बुझ्नु पर्दछ । बैङ्कहरुको उद्योगलाई जाने कर्जादर र व्यापारलाई जाने कर्जादर फरक हुनुपर्छ भनेर उत्पादनमूलक क्षेत्रमा लागेका उद्यमीहरु आवाज उठाइरहन्छन्, यस विषयमा तपाईंको धारणा के हो ? पक्कै पनि हुनुपर्छ । राष्ट्र बैङ्कले कुन क्षेत्रमा कति लगानी गर्ने भनेर गाइडलाइन पनि बनाएको छ । जसमा उद्योगमा पनि कति लगानी गर्ने, साना मझौलामा कति गर्ने भन्ने खुलाइएको छ । उद्योगमा कम व्याजदरमा जानुपर्छ भन्ने स्वभाविक हो तर हाम्रो यसमा व्यवहारिक समस्या के छ भन्ने हेर्न जरुरी छ किनभने अन्तिममा बैङ्कहरु पनि आफ्नो लगानीकर्ताहरु प्रति उत्तरदायी हुन्छन् । उनीहरुलाई प्रतिफल दिने बैङ्कको जिम्मेवारी हो । त्यो आधारमा ट्रेडिङलाई तरलता बढेको बेला वेवास्ता गर्ने हो भने बैङ्कको नाफामा पनि धेरै फरक पर्न सक्छ । त्यो आधारमा एउटा व्यालेन्सड रुपमा जाँदा ठिक होला । पछिल्लो समय बैङ्कर्सको विरोधमा देखिएका केही पात्रहरु हेरेर को उद्यमी र को बैङ्कर भनेर बहस पनि चलेको छ । के उद्योगी र बैङ्कर छुट्याउनु पर्ने अवस्था आएको हो ? धेरै देशहरुमा यो छुट्याउने प्रयास गरिएको छ । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अब त्यसलाई फर्काउ भन्न मिल्दैन । त्यस्तै सबै बेथितिलाई एकैदिनमा हटाउ भन्न गाह्रो छ र त्यो अहिले सम्भव पनि छैन । किनभने धेरैजसो बैङ्कका प्रमोटरहरु उद्योगी व्यवसायीहरु नै छन् र त्यसको आधारमा त्यसलाई फर्काउन सकिन्छ जस्तो मलाई लाग्दैन । व्यवसायीहरुमा कुन लेभलको सृजनशीलता छ, त्यसलाई तपाईंले कसरी मार्किङ गरिरहनुभएको छ ? हामीले धेरै यस्ता लगानीहरु देखेका छौं, जुन लहैलहैमा लागेर कुनै बजारको समीक्षा बिना भएका छन् । जसले गर्दा क्षमताभन्दा बढी भएर सबै समस्यामा परेका छन् । देशको अर्थतन्त्रमा तरलताको समस्या पनि देखिएको छ । र त्यो आधारमा मैले पक्कै पनि सृजनशीलताको कमी देखेको छु । यसको एउटा मुख्य कारण बैङ्कले सृजनशीलतामा लगानी नगर्नु । बैङ्कले मात्र कोल्याट्रल र कसलाई लोन दिइरहेको छु भन्ने हेरेको छ । कसैले नयाँ क्षेत्रमा केही गर्छु भन्दा बैङ्कहरुले त्यसमा लगानी गर्दैनन् । सृजनशीलतामा नेपालमा लगानी अलिकति पनि छैन । यो सबै समस्याको जरो पनि निजी क्षेत्र, बैङ्क र सरकारले सृजनशीलतालाई हेर्ने नजर हो । यसलाई प्रोत्साहन गर्न सबै लागे पक्कै पनि सृजनशीलताले बढी महत्व पाउने छ । सृजनशीलता प्रोत्साहित हुनेछ । तपाईंको नजरमा निजी क्षेत्रबाट बनेको सृजनशील उद्यम कत्तिका छन् ? पक्कै पनि छन् । मैले केही सृजनशील व्यवसायको उदाहरण दिन्छु । जस्तै चन्द्रागिरी प्रोजेक्ट एउटा सृजनशील प्रोजेक्ट हो । नेपालमा पहिलोपटक यस्तो किसिमको सेटअपमा उक्त प्रोजेक्ट बनेको हो । यसले अरु पनि त्यस्ता धेरै प्रोजेक्टलाई निम्त्याएको हामीले देखिरहेका छौं । त्यस्तै, निजी एयरलाइन्स बिजनेश पनि प्राइभेट सेक्टरको सृजनशीलता हो । यो बिजनेश रचनात्मक रुपमा विकशित भएको छ । पहिला आएका सिमेन्ट उद्योगहरु र अहिले बनेका जुन स्टील स्ट्रक्चर फ्याक्ट्रीहरु, केही औषधिको फ्याक्ट्रीहरु छन्, त्यसमा पनि सृजनशीलता देखिन्छ । यस्तै, पर्यटनमा द्धारिका होटल सृजनशीलताको एउटा नमूना हो । त्यस्तै, तराईमा भएको फाइभ स्टार होटलहरु जसले भारतीय पर्यटकलाई टार्गेट गरेर लगानी गरेका छन्, त्यसमा सृजनशीलता देखिन्छ । यस्तै कफी व्यवसाय नेपालमा सृजनशीलताको ठूलो उदाहरण हो । सडकभरी देखिने बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा शुद्ध नेपाली उद्यमशीलता र सृजनशीलताको उदाहरण देख्छु म । हरेक क्षेत्रमा सृजनशील बिजनेशलाई देखेको छु तर यतिले पुगेन । यसमा अझ अगाडि बढ्नुपर्छ । थप लगानी बढाउनु पर्छ । महासङ्घको अध्यक्षको रुपमा सल्लाह दिँदा तपाईं अबको युवाहरुलाई कुन क्षेत्रमा फोकस हुन भन्नुहुन्छ ? हाम्रो देश अत्यन्तै सम्भावना बोकेको देश हो । म हरेक क्षेत्रमा सम्भावना के हुन सक्छ ? भनेर उदाहरण दिन चाहान्छु । जस्तै पर्यटनमा हामी १० लाख पर्यटक भित्र्याउन सक्छौं । कृषिमा सृजनशीलता ल्याउने हो भने कति उन्नति गर्न सकिन्छ होला किनभने जुन नेपालको जैविक विविधता छ त्यो विश्वमा अरु कतै छैन । तर हामीले त्यसको कुनै अन्वेषण गर्न सकेका छैनौं । हामीले त्यसमा केही गर्न सकेकै छैन । विश्वको कान्छो देशमध्ये एक हौं हामी । २३ वर्ष । हाम्रो प्रतिव्यक्ति आय यस्तो पोइन्टमा पुग्दैछ जब मान्छेहरुको डिस्पोजेबल इन्कम बढेर जान्छ । यसमा खोजौं न सृजनशीलता । यसमा सर्भिसेसहरु खोजौं न । त्यसपछि यातयातदेखि लिएर अन्य धेरै ठाउँमा सृजनशीलता भयो भने धेरै विकास गर्न सकिन्छ । मैले सम्भावनानै सम्भावनाको देशको रुपमा नेपाललाई देखेको छु । पहिला पहिला हामी भन्थ्यौं हामी भारत र चीनको बीचमा छौं एउटा हाइवे बनाइदिए हामीलाई पुग्छ । तर म यो कुरालाई मान्दिन । तर तपाईंको छिमेकीहरु अति धनी हुन्छन् भनेपछि तपाईंको पनि स्ट्याटस् अफ इकोनोमी त केही न केही बढ्छ । जब हामी विश्वकै भाइब्रेन्ट इकोनोमिक डेभलपमेन्ट एरिया भएको बीचमा हुन्छौं भने त्यसबाट हामीले पनि पक्कै केही पाउँछौं । त्यसैले मैले सम्भावनाहरु असीमित देखेको छु । तपाईंले आशावादीता जनाउने कुरा गर्नुभयो तर निराशा भएर युवाहरु देश छोडिरहेका छन् । यो ट्रेण्डलाई युटर्न कसरी गर्न सकिन्छ ? कुनै पनि देशको लागि आफ्ना देशको युवाहरु विमुख भएर विदेशिन खोज्छन् भने त्यो देशको लागि त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । देशमा जिम्मेवारी देखाउने काम सरकार, निजी क्षेत्रदेखि लिएर हामी सबैको हो । तर त्यो सम्भावनाहरु यस्ता छन् भनेर देखाउन नसक्नु हाम्रो असफलता हो । यसको भार हामी सबैले बोक्नुपर्छ । यसलाई युटर्न गर्ने आधार सक्सेस् स्टोरिज हो । हामीले सक्सेस् स्टोरी देखाउन सक्नुपर्यो । आज कसैले कुखरा पालन गरेर वर्षको ५० लाख कमाइरहेको होला । कसैले ट्राउट फार्मिङ्ग गरेर वर्षको एक करोड कमाइरहको छ । कसैले होमस्टे सञ्चालन गरेर मनग्य फाइदा गरिरहेको कथाहरुलाई मार्केटिङ गर्नुपर्यो । युवाहरुलाई देशमा सम्भावना छ है, यहाँ गरेर खान सकिन्छ भनेर भन्न सक्नुपर्यो । यसो गर्दा युवाहरु विस्तारै यसमा आकर्षित हुन्छन् । ३ करोड जनता भएको देश, प्रतिव्यक्ति आय १३–१४ सय भएको देश, अपार सम्भावना भएको देश, विश्वले माया गर्ने देशमा हामीले केही न केही त पक्कै पनि गर्न सक्छौं । नेपालको कानुनले विदेशमा लगानी गर्न रोकेको छ । यो बन्देज खुल्ला गर्न महासङ्घले ध्यान दिएको छैन वा महासङ्घको प्रयासले सम्भव भएन ? कि नेपालीहरुको विदेशमा गएर लगानी गर्नसक्ने क्षमता विकास भएको छैन ? पुँजी रोकेर रोाकिँदैन । कानुन बनाउँदा सबै कानुनको दायरमा आउँछन् । करको दायरामा आउँछन् । जहाँ अवसर देखिन्छ पैसा त्यही बग्छ र नेपालीहरुले बाहिर लगानी गरेका छैनन् भनेर भन्न सकिँदैन । बाहिर लगानी गर्ने कुरालाई लिगलाइज गर्नुपर्छ किनभने हामीले जति रोकेर मानिसहरुलाई करको बाहिर राख्छौं त्यसले त्यति नै बढी विकृति ल्याउँछ । कन्ट्रोल तरिकाले हामीले यसलाई खोल्दै लैजानुपर्छ । (देशविकास पत्रिकाको वर्षअङ्क बाट)
अब कुमारी नम्बर वान बैंक बन्छ, सेयरधनीलाई खुसी बनाउँछौं : अध्यक्ष राणासँगको कुराकानी
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग बोर्ड झुण्डिन थालिसकेको छ । मर्जर सम्झौता भएको ३ महिनामा नै एकीकृत कारोबार गरेर देखाउने बैंकको रुपमा पनि कुमारी बैंक चिनिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बनेका छन् भने अध्यक्ष अमिरप्रताप ज.ब. राणा बनेका छन् । मर्जर सम्झौता गरेको छोटै समयमा एकीकृत कारोबार गर्न सफल कुमारी बैंकका अध्यक्ष राणासँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुमारी बैंकको बिजेनस, आगामी योजना र समसामयिक विषयवस्तुमा कुराकानी गरेका छन् । बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफल पातलिँदै गएको छ, कम प्रतिफलकै कारण बैंकहरुबाट सेयरधनीहरु बाहिरिएको भन्ने पनि सुनिन्छ, तपाईं पनि कुमारी बैंकको लगानीकर्ता हो, तपाईंले चाहिँ के सोचिरहनु भएको छ, बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ? पुराना र ठूला लगानीकर्ताले बैंक छोड्छन् जस्तो मलाई लाग्दैन । सबै जना कर्मठ रुपमा काम गरिरहनु भएको छ । बिके श्रेष्ठ, पृृथ्वीबहादुर पाँडे, प्रचण्ड श्रेष्ठ र राजेन्द्र खेतान लगायत ठूला र पुराना बैंकका सेयरधनीहरु मिहिनेत गरेर काम गरिरहनु भएको छ । अहिले बैंकहरुको प्रतिफलमा केही संकुचन आएको छ । पहिले बैंकहरुमा खासै ठूलो प्रतिस्पर्धा थिएन । अहिले प्रतिस्पर्धा बढेको छ । राष्ट्र बैंकबाट पनि धेरै नीति परिवर्तन भएका छन् । यसले पनि बैंकहरुको बिजनेस भोलुम घटेको छ । यसले पनि प्रतिफल घटेको हुन सक्छ । बैंकिङ स्थायी रुपमा हेर्नु पर्ने व्यवसाय हो । बैंक व्यवसाय भनेको आज खोलर भोलि बन्द हुने व्यवसाय होइन । एक पटक खोलेपछि जुनीजुनीलाई हुनु पर्ने व्यवसाय हो । तर्क संगत रुपमा भोलुमको सस्टेन हेर्नु पर्छ, प्रतिफलको दरलाई एउटा ठाउँमा राखेर कामको भोलुम हेर्ने हो । भारतमा पनि बैंकले दिने प्रतफिल एकदमै कम छ । भारतमा सबैभन्दा बढी प्रतिफल दिने बैंकले १० प्रतिशत प्रतिफल दिन्छ । नेपाली बैंकमा एउटा अभ्यास बिग्रिएको छ । पहिले बैंकहरुले २५/३०/४० प्रतिशतसम्म प्रतिफल दिए । तर, अहिले अवस्था त्यस्तो रहेन । त्यसैले पनि अहिले पातलिएको हो । अहिले मुद्दति निक्षेपमा राख्दा १३ प्रतिशत पाउँछु र बैंकमा लगानी गर्दा औसतमा १२ प्रतिशत पाउँछु भन्ने मानिसिकता पनि हुन सक्छ । तर, अहिलेको परिस्थितको कारणले हो । सधैं यही अवस्था रही रहँदैन । बैंकहरुले नयाँ–नयाँ प्रेडक्ट लिएर आउनु पर्यो । नयाँ–नयाँ सोचका साथ काम गर्नु पर्यो । उत्पादनशीलता बढाउनु पर्यो । धेरै शाखा खोलेर धेरै बिजनेस गर्छु भन्ने दिन गइसक्यो । लागत घटाउने तर्फ जानु पर्छ । धेरै देशहरुको बैंकहरुमा कर्मचारीहरु घटिरहेका छन्, किनकी त्यहाँका बैंकहरु प्रविधिमा गए । मान्छेहरु जागिरविहिन भइरहेका छन् । तर, मान्छेले आर्जेको ज्ञान अन्य ठाउँमा पनि काम लाग्छ । बैंकमा मात्रै काम गर्नु पर्छ भन्ने छैन । सेयरधनीहरु बाहिरिने कुरा धेरै समस्या होइन । कुनै लगानीकर्ताहरु आफ्नो व्यक्तिगत कारणले पनि बाहिरिएका हुन सक्छन् । प्रतिफलकै कारण भन्न मिल्दैन । बैंकहरुको प्रतिफल अब घट्दैन भन्ने तपाईंको बुझाइ हो ? बैंक आफैमा पनि सुदृढ हुनु पर्छ । प्रतिफल बढाउनका लागि सञ्चालक समिति चुस्त हुनु पर्छ । व्यवस्थापन टीमलाई काम गर्न दिनु पर्यो । बोर्डको माइनुट काखी मुनि च्यापेर हुँदैन । म भन्छु भनेर बैंकको निर्णयको माइन्युट काखीमुनी च्याप्ने अनि एक सातापछि साइन गरेर दिने परिपाटीले बैंकको प्रगति हुँदैन । यस्तो पनि कतिपय बैंकमा भएको छ । तर, यसरी बैंक चल्दैन । तपाईं कुमारी बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, तपाईंको अबको योजना के हो ? मेरो अबको योजना ‘प्लेन एण्ड सिम्पल’ छ । बैंकलाई पारदर्शी बनाउने, प्रडक्टिभिटी बढाउने, त्यसको मेकानिज्म विकास गर्ने र नयाँ–नयाँ प्रडक्टहरु बनाउने हो । हाम्रो बोर्डमा कुनै समस्या छैन । अब हाम्रो बाटो क्लियर छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान नै हो । अबको पाँच वर्षभित्र नम्बर वान बैंकका रुपमा चिनाउने हो । हिजोको दिनमा कुमारी बैंक २४/२५ नम्बरमा थियो । गत एक वर्षभित्र ९ नम्बरमा आयो । मर्जरपछि ४ नम्बरमा आइपुगेका छौं । यो प्रगति भनेको ३ वर्षको मात्रै हो । अबको लक्ष्य भनेको प्रतिफलमा नम्बर वान नै हो । यदि मैले त्यो गर्न सकिँन भने म पारदर्शी छैन भन्ने बुझ्नु पर्छ । पुँजीको हिसाबले हामीभन्दा ठूलो बैंक तीन वटा मात्रै छन् । पुँजीले हाम्रो प्रतिफलाई रोक्दैन । कुमारी र एनसीसी बैंकबीच एकीकृत कारोबार पनि भइसेकेको छ, अब बैंक कसरी अगाडि बढ्छ ? अब बैंक एउटै भइसक्यो, यो मेरो यो तेरो भन्ने छैन । एनसीसीको कर्मचारी, कुमारीको कर्मचारी भन्ने छैन । अब हामी सबै एउटै हो । हिजोको दिनमा म एनसीसीको भएपनि अब कुमारीको सीईओ हो । अब हामी एउटै हो । मर्जर भइसकेपछि पनि धेरै संस्थाहरुमा सिनर्जी इफेक्ट देखिएन, प्रतिफल पनि खासै बढेन, यो हेर्दा त पुँजी ठूलो भएर मात्रै नहुँदो रहेछ नी ? पुँजी हेरेर मात्रै हुँदैन । बोर्डले कत्तिको सपोर्ट गरेको छ भन्ने पनि हेर्नु पर्छ । म्यानेज्मेन्टले कसरी काम गरिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो कुनै समस्या कुमारीमा छैनौं । हामी सहकार्य र समन्वय गरेर अगाडि बढ्छौं । संस्था जति ठूलो भयो त्यति नै बढी जोखिम हुन्छ भन्ने चिन्ता तपाईंमा छैन ? त्यो चिन्ता एक थोपा पनि छैन । म बैंकलाई कतातर्फ लैजान्छु भन्नेमा म प्रष्ट छु । तस्वीर र बाटो क्लियर छ । एनसीसी बैंकबाट आएका सञ्चालक, व्यवस्थापन के कस्ता हुन्छन् भन्ने विषयमा पनि दुविधा छैन । बैंकको चिन्ता गर्नु भनेको आफ्नो क्षमतालाई संशय गर्नु हो । तरलताको समस्याले के होला ? नियामकले कस्तो नीति ल्याउला ? अर्थनीति कस्तो आउँछ ? भन्ने विषय फरक हो । यसले सबै बैंकहरुलाई नै प्रभाव पार्छ । बैंकहरुको नाफाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेकाे छ, नियामकले पनि विभिन्न नीतिमा कडाइ गरिरहेको छ, यी घटनाक्रम र परिदृश्यहरुले त बैंकलाई र बैंकको प्रतिफलमा पनि असर गर्छ भन्ने लाग्दैन ? देशको स्थिति राम्रो हुँदा बैंकले कति कमाइरहेको छ भन्ने विषय आएन । देशको स्थिति सधैं यस्तै रहँदैन । आज देशको स्थिति खराब छ त्यसैले उद्योगी व्यवसायी साथीहरुलाई समस्या भएको हो । म पनि उद्योगी हो, त्यो समस्या मलाई पनि परेको छ । अलिकति ब्याज कम भए हुने भन्ने मेरो पनि सोच हो । तर, यो सधैं रहँदैन । अहिले उहाँहरुको व्यवसाय कसरी सस्टेन गर्न सकिन्छ भन्नेतर्फ बैंकहरु र नीति निर्माताहरुले पनि सोच्नै पर्छ । नभए अर्थतन्त्र धरासायी हुन्छ । अहिले एकअर्कालाई सहयोग र समन्वय गरेर अगाडि बढ्नु पर्ने समय हो । दुखेको मान्छेले कराउँछ । यो स्वभाविकै हो । हिजो देशको अर्थतन्त्र सकारात्मक भएको अवस्थामा बैंकहरुले यति कमाए उति कमाए भनेर बहस हुँदैनथ्यो । उद्योगी व्यवसायीहरुले पनि कमाएकै थिए । तर, अहिले समस्यामा परे । गुनासो गर्नु स्वभाविक नै हो । तपाईं आफै पनि बैंकको अध्यक्ष र उद्योगी पनि हो । केही समय अगाडि उद्योगी व्यवसायीहरु कालो झण्डा लिएर सडकमा उत्रिँदा तपाईंलाई कस्तो महसुस भयो ? म बैंकर होइन । म बैंकको सेयरधनी हो । त्यही कारणले म आज बैंकको बोर्डमा बसेको छु । बोर्डमा बस्दा मैले बैंकका सेयरधनीलाई जति सक्दो बढी प्रतिफल दिनु पर्छ भन्ने विषयलाई प्राथमिकता दिन्छु । मेरो व्यवसाय पनि अलग्गै छ । मेरो आ–आफ्नै जिम्मेवारी छ । उद्योगी व्यवसायी साथीहरुले गरेको काममा पनि मेरो भन्नु केही छैन । भोलि गएर उद्योग व्यवसाय रहेनन् भने बैंकहरु पनि बाच्न सक्दैनन् । अनि बैंकहरुले कसलाई ऋण दिने ? त्यसो भए उद्योगी व्यवसायीहरुका मागहरु जायज हुन्, उनीहरुले जे कुरा भनिरहेका छन् ती सबै सही हुन् ? बैंकहरुले पनि सर्भाइभ गर्न सक्नु पर्छ । बैंकमा पनि कसैको लगानी छ । बैंक पनि गैर नाफामुलक संस्था त होइन । बैंक एनजीओ/आईएनजीआले त चलाएको होइन नी । यसले पनि लगानीको प्रतिफल त पाउनु पर्यो । तर, अहिलेको अवस्थामा उद्योगी व्यवसायी र बैंकरले मिलेर जानु पर्छ । व्यवसायीको कुरा बैंकरहरुले बुझ्नै पर्छ । व्यवसायीहरुले पनि बैंकहरुको कुरा बुझ्न सक्नु पर्छ । कमाउनै नहुने भन्ने होइन । हिजोका दिनमा एनसीसी र कुमारी बैंककै सञ्चालकको असन्तुष्टि र दरारका विषय पनि बाहिरिन्थे, अब मर्जर भइसकेपछि सबै सेयरधनी तथा सञ्चालकहरुलाई हामी एकै हौं, कुमारी बैंक हाम्रै हो भन्ने किसिमको अनुभुति दिलाउन के कसरी काम गर्नु हुन्छ ? त्यो इतिहास हो । अब हामीले इतिहासलाई हेरेर त्यसमा सचेत भएर अगाडि बढ्ने हो । हामीले पहिले झगडा गरेर कुमारी बैंक पुछारमा पुग्यो । त्यो बेलाको बैंकको प्रमोटर, सञ्चालक तथा अध्यक्षहरु बैंकको सेयरधनीहरुलाई दिने प्रतिफलको विषयमा चिन्तित नभएर नै त्यो किसिमको विवाद सिर्जना भयो होला । तर, म विवाद चाहन्नँ । मैले धेरै वर्षदेखि विवाद देख्दै आएको छु । त्यसबाट के हुने रहेछ भन्ने कुरा पनि बुझेँ । मेरो लागि राम्रो के हो भन्दा पनि सेयरधनीका लागि राम्रो कुरा के हो भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ । त्यो हुनासाथ सबै काम राम्रो हुन्छ । यसअघि पनि म कुमारी बैंकको अध्यक्ष हुँदा साथीभाइहरुले भनेर आएको थिएँ । अहिले पनि साथीभाइहरुले बस्नु पर्यो भनेपछि बसेको हुँ । म बन्नु पर्छ भन्ने खेल मैले खेलेको छैन । एनसीसी बैंकमा पनि एक किसिमको इतिहास छ । मेरो आग्रह छ, जति सक्दो बढी प्रतिफल लिने प्रयास गर्ने हो । तर, विवाद गर्नु हुँदैन । कुमारी बैंकको अध्यक्ष भनेको देशको प्रधानमन्त्री पद होइन । मैले काम गर्न सकिनँ भने छोड्नु पर्छ । ४ वर्ष अगाडि कुमारी बैंकको अध्यक्ष हुँदा पनि मैले पफर्मेन्स गर्न सकिन भने बाहिर बस्छु भनेको थिएँ । अध्यक्ष भएर मैले केही पाउने होइन । मैले मेरो लगानीको प्रतिफल मात्रै पाउने हो । उल्टै अध्यक्ष भएर मैले अन्य व्यवसायमा समय दिन सक्दिन । यो ठूलो कुरा होइन । आजको दिनमा पनि म राम्रोसँग चलाउन सक्छु भनेर आउनु भयो भने म खुसीका साथ छोड्न तयार छु । अब कुमारी बैंकमा तपाईंको हिस्सा घट्छ, सेयर बढाउनेतर्फ लाग्नुहुन्छ कि लाग्नु हुन्न ? म केही गर्न सक्दैन । मैले सेयर बढाउन सक्दैन । मैले खरिद गर्न पनि पाउँदैन । मैले सञ्चालक छोडेपछि अर्को कुरा हो । त्यो बेलाको अवस्था के हुन्छ, हेरौं । म वर्तमानमा विश्वास गर्छु । आज के हुन्छ त्यही गर्छु भोलि हेर्दिन ।