विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न पनि पाएनौं-विजय श्रेष्ठ

विजय श्रेष्ठ, हिमालय एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष हिमालय एयरलाइन्स नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बतको सिभिल एभियसन डभेलपमेन्ट एन्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । यसमा यती समूहको ५१ प्रतिशत र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ । एयरलाइन्ससँग हाल एयरबस ३२० सिरिजका चार थान जहाज छन् । प्रस्तुत छ कम्पनीका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठसँग विगत ७ वर्षमा यस कम्पनीको आरोहअवरोह, वर्तमान अवस्था र भविष्यको योजनाबारेमा समुन्द्रा घिमिरेले गरेको विकास वहस । सन् २०१४ देखि शुरु भएको हिमालयन एयरलाइन्सको व्यवसायिक यात्राको समिक्षा कसरी गर्नुहुन्छ ? हामीले सन् २०१४ सालमा हाम्रो बिजनेशलाई नेपालमा व्यवसायिक रुपमा सुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरु सक्ने काम गर्यौं । नेपाल सरकारबाट अनुमति लिएपछि हामीले सन् २०१५ को जुन महिनामा जहाज ल्याएर उडानको तयारी (फ्लाइट अपरेशन) गर्ने योजना थियो । तर अप्रिलमा गएको महाभूकम्पले गर्दा हामीले सम्पूर्ण तयारी केही समय रोक्नुपर्यो । जहाज खरिद, कर्मचारीको व्यवस्थापनदेखि भौतिक पूर्वाधारका सम्पूर्ण कामलाई हामीले पोस्टपोण्ड गर्नुपर्ने भयो । त्यसले गर्दा हाम्रो कामलाई एक वर्ष रोक्नुपर्याे । भूकम्पका कारण हामीले सन् २०१६ मा मात्र सबै काम सक्यौं । हामीले एक वर्ष यतिकै खेर फाल्नुपर्यो । उक्त एक वर्षसम्म आम्दानीको बाटो खोल्न सकेनौं, आम्दानीको मुहान नै बन्द भयो । एक वर्षसम्म हाम्रो लगानी मात्र भयो, प्रतिफल केही भएन । हाम्रो सुरुवाती चरण नै दुःखद हुन गयो । तयारीको हिसाबले हामीले सबै इनर्जी, पावर लगाएर तयारी गरेका थियौं, तर सर्भिस लन्च गर्न नपाउँदा सवा एक वर्ष यत्तिकै गयो । व्यवसायिक रुपमा हेर्दा अहिले नाफा वा नोक्सान कस्तो अवस्थामा छौं ? वास्तवमा भन्ने हो भने सन् २०१६ सालदेखि हामीले व्यवसाय सुरु गरेका हौं । हाम्रो सेवाको सुरुवातसँगै हामीले जहाज थप गर्यौं । जहाजको संख्या सँगसँगै हामीले उडान रुट (गन्तव्य) विस्तार, जनशक्तिको व्यवस्थापन गरेका थियौं । सुरुको अवस्थामा हामीलाई केही समस्या भयो । नयाँ क्षेत्र । भर्खरै जन्मेको बच्चालाई देखिने समस्या जस्तै हामीलाई पनि केही समस्या देखिएको थियो । अहिलेसम्म हामीले सुरुवातमा भूकम्पदेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अवस्थामा आइपुग्दा हामी नाफामा जान सकेका छैनौं । हामी झण्डै १० अर्ब नेपाली रुपैयाँ बराबर हामी नोक्सानमा छौं । तर अहिलेको नोक्सानलाई हामीले अनपेक्षित रुपमा लिएका छैनौं । हाम्रो बिजनेश प्लान लामो छ । सानातिना नोक्सानमा डराएर हुँदैन भन्ने हिसाबले योजना अनुसार काम गरेका छौं । हामीलाई विश्वास छ, हामी केही समयपछि नाफामा जान्छौं । अहिलेको अवस्था (कोभिड महामारी) मा हामीले उद्धार, मेडिकल कार्गाेदेखि चार्टड उडान गर्यौं । महामारीको अवस्थामा हामीले सरकारलाई सहयोग गर्नेदेखि (राहत कोषमा १ करोड जम्मा गर्नेदेखि निःशुल्क मेडिकल उडानसम्म) नियमित उडान सुचारु नै राखेका थियौं । कोभिडको महामारीमा हामीले सबै कर्मचारीलाई सुरक्षित साथ काममा खटाएका थियौं । कोही कर्मचारीलाई केही भएन । हामीले हाम्रा सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा तलब तथा भत्ता उपलब्ध गराएका थियौं । कर्मचारीको कार्यक्षमताका आधारमा केही कर्मचारीलाई पुरस्कृत समेत गर्न सक्यौं, यही नै ठूलो उपलब्धि हो । कोरोनाका कारण जनता घरभित्र बसिरहेको अवस्थामा हामी निडरका साथ निरन्तर जनताको सेवामा खटियौं । यही नै हाम्रो उपलब्धी भयो । हामीले सरकारलाई बुझाउनुपर्ने रकम (ठूला करदाता, नेपाल नागरिक उडड्यन प्राधिकरण, विमानस्थल कार्यालयदेखि नेपाल वायुसेवा निगमलाई) नियमित रुपमा बुझाएका छौं । हामी नाफामा जान अझै केही समय लाग्छ । हाम्रो क्षमता विस्तारदेखि (जहाज थप) उडान गन्तव्य विस्तार लगायतका बाँकी धेरै काम गर्नुपर्छ । कोभिडले गर्दा योजना अनुसार जहाज ल्याउन सकिएको छैन । हामीले हाल ४ वटा जहाजबाट उडान गरिरहेका छौं । सन् २०२१ को सुरुवाती चरणमा नै हामीले नयाँ जहाज ल्याउनका लागि सरकारबाट अनुमति पाएका थियौं । सरकारले जहाज खरिदका लागि एक वर्षको समय दिएको थियो । तर कोरोना महामारीका कारण हामीले जहाज ल्याउन सकेनौं । अब पुनः जहाज खरिदका लागि अनुमति लिएर नयाँ प्रक्रिया सुरु गर्नुपर्छ । अन्य वायुसेवा कम्पनीहरुले भएका जहाज विस्थापन गरिरहेका छन् । तर हामीले थप जहाज खरिद गरेर उडान सुरु गर्ने तयारी गरेका छौं । कोभिडले रोकेको जहाज खरिद प्रक्रिया हामीले पुनः सुरु गरेका छौं, सम्भवत अर्काे वर्षभित्र जहाज आइसक्छ । हामी क्रमश क्षमता विस्तार गर्ने योजनामा छौं । जहाज थपसँगै कर्मचारी, ग्राउण्ड ह्याडलीङ, गन्तव्य विस्तारका सबै कामहरु हुन्छन् । प्यान्डामिक (कोभिड) को अवस्था सकिएपछि हामीले जहाज थपसँगै नयाँ÷नयाँ गन्तव्यमा उडान विस्तार गर्छौं । चीनका विभिन्न १० गन्तव्यमा उडान विस्तार गर्ने हाम्रो तयारी छ । चीन सरकारले नाका खुला गर्नासाथ हामी ५ गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । नाका खुला हुनासाथ उडान सुरु गर्न हामीले सबै व्यवस्था मिलाइसकेका छौं । चीनसँगै हामी अन्य गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । हाल अन्य देशको तुलनामा घुमफिरका लागि चीनका पर्यटकहरु धेरै बाहिरिने गरेका छन् । चीनका १० गन्तव्यमा नियमित उडान गरेर हामीले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने छौं । हाम्रो गन्तव्य विस्तारसँगै नेपालको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । हामीले उडान सुरु गरेदेखि क्षमता विस्तार गरिरहेका छौं । नेपाली कोपाइलटको क्षमता विस्तार गरेर हामीले क्याप्टेन बनाएका छौं । सुरुवाती चरणमा हाम्रा सबै पाइलट विदेशी थिए । अहिले १ तिहाई नेपाली क्याप्टेन हामीले बनाइसकेका छौं । अब केही समयमा नै हामीले सबै विदेशी पाइलटलाई हटाएर सबै नेपाली क्यापटेन बनाउछौं । सोही तयारी अनुसार केही पाइटलहरु तालिमका लागि विदेश गएका छन् । नेपाली दक्ष जनशक्तिलाई टप म्यानेजमेन्टमा राख्ने हाम्रो योजना छ । नाफामा जानलाई कति समय लाग्छ, केही अनुमान छ ? हामी आफ्नो कुरामा स्पष्ट छौं । चीन र नेपालीकोे संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने, देशको अर्थतन्त्रलाई जोगाउँने, पर्यटन क्षेत्रलाई पुस गर्नेदेखि एभिएसन क्षेत्रमा काम गर्ने हाम्रो योजना हो । योजना अनुसार हामीले यी चार क्षेत्रमा काम गर्न सक्यौं भने हामी नाफामा जान्छौ । हामीले अहिले नाफाभन्दा पनि सेवामा जोड दिएका छौं । हामी तत्काल नाफाभन्दा पछि कम्पनीलाई ग्रो गर्न लागेका छौं । केही समय अघि सेल्फ ग्राउण्ड ह्याण्डलिङको विषय चर्चामा थियो । समस्या समाधान भयो ? हामीलाई नेपाल सरकारले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको हो । सरकारले दिएको अनुमति अनुसार हामीले काम गर्न पाएनौं । यात्रीहरु विमानस्थलमा चेकिङ गर्ने प्रक्रिया, विमानस्थलमा बस्ने व्यवस्था विमानस्थलले नै गर्छ । त्यसपछि ती यात्रुलाई जहाजसम्म पुर्याएर बसाउने, जहाजको बेसिक सफाइ गर्ने कामलाई हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ भन्छौं । यस्तै, कमर्शियल ग्राउण्ड ह्याण्डलिङ भनेको जहाजको भित्र बाहिर सफाइ गर्ने, पुस गर्नेदेखि उडानका लागि तयारी गर्ने काम हो । हाम्रो आश्रयस्थल भनेको नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । होम बेस भएको विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न सरकारले दिएको अनुमतिको समेत प्रयोग गर्न पाएनौं । अनुमति अनुसार काम गर्न नपाउँदा हामीले प्रतिउडान ३ हजार डलर नेपाल वायुसेवा निगमलाई बुझाउने गरेका छौं । हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न नपाउने ? व्यवसायिक रुपमा सरकारले दिएको अनुमतिको उपयोग गर्न पाउनुपर्छ जस्तो लाग्छ । सरकारको अनुमति पाएर पनि हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम गर्न पाएनौं । महङ्गो शुल्क लिने तर राम्रो सेवा नभएको भन्दै धेरै गुनासो आउने गरेको छ । निगमले लिएको पैसा अनुसार काम गरेन । लोकल बजारमा भूकम्प र विश्व बजारमा कोभिड–१९ झेल्नुपर्याे । तपाईंहरुलाई गलत समयमा व्यवयास सुरु गरिएछ भन्ने अनुभूति हुन्छ ? यो कोइन्सीडेन्ट मात्र हो । भैपरी आउने कुरा कसैलाई थाहा हुँदैन् । भूकम्प सन् २०१५ मा नगएको भए अरु कुनै समयमा त जान्थ्यो होला नी । अब अहिले कोभिड महामारी आएको छ । कोभिड नभएपनि अन्य कुनै महामारी आउथ्यो होला नी, हैन र । २००० सालदेखि एभिएसन क्षेत्रमा क्रमशः विभिन्न समस्या आएका छन् । यो चक्र प्रणाली अनुसार आइरहन्छन् । हाम्रो जीवनमा जसरी विभिन्न खालका समस्या आउँछन्, त्यसरी नै व्यवसायमा पनि आउँछ नै । नियम एकै हो, हामीले समाधान गर्ने हो, भागेर सुख नै छैन नि । यस्ता खालका समस्याहरु आउँछन्, ढिलो चाडो मात्र हो । विदेशी कम्पनीको संयुक्त लगानीमा कम्पनी सञ्चालन गरिएको छ । जोइन्ट भेन्चरमा काम गर्दा एयरलाइन्सलाई सञ्चालन कस्तो हुँदोरहेछ ? विदेशी जोइन्ट भेन्चरका केही फाइदाहरु पक्कै छन् । हामीले फाइदा नै लिएका छौं । हामीले एयरबस २२० (न्यारोवडी) नेपाल ल्याउँदा आवश्यक जनशक्ति केही थिएन । हामीलाई पाइलट, कोपाइलट, एयरहोस्टेज, इन्जिनियरदेखि दक्ष कामदारको आवश्यक थियो । तर हामीले खोजेजस्तो दक्ष जनशक्ति नेपालमा उपलब्ध भएन । विदेशी कम्पनीसँगको साझेदारी अझ भनौं एभियसन क्षेत्रकै कम्पनीसँगको संयुक्त लगानी थियो । चीनमा आन्तरिक उडान गरिरहेको कम्पनीसँगको संयुक्त लगानी हुँदा हामीले आवश्यक पर्ने उपकरणदेखि सबै म्यानपावर चीनबाटै पायौं । बाहिर देख्दा जति सजिलो छ नी, तर अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी सञ्चालन गर्न धेरै अप्ठ्यारो छ । धेरै अप्ठ्यारोका बीच पनि हामीलाई विदेशी कम्पनीको लगानी र सहयोगका कारण काम गर्न सहज भयो । एउटै क्षेत्रको जोइन्ट भेन्चर भएर हामीलाई धेरै सहज भएको छ । हामीले धेरै सहयोग लिएका छौं । सरकारले हिमालय एयरलाइन्सलाई अलि धेरै माया गरेको छ भनिन्छ नि ? सरकारले हिमालयलाई मात्र हैन, नेपालमा उडान गर्ने सबै एभियसन (वायुसेवा कम्पनीलाई) माया गरेको छ । नेपालको सरकार सँधैभरि असल सरकारको रुपमा रहेको छ । सरकारले सबै वायुसेवा कम्पनीलाई हेर्ने नजर पोजेटिभ छ, यो पक्का नै हो । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली लगानीका कम्पनी नभई नेपालमा उडान गर्ने सम्पूर्ण विदेशी कम्पनीलाई हेर्ने नजर एकै छ । सरकारले सहयोग नगर्ने हो भनै २९÷३० वटा विदेशी वायुुसेवा कम्पनीले नेपालमा उडान गर्ने थिएनन् होला । अर्काे कुरा सरकारलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि एभियसनकै मुख्य भूमिका छ भन्ने कुरा थाहा छ । सोही कारण सरकारले एभियसनलाई पोजेटिभ दृष्टिकोणबाट हुर्नुपर्छ । अर्काे कुरा जोइन्ट भेञ्चरको लगानी भएका कम्पनीमा सटेन कुरामा सरकारको पोलिसी राम्रो भएपनि केही कुरामा समस्या छ । हामी नोक्सानमा गएको कम्पनी हो । करिब तीन वर्ष अगाडी हामीलाई पुँजीको आवश्यक परेको थियो । हामीले सरकारसँग विदेशी पेरेन्ट कम्पनीबाट लोन ल्याउनका लागि अनुमति मागेका थियौं । त्यतिबेला हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बक्यौता रकम स्वरुप ठूलो रकम भुक्तानी गर्नुपर्ने थियो । सरकारलाई विभिन्न शीर्षकमा गरी ५० करोडभन्दा बढी रकम हामीले भुक्तानी गर्न सकेका थिएनौं । हामीलाई जोइन्ट भेञ्चर सुरु गर्ने समयमा विदेशी लोन, डाइरेक्ट इन्भेष्टमेन्टका रुपमा आउँथ्यो । तर पछि हामीले काम गर्दा गर्दै विदेशी कम्पनीले डाइरेक्ट लोन ल्याउन नपाउने, अझ भनौं पेरेन्ट कम्पनीबाट त लोन दिनै नपाउने नियम ल्यायो । हामी नोक्सानीमा गएका कम्पनीलाई स्वदेश तथा विदेशी कुनै पनि कम्पनीले लोन दिँदैनन् । लोन ल्याउन नपाउने सम्बन्धित कम्पनीबाट लोन ल्याउन नपाउने व्यवस्था हुँदा हामीलाई धेरै अप्ठ्यारो पर्यो । त्यसपछि मैले सरकारसँग सरकारी ऋण भुक्तानी गर्न भएपनि विदेशी कम्पनीबाट लोन ल्याउने व्यवस्था मिलाईदिनुस् भनेर निवेदन गरे । सरकारले सो निवेदन स्वीकृत गरेन । हामीलाई धेरै अप्ठ्यारो हुँदा सरकारले सहयोग गरेको छैन, नियम अनुसार अनुमति पाएको कामको त हामीले प्रतिफल पाउन सकेका छैनौं, कसरी माया गर्याे सरकारले हिमालय एयरलाइन्सलाई ? सरकारलाई राजश्व तिर्न, कम्पनीलाई जोगाई राख्ने र दुई देशबीचको सम्बन्ध हामीले जोगाएका छौं नी । हामीलाई सरकारले ऋण ल्याउन नदिएको बेला फरेन इन्भेष्टमेन्टका लागी आग्रह गरिरहेको थियो । विदेशी कम्पनीलाई आउ भन्ने अनि आवश्यक पर्दा सहयोग नगर्ने सरकारको पुरानै नियम हो । लामो समयदेखि नेपाली आकाश ईयुको कालोसूचीमा छ । कालोसूचीबाट हटाउन पाएको भए, नेपालको एभियसनसँगै पर्यटन क्षेत्रलाई ठूलो राहत हुन्थ्यो ? नेपाली आकाश सन् २०१३ देखि यूरोपियन युनियन (ईयु) को कालोसूचीमा छ । आइकाओ र ईयुले नेपाली आकाशलाई सँगै कालोसूचीमा राखेपनि करिब तीन वर्ष अगाडी आइकाओले कालोसूचीबाट हटाइसकेको छ । आइकाओको कालोसूचीबाट नेपाली आकाश हट्नुको केही मुख्य कारण हामी पनि हो । हिमालय एयरलाइन्सको सेफ्टी स्टाण्डर्डलाई आधार बनाएर नै कालोसूचीको सूचीबाट हटाउन धेरै सहयोग पुगको छ । आइकाओ, नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरु हाम्रो सेफ्टी स्टाण्डर्डको अनुगमन गर्न आउनु भएको थियो । क्यानका हाकिमहरुको अगाडी नै आइकाओको प्रातिनिधिले हिमालय एशिया प्यासिफिकको दाजोमा (राम्रो एयरलाइन्समा पर्छ) राम्रो छ भनेर भनेका थिए । नेपाल अझै ईयुको कालोसूचीमा नै रहेको छ । यसका पछाडी केही मुख्य कारणहरु छन्, ती पुरा भएपछि हट्छ । ईयुले औंल्याएको एउटा मुख्य कुरा हो नेपाल नागरिक उडड्यन प्राधिकरण ट्क्याएर सेवा प्रदायक र नियामक निकाय छुट्टा छुट्टै बनाउनुपर्ने । ईयुले औंल्याए अनुसार क्यानलाई दुई भागमा विभाजन गर्न पर्यटन मन्त्रालयले नयाँ विद्येयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको छ । संसद्ले सो विधेयक पारित गरेर क्यान दुई भागमा विभाजन भएपछि ईयुले कालोसूचीबाट हटाउने मुख्य सम्भावना देखिएको छ । ईयुको कालोसूचीबाट नेपाली आकाश हटेसँगै नेपालमा युरोपियन पर्यटन धेरै भित्रने अनुमान गरिएको छ । विश्वमा युरोपियन नागरिकको संख्यासँगै बसाई र खर्च पनि धेरै गर्छन् भन्ने अनुमान छ । कालोसूचीबाट नेपाल हटेसँगै युरोपका नागरिकलाई नेपाल आउन सहज हुन्छ । नेपाली एयरलाइन्सले युरोपमा सिधा उडान गर्न सक्छन्, नभए पनि अरु एयरलाइन्सहरु सिधै नेपाल आउन सक्छन् । सिधा उडान सुचारु भएसँगै पर्यटकीय गतिविधि पनि बढ्ने अनुमान गर्न सकिन्छ । कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ, कि पब्लिक कम्पनीमा जान्छ ? हामी जोइन्ट भेन्चर कम्पनी हौं । हाम्रो तत्कालीन योजना पब्लिकमा जाने छैन । हाम्रो सम्झौता अनुसार कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ । हामी लगानी थप्छौं । कम्पनीलाई अगाडी बढाउन लगानीको आवश्यक त पर्छ नै, तर कति थपिन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । कोभिडले विश्वकै अर्थतन्त्र धरासायी बनेको समयमा हिमालयले चार्टर्ड उडान गरेर कर्मचारीलाई बोनस दियो भन्ने हल्ला छ नि, के यो सत्य हो ? हो, हामी कोभिडको समयमा यतिकै बसेनौं । हामीले माग अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै चार्टर्ड, उद्धार, मेडिकल कार्गाे लगायतका उडानहरु सुचारु नै राखेका थियौं । हामी कर्मचारी केन्द्रीत कम्पनी हो । नेपालका कमै संस्थामा सातामा २ दिन छुट्टी हुन्छ । तर हामीले हप्तामा २ दिन छुट्टी दिने गरेका छौं । हामीले कर्मचारीको क्षमता र दक्षता अनुसार २ दिन बिदासँगै समय समयमा उनीहरुलाई अपग्रेड गर्दै लगेका छौं । कर्मचारीलाई हामीले बोनस हैन, कोभिडको समयमा पनि नियमित रुपमा सेवा सुविधा दिन सक्यौं । हामीले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न बोनस होइन इन्सेन्टिभ दिन्छौं, त्यही दिएका हौं । यो हामीले आवश्यकता अनुसार दिने गरेका छौं, नियमित प्रक्रिया हो, कोभिडको समयमा मात्र दिएका हैनौं । अन्त्यमा कम्पनीको नयाँ जहाज थपसँगै नयाँ योजना के के छन् ? हामीले सन् २०२२ भित्र थप एउटा जहाज ल्याउने तयारी थालेका छौं । हामीले चीन सरकारले नाका खुला गरेपछि १० वटा गन्तव्यसम्म उडान विस्तार गर्ने तयारीमा छौं । ५ गन्तव्यमा हामीलाई कोभिड सुरु हुनुभन्दा अगाडी नै अनुमति पाएका हौं, नाका खुला हुनासाथ थप प्रक्रिया अगाडी बढाउछौं ।

वार्षिक ५ अर्ब कारोबार हुने रुद्राक्ष व्यवसायमा सरकारको ध्यान गएनः अध्यक्ष चापागाईं

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले रुद्राक्ष व्यवसाय संकटमा छ । भारतीय तथा चिनियाँ व्यापारीहरु रुदाक्ष लिन नआउँदा फलेको रुद्राक्ष धरासायी भएको व्यवसायीहरु बताउँदै आएका छन् । लामो समयसम्म भएको लकडाउन तथा निषेधाज्ञाका कारण विदेशी व्यापारीहरु नेपाल नआउँदा रुद्राक्ष निर्यात हुन सकेको छैन । हाल व्यवसायीहरुले रुद्राक्ष व्यवसायमा नीतिगत समस्याहरु पनि भएको बताउँदै आएका छन् । रुद्राक्ष व्यवसायमा भएका समस्या, समस्याको समाधान र समग्र रुद्राक्ष व्यवसायको विषयमा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंसँग विकासन्युजका राजीव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा नेपालमा रुद्राक्षको व्यवसायकि खेतिको बारेमा बताइदिनुस् न । नेपालमा यसको सयौं वर्षको यतिहास छ । पहिले सीमित व्यक्तिले मात्रै रुद्राक्षको खेती गर्थे । दिङलाकै विषयमा कुरा गर्ने हो भने पनि रुद्राक्षको व्यवसायिक खेती गर्ने टिका प्रसाद चापागाईं, गोविन्द बस्नेत, मान बहादुर रोकायाको नाम आउँछ । पहिला पहिला रुद्राक्ष जोगी, सन्याशी आएर निःशुल्क पनि लिने गरेका थिए । धार्मिक दृष्टिकोणले निःशुल्क पनि त्यति खेर दिइन्थ्यो । २५ वर्ष अगाडिबाट व्यवसायिक रूपमा सञ्चालन भएको मेरो बुझाई छ । कोरोना भाइरसको समयमा रुद्राक्षको व्यापारमा कस्तो असर पर्यो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण रुद्राक्ष व्यवसायमा पनि ठूलो असर परेको छ । विभिन्न समयमा भएको लकडाउन तथा निषेधाज्ञाको समयमा रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा पनि समस्या भयो । रुद्राक्ष बढी निर्यात हुने देशहरु भारत र चीन हुन् । त्यहाँबाट व्यापारीहरु आउन पाएनन् । गत वर्ष र यो वर्ष यसको व्यापार खस्किएको छ । यसले गर्दा यहाँका किसानलाई ठूलो समस्या परेको छ । रुद्राक्षको निर्यातको अवस्था कस्तो छ ? नेपालबाट भारत र चीनमा रुद्राक्ष बढी निर्यात हुन्छ । यी दुई देशमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात हुन्छ । राम्रो तथा ठूलो सुन्दर रुद्राक्ष बढी चीन जाने गरेको छ भने मालाको लागी धार्मिक क्षेत्रमा प्रयोग हुने खालको रुद्राक्ष भारतमा जाने गरेको छ । ठुलो मुखे भने गोटाको हिसाबमा बिक्री हुन्छ । वार्षिक ३ देखि ५ अर्ब रुपैयाँसम्म रुद्राक्षको कारोबार हुने गरेको छ । तीन–चार वर्ष अघिसम्म रुद्राक्षको कारोबार राम्रै थियो । रुद्राक्षको मूल्य बढ्दा कृषकले समेत राम्रै आम्दानी गरेका थिए । गत वर्षदेखि कारोबार खस्कँदै गएको छ । कोभिडका कारणले गर्दा नै विदेशी व्यापारी नआएको हो वा अन्य कुनै कारण छ ? कोभिडका कारण नै विदेशी व्यापारी नआएका हुन् । उहाँहरु मसँग सम्पर्क हुँदा हामी आउछौं, रुद्राक्षका लागि हामी इच्छुक छौं भन्नुहुन्छ । तर, सोही देशको केही कानुनका कारण पनि उहाँहरुलाई आउन समस्या भइरहेको छ । रुद्राक्षको लागि ठूलो बजार चीन हो वा भारत ? बढी रुद्राक्ष भारत नै गएको छ । हेर्दा राम्रो, गोलाइ मिलेको चिल्लो, सुन्दर प्रकृतिका ठुला रुद्राक्ष चीन तर्फ जान्छ । साधारण दानाका मालाहरू भारत तर्फ जान्छ । ठुलो मूल्य आउने रुद्राक्ष प्राय भारत नै जान्छ । १४ मुखी भन्दा माथि रुद्राक्ष चीन जाँदैन भारत तिर जान्छ । रुद्राक्षको राम्रो बजार भारत नै हो । चीनमा छानेर सीमित मात्र जान्छ । रुद्राक्ष व्यवसायी संघले रुद्राक्षको बजार विस्तार गर्नका लागि के कस्ता काम तथा पहल गरिरहेको छ ? रुद्राक्ष व्यवसायलाई हामीले निकै गम्भीर रूपमा हेरेका छौं । २०७२ सालबाट रुद्राक्ष व्यवसायी संघ दर्ता भएर यसमा आवद्ध छौं । अहिले हामी यस क्षेत्रमा भएका कमि कमजोरीहरुलाई अध्ययन पनि गरिरहेका छौं । विदेशी मुद्रा भित्र्याउन रुद्राक्षले ठूलो सहयोग पुर्याएको छ । सरकारसँग पनि यस विषयको बारेमा धेरै कुरा गरेका छौं । मानिसको दैनिकीसँग अथवा धार्मिक हिसाबसँग पनि रुद्राक्ष गाँसिएको छ । यसको सामाग्रीहरू कति उत्पादन गर्न सकिन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । हामीले दानमा लगाउने औषधी, किलिप्सहरु भारत तथा चीनबाट आयत गरी रहेका छौं । हामीले आयात गरिरहेका वस्तु स्वदेशमै बनाउनका लागि सरकारसँग पनि माग गरी रहेका छौं । सरकार समक्ष आर्थिक सहयोगको अपिल पनि गरेका छौं । अर्थमन्त्री पनि यसप्रति सकारात्मक हुनुहुन्छ । उद्योग वाणिज्य महासंघले पनि यसमा सकारात्मक छ । सरकारी स्तरबाट के पहल हुन जरुरी दुख्नुहुन्छ ? पहिलो त सरकारले रुद्राक्ष व्यवसायलाई ठाउँ नै दिएको छैन । यो व्यवसाय छायामा परेको छ । हाम्रो व्यवसाय अहिले छायामा परिरहेको छ । हामीले हाम्रा कुराहरु प्रधानमन्त्री समक्ष पनि राखेका छौं । रुद्राक्षले २० लाख मानिसहरूलाई पालेको छ । ५ लाख युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमा नै रोजगारको सिर्जना गरेको छ । रुद्राक्ष व्यवसाय वर्षको एक पटक गर्ने हो । यसलाई टिप्ने बेलामा मात्र खेताला लगाए भइहाल्छ । साथै नगद आम्दानी हुने भएकोले पनि मानिसहरुको यसमा आकर्षण बढेको छ । यसको बिक्री गर्न पनि सजिलो छ । व्यापारीहरु घरमै आएर खरिद गर्छन् । रोपेपछि वर्षमा एक पटक मात्र फलको आश गर्नुपर्ने र अरू खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरू रुद्राक्ष व्यवसाय प्रति आकर्षित छन् । रुद्राक्ष व्यवसायले नेपालको अर्थतन्त्र बढाउनमा ठूलो सहयोग पुग्न सक्छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा गतिलो स्रोत यो व्यवसाय बन्न सक्छ । हाम्रा माग राखिसकेका छौं । सरकारले काम गर्न मात्रै बाँकी हो । रुद्राक्ष व्यवसायमा भएका समस्या के हुन् ? रुद्राक्ष क्षेत्रमा समस्या धेरै छन् । नीतिगत समस्या नै रुद्राक्ष क्षेत्र सबै भन्दा ठूलो समस्या हो । हामीले नीति नै बनाउन सकेका छैनौं । हामीले पहिलाबाट नै यसको निति बनाउन तर्फ लागेका छौं तर, स्थानीय तह, प्रदेश र संघीय सरकारको झन्झटिलो प्रक्रियाले गर्दा अलिक समस्या भइरहेको छ । अहिलेको हाम्रो मूल मुद्दा भनेको रुद्राक्ष व्यवसायलाई कृषि क्षेत्रमा हाल्नु पर्छ भन्ने हो । त्यसो हुँदा किसानहरूले विभिन्न अनुदान तथा सेवा सुविधाहरू पाउँछन् । हाम्रा विभिन्न मागहरुमध्ये यो क्षेत्रलाई कृषिमा समायोजित हुने बित्तिकै ६० प्रतिशत समस्या समाधान भएर जान्छन् । सामान्य रुद्राक्ष व्यापारीले रुद्राक्ष विदेशमा लिएर बेच्न सक्छ कि सक्दैन ? सक्छ, हामीले भन्सारमा पनि यसको प्रक्रिया मिलाउनको लागि प्रयास गरेका छौं । भारतमा पुर्याइसकेपछि पूजा सामग्रीका रूपमा यसलाई लिइन्छ । नेपाल सरकारले पनि यसलाई सकारात्मक तरीकाले नै हेरेको छ । नेपालबाट बाहिरी देशमा रुद्राक्ष लिनको लागि समस्या छैन । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन्छ ? अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन अलिक अफ्यारो छ । यसको गुणस्तर, सुन्दरता तथा आकार हेरेर यसको मूल्य राखिन्छ । यसको कति मुखेको कति मूल्य भनेर तोकिन्छ । उन्नत दाना अर्थात बहुमूल्य रुद्राक्ष कसरी उत्पादन गन सकिन्छ ? यसलाई उन्नत बनाउने वा ठ्याक्कै उन्नत यही हो भनेर भन्न सकिँदैन । रुद्राक्षको बिरुवाले फल दिन थालेपछि मात्र त्यसको गुणस्तर थाहा हुन्छ । उन्नत बिरुवाको कलम, ग्रफ्टीङ गरेर अन्त सारेर पनि उन्नत दानाहरू उत्पादन गर्न सकिन्छ । अधिकांश कृषक र व्यवसायी एकै खालका छन् । त्यसो हुनाले उन्नत जातको रुद्राक्ष आफै उत्पादन भएर आउने हो । कहीँबाट बनाएर ल्याएको हैन । १० वटा बिरुवा रोप्दा एक वटा बिरुवा राम्रो निस्कन सक्छ । त्यस बिरुवाबाट कलमी ग्रफटिङ गरेर बिरुवा बढाउने हो । बिरुवाले उत्पादन दिइसकेपछि मात्र त्यसको गुणस्तर मापन गर्न सकिन्छ । यो धार्मिक चिज हो भाग्यको कुरामा पनि भर पर्न सक्छ । विशेष गरी यो गाउँघरमा भन्ने गर्दछन् । कहिले एउटै बोटमा २० औं लाख रुपैयाँको रुद्राक्ष पनि फल्न सक्छ । कहिले त्यहीँ बोटमा २ हजार रुपैयाँको पनि फल्दैन । नेपालको कति ठाउँमा रुद्राक्ष खेति गरिन्छ, कुन ठाउँमा सबैभन्दा राम्रो रुद्राक्ष उत्पादन हुन्छ ? रुद्राक्ष दाना दिङ्लामा नै उत्पादन राम्रो भएको मानिन्छ । षडानन्द गुरुसँग जोडिएर आएको विषय भएकाले यो निकै पुराने विषय हो । एक सय ८ प्रजातिका बिरुवाहरू रोप्ने क्रममा पछि त्यहीँबाट जान आउन थालियो भन्ने किमदन्ति छ । अहिले रुद्राक्ष ४५ वटा जिल्लामा व्यावसायिक खेति गर्न थालिएको छ । अन्त्यमा, रुद्राक्ष व्यसायी र कृषकलाई र सरकारलाई के सल्लाह दिन चाहनुहुन्छ ? अहिले तीन तहको सरकार छ । सम्पूर्ण कृषक तथा व्यवसायीहरूले यो पेशालाई मर्यादित तुल्याउनको लागि र यसलाई देशव्यापी बनाउन र उत्पादन भएको संरक्षण गर्दै यसको व्यवसायलाई अभिवृद्धि गर्नको लागि आ–आफ्नो क्षेत्रबाट स्थानीय तह प्रदेश र संघीय सरकारले पनि पहल गर्न आवश्यक छ । रुद्राक्ष व्यवसायी संघले स्थानिय आम्दानीको स्रोत रुद्राक्षको संरक्षणको लागि स्थानिय सरकार, स्थानिय वासिन्दाहरुलाई पटक पटक यसको संरक्षणको लागि आग्रह गर्दा पनि वेवास्ता गरेको र साथ साथै २र४ जना गैर व्यवसायीको कारण व्यवसायी धराशायी हुने देखिन्छ । रुद्राक्षलाई विदेशमा निर्यात गर्न, व्यवसायी तथा कृषकलाई विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था, बिक्री नभएका रुद्राक्षहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले ध्यान दिन आवश्यक छ । २/४ गैर व्यवसायीका कारण सरकार पछि पर्नु भएन । समग्र व्यापारीको हक हितका लागि काम गर्न आवश्यक छ । भिडियाे:

एजेन्ट परिचालन र पोलिसी सरेन्डर अहिलेको मूख्य समस्या हुन्- विपिन कुमार लाल

सधैं पपुलर अनुहारले प्रमुख जिम्मेवारी पाउँछ भन्ने हुन्न । दृष्यमा नदेखिएका व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा आइरहेका हुन्छन् । यस्तै भयो गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लालको नियुक्ती । महोत्तरीको मदरासीसभा वडा नं ९ मा जन्मिएका लालले सर्लाहीबाट आफ्नो  स्कूलिङ सकेका हुन् । बीमा समितिले ‘सीईओ बन्नको लागि मास्टर डिग्री नै चाहिन्छ’ भन्ने मापदण्ड बनाएपछि लालले एस इन्स्टिस्यिूट अफ म्यानेजमेन्टबाट एमबीए गरे । उनले जे चाहेर स्नातकोत्तर गरेको थिए त्यहि प्राप्ति गरेका छन्, यहि कात्तिक ३ गतेदेखि । लालले नेपाल ब्याट्रीबाट आफ्नो जागिर शुरु गरेका हुन् । पछि उनी छोटो समय चार्टर्ड एकाउन्ट फर्ममा आवद्ध भई अडिटको काम गरे । १८ वर्षअघि उनले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)मा जुनियर अफिसरबाट बीमा करियर शुरु गरेका थिए । सोही कम्पनीका उनी प्रदेश प्रमुख (प्रदेश १ र प्रदेश २) को जिम्मेवारीमा थिए । त्यहाँबाट उनले गुराँस लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फड्को मारे । कम्पनीले कात्तिक एक गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी दिएको थियो । तर उनले ३ गते पदभार समाले । ‘३ गते पूर्णिमाको दिन थियो । आमाले पटक पटक पूर्णिमाको दिनबाट नयाँ अफिसमा नयाँ जिम्मेवारी थाल्न सुझाव दिनुभयो । आमाको आर्शिवाद मानेर ३ गतेदेखि जिम्मेवारी समालेको छु’ उनले विकासन्युजसँगको विकास वहसमा भने । प्रस्तुत छ उनीसँगकाे विकास वहस । एलआईसीबाट गुराँस लाईफको प्रमुख कार्यकारी अधिकृतमा फड्को मार्ने अवसर कसरी जुट्यो ? एलआईसीमा १८ वर्ष काम गरेर भखर्रै प्रदेश १ र प्रदेश २ को प्रदेश प्रमुखको जिम्मा पाएको थिएँ । त्यहाँ आफ्नो जिम्मेवारी सम्हाल्दै थिएँ, सोही गुराँस लाइफको सीईओ पद खाली भयो । कुरा चल्यो । सहमति भयो । मैले यसलाई नियमित प्रक्रियाको रुपमा लिएको छु । गुराँस लाइफमा आउनुपूर्व सोसल साइटमा तपाई एलआईसीको असिस्टेन्ट म्यानेजर भनेर हामीले देख्यौ । असिस्टेन्ट म्यानेजरबाट एकै पटक सीईओ बन्नु भएको हो ? पछिल्लाे समय म एलआईसीमा म प्रोभिन्स चिफ थिए । प्रदेश नम्बर १ र २ को प्रमुखको हैसियतमा म काम गर्दै थिए । एलआईसीमा प्रदेश प्रमुख भएको व्यक्ति डीसीओ वा सीईओ बन्नु स्वाभाविक हो । पछिल्लो समय इन्स्योरेन्समा काम गर्नु निकै चुनौतिपूर्ण छ । उच्च व्यवस्थापनमा रहेर काम गर्दा धेरै दवावको सामना गर्नुपर्छ भनिन्छ । तपाईले कस्तो अनुभव गरिरहनु भएको छ ? इन्स्योरेन्स प्रोफेसन राम्रो प्रोफेसन हो । म यसमा इन्जोइ गरिरहेको छु । त्यसैले त मैले यस क्षेत्रमा १८ वर्षको लामो समय बिताइसकेको छु । तर पछिल्लो समय विस्तारै विकृतिहरु बढिरहेका छन् । नियामकले पनि यसलाई समय समयमा चेक एण्ड ब्यालेन्स गरिरहनु भएको छ । प्रोफेसनको हिसाबले त यो धेरै राम्रो प्रोफेसन हो । बीमा क्षेत्र भनेको आफैमा समाज सेवा गर्ने क्षेत्र हो । यो क्षेत्रभित्र पनि विभिन्न पदमा इन्जोइ गरिन्छ । व्यक्तिगत रुपमा मैले मार्केटिङ्गमा सबैभन्दा बढी इन्जोइ गरे । जहाँ विभिन्न खालका व्यक्तिसँग भेटघाट सँगसँगै अन्तरक्रिया हुन्छ र विभिन्न खालका विचारहरु सेयर हुने गर्छ । कुन बिन्दुमा आउँदा कम्पनीको सीईओ बन्छु भन्ने लागेको थियो ? मलाई मात्रै होइन कर्मचारी सबैलाई कम्पनीको टप लेभलमा पुगौं भन्ने रहर हुन्छ । जब जो कोहीले कहीँ अवसर पाउँछ, तब उसले त्यसको लागि आफू सक्षम छु की छैन भन्ने बारेमा निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, मैले यो अफर पाइसकेपछि मलाई लाग्यो, म यसको लागि सक्षम छु । मैले यो गर्न सक्छु भन्ने लाग्यो । र, यो अवसर र चुनौति दुबैलाई स्वीकारेँ । कस्तो अनुभूति भइरहेको छ ? खासै फरक छैन । जस्तो म पहिला फिल गर्थें, त्यस्तै फिल गरिरहेको छु । यस कम्पनीमा भखर्रै आएको छु, फ्रेस छु । अहिले त म कम्पनीलाई अध्ययन गर्दै छु । कम्पनीमा आएर जब मैले कुनै उपलब्धि हासिल गर्छु, तब मात्र मलाई अर्कै फिल होला । सीईओको जिम्मेवारी पाउँदैमा एक्साइटमेन्ट भइँदैन । पहिला काम गर्नुपर्यो । जब मैले काम गरेर कम्पनीमा सक्सेस हुन्छु, तब मलाई फिल हुन्छ मैले यो गरेँ भन्ने । केही नै नगरी सीईओ पोष्ट आउँदैमा एक्साइटमेन्ट भैहाल्ने होइन । यो मेरो एउटा जब नै हो । त्यसैले पहिला जब गर्दा जस्तो फिल गर्थे अहिले पनि त्यस्तै भइरहेको छ । नयाँ कम्पनीमा नयाँ योजना के छ ? अहिले कम्पनी अध्ययनको क्रममै भएकोले प्लानिङ् गरिसकेको छैन । पहिला कम्पनीको बारेमा अध्ययन गरौं, व्यापार व्यवसाय के कस्तो छ, सबै बुझौं । त्यसपछि मात्रै के गर्ने, कसो गर्ने भन्ने प्लान गर्नुपर्छ । सीईओ भएपछि कम्पनीलाई राम्रो सँगसँगै बलियो बनाउने चाहना हुन्छ । स्थापना भएको १३/१४ वर्षको भईसकेको कम्पनी किन माथि आउन सकेन । यसको बारेमा बुझ्न पर्यो । कम्पनीको प्रडक्टहरुको बारेमा पनि थाहाँ हुन पर्यो । किन माथि उठ्न सकेन त ? प्रडक्टमा केही कमी भयो या प्लानिङ्गमै केही कमी भयो । तपाईंको व्यवसायिक योजनामा के के गर्ने प्रतिवद्धता गर्नु भएको छ ? म आएपछि बोर्डसँग छलफल भएको छ । बिजनेस प्लान बनेको छ तर म अहिले यसलाई डिस्कोल्ज गर्ने अवस्थामा छैन । मलाई मात्रै होइन कुनै पनि कम्पनीको सीईओ नियुक्ती हुँदा बोर्डसँग बिजनेस प्लानको बारेमा छलफल हुन्छ । डकुमेन्ट पनि बन्छ । तर त्यो नियुक्ति भएको ४/५ दिनमै बाहिर ल्याउन मिल्दैन । तपाईले भन्नु भयो कि विगत १३ वर्षको दौरानमा यो कम्पनी जुन पोजिसनमा पुग्नु पर्ने थियो, त्यो पोजिसनमा कम्पनी रहेन, पुगेन । यसको अर्थ अरु कम्पनी जुन स्पीडमा दौडिरहेका छन्, त्योभन्दा बढी स्पीडमा हामी दौडिनु पर्छ भन्ने यहाँको आसय हो ? होइन । मैले त्यो भन्न खोजेको होइन । हामी कहाँ पछाडि छौं भन्ने विषयमा अध्ययन गरेर त्यसलाई सुधार्दै लानुपर्छ भन्ने मेरो भनाई हो । कम्पनीको एउटा गोल त हुन्छ । अबको चार वर्षको दौरानमा यो बिन्दुमा पुग्छौं भनेर भन्न त सकिन्छ नि ? सकिन्छ । मैले अघि नै भने हरेक कर्मचारीको चाहना हुन्छ कि म टप लेभलमा पुगौं । कम्पनीलाई लिड गरौं । सीईओ भएपछि पनि कम्पनीलाई अगाडि बढाऔं, माथि लैजाऔं भन्ने नै हो । अब ४ वर्षको दौरानमा धेरै परिवर्तन ल्याउनु पर्छ भन्ने चाहन्छौं । चाहे त्यो सीईओबाट होस्, सञ्चालक समितिबाट होस् । रेगुलेशनबाट पनि धेरै चेञ्जेजहरु आउन सक्छन् । वास्तवमै हामी के चाहन्छौं भने हामी एउटा लेभलमा पुगौं । जति पुराना कम्पनीहरु छन्, ती कम्पनीमध्ये शीर्ष ५औं स्थानमा जाऔं भन्ने चाहना सबैको छ । हाम्रो मात्रै होइन अन्य कम्पनीहरुको चाहना पनि यही नै हो । त्यसैले हाम्रो गोल भनेकै राम्रो व्यवस्थापन गरेर बीमा क्षेत्रमै लिड गर्न सकौं भन्ने हो । यसमा केही इन्डिकेटरहरु सेयर गर्न मिल्छ ? अहिले त मिल्दैन । किनभने मसँग अहिले पर्याप्त डाटाहरु छैन । विभिन्न डिपार्टमेन्टसँग डाटाहरु लिएर स्टडी गर्दै छु । यहाँले कम्पनीमा नियुक्ति लिनुभन्दा पहिलै कम्पनीको बारेमा बुझ्नु भएको छ । तपाईंको नोटिसमा आजसम्ममा यो कम्पनीको सबल पक्षहरु के के हुन् ? सबल पक्षको कुरा गर्नु पर्दा यो कम्पनीको संस्थापकहरु सबै बजारमा चिरपरिचित हुनुहुन्छ । यहाँको प्रडक्टहरु पनि बजारमा प्रतिस्पर्धी नै छन् । मलाई लाग्छ कम्पनी जति व्यवस्थित हुनुपर्थ्यो, त्यो नभएको हो की । सञ्चालक समिति पनि सर्पोटिभ नै छ । अध्यक्ष पनि एकदम सर्पोटिभ हुनुहुन्छ । कुनै विषयमा छलफल गर्नु पर्यो भने उहाँहरु जुनसुकै समयमा तयार हुनुहुन्छ । यही नै हो कम्पनीको सबल पक्ष । कम्पनीलाई ड्राइभ गर्न अथवा सर्वसाधारणलाई इन्स्योर्ड गराउनको लागि बाहिरी परिवेश तथा वातावरण कस्तो छ ? भित्री वातावरण जस्तै बाहिरी वातावरण पनि इन्स्योरेन्स कम्पनी आफैले बनाउने हो । नियामकको सहयोगमा सबै इन्स्योरेन्सको प्रयास हुन्छ बाहिरी वातावरण बनाउन । नियामकले पनि इन्स्योरेन्सको महत्व बुझाउन गाउँपालिका तथा नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु गरिरहनु भएको छ । त्यस्तै, बजारमा जनचेतना कार्यक्रम फैलाउन इन्स्योरेन्स कम्पनीका एजेन्ट, मार्केटिङका कर्मचारीका दायित्व हुन्छ । अर्को, वातावरण बनाउने दौरानमा केही न केही विकृतिहरु आइसकेका छन् । कस्तो विकृति आयो भने ठूलो पोलिसी जारी गर्ने र सरेन्डर गराउने । बीमा समितिले सरेन्डरको लागि नयाँ सर्कुलर जारी गरी कम्तिमा ३ वर्षसम्म राख्नुपर्छ भन्ने निर्देशन दिनुभएको छ । यसले विकृतिलाई हटाउने कोशिस गर्छ । अहिले मार्केट पुराका पुरा विकास भइसकेको छैन । सर्वसाधारणमा पनि जनचेतना फैलिसकेको छैन । तर, रेगुलेटरको पार्टबाट एकदम तीव्र गतिमा काम भइरहेको छ । र, कम्पनीहरुले पनि आफ्नो तर्फबाट जतिसक्दो प्रयास गरिरहेका छन् जस्तो लाग्छ । बजारलाई सव्य र भव्य बनाउन सामूहिक रुपमा कुनै कार्यक्रम अघि बढाउन पाए हुन्थ्यो भन्ने छ ? यसमा मेरो व्यक्तिगत बुझाई छ । सबैभन्दा पहिला एउटा एजेन्टले एउटै कम्पनी समाउनु पर्छ जस्तो लाग्छ । त्यहाँबाट धेरै समस्याहरु समाधान हुँदै जान्छन् । किनकी एजेन्टलाई नै यताबाट उता तान्ने, अर्काको एजेन्टलाई ल्याउने जस्ता कृयाकलापले ठूलो विकृति ल्याइरहेको छ । एजेन्टहरुलाई हामीले यसरी खुला छोडेका छौं, की उनीहरु जुनसुकै बेला जता पनि जान सक्छन् । यसलाई रोक्नु पर्छ । हुन त यो कम्पनीले गर्न सक्दैन । बीमा समितिले पनि डाइरेक्ट रेगुलेट गरेर गर्न सक्ने अवस्था सायदै कम छ । यो ऐनमा भएको व्यवस्था हो, त्यसैले ऐनलाई नै संशोधन गर्नुपर्ने हुन्छ । यसको अर्को साइड के भयो भने बिजेनसको खोसाखोस तानातान यति हदसम्म गयो, जसले पोलिसी गरेर सरेन्डर गराउने बाध्य बनायो । यो सब बीमा क्षेत्रका गलत गतिविधिमध्ये केही हुन् । यो क्षेत्रमा जति पनि फोहोर फैलिएको छ, सबै यी दुई कारणले नै हो । यदि यो दुई विषयमा कडाई गरियो भने बीमा क्षेत्रका ९० प्रतिशत समस्या त्यत्तिकै समाधान हुन्छ । यहाँ कम्पनी बलियो हुनुभन्दा अभिकर्ताहरु बलियो भइसकेका छन् । अभिकर्ताको भूमिका कम गराउन अनलाइनबाटै इन्स्योरेन्स पोलिसी बिक्री गर्दा हुन्न ? टर्म इन्स्योरेन्सहरु हुन्छ । त्यसमा रिक्स कभरेज मात्रै हुन्छ । जस्तो भारतमा टर्म इन्स्योरेन्सहरु अनलाइनबाट लिन सकिन्छ । जहाँ फिजिकल रिक्वायरमेन्टहरु हुँदैन । तर, इन्स्योरेन्समा हुने मेडिकलका कुराहरु लगायतका बाँकी कामहरु हुन्छन् । जुन अनलाइनबाटै भेरिफाई गर्ने व्यवस्था नहुन सक्छ । टर्म इन्स्योरेन्सको लागि भने सोच्न सकिन्छ । व्यक्तिगत अभिकर्ताको विकल्प खोज्ने बेला भयो कि भएन ? खोज्न त खोजी सकेका छौं । संस्थागत अभिकर्ता अहिले पनि छन् । बैंकास्योरेन्स पनि भएकै थियो । त्यसमा केही कमजोरी भएका कारणले त्यो बन्द भए । तर अभिकर्ताको अल्टरनेटमा बैंकास्योरेन्स नभएपछि संस्थापक अभिकर्ता अहिले पनि छन् । जुन कम्पनीमा संस्थापक अभिकर्ता छन्, त्यो कम्पनीको बिजनेस अर्कै हुन्छ । साइडमा एडिस्नल रेभिन्यू जेनरेट गर्न कम्पनीहरुले संस्थापक अभिकर्ता राखेका हुन्छन् । यसमा व्यक्तिगत अभिकर्ताहरुले पनि सहयोग गरेका हुन्छन् । त्यसैले, मेरो बुझाईमा हाम्रा जति पनि अभिकर्ता छन्, उनीहरुलाई नै पशिक्षण गरेर, कानुनमा व्यवस्था गरेर प्रोफेसनल तथा बढी उत्तरदायित्व बनाउनु पर्छ ।