काेराेना महामारीले बीमा बजार खुम्चिन थालेकाे छ -कुमार खत्री
कोरोना महामारीले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको छ । ठीक यही बेलामा नेपालको आर्थिक क्षेत्र पनि महामारीको प्रत्यक्ष असर भोग्न बाध्य छ । नेपाली बीमा क्षेत्र पनि कोरोना महामारीको प्रभावबाट अछुतो छैन । पछिल्लो समय कोरोना महामारीकै कारण अनलाईन बीमा पोलिसीको महत्व पनि बढेको छ । यस्तै, बीमा समितिको विशेष पहलमा आएको कोरोना बीमाको विषयमा पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तै सन्दर्भमा अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि बीमा क्षेत्रमा के–कस्तो प्रभाव परेको महसुस गर्नुभएको छ ? कोरोना महामारीबाट सबै क्षेत्र प्रभावित भएको अवस्थामा यसको प्रभाव बीमा क्षेत्रमा पनि परिरहेको छ । अहिले व्यापारिक क्रियाकलापहरु नै निकै कम मात्रामा भएका छन् । समग्रमा भन्नुपर्दा अहिले आर्थतन्त्र नै शिथिल अवस्थामा रहेको महसुस गरेको छु । सार्वजनिक सवारी साधनहरु राम्रोसँग चल्न पाएका छैनन् । पर्यटन क्षेत्र पनि चुस्त दुरुस्त रुपमा चल्न सकेको छैन । यस्ता यावत कारणहरुले बीमा क्षेत्रमा असर परेको छ । बीमा क्षेत्रको सम्बन्ध अन्य क्षेत्रमासँग पनि गाँसिएको हुन्छ । अरु क्षेत्र शिथिल हुँदा त्यसको प्रत्यक्ष असर बीमा क्षेत्र पनि पर्छ । खासगरी पर्यटन क्षेत्र र सार्वजनिक यातायातको क्षेत्र निकै नै प्रभावित भएका छन् र त्यसकाे असर निर्जीवन बीमा व्यवसाय परेकाे छ । कोरोना महामारीकै प्रभावका कारण बीमा क्षेत्रका चालु योजना कार्यान्वन गर्न नसकेको अवस्था छ कि छैन ? अहिले त्यस्तो ठूलो असर पर्ने गरी केही रोकिएकै त छैन । । नियामक निकाय बीमा समितिले दिएको निर्देशन अनुसार हामीले काम गर्ने हो । भोलिका दिनमा कोरोना महामारीबाट मुक्ति पाउदै थप सहज रुपमा काम गर्न पाइन्छ भन्ने हाम्रो अपेक्षा छ । महामारी कै बीचमा नयाँ योजना ल्याउन सोच बनाउनु भएको छ ? बीमा क्षेत्रमा हामीले आफैले मात्र छुट्टै त्यस्तो केही गर्ने भन्ने हुदैन । बीमितको माग तथा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले काम गर्ने हो । अहिले हामीसँग भएको नर्मल पोलिसीहरु जे छ, त्यही बेचिरहेका छौं । सबै बीमा कम्पनीहरुले गर्ने त्यही नै हो । दाबी भुक्तानीकोे लागि प्रविधिमैत्री हुनुपर्ने बेला आएको छ । अहिले अनलाइन पोलिसीको महत्व ह्वात्तै बढेको छ । डिजिटल पेमेण्ट गर्ने कुराहरुले प्राथमिकता पाइरहेको अवस्था छ । डिजिटल भुक्तानीको लागि विभिन्न योजनाहरु बनाएर धेरै हदसम्म सफलता समेत मिलेको छ । अब कोभिडको कारण धेरै ध्यान पुर्याउनु पर्ने तथा नयाँ कुरा भनेको यही डिजिटल भुक्तानी नै हो । अन्य प्रोडक्टको बारेमा त स्टयाडर्ड पोलिसीहरु नै हुन्छन् । त्यही पोलिसी अनुसार काम गर्नु पर्छ । कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रले के गुमायो र के कस्ता नयाँ कुरा हासिल गर्ने मौका पायो भन्ने लाग्छ ? कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रको मार्केट साइज घटेको छ । यसको मतलब यो क्षेत्रको आफ्नो व्यवसायिक आकार घट्न पुगेको छ । यसबीचमा हामीले महामारीमा कसरी काम गर्नुपर्छ भन्ने शिक्षा भने पाएका छौं । सारमा भन्दा महामारीले प्राप्त गराउने भन्दा लग्ने नै बढि हुदोरहेछ । कोरोना महामारीकै कारण केही नयाँ लाभ भएका छैन । हामीलाई सोच्न बाध्य बनाएको भनेको त्यही प्रविधिमैत्री हुनुपर्छ भन्ने कुरा नै हो । यसको महत्व धेरै नै बढेको छ । हरेक ठाउँमा काम गर्न प्रविधि नै आवश्यक भइसकेको छ । आगामी दिनहरुमा महामारीसँगै पनि व्यवसाय गर्न प्रविधि नै आवश्यक रहेछ भन्ने कुरा कोरोना महामारीले हामी सबैलाई सिकायो । अब त्यसको थप व्यवस्थापनमा समेत हामीले ध्यान दिदै जानेछौं । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । आगामी दिनमा बीमा क्षेत्रको व्यवसाय कस्तो रहला ? आर्थिक क्रियाकलाप बढ्ने बित्तिकै बीमा क्षेत्रको बजार बढ्ने अवस्था आउँछ । कोरोना महामारी कम हुुने वित्तीकै अर्थतन्त्र सबल हुन्छ । अनि बीमा क्षेत्र पनि त्यही अर्थतन्त्रकै एउटा पाटो भएकोले सँगै अघि बढ्छ । मुख्य कुरा भनेको अर्थतन्त्रले फड्को मार्नु पर्छ । अर्थतन्त्र चलायमान हुदै गएको अवस्थामा बीमा क्षेत्र पनि स्वतः अघि बढिहाल्छ । कोरोना महामारीसँगै बीमा समितिले जारी गरेका नीति निर्देशनले कस्ताे प्रभाव पारेकाे छ ? नीतिगत प्रभाव भनेको कोरोना महामारी पछि जारी काेराना बीमाले केही प्रभाव पारेकै हो । त्यो विषय अब बीमक संघकै आधिकारिक धारणा अनुसार अघि बढिरहेकोले प्रभाव कम हुँदै गएको छ । कोरोना बीमाको सुरुवातमा आकर्षण राम्रो रह्यो । यो सबल पक्ष पनि हो । यसमा हामी खुशी पनि भयौं । फेरि दाबी भुक्तानीको विषयलाई लिएर कोरोना बीमा सही यो या गलत भन्नेसम्मका विश्लेषण समेत भए । तर पछिल्लो समय सबै विषय मिल्दै गएका छन् । महामारीले हामीलाई पनि केही कुरा सिकाइको अवसरको रुपमा दिएको छ । कोरोना महामारीले बीमा क्षेत्रका कर्मचारीहरुलाई पारेको प्रभाव कस्तो छ ? समग्र बीमा बजारमा नै केलाएर हेर्ने हो भने त कही कतै केही प्रभावहरु त होलान् तर हाम्रो कर्मचारीहरुलाई त्यस्तो केही प्रभाव परेको छैन । पुरानै कर्मचारीहरुले राम्रोसँग काम गरिरहनु भएको अवस्था छ । कोरोना महामारीले विश्वमा नै प्रभाव पारेको कुरा सत्य हो । यसबाट धेरथोर असर सबैतिर परिरहेको पनि छ । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । अजोड इन्स्योरेन्स कम्पनीका आगामी योजनाहरु के–के छन् ? आगामी दिनमा हाल संचालनमा रहेका शाखाहरुलाई थप सुदृढ तथा बिस्तार गर्नेछौं । डिजिटल पोलिसी जारी गर्ने विषयमा, डिजिटल पेमेन्ट जस्ता विषयमा प्रविधिमैत्री हुदै अझ परिष्कृत बनाउँदै लग्ने हाम्रो योजना छ ।यस्तै, बजार तथा बीमितको आवश्यकता अनुसार नयाँ किसिमका प्रोडक्टमा समेत हामीले जोड दिनेछौं ।
रणनीति नबदल्ने हो भने अझै धेरै भयाभहको स्थिति हुन्छ: डा. मरासिनी
नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उलेख्य मात्रामा बढीरहेको छ । यसमा नागरिकको लापरबाही र सरकारले काम गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । वरिष्ठ भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले सरकारको तयारी र योजना नभएको कारण अहिले संक्रमण नियन्त्रण बाहिर गएको बताउँदै आउनुभएको छ । अवकास हुनुअघि महामारी तथा सरुवारोग नियन्त्रण महाशाखाको प्रमुखको रुपमा काम गरिसक्नुभएका डा. मरासिनीका विचार र विश्लेषणहरु अन्तरवार्तामा समेटने प्रयास गरेका छौं । अन्तरवार्तामा डा. मरासिनीले कोरोना नियन्त्रण बाहिर जाँदा राजनैतिक अस्थिरता समेत निम्तिने खतरा तर्फ सबै सचेत हुनपनि आग्रह गर्नुभएको छ । कारोनासँग लडनको लागि आवश्यक तयारी नै नभएको कारण अहिलेको अवस्था आएको तर्कपनि गर्नुभएको छ । यसै सेरोफेरोमा डा. मरासिनीसँग गरेको अन्तरवार्ता । नेपालमा कोरोना संक्रमणको अवस्था कुन चरणमा भएको पाउनुभएको छ ? हामी तेस्रो चरण पास गरेर चौथो चरणमा प्रवेश गर्यौं जस्तो लाग्छ । काठमाडौंको सन्दर्भमा चौथोमा प्रवेश गरेको जस्तो बुझिन्छ । किनभने यो धेरै ठूलो भइसक्यो । यहाँ कार्यालयभित्र, घरभित्र, समुदायमा सबैतिर पसिसक्यो । त्यो हिसाबले हेर्दा काठमाडौं बाहिरको अझै स्पष्ट छैन काठमाडौं भित्र चौथो चरणमा प्रवेश गरिसकेको हो । सुरुका केही समय काठमाडौं बाहिर निकै डरलाग्दो अवस्था थियो । अहिले फेरी काठमाडौंमा त्यो अवस्था देखियो । यो किन भयो ? स्रोतमै रोक्ने प्रयास गर्नुपर्थ्याे । पहिलो स्रोत त सीमापार हो । हवाईजहाजबाट आउनेलाई त हामीले ठिकठिकै गरेका छौं । हामीले त्यति नरम नियम गरेनौं । तर दक्षिण सीमा तिरबाट आउनेहरुलाई सुरुमा अव्यवहारीक नियम गर्यौं । नेपाल आउने मान्छे भारत तिरै बस र नेपाल तिरबाट जाने पनि नेपाल तिरै बस भनेर अव्यवहारिक निर्णय गर्याैं । त्यो अव्यवहारिक निर्णय गर्नु हुँदैन थियो । किनभने दशगजामा १४ दिन क्वारेन्टाइन बसेको पनि अन्तर्राष्ट्रिय नियम अनुसार दशगजा क्रस गर्ने वित्तीकै फेरी पारी गएर १४ दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यो कानुनले मान्दैन । कानून भनेको कानून हो । भारतको दिल्लीमा आएर म १४ दिन बसेको थिए नेपालमा म किन बस्नुपर्यो भन्ने तर्क काम लाग्दैन । त्यो नगर्नुपर्थ्याे । तर पछि आएर सीमापारबाट आउने सम्बन्धमा कुनै मापदण्ड नीति बनाएन । त्यसपछि खुलेआम आउने जाने भयो । त्यसले तराईका जिल्लाहरुमा संक्रमण आयो । दोस्रो फेजमा काठमाडौंमा आयो । यो त सिधासिधा हो । सरुवा रोगको नियम नै त्यही हो । त्यसरी नै आएको हो अरुपनि । डेङ्गो पनि त्यसरी नै आएको हो । धेरै सय वर्ष अगाडि मलेरिया त्यसरी आयो । जापनिज इन्सेफलाइटिस पनि पहिला गोरखपुर हुँदै नेपाल भित्रियो । कालाजार भन्ने रोग सुरुमा पटनामा देखिएको हो विस्तारै नेपालतिर आयो । पाँच/छ वर्षपछि आएको हो । त्यसैले यो रोगको नियम त्यही थियो । त्यसलाई हामीले अलिकति हल्कारुपले लियौं जस्तो लाग्यो । त्यहीनेर रोक्ने प्रयास गरेको भए यस्तो ठूलो नेपालमा प्रकोप (मैले महामारी भन्दीन), कसैकसैले महाव्याधि भन्छन् त्यस्तो अवस्था आउँदैन थियो होला । त्यसो भए महामारीको अवस्था आइसकेको होइन ? यो होइन । हामीले नेपालीमा उल्था गर्दा महामारी भन्यौं । महा भनेको ठूलो (ग्रेट) मारी भनेको डेथ हो । अहिले चारपाँच वर्ष यता महामारी भनेको इबोलाको मात्रै हो । इबोलाको मृत्युदर ६० प्रतिशत छ । जम्माजम्मी साढे ६ अर्ब मान्छेमा केही लाखको मात्रै मृत्यु भएको छ । त्यो प्रतिशतमा हेर्नेहो भने त हाम्रोमा ०.६, ०.७ प्रतिशत मात्रै छ । डेढसय जनामा एकजनाको जस्तो मृत्यु भइसकेको छ । त्यो हेर्दा अहिलेपनि हामिकोमा टिभि रोग (क्षयरोग) लागेर ५ हजार मान्छेको मृत्यु भइराखेको छ । त्यसलाई हामीले के भन्ने । मलाई भोली प्रश्न आउँछ त्यसैले यो एकप्रकारको महाप्रकोप चाहिं हो । तर यो महामारी चाहिं होइन । महामारी भन्ने शब्दको नेपाली समाजले असाध्यै उल्टा किसिमले सम्झिन्छ । यसको विश्लेषण, यसको बुझाई असाध्यै नकारात्मक छ । त्यसोगर्दा महामारी भन्ने शब्द कसैलेपनि प्रयोग नगरेको राम्रो । किन भने यसको ५० प्रतिशत, ६० प्रतिशत मृत्युदर पनि छैन । त्यसो भएको हुनाले महामारी भन्ने शब्द प्रयोग नगरौं भन्छु । सुरुका केही समय वीरगंज, उदयपुरको झुल्के हुँदै नेपालगंज सम्मको एरियामा एकदमै कठिन अवस्था थियो । त्यता नियन्त्रणमा अथवा न्यून अवस्थामा रहयो । बिचमा माथिमाथिको क्षेत्रमा फैलिन थाल्यो । सरुवारोगको नियम नै यहि हो अथवा लापरबाही बढी हो ? पहिला म सँग कतिजनाले अन्तरवार्ता लिदाखेरिनै काठमाडौंमा फैलियो भन्दा नै त्यतिधेरै आश्चार्यजनक मान्नुपर्दैन भने । हामीले जसरी उदयपुरमा राम्रोसँग यसलाई नियन्त्रण गरेका थियौं त्यही मोडेलमा गएर यहाँपनि गरनौं भन्दाखेरी अव यहाँ मान्छेका विभिन्न थरी कुराहरु र विभिन्नथरी विश्लेषणहरु भएको कारणले र मैले वैशाख महिना मै समुदायमा गइसक्यो है भने कसरी गयो भन्दा जुन सिन्धुपाल्चोकबाट आउनुभएको महिलाको मृत्यु भएपछि मैले सुत्केरी हुनलाई ठिक्क परेको महिलाको नजिक सारै धेरै मान्छेहरु जाँदैनन् । उहाँको सम्पर्क निकै कम भइसकेको हुन्छ । सामाजिक सम्पर्क धेरै कम भइसकेको हुन्छ । मान्छे त्यसैपनि परपर बसेर कुरा गर्छन । त्यसैले उहाँलाई यो रोग लाग्नु भनेको समुदायमा गइसक्यो है अब होसियार होऔं र नियन्त्रण गरिहालौं भनेको यसलाई अर्कै किसिमले लिनुभयो । हाम्रो मन्त्रालयको साथिहरुले अलि नकारात्मक किसिमले लिनुभयो । त्यो बेला सकारात्मक किसिमले लिइदिएको भए हुन्थ्यो । तर त्यो बेला अलिकति यसको विश्लेषण बुझाई ठिक तरिकाले हुन नसक्दा समस्या भयो । तपाई मन्त्रालयमा पोलिसि निर्माणमा बसेर पनि काम गर्नुभयो । यो संक्रमण बढ्दै जाँदा नीतिगत रुपमा सबै अलमल भयो होइन ? म बस्दा मन्त्रालयले यसरी हेरेन । म मन्त्रालयमा दश वर्ष बसे । मन्त्रालयले रोग नियन्त्रणको काम गरेन । मन्त्रालयले विभागलाई भन्यो । विभागको कान निमोठनु निमोठ्यो, दौडाउनु दौडायो गालिपनि गरेहोलान । हामीलेपनि गालि ग¥यौं । तर मन्त्रालयले आफै रोग नियन्त्रणको ठेक्का लिएन । अहिले स्वास्थ्य सेवा विभाग छ र त्यहाँ रोग नियन्त्रण महाशाखा पनि छ । उनीहरुलाई नै हामी परिचालन गथ्र्यौं र तिनलाई के चाहियो पैसा चाहिएको हो, समन्वय चाहिएको हो जे जे चाहिएको छ भन तर यो नियन्त्रण गर हामीले अरु केही जानेका छैनौं भन्थ्यौं । अब पहिला यो संघियता नहुँदाखेरीको अवस्थामा केन्द्रीकृत व्यवस्था हुँदाखेरी यहाँदेखि एउटा आदेश दिए हेल्थपोष्ट सम्म पालना हुन्थ्यो । त्यो र अहिलेको अलिकति फरक छ । तर मैले अहिले हेर्दा मन्त्रालयले सिधै रोग नियन्त्रणको काम आफ्नो जिम्मामा नलिएको भए राम्रो हुन्थ्यो । विभागलाई नै परिचालन गर्नुपथ्र्यो, स्वास्थ्य सेवा विभागको काम नै त्यहि हो । जेल विभाग बनाउने अनि गृह मन्त्रालय आफैले फेरी जेलको काम गर्ने भए त्यो त राम्रो भएन नी । गृहमा पनि जेल विभागलाई नै दौडाउनुपर्यो नी । उसैलाई परिचालन गर्नुपर्छ । त्यो चाहिं अलिकति नमिल्दो देखिन्छ । त्यसले पनि समस्या झन जटिल बनाएको हुनसक्ने सम्भावना म देख्छु । बाहिरबाट हेर्दाखेरी पहिलो घेरामा स्वास्थ्य मन्त्रालय अथवा स्वास्थ्य सेवा विभाग देखिनुपर्ने हामीकोमा सिसिएमसीको कारणले रक्षा मन्त्रालय अगाडि देखियो । कोभिड नियन्त्रणमा । यो आफैमा कत्तिको मिल्दो नमिल्दो हो ? मैले त्यसलाई त्यसरी लिइन । मलाई त स्वास्थ्य मन्त्रालयले कुनै हालतमा छुट पाउँछ जस्तो लाग्दैन । तर आफुले यो काम नगरेर स्वास्थ्य सेवा विभागलाई परिचालित गर्नुपथ्र्यो । उनीहरुलाई एकदमै कडा तरिकाले निर्देशनात्मक तरिकाले परिचालन गरेको भए उहाँहरु अलिकति सुरक्षित हुनुहुन्थ्यो । अहिले के भयो भने स्वास्थ्य मन्त्रालय नै असफल हुन थालेको हो की त्यो स्वास्थ्य मन्त्रालय नै असफल भयो भने कसले हेर्नेहो त । सिसिएमसीको नाम नै समन्वय छ । समन्वय वालालाई हामीले धेरै केही भन्न सक्दैनौं । तर उहाँहरुले हवाई यातायात, स्थल यातायात, सीमामा वारपार गर्ने कुराहरुपनि जोडिएको हुनाले त्यो कामको स्वास्थ्य मन्त्रालयसँगको समन्वयका लागि प्रधानमन्त्रीले गठन गर्नुभएको होला । त्यो भन्दैमा सिसिएमसीको मुख हेरेर स्वास्थ्य मन्त्रालय बस्न पाइदैन, बस्नुपनि हुँदैन र त्यो कर्तव्यपनि होइन । आपूm दौडिएको दौडियै गर्नुपर्छ । तर त्यो दैडिएन जस्तो लाग्छ मलाई । विश्वमा धेरै लामो समयसम्म लकडाउन गरेका मूलुकमध्ये हामी पर्यौं । फेरीपनि हामीकोमा लकडाउनको बहस सुरु भएको छ । अब लकडाउन आवश्यकता हो या होइन ? होइन । जुन बेलामा चीनको वुहानमा यो फैलियो त्यो बेलामा चिनियाँहरुलाई थाहा थिएन । यसको इन्कोभेसन पिरियड कति हो थाहा थिएन तर एउटा सम्भावित पिरियड त राखेका थिए । तरपनि यो १४ दिन हो कि होइन भन्नेमा उनिहरु निश्चिन्त थिएनन् । यो कुन भाइरस हो भन्नेमा धेरै उनीहरुमा जानकारी थिएन । यसको परीक्षण कसरी गर्ने हो भन्ने कुरामा त्यहाँ अलिकति समस्या थियो । मानिसहरु व्यापक रुपमा विरामी भइराखेका थिए । ठूलो संख्यामा भएका थिए । त्यस्तो अवस्थामा गर्नुपर्ने नै लकडाउन हो । अव त हामीलाई थाहा छ नी यो रोगको रोकथाम कसरी गर्ने हो भन्ने हामीलाई थाहा छ । यसको उपचार छैन भन्नेपनि थाहा छ । उपचार एकप्रकारले ज्वरो आएको बेलामा ज्वरोको औषधि लिने र खोकि लागेको बेलामा खोकिको औषधि खाने । लाक्षणिक उपचार मात्रै हो भन्ने थाहा छ । यसको खोप छैन भन्नेपनि थाहा छ । यसका लक्षणहरु के के हुन भन्ने पनि थाहा छ । यसको रोकथाम कसरी गर्ने भन्नेपनि थाहा भइसक्यो । त्यसो भएको हुनाले यो लकडाउनको कारण छैन । यस्तो अवस्थामा स्वास्थ्य संकटले आर्थिक संकट निम्त्याउँछ । आर्थिक संकट निम्तिएपछि सामाजिक र राजनीतिक संकट निस्किन्छ । यो देखिइसकेको छ । इबोलाले सेरालिओन र लाइबेरियामा के भयो त भन्दा सामाजिक र आर्थिक गिरावट भएका ठूलोठूलो लेखहरु प्रकाशित भएका छन् । त्यो पढ्ने हो भने दर्दनाक छ । मन्त्री भागेको छ त्यहाँ । बहालवाला मन्त्री डाक्टर र नर्सहरुको अवस्था देखेर आफु समेत बस्न नसक्ने भएर भागे, सचिवहरु भागे, सुरक्षाकर्मीहरु भागे, देश यस्तो अवस्थामा पुग्यो की बेहाल भयो । त्यस्तो संकट आइपर्छ । त्यस्तो आइपरेको हुनाले काठमाडौंमा अथवा कुनै सहरहरुमा संक्रमण सर्नुपछाडिको कारण के हो ? एक सय जना भर्ना भएका मान्छेलाई सोध्ने वित्तीकै थाहा हुन्छ । तपाई विगत १४ दिन भित्र कहाँकहाँ जानु भएको थियो । तपाईसँग कोेको मान्छे भेटन आएका थिए । कुनकुन होटेलमा गएर खानुभयो । यो सबै कुरा सोध्नुस न । एकसय जनालाई सोध्ने वित्तीकै थाहा भइहाल्छ । के बाट सरेको रैछ । कर कार्यालय गएको थिए कर तिर्न गएको थिए, वडा कार्यालयमा गएको थिए, मालमोतमा गएको थिए, यस्तै यस्तै कुरा आयो भने त्यहाँबाट सरेको रैछ भन्ने थाहा पायौं हामीले । त्यसलाई हामीले व्यवस्थित गर्नुपर्यो । कन्टयाक्ट ट्रेसिङ नै हामीकोमा एकदमै कमजोर भयो हो ? यो हावाबाट सर्ने हो हेर्नुस, यसको कन्टयाक्ट ट्रेसिङ गाह्रो छ । त्यसपछि अहिले एयर बर्न भन्ने आएको छ । स्वासप्रस्वासबाट सर्ने रोगको औषधि अत्यन्त कठिन हो । यसको नियन्त्रण एकदमै मेहनत गर्ने हो भने । असम्भव होइन अलि धेरै मेहनत आवश्यक पर्ने हो । त्यसैलेपनि कन्टयाक्ट ट्रेसिङमा केही कमिकमजोरी त देखियो । अहिले फटाफट गरिराख्नु भएको छैन । अनि आज ५ हजार आयो भोली २ हजार पनि कहिं हुन्छ ? त्यो त सिधै नियन्त्रण तर्फ गयो भन्ने हो नी । ९ दिन १० दिन सम्म नमुनाहरु जम्मा गरेर राखेको छ कहाँकहाँका नमुनाहरु पर्दा ५ हजार आयो, अर्कोदिन २ हजार २२ सय आउँछ । यो त २४ घण्टाको ताजाताजा तथ्याङ्कहरु भयो भने बल्ल तपाईले भन्न सक्नुहुन्छ कि यो बढ्दो क्रममा छ कि घट्दो क्रममा छ के छ यसको स्थिति भनेर भन्न सक्नुहुन्छ । यो भएन । केही दिन अघि सरकारका प्रवक्ताले नागरिकले सरकारको आदेश अवज्ञा गरे अब सरकार कडा रुपमा प्रस्तुत हुन्छ भनेर कतै लकडाउनको संकेत गर्नुभएको हो कि जस्तो बुझिन्छ । यहाँले कसरी बुझ्नुभएको छ ? यो अप्ठेरो कुरा हो । कसैलाई पनि यो लाग्न सक्छ । अहिले धेरै कर्मचारीहरु नै संक्रमित भइराखेका छन् । सुरक्षाकर्मिहरु संक्रमित भइराखेका छन् । उनीहरु पनि त नागरिक हुन् । उनीहरु कसरी संक्रमित भए । त्यसमा उहाँले आफैले आफैलाई प्रश्न सोध्नुपर्यो । नेपाल सरकारको प्रवक्ताले आफैले आफैलाई सोध्न पर्यो । यहाँ नागरिकहरुको कुरा मात्रै आएन । त्यसैले यो मानविय व्यवहारसँग पनि सम्बन्धित विषय हो । मान्छेको व्यवहारले यो रोग सर्ने नसर्नेमा एकदमै ठूलो निर्णय गर्छ । त्यसो भएको कारणले हामीले यसलाई हल्का रुपमा लिनु हुँदैन । मेहनत धेरै गर्नुपर्नेछ । मानविय व्यवहार परिवर्तन भनेको असाध्यै गाह्रो छ । मैले पटक पटक भन्ने गरेको छु । चुरोट खाएर फोक्सोको क्यान्सर हुन्छ भन्ने कुरा सारा डाक्टरलाई थाहा छ । विस्तृतमा पढेको छ । साधारण एम्बिबिएस डाक्टरलाई थाहा छ । तर संसार भरिनै १५ प्रतिशत डाक्टरहरुले, चिकित्सकहरुले चुरोट खान्छन् । ज्ञान भएर हुँदैन । उसको धारणा परिवर्तन हुनुपर्छ । धारणा परिवर्तन भएपछि मात्रै व्यवहार परिवर्तनमा मान्छे अगाडि बढ्न सक्छ । त्यसो भएको हुनाले यो भनेको कठिन कुरा हो । कठिन कुरामा मेहनत गर्नुपर्छ । यसमा नेपाल सरकारको मेहनत पनि त्यति धेरै परेको जस्तो लाग्दैन । मेहनत अझै बढाएर लाने हो भने आइसियुमा लाग्ने खर्च, भर्ना भएर बिरामीलाई संक्रमणको परीक्षण गर्दा लाग्ने खर्च निकै घटेर जान्छ । खर्च गर्नैपर्ने त्यसमा थियो । हामीले गरेनौ त्यसमा । विज्ञका हिसाबले सरकारलाई के सुझाव दिनुहुन्छ ? अहिले हेर्दा असफल भएको देखियो । अहिलेको जे जे रणनीतिहरु ल्याएको छ त्यो ठिक देखिदैन । स्वास्थ्य मन्त्रालयले अब नयाँ रणनीति ल्याउनुपर्यो । कानून पुगेको छैन भने कानून परिवर्तन गर्नुपर्यो । योजना नै रहेनछ स्वास्थ्य मन्त्रालयको । हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान मात्रै बनाएको रहेछ । खास चाहिने हामीलाई के थियो भने हेल्थ सेक्टर प्रिपियरनेस प्लान चाहिन्थ्यो । उहाँहरुले भुकम्पको योजना बनाउनुभयो । चाहिने थियो हामीलाई सरुवारोग नियन्त्रण्को योजना अथवा रोकथामको योजना । यो सबैचिज बिग्रेको रहेछ । त्यसो भएको हुनाले यो विभागलाई पनि परिचालन गर्नुपर्यो । विभागलाई अहिले भन्दा धेरै अधिकार दिएर तपाईहरु अगाडि बढ्नुस् हामी तपाईहरुलाई के के चाहिन्छ सहयोग गछौं भन्नुपर्यो । अहिलेको रणनीति नबदल्ने हो भने अझ यो भन्दा धेरै भयाभहको स्थिति हुन्छ । अहिलेको रणनीतिहरु बदल्नुपर्यो । योजनाहरु बनाउनु पर्यो । अलिकति हाम्रो तयारी पुगेन । यो तयारीलाई बढाउन तिर लाग्नुपर्यो । काठमाडौंमा त कमसेकम घरभाडामा लिन खालि घर छन् । उत्तरी गोरखा, उत्तरी मनाङ, उत्तरी हुम्ला हो भने के गर्नेहो । हामीले कसरी त्यहाँ व्यवस्थापन गर्ने हो विरामीको । त्यसो भएकोले ठूलो संकटको अवस्था आउन सक्छ । त्यसो भएको हुनाले हामीले अलिकति तयारी रोकथाम, काठमाडौंमा खासगरी परीक्षण गर्न पाइन्छ । अझ के भयो भने पीसीआरको पैसा अझै धेरै भयो । सरकारी अस्पतालहरुले २ हजार रुपैयाँ लिएको अन्याय हो । निजीले लिन्छन् होला मैले ख्याल गरेको छैन् । ५ देखि ७ सय रुपैयाँमा परीक्षण हुन्छ भने त्यसलाई २ हजार रुपैयाँ लिने नाजायाज हो । सरकारले परल मूल्य मात्रै लिने हो । तपाई साढे सात सय रुपैयाँ गराईदिनुहोस् बस चढदा खेरी यहाँ देखि गजुरी जान पर्यो साढे सात सयको पीसीआर टेस्ट देखाउनै पर्ने गरिदिनुस्। यहाँबाट हवाईजहाज चढनुपर्यो पीसीआरको टेष्ट देखाउनै पर्ने भन्नुस् । बिहेको निम्तोमा जाँदा समेत पीसीआरको टेष्ट गरेर मात्रै जान पाउने व्यवस्था गर्नुपर्छ । त्यहाँ चाहिं प्रहरी खटाएर पीसीआर टेष्ट ७२ घण्टा यताको रिपोर्ट हेर्ने व्यवस्था मिलाउनुपर्यो । एउटा पीसीआर गरेपछि १४/१५ दिनसम्म त्यसको मिति नसकिने बनाउनु पर्यो । यो गर्ने हो भने जुन संक्रमित नभएका लक्षण नभएका मानिसहरुबाट रोग सरिरहने होइन नी अहिले । त्यो नियन्त्रण हुने सम्भावना देखिन्छ । अब चाडपर्वपनि आउँदैछन् । दशैंमा मानिसहरुको आवागमन बढी हुन्छ । नागरिकले सचेतता अपनाउनुपर्ने कहाँकहाँ हो ? अब स्वास्थ्य मन्त्रालयका प्रवक्ताले, सरकारका प्रवक्ताले जहाँ छौं त्यहिं बस्न भन्नुभएको छ । यहिं बस्नलाई पनि गाह्रो छ । चाडपर्वको बेलामा विदेशमा भएका बेलामा दशैं आयो भने मन त्यहाँ विदेशमा हुँदै हुँदैन । अब यहाँ बसेको मान्छे धादिङमा नजा, नौबिसे नजा, काभ्रेको पाँचखाल नजा भनेर यहाँ बस्छ र ? सबैभन्दा बेसी मान्छे यहिं नजिकका जिल्लाका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, चिनवन, रसुवा, नुवाकोटका होलान् यहिं नजिकै छ मोटरसाइकल लिन्छन् एकैछिनमा पुगेर आउँछन् । पुगेर टिका लगाएर फर्किन्छन् । उहाँहरुलाई भन्ने के हो भने तपाईहरु घरमा जान चाहिं जानुहोस् अलग्गै सुत्नुस । एकप्रकारकै क्वारेन्टाइनकै व्यवस्था गरेर घरमै बस्नुस्, मास्क लगाएर खुला ठाउँमा, खुला हावामा बसेर टिका लगाउनुस्, धेरै मान्छे एकैपटक जम्मा नहुनुस्, थोरै मान्छे जम्मा हुनुस्, खानपिन अलि परपर बसेर दुई तीन मिटरको दुरी कायम गरेर मात्रै गर्नुस्, घरमा बसिराखेका मान्छेहरुसित तपाईहरु घुलमिल नहुनुस् । घुलमिल नहुनुभयो भने उहाँहरुलाई तपाईहरुलाई यो रोग लाग्नबाट बचाउनुहुन्छ भनेर अनुरोध गर्न सकिन्छ होला । यति वहाँहरुले पालना गरिदिनुभयो भने काठमाडौं बाहिर प्रकोप निकै कम हुन्छ । एकप्रकारले क्वारेन्टाइनकै हिसाबले बस्नुस भन्दिएपनि पुग्छ ।
पुराना कम्पनीको विजनेश घट्ला तर हामी १०० प्रतिशत वृद्धि गर्छौं – सुधुम्न उपाध्याय
सुधुम्न उपाध्याय, प्रमुख कार्यकारी अधिकृत-सानिमा जनरल इन्स्योरेन्स लिमिटेड कोभिडको कारण बीमा कम्पनीहरुको व्यवसाय पनि घटेको छ । बैंकको व्याज घटेपछि बीमा कम्पनीहरुको आम्दानी पनि घट्दैछ । कोभिड महामारीको कारण बीमा कम्पनीहरुको दायित्व बढ्ने देखिन्छ । कम्पनीको नाफा पनि घट्ने देखिन्छ । तर यतिधेरै चुनौतिका बीच सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयरमा सर्वसाधारणको धेरै आकर्षण भएको छ । यहि विषयमा केन्द्रीत भएर सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कर्याकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायसँग गरिएको कुराकानी । कोभिड महामारीले समाजका सबै अवयवहरु प्रभावित भएका छन् । यसबीचमा कम्पनी व्यवस्थापन कसरी गरिरहनु भएको छ ? बीमा अत्यावश्यक सेवा भएकोले नियमित सेवा दिनैपर्छ । पब्लिकसँग डिल गर्नैपर्छ । सबै काम डिजिटल गर्न सकिएको छैन । समस्यासँग जुध्दै, स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हामी अगाडि बढेका छौं । कोभिड बीमा पोलिसी बीमा कम्पनीहरुको टाउको दुःखाईको विषय भएको हो ? त्यस्तो छैन । कोभिड बीमा पोलिसीमा केही संशोधन पनि भएको छ । सरकारले पनि यो बीमा पोलिसीमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यो कारणले धेरै तनाव भएको छैन । कोभिड बीमा पोलिसीमा बीमा कम्पनीहरुलाई नाफा छ ? नाफाको लागि यो बीमा पोसिली ल्याएकै होइन । यो महामारीको बेलामा सामाजिक दायित्व बोध गरेर ल्याएको पोसिली हो । हरेक कम्पनीले ४ करोड रुपैयाँ बराबरको दायित्व बोक्नुपर्छ । बीमा पुलमार्फत बीमा दावी भुक्तानी हुन्छ । त्यसमा नयाँ, पुराना सबै कम्पनीले ४÷४ करोड रुपैयाँ भुक्तानी गर्ने हो । त्यसमा प्रिमियम कति संकलन हुन्छ भन्ने छ । आर्थिक वृद्धिदर शुन्य प्रतिशतमा झरेको छ । बीमा व्यवसायमा वृद्धि कति छ ? बीमा विजनेश ग्रोथ छैन । बीमा समितिले लकडाउन छुटको व्यवस्था गरेको छ । त्यसले गत वर्षको जति विजनेश गर्न पनि गाह्रो हुन्छ । नयाँ विजनेश छैन । अर्थतन्त्र चलायमान छ तर एग्रेसिभ छैन । निर्माण परियोजनाहरुमा काम अगाडि बढेका छन् । त्यसले त्यस क्षेत्रको बीमा घट्नैन । कृषि बीमा केही बढेको छ । सवारी बीमा र सम्पत्ति बीमा घट्ने देखिन्छ । त्यसले गत वर्षको बराबर विजनेश गर्न पनि यसपाली बीमा कम्पनीहरुले मिहेनत गर्नैपर्छ । तर सानिमा जनरल इन्स्योरेन्स कम्पनीले त यस वर्ष पनि ९८ प्रतिशतले व्यवसाय विस्तार गर्ने योजना बनाएको छ नि ? हामी झण्डै १०० प्रतिशत बीमा शुल्क वृद्धि गर्छौ भनेर भनेका छौं । हामीले गत वर्ष ३५ करोडको विजनेश गर्यौं । चालु आर्थिक वर्षमा हामीले ७० करोडको विजनेश गर्न सकिन्छ भन्ने हो । ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा पनि हामी बजारमा सबैभन्दा कम विजनेश गर्ने कम्पनी हुनेछौं । प्रतिशतको हिसावले १०० प्रतिशत ग्रोथ गर्ने भने पनि फिगरमा हेर्दा यो ठूलो विजनेश होइन । कोभिड महामारी र वर्तमान विजनेशको अवस्था हेरेर नै हामीले थोरै लक्ष्य राखेका छौं । कम्पनीले जारी गरेको विवरण पत्रमा हेर्नुभयो भने हामीले नाफा पनि धेरै प्रक्षेपण गरेका छैनौं । कोभिडको अवस्था निरन्तर रह्यो भने पनि हामी यो लक्ष्य हासिल गर्न सक्छौं । पुराना कम्पनीको बजार हिस्सा घट्ने नै हो यो वर्ष ? यो अवस्थामा पुराना कम्पनीको विजनेश केही डाइल्युट पक्कै हुन्छ । नयाँ कम्पनी आएको बेलामा र बजार विकास नभएको अवस्थामा जुनसुकै बजारमा यस्तो हुन्छ । नयाँ बीमा कम्पनीहरु मध्ये पनि सानिमा सबैभन्दा पछाडि छ । पुराना कम्पनीहरुसँगको तुलनामा त झनै पछाडि हुने नै भयो । यो अवस्थाबाट सानिमा कहिले माथि आउँछ ? अहिलेको सिनारियोबाट अबको दुई वर्ष वाहिरिदैनौं । यतिबेला प्रिमियम टपलाइन हाम्रो प्राथमिकता होइन । बलियो कम्पनी, राम्रो कम्पनी बन्ने हाम्रो प्राथमिकता हो । थोरै प्रिमियम आर्जन गरेर पनि राम्रो नाफा गर्ने कम्पनीको रुपमा हामी अगाडि बढ्ने छौं । हाम्रो तीन वर्षे प्रोजेक्सन हेर्नुभयो भने पनि हाम्रा लक्ष्यहरु महत्वकांक्षी छैनन् । बस्तुगत धरातललाई हामीले मनन गरेका छौं । कुनै पनि नयाँ कम्पनीले आफूलाई पूर्णरुपमा सेटअप गर्नको लागि करिव ५ वर्ष लाग्छ । हामीसँग उच्चस्तरको दक्ष जनशक्तिको पनि कमी छ । हाम्रो नेटवर्क पनि विस्तार गर्दै जानुछ । एकैचोटी हामी टपलाइनमा जाने सोच राख्नु भनेको आफ्नो धरातल विर्सनु हो । पहिला बटमलाइनको प्रोफिटलाई मेन्टेन गरेर, चुस्तदुरुस्त व्यवस्थापन बनाएर, सञ्चालन प्रणाली बलियो बनाएपछि हामी टपलाइन टार्गेट लिएर अगाडि बढ्नेछौं । अहिले नै हामी आक्रामक रुपमा टपलाइन टार्गेट लिएर गयौ भने हामीले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । धेरै जोखिमहरु लिनुपर्ने हुन्छ । हामी त्यस्तो जोखिम लिने पक्षमा छैनौं । हामी स्टाटेजिक र अर्गानिक ग्रोथमा अगाडि बढ्ने छौं । व्यवस्थापन चुस्तदुरुस्त बनाउने सोच राख्नुभयो । तर चालु वर्षमा खर्च ६० प्रतिशतले वृद्धि गर्ने सोच रोख्नु भयो नि ? त्यो पनि तुलनात्मक रुपमा हेर्नुपर्छ । हामी असाध्यै थोरै खर्चमा चलिरहेको कम्पनी हौं । अरु कम्पनीहरुसँग तुलना गर्नु भयो भने ६० प्रतिशत खर्च वृद्धि गर्दा पनि हामी सबैभन्दा कम खर्चमा चलेको कम्पनी हुनेछौं । खर्चको रेसियो हेर्नुभयो भने त्यो निकै कम छ । हामी सँगै खुलेका कम्पनीको भन्दा हाम्रो नाफा कम हुनेछैन । सानिमा जनरलको तीन वर्षे प्रक्षेपण आकर्षक छैन तर सेयरको मागले कम्पनीप्रति निकै आकर्षण रहेको देखायो । यसको कारण के हुन् ? हामीले बास्तविकता जे हो, त्यो अगाडि सारेका छौं । त्यसले पनि कम्पनीप्रतिको विश्वास बढेको छ । यस कम्पनीको मुख्य प्रवद्र्धक सानिमा बैंक, यसका प्रवद्र्धकहरुप्रतिको विश्वास पनि हो । सानिमा बैंकलाई हेर्ने हो भने पहिला यो बैंक सुस्त नै थियो । अहिले एग्रेसिभ छ । उसको विजनेश राम्रो छ । सानिमा जनरलले दिने लाभांश कस्तो हुन्छ ? पहिलो पाँच वर्ष धेरै आकर्षक हुँदैन । बीमामा विजनेश ग्रोथ जति धेरै गर्यो, त्यतिधेरै रिर्जभहरुमा राख्नुपर्ने हुन्छ । दायित्व वृद्धिसँगै कोषहरु बलियो बनाउनुपर्ने हुन्छ । त्यसैले शुरुका वर्षमा हामीले उच्चदरका लाभांश वितरण गर्न सक्दैनौं । बीमा कम्पनी स्थापना भएको ५ वर्षसम्म वितरणयोग्य नाफा धेरै हुनसक्दैन । कम्पनीको लाभांश ७ प्रतिशतभन्दा कम हुने प्रक्षेपण छ । तर लगानीकर्ताको आकर्षण धेरै नै देखियो । के यो बजार ट्रेन नै हो ? बजार ट्रेन त सबै कम्पनीका लागि लागू हुन्छ । अहिले लगानीकर्ताले सानिमा जनरलको सेयरप्रति विश्वास गर्नुमा यो कम्पनी, यसका प्रमोटर र सानिमा ग्रुपप्रतिको विश्वास हो । वित्तीय क्षेत्रको सेयर निष्काशन गर्नु र पुँजी संकलन गर्नु निकै सजिलो काम हो ? विश्वास छ । बैंक, बीमा, लघुवित्तहरुको सेयरप्रति बजारको विश्वास बढी छ । यी कम्पनीहरु पारदर्शी छन्, वेलरेगुलेटेट छन् । सेयर बजारमा बैंक, बीमा, लघुवित्तको सेयर कारोबार, मुल्य सबै राम्रो छ । त्यसैले पनि लगानीकर्ता यस्ता कम्पनीको सेयरप्रति आकर्षित भएको देखिन्छ । कम्पनीलाई अगाडि बढाउने योजना के छन् ? डिजिटल प्रडक्टहरुलाई जोड दिदैछौं । नेटवर्क विस्तारमा जोड दिन्छौं । अहिले १९ वटा मात्र शाखा छन् । वार्षिक १०/१२ वटा शाखा विस्तार गर्ने योजनामा छौं । जनशक्ति विकासमा जोड दिन्छौं । हामी इनोभेशन, नेटवर्किङ, डिजिटाइजेशनलाई जोड दिन्छौं । हामीले २/३ वटा नयाँ प्रडक्टको तयारी गरिरहेका छौं । जसले बजारलाई भाइव्रेन्ट गर्नसक्छ । अहिले पनि बीमा क्षेत्रमा जनशक्तिको अभाव भएको हो ? मेरो अपेक्षा धेरै भएर पनि हो कि अहिले हामीले चाहेजस्तो जनशक्ति पाएका छैनौं । आफ्नो विभागीय विषय राम्रोसँग बुझेको र कम्पनीले कसरी काम गर्छ भन्नेमा समग्रमा बुझेको मान्छे कम छन् । जस्तै मार्केटिङमा काम गर्ने कर्मचारीले मार्केटिङ र पब्लिक रिलेशनको बारेमा त गहिरो जानकारी राख्नै पर्यो । साथै पुनर्बीमाको बारेमा, अन्डरराईटिङको बारेमा, दावी भुक्तानीको विषयमा, एकाउन्टिङको बारेमा आधारभूत जानकारी हुनुपर्छ । एउटा विभागको बारेमा राम्रो जानकारी छ तर अरु विभागका फङ्सनबारे पटक्कै जानकारी नभएको कर्मचारीबाट कम्पनीको सन्तुलित विकास हुन सक्दैन । बीमा कम्पनीहरुको बीमा पोलिसीबारे अनलाईनबाट जानकारी लिने, अनलाईनबाट बीमा पोलिसी किन्ने, अनलाइनबाट भुक्तानी दिने, बीमा दावी गर्दा पनि अनलाइनबाटै गर्न सक्ने अवस्था कहिले सिर्जना होला ? बीमा कम्पनीहरुले त्यसतर्फ गृहकार्य गरिरहेका छन् । तर केही नीतिगत व्यवस्थामा सुधार गर्नुपर्छ । जस्तै अहिले पनि बीमा पोलिसी जारी गर्दा हुलाक टिकट अनिवार्य गरिएको छ । टिकट टास्नेकाम म्यानुअली मात्र सम्भव छ । हामीले अहिले डिजिटाइजेशनको पाटोमा अनलाइन एप्लाई गर्ने, अनलाइन कम्यूनिकेशन गर्नेसम्मको काम भइरहेको छ । बीमालाई बैकिङमा जत्तिकै डिजिटाइजेशन गर्ने क्रममा बीमा कम्पनीहरुले, सफ्टवेयर निर्मार्ताहरुले, पेमेन्टगेट वेको विकास गर्ने बारे धेरै काम भईरहेको छ । बीमा दावी भुक्तानीको प्रक्रिया निकै लामो भएको र भुक्तानी रकम बीमा कम्पनीहरुले थोरै दिएको विषयमा बीमितहरु निकै असन्तुष्ट देखिन्छन् । यसलाई सहज र प्रभावकारी बनाउनेतर्फ तपाईको कम्पनीले कस्तो भूमिका खेल्छ ? कस्टुमर रेस्पोन्सलाई बेटर बनाउन हामीले काम गर्न सक्छौं । तर वाह्य पक्षबाट हुने ढिलाईमा हामीले केही गर्न सक्दैनौ । जस्तो व्यवसायिक प्रयोजनमा प्रयोग हुने सवारी मर्मत गर्ने वर्कशप तथा स्पेयर्स पार्टस बेच्नेहरु भ्याट विल दिने भन्दा नदिने बढी छन् । नन भ्याटविलप्रति बीमा कम्पनीले विश्वास गर्न सक्दैनन् । यो समग्र सिस्टमको समस्या हो । बीमा दावीका फाइल पेण्डिङ हुनु बीमा कम्पनीहरुको लागि पनि टाउको दुःखाईको विषय हो । बीमा कम्पनीहरु छिटोभन्दा छिटो भुक्तानी दिन तयार छन् । तर डकुमेन्टहरु पूरा नभई बीमा कम्पनीहरुले पनि दावी भुक्तानी दिन मिल्दैन, सक्दैन ।