हाम्राे टीम राम्राे छ, पुरै टीमले चुनाव जित्छः सौरभ ज्योति
सौरभ ज्योति, उपाध्यक्षको उम्मेदवार- नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुन् सौरभ ज्योति । पूरानो व्यवसायिक घराना ज्याेति ग्रुपका हर्ताकर्ता, महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा, महासंघको कार्यसमितिमा ४ कार्यकाल केन्द्रीय कार्यसमितिमा रहेर भूमिका निर्वाह गरिसकेका ज्योतिको उम्मेदवारी स्वभाविक हो । प्रस्तुत छ चुनावी तयारी, चुनावी अजेण्डा र व्यवसायिक समस्या समाधानतर्फ गरिएका प्रयासबारे उनीसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको कुराकानी । तपाई एउटा पुरानो र ठूलो व्यवसायीक घरानाको व्यक्ति । आफ्नो व्यवसायमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । विस्तारै महासंघमा पनि तपाईका खुड्किलाहरु माथि चढ्दै छन् । तपाईभित्रको स्ट्रेन्थ के हो ? म आफूलाई सबै कुरा थाहा भएको जस्तो सक्षम व्यक्ति मलाई लाग्दैन । जो जति विज्ञ भएपनि उ सबै क्षेत्रमा विज्ञ हुन सक्दैन । मेरो उद्देश्य भनेको एउटा राम्रो टीमको साथ लिएर अगाडि बढ्नु हो । उनीहरुको साथ सहयोगले सँगसँगै अगाडि बढ्ने हो । हाम्रो उद्देश्य एउटै हुन्छ । अहिलेको हाम्रो एउटै उद्देश्य भनेको महासंघलाई राम्रो संस्था बनाउने हो । महासंघ सबै उद्योगी व्यवसायीको छाता संगठन हो । महासंघको उद्देश्य भनेको अर्थतन्त्रलाई मजबुद बनाउनु हो । त्यो उद्देश्य हासिल गर्नको लागि सक्षम नेतृत्व र टीम हुनुपर्छ । राजनीति नभई काम गर्ने नेतृत्व र टीम हुनु आवश्यक छ । महासंघमा राजनीतिक धेरै भयो भन्ने आवाज उठ्दै गएको छ । हाम्रो टीम राजनीतिभन्दा पनि पेशागत मर्यादालाई बुझेर अगाडि बढ्न चाहान्छ । पहिलेको भन्दा अहिलेको परिवेश अत्यन्तै कठिन छ । यो विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कारण अर्थतन्त्रलाई पुनरुत्थान गर्नको लागि राम्रो टीमको आवश्यकता छ । तपाईले आफ्नो चुनावी टिम राम्रो छ भनेर भन्नु स्वभाविक हो । तर यो जटिल परिस्थितीमा महासंघका प्रतिनिधिहरु राहतका कुरा होइन, भोट माग्न हिडिरहेका छन् । यो कत्तिको उचित हो ? मेरो चुनावी क्याम्पियन भनेको मेरो काम हो । यो राजनीतिक संस्थाभन्दा पनि व्यवसायीहरुको संस्था हो । कसले कति काम गरेको छ । कसले कति संस्थामा काम गरेको छ । कसले कति मेहेनत गरेको छ । त्यो प्रष्टै देखिएको छ । योग्यताको हिसावले नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले मौद्रिक नीति सबैभन्दा महत्वपूर्ण विषयका रुपमा रहेको छ । यो नीतिले निजी क्षेत्रलाई राहत दिन सकेन भने एकदमै समस्या हुन्छ । आफ्नो विशषेज्ञता नभए पनि सबैको समस्या सुनेर, जिल्ला नगरहरुका समस्याहरु सुनेर विभिन्न स्टक होल्डरहरुलाई सुझाव दिनुपर्छ । र, दिएका पनि छौं । त्यसको केही रिजल्ट पनि आइसकेको छ । रिजल्ट के आयो अहिलेसम्म ? अहिलेसम्म कहिल्यै पनि केन्द्रिय बैंकले २ प्रतिशत व्याजदर छुट दिएको थिएन । निजी क्षेत्रको पहलमा नै यो सुविधा हामीले पाएका छौं । चैत महिनाको लागि १० प्रतिशत व्याज छुट पनि भयो । विभिन्न आयकरमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट दिने किसिमले लविङ पनि गर्यौं । बजेटमा यस्तो सुविधा आएको पनि छ । यस्तो खालको केही रिजल्ट आएको छ । केही रिजल्ट आउन बाँकी नै छ । अझै हामी प्रयासरत छौं । मौद्रिक नीतिपछि फेरि हामी विभिन्न पक्षमा राहतका लागि पहल गर्नेछौं । नीतिगत रुपमा समस्या समाधान भएर आएपनि त्यसको कार्यान्वयनमा हामीले जोड दिनुपर्छ । अहिलेको अवस्थामा व्यवसाय चलाउनु नै ठूलो उपलब्धि भयो । नाफाको सम्भावना नै छैन । यस्तो बेलामा २० लाख वा ५० लाख कारोबार हुने व्यवसायीलाई दिइएको आयकर छुटले व्यवसायीलाई लाभ मिलेको छ ? ज्योती ग्रुपको कुरा गर्ने हो भने हामीलाई लाभ छैन । साना व्यवसायीलाई लाभ मिलेको छ । महासंघ भनेको निजी क्षेत्रको छाता संगठन हो । त्यसमा साना ठूला सबै व्यवसायी रहेका छन् । बजेटमा आएको आयकर छुटको सुविधाले ठूला व्यवसायलाई त्यति फरक नपर्ला तर सानो व्यवसायलाई फरक पर्छ । सरकारले ऋणीलाई २ प्रतिशत व्याज छुट दिन बैंकहरुलाई निर्देशन दियो । यसले निजी क्षेत्रलाई फाइदा पुग्यो ? आखिरी बैंकहरु पनि निजी क्षेत्रकै लगानीमा चलेका छन् ? सरकारले एउटा व्यवसायिको खल्तीको पैसा झिकेर अर्को व्यवसायीको खल्तीमा हाल्दैमा निजी क्षेत्रले सरकारप्रति गर्व गर्न मिल्छ ? अहिले गर्व गर्ने विषयभन्दा पनि बाँच्ने बचाउने विषय ठूलो हो अहिले कोरोनाले यस्तो अवस्था सिर्जना गर्छ भनेर कसैले पनि सोचेका थिएनन् । यसले धेरै उद्योग व्यवसायहरु बन्द गर्ने अवस्थामा पुगे । ३ महिनासम्म व्यवसाय बन्द भएपछि कसरी कर तिर्ने ? कसरी ऋण तिर्ने ? कसरी तलव भुक्तनी गर्ने ? भाडा कसरी तिर्ने ? हामीले ऋण नतिर्ने भनेका छैनौ, लिएपछि तिर्नै पर्यो । यो विषम परिस्थितिलाई रिस्ट्रचरिङ गरौं भन्ने हो । अहिले हामीलाई समय दिनोस् भन्ने हो । हाम्रो भनाई पहिलेकै धितोमा थप ऋण पाओस् भन्ने हो । अहिले खर्च पनि बढेको छ । ज्यान जोखिममा राखेर कोहि पनि काममा आउन मान्दैनन् । उत्पादन घटेको छ, खर्च २० प्रतिशत बढेको छ । कोभिडको असर ३ देखि ५ वर्षसम्म हुन सक्छ । यस्तो अवस्थामा एकले अर्कोलाई सक्दो सहयोग गरौं । त्यसैले अहिले कर्जामा रिस्ट्रचरिङको व्यवस्था हुन पर्छ जसले गर्दा हामीलाई विस्तारै व्यवसाय माथि उठ्दै जान्छ भन्ने हाम्रो भनाई हो । तपाईहरुको बैंकको व्याज, किस्ता र ऋण सुविधाको मात्र कुरा गर्नुहुन्छ । यो परिस्थतीमा सरकारबाट श्रमिकलाई दिने भुक्तानीमा राहत देउ, आम्दानी करमा छुट देउ किन भन्नुहुन्न ? त्यो हामीले भनिसकेका छौं । समस्या अहिले बैंकमा छ । राहत बैंकबाट दिनु पर्ने भएकोले बैंकहरु र राष्ट्र बैंक मुख्य केन्द्रबिन्दु भएका छन् । बजेटबाट त्यस्तो राहत आएन । त्यही भएर बैंकहरु र म्रौद्रिक नीतिमा हाम्रो जोड हो । हामीले नेपाल सरकारले ल्याउने बजेटमा धेरै सुझावहरु दिएका थियौं । हामीले बजेटको ५ प्रतिशत राहत माग गरेका थियौं । त्यसमा ४ प्रतिशत आयो । हामीले श्रमिकहरु र होटल व्यवसायीलाई छुट्टै खालको राहत दिनु भनेका थियौं । सरकारका पनि आफ्ना सीमा छन् । चुनावको कुरा गरौं, तपाईले एसोटिएटको तर्फबाट उपाध्यक्षका लागि उम्मेदवारी दिदै हुनुहुन्छ । चुनाव जित्ते आधार के छन् ? जुन मेरो टीमका साथी छन् ती सबै एक सय एक हुनुहुन्छ । सबै टीम एफोर्ट गरेर हामी कन्फिडेन्ट छौं कि यो पुरै टीमले जित्छ । तपाईसँग प्रोक्सी कति छ ? प्रोक्सीभन्दा पनि चुनाव भनेको मेरो लागि राजनीतिक कुरा होइन । मेरो जहिले पनि धारणा बेष्ट म्यान फोर द जब हो । मभन्दा राम्रो व्यक्ति त्यो पदमा जान्छ भने म छोडेर त्यो व्यक्तिलाई राख्न चाहन्छु । मलाई जित्नु भन्दा पनि त्यो संस्थामा उपलब्धि हुनु पर्यो । त्यो संस्थामा काम गर्ने मान्छे चाहियो । हाम्रो समस्याको समाधान गर्न सक्ने मान्छे चाहियो । मलाई हार्नुभन्दा पनि जित्नुको डर छ । हार्यो भने त के छ म आफ्नो व्यवसाय हेर्छु । अझै पुरा समय दिन्छु । चुनाव जितेपछि, संस्थामा बसेपछि धेरै काम गर्नुपर्छ । समय दिनुपर्छ । जित्यो भने आफ्नो काम व्यवसाय छोडेर पुरै संस्थामा लाग्नु पर्ने हुन्छ । अहिले नेतृृत्वका लागि सबैभन्दा कठिन समय हो । त्यसैले मलाई हार्नुभन्दा बढी जित्नुको डर छ । जित्यो भने हामीले यति मेहेनत गर्नुपर्छ, दिनरात काम गर्नुपर्छ । हाम्रो टीम सम्पूर्ण उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्न तर्फ अगाडि बढ्छ । हाम्रो टीमको सोच परिवर्तन ल्याउनु पर्छ भन्ने हो । आर्थिक विकास गर्नुपर्छ भन्ने हो । काम धेरै हुनुपर्छ, राजनीति कम हुनुपर्छ भन्ने हो । यो कार्यकाल मात्र होइन दश वर्षसम्म महासंघलाई कहाँ लग्ने भन्ने हाम्रो टीमले त्यो खालको वातावरण सिर्जना गर्छ । सबै राम्रा मान्छेहरुलाई तपाईका टीमले समेट्न सकेको छ ? सबैलाई चित्त बुझाउन गाह्रो नै हुन्छ । तर, समग्र रुपमा मेजोरीटी र राम्रो मान्छेहरु समेट्ने कोसिस गरेका छौं । अहिले पनि ढिलो भएको छैन । त्यहाँ काम गर्न जाने हो । मिलेर काम गर्ने हो । तपाई किशोर प्रधानको टिममा हुनुहुन्छ, प्रधानको स्ट्रेन्थ के हो ? उहाँ सबैको सर सल्लाह लिने, धेरै अनुभवी मान्छे हो । उहाँ नेपालको सानो–सानो उद्योगदेखि ठूलो उद्योग व्यवसायहरु सबैले चिनेको नेटवर्क भएको र सबैका समस्या बुझेको व्यक्ति हुनुहुन्छ । त्यो हुनु भनेको नेतृत्व गर्न सक्नु हो । कहिले काहिँ विज्ञ मान्छे आएर पनि सफल नेतृत्व गर्न सक्दैन । विज्ञ मान्छे भयो भने मलाई सबै कुरा थाहा छ कसैको कुरा चाहिँदैन भन्ने खालका हुन्छन् । त्यसलै टीम अगाडि बढाउने, टीमको नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । मेरै कुरा गर्ने हो भने मैले लाष्ट टाइममा पनि छोडेको हो । सबैले तपाई युवा नै हुनुहुन्छ । तपाईको उमेर समय छ भन्छन् । म अहिलेको हिसावले किशोर दाईपछि सबैभन्दा अग्रज हो । मेरो उमेर होइन महासंघका बिताएको समय हेर्नोस् । नेपाल उद्यमी मञ्चमा अध्यक्ष भएर लामो समय काम गरेको छु । मैले विभिन्न संघ संस्थामा अध्यक्ष भएर काम गरेको छु । मैले धेरै अनु्भव हाँसिल गरेको छु । महासंघमा पनि ४ कार्यकाल बिताइसकेको छु । महासंघमा नेश्नल एक्सलेन्ट अर्वाड समितिको सभापतिदेखि कर राजश्व समितिको सभापति र अहिले बैंकिङ र वित्तीय संस्थाको सभापति छु । तपाई बैंकिङ र वित्तीय संस्थाको सभापति भएको बेलामा बैंकर र व्यवसायीबीच द्वन्द्व नै भयो नि ? जहाँ आलोचना र द्वन्द्व हुँदैन त्यहाँ काम नै हुँदैन । जे पनि टाउको हल्लाएर राम्रै छ भन्यो भने काम नै नभएको सोच्नु पर्छ । जति तपाईले कोट्याउँदै जानुभयो, जति विवाद हुन्छ, त्यति बढी अन्र्तक्रिया तथा काम भयो सम्झनु पर्छ । महासंघमा एसोसिएटबाट अहिले ९ सय २७ जना सदस्यहरु छन्, तिनीहरुले भोट हाल्दा त्यसको वेटेज ३० प्रतिशत मात्र हुन्छ । १ सय ६ जनाले जिल्लाबाट भोट हाल्दा त्यसको वेटेज ५० प्रतिशत हुन्छ । यो संरचना ठीक छ ? यसमा इतिहासबाटै हेर्नुपर्छ । मेरो पनि महासंघमा एक दशकभन्दा बढी भइसकेको छ । यो दुइटै हामीले पहिलेदेखि नै गर्दौ आएका छौं । जिल्लामा हाम्रो बढी प्रतिनिधिहरु छन् । नेपाल सरकारभन्दा पनि बढी सञ्जाल भएको हाम्रो उद्योग वाणिज्य महासंघ हो । कर उठाउन पनि हाम्रो सञ्जाल ठूलो छ । महासंघको त्यो सञ्जाल एउटा स्ट्रेन्थ हो । समग्र रुपमा नेपालले समृद्धि हाँसिल गर्नको लागि जिल्ला नगरका एसएमईहरुको भूमिका महत्वपूर्ण हुन्छ । हामीले उहाँलाई त्यो अधिकार दिनै पर्छ । वर्तमान अध्यक्ष, स्वतः अध्यक्ष हुने मान्छे र पूर्व अध्यक्षहरु समूहगत रुपमा निर्वाचनमा सक्रिय हुनुहुन्छ । यो असल अभ्यास हो ? यो नयाँ नौलो कुरा होइन । ५४ वर्ष भइसक्यो यही प्रक्रिया चल्दै आएको छ । तर, यसलाई म असल अभ्यास मान्दिन । अहिलेको वरिष्ठ उपाध्यक्ष जो अध्यक्ष हुँदैहुनुहुन्छ। उहाँको जुन भिजन छ । महासंघलाई राजनीतिबाट मुक्त गर्न व्यक्तिगत स्वार्थबाट निस्केर संस्था अगाडि बढ्नु पर्यो । संस्थाको स्वार्थको लागि काम गर्ने मान्छे चाहिएको छ । आइडियोलोजी, प्रिन्सिपल र काम गर्ने तरिका फरक भएर पक्ष विपक्ष भएको हो । मेरो सिद्धान्त मेरो लागि सही हो । अरुको लागि उहाँहरुकै सिद्धान्त सही होला । त्यसैले सैद्धान्तिक रुपमा र महासंघ कहाँ लग्ने कुरा फरक भएको हुनाले उहाँले आफ्नो हिसावले अगाडि बढेको हुनुपर्छ । आ–आफ्नो टीमलाई समर्थन गर्नु भएको हो । महासंघ अध्यक्षमुखी संस्था त हो तर अध्यक्ष एक्लैले महासंघमा काम गर्न सक्दैन । उहाँलाई सहयोग गर्ने टीम चाहिँन्छ । त्यसमा हामी परिवर्तन गर्न लागेका छौं । अहिलेसम्म अध्यक्षमुखी संस्था हो । तर, अहिले हाम्रो जुन टीम आउँदैछ अध्यक्षमुखीबाट टीममुखी बनाउने हो । उपलब्धि हाँसिल गर्ने रिजल्ट ओरिन्टेड, प्रोफेसनल संस्था, निजी क्षेत्रको हक हितका लागि नतिजा ल्याउने संस्था अहिले चाहिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०७३ कार्तिकमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने प्रावधान जुन मर्मले ल्याएको थियो अहिले त्यो मर्म लागू तथा कार्यान्वयन भएको छ ? हामीले निर्वाचन हुँदा अध्यक्ष राजनीतिबाट न्युट्रल होस् भन्ने हो । उहाँ स्वतः अध्यक्ष भएपछि चुनाव नै लड्नु नपरेपछि पक्ष विपक्ष हुनु हुँदैन भन्ने उद्देश्यले यो प्रावधान गरिएको हो । तर, त्यही व्यक्तिलाई वरिष्ठ हुँदा विभिन्न कठिनाईहरु ल्याएर संस्था नै विथोल्न अगाडि बढेको हुनाले जुन दिशामा हामी जान चाहन्थ्यौ, त्यो हुन सकेन । यसपाली हुन सकेन । हामीले अब निरन्तर प्रयास गर्यो भने अध्यक्षलाई राजनीतिबाट टाढा राख्न सक्छौं । त्यसैका लागि यो टीम आवश्यक छ । महासंघको चुनाव नजिकिँदै गर्दा एकले अर्कालाई होच्याउने, गाली बेइजती गर्ने खालको टिकाटिप्पणीहरु भइरहेका छन् । यसले महासंघको गरिमा बढ्छ ? यो कुरामा धेरै लामो इतिहास छ । अरुले कसरी भन्नुहुन्छ त्यसमा मेरो कुनै धारणा छैन । तर म आफ्नो सिद्धान्त र हाम्रो पुरै टीमको कोड अफ कण्डक्ट छ । हामीले आफ्नो काम गर्ने हो र त्यसको बलमा प्रचार प्रसार गर्ने हो । आफ्नो राम्रो कुरा प्रचार प्रसार गर्ने, अरुको नराम्रो कुरा हामी बोल्दैनौं । हाम्रो टीमबाट त्यस्तो कुरा हुँदैन । अरुको बारे आरोप प्रत्यारोप गर्ने काम हामी गर्दैनौं । हामीले कसरी महासंघको गरिमा बढाउने कुरामा कमिटमेन्ट गर्छौं । अरुको नराम्रो कुरा हामी गर्दैनौं । त्यस्तो कार्यमा हामी सहभागी पनि हुँदैनौं ।
चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा, जगेडा कोषबाट लाभांश वितरणका लागि राष्ट्र बैंकसँग स्वीकृति माग
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा जान सक्ने बताएका छन् । कर्जा असुली नहुँदा गर्नु पर्ने प्रोभिजनको कारण बैंकहरु नोक्सानमा जाने उनले बताए । ‘अवस्था राम्रो छैन’ दाहालले भने- ‘बैंकहरुकाे अपरेशन लसमा हुँदैनन, तर प्रोभिजनले लस गराउँछ ।’ बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले यस वर्षको नाफाबाट नसके संचित कोषबाट भएपनि सेयरधनीलाई लाभांश दिनुपर्ने बताए । साना लगानीकर्ताको घर चलाउन, सेयर बजारमा राम्रो सन्देश दिन मौद्रिक नीति मार्फत नै यस्तो व्यवस्था हुनुपर्ने उनले बताए । तर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले यस्तो सम्भावना कम रहेको संकेत गरेका छन् । ‘बैंकको सल्भेन्सीमा असर पर्नु भएन । अन्तर्राष्ट्रिय रुपमा स्थापित नर्म्समा असर पर्नुभएन’ उनले भने । भारत लगायत केही देशमा बैंकहरुलाई लाभांश वितरणमा रोक लगाएको सन्दर्भ पनि उनले उल्लेख गरे । उनले एनएफआरएस अनुसार अक्रोलबेस वासलात नबनाई क्यासबेस वासलात बनाउनु पर्ने बताए । हिसावमा नाफा देखिन, सरकारलाई कर बुझाउनु पर्ने तर लगानीकर्ताले लाभांश नपाउने खालको वासलात सच्याउनु पर्ने गोल्यानले बताए । यस विषयमा राष्ट्र बैंक, आईक्यान, कर प्रशासनका प्रतिनिधि संलग्न एक समितिले अध्ययन गरिरहेको र माैद्रिक नीतिमा सम्बोधन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए । भिडियाे हेर्नुहाेस्
अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष -नेपाल उद्योग वाणिज्य महासंघ विधानत नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनिसक्नुपर्ने तर कोभिड–१९ को कारण वरिष्ठ उपाध्यक्ष मै सीमित भएका शेखर गोल्छा यतिबेला निजी क्षेत्रको केन्द्रविन्दुमा छन् । अध्यक्षको कुर्सीमा नबसेपनि पछिल्लो तीन महिनामा उनी कार्यवाहक अध्यक्षको भूमिकामा सक्रिय छन् । निजी क्षेत्रका डेलिगेशनहरुमा होस् वा महासंघको नियमित काममा होस्, गोल्छाको सक्रियता बढेको छ । त्यतिमात्र होइन, अब हुने चुनावी प्रक्रियापछि अध्यक्ष पक्का भएपनि निर्वाचनमा शसक्त रुपमा होमिएका छन्, आफ्नो टिमलाई जिताउन युद्धस्तरमा लागेका छन् । देशकै पुरानो औद्योगिक घरानाका सदस्य भएकोले, सफल व्यवसायिक पृष्ठभूमि, प्रष्ट वक्ता र ड्यासिङ पर्सनालिटी भएकोले पनि महासंघमा गोल्छाको नेतृत्व प्रभावकारी बन्ने अनुमान धेरैको छ । निर्वाचनपछि अध्यक्ष हुने पक्का हुँदा हुँदै उनी किन निर्वाचनमा पक्ष विपक्षमा उत्र्तीय ? महासंघमा अध्यक्ष भएपछि उनको योजना के छ ? विकासन्युजका रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको विकास वहस । महासंघको विधान अनुसार अध्यक्षको कार्यकाल तीन वर्षको हो । तीन वर्षपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था पनि छ । गत चैत २८र २९ गते हुने भनिएको महासंघको साधारणसभा र निर्वाचन स्थगित भएपछि तपाई स्वतः अध्यक्ष हुनुपर्ने होइन ? चैत मसान्तमा साधारणसभा गरी नयाँ नेतृत्व आउनु पर्ने कुरा हाम्रो विधानमा स्पष्ट लेखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण हाम्रो साधारणसभा पनि स्थगित भयो । सरकारले ठूलो भेला नगर्न भनेपछि हामीले सरकारको निर्णयलाई सम्मान गरेर साधारणसभा पनि रोक्यौं । महासंघको विधानमा विशेष अवस्थामा ३ महिनासम्म साधारणसभा सार्न सकिने पनि लेखिएको छ । सोही विधान अनुसार कार्यसमिति बसेर साउन २६ र २७ गते साधारणसभा हुने गरी मिति तय गरेका छौं । फेरी पनि त्यहि प्रश्न । चैतको साधारणसभा रोकिएसँगै तपाईले आफ्नो पदबहाली किन गर्नु भएन ? मैले महासंघमा धेरै संघर्ष गरेर यहाँसम्म आएको छु । म कहिले नेतृत्वमा आउँछु भनेर आतुर पनि छु । तर हाम्रो विधानमा साधारणसभा भइसकेपछि मात्र अध्यक्ष र नयाँ कार्यसमितिले कार्यभार सम्हाल्ने भनिएको छ । एउटा नैतिक रुपमा त्यो उचित होकि होइन भन्ने कुरा पनि आँउछ । अहिलेका वर्तमान अध्यक्षज्यूले लामो समयदेखि निजी क्षेत्रको सेवा गर्नु भएको छ । यो उहाँकै साधारणसभा हो । उहाँले जाँदा पनि आफूले गरेका काम सबै साथीहरुसँग आदान–प्रदान गरौं । ज्ञान आदान प्रदान गरौं भन्ने छ । यो महत्वपूर्ण कुरा हो । यसमा म बाधक हुन चाहन्नँ । साउन २६ र २७ गते महासंघको साधारणसभा हुन्छ कि हुँदैन भन्ने कुरा अझै अनिश्चित नै छ । फेरी पनि साधारणसभा भएन भने तपाई कहिले अध्यक्ष बन्ने भन्ने कुरा अनिश्चित भयो होइन ? महासंघको चुनाव कुनै राजनीतिक शक्ति लगाएर हुन सक्दैन । यो सही समयमा हरेक कानुन र प्रक्रिया पुरा गरेर हुन्छ । सरकारले साउन ७ गतेसम्म मात्र लकडाउन हुन्छ भनेको छ । त्यही अनुसार हामीले मिति तोकेका हौं । अझै पनि यसमा केही बाधा हुन्छ भने हामी साधारणसभा सार्न तयार छौं । महासंघको चुनावमा सर्वसाधरण, मिडिया, सरकारको चासो छ । हामीले हरेक कानुनलाई सम्मानका साथ स्वीकार गरेर जानुपर्छ । चुनावलाई दवावका साथ गराउने पक्षमा म छैन । अहिले सरकारको जुन नीति नियम छ महासंघको चुनाव अहिले पनि गर्न सकिने अवस्था छ जस्तो मलाई लाग्छ । केही गरेर कोरोना अझै फैलियो भने त्यसको लागि पनि हामीले मानसिक रुपमा तयार रहनुपर्छ । मानसिक रुपमा तयार भनेको के हो ? हामी सरकारको कुनै पनि कानुन नीति नियमलाई मिच्न चाहन्नौं । तर त्यसबेला अरु कुनै उपाय हुन्छ भने हामी त्यसको बारेमा पनि सोच्नेछौं । सामाजिक दूरी कायम गरेर हुन्छ कि अन्य कुनै तरिकाले चुनाव गर्न सकिन्छ । त्यसको बारेमा पनि हामी सोच्नेछौं । यदि गर्न सकिएन भने अझै निर्वाचन सार्न पनि हामी तयार हुन्छौं । डिजिटल भोटिङ एउटा विधि हुनसक्थ्यो । तर तपाईहरुले त्यो विधि किन रोज्नु भएन ? यसमा दुई कारण छन् । अहिलेका अध्यक्षज्युले साधारणसभा गरेर अर्थात एक उत्सव नै गरेर बाहिरिने सोचमा हुनुहुन्छ । उहाँको त्यो सोचलाई हामीले सम्मान गर्नै पर्छ । चुनावमा अनलाइन भोटिङ गर्न सकिन्छ कि सकिदैन भन्ने कुरामा पनि छलफल पनि गरिनै रहेका छौं । पछि त्यो विकल्प पनि आउँन सक्छ । डिजिटल भोटिङमा जान प्रोक्सी प्रणाली वाधक हो ? मैले त कुनै समस्या देखेको छैन । यसमा विधानको कुरा पनि आउँछ । सबै सदस्यहरुको मनसाय पनि बुझ्नु पर्छ । यो सोच हामीले राख्न जरुरी पनि छ । समस्या अन्य धेरै पनि छन् । सबै जिल्लाका साथीहरुले यो विधिलाई स्वीकार गर्नु पर्यो । उम्मेदारहरुले पनि स्वीकार गर्नु पर्यो । यदि यही विधिमा सहमति हो भने गर्न सकिन्छ । अब तपाई महासंघको सर्बसहमत अध्यक्ष । तर, तपाईलाई नै सबैभन्दा बढी चुनाव लागेको देखियो । निर्वाचनको एउटा समूहलाई जिताउन र अर्को समूहलाई हराउन तपाई आफैै किन सक्रिय हुनुभयो ? पक्कै हो अब म महासंघको अध्यक्ष । किनकी विधानले मलाई त्यो अधिकार दिएको छ । अहिलेको निर्वाचमा मैले कुनै साइड लिइराख्नु पर्ने जरुरी पनि थिएन । मैले आफूलाई सन्तुलित नै राख्नु पर्दथ्यो । तर केही साथीहरुले सार्वजनिक रुपमै म माथि अविश्वासको प्रस्ताव ल्याएर फाल्दिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । उहाँहरुले मलाई काम गर्न दिइन्न भन्ने जस्ता अभिव्यक्ति पनि दिएका छन् । यस्तो विविध समस्याहरु आए । म महासंघमा काम गर्न आएको छु । त्यसैले मेरो आइडियालाई सम्मान गरेर एकसाथ अगाडि सहयोग गर्ने टिम तयार गर्नुछ । त्यसका लागि मेरो समर्थकहरुलाई जिताउन निर्वाचनमा म सक्रिय हुनुपरेको हो । यो निर्वाचनमा म पक्ष विपक्षमा लाग्ने सोचमा थिइन । तर, मलाई अर्को पक्षले काम गर्न दिँदैन । अविश्वासको प्रस्ताव ल्याएर फाल्दिन्छु भन्न थाले । मेरो हैसियत माथि प्रश्न गर्न थाले । त्यसपछि म पनि चुनावमा होमिएर लागेको हुँ । आफूले समर्थन गरेको टीमबाट कार्यसमितिमा बहुमत आएन भने पछि आफूलाई नै काम गर्न समस्या हुन्छ, अहिलेको विधि थप जोखिमपूर्ण छ भन्ने तपाईलाई लाग्दैन ? जोखिम त अवश्य छ । तर मैले कुनै साइड नलिँदा त्योभन्दा ठूलो जोखिम छ । एउटा पक्षले ममाथि जुन व्यक्तिगत कमेन्ट गरेर असफल बनाउन चुनौती दिएर हिडिरहनु भएको छ भने त्यो पनि मेरो लागि ठूलो चुनौती हो । दुईटा जोखिम मध्ये कम जोखिमपूर्ण बाटोमा म अगाडि बढेको छु । अहिलेका तपाईका सहकर्मीहरु जो आगामी चुनावमा वरिष्ठका अध्यक्षका लागि लड्दै हुनुहुन्छ । तपाईले किशोर प्रधानलाई किन छनोट गर्नुभयो ? उहाँको स्ट्रेन्थ के हो ? चन्द्र ढकालमा के कमजोरी देख्नुभयो ? दुवै जना सक्षम हुनुहुन्छ । दुवै जनाले महासंघमा धेरै योगदान गरेर यहाँसम्म आइपुग्नु भएको हो । किशोरजीको कुरा गर्ने हो भने उहाँले २५ वर्षभन्दा बढी निजी क्षेत्रको सेवा गनर््ु भएको छ । त्यस्तै चन्द्रजी पनि नेपालमा सफल व्यवसायी भनेर चिनिनु हुन्छ । मेरो उहाँहरु दुवै जनासँग बिमति छैन । मेरो एउटा कुरा मात्र के हो भने जसलाई साथ दिँदा मलाई सहयोग हुन्छ त्यसैलाई समर्थन गर्ने हो । सहमतिको सम्भावना कति छ ? हामी अझै पनि लागि नै रहेका छौं । महासंघको नेतृत्व सर्वसम्मत हुन सक्यो भने यो भन्दा ठूलो संस्थाको लागि केही हुन सक्दैन । मेरो प्रयास जारी नै छ । कसैले मिल्न चाहन्छन् भने म बाधक हुँदिन । तपाईको प्रस्ताव के हो ? कसरी मिल्न सकिन्छ ? जिम्मेवारी अगाडि पछाडि गरेर अर्थात जिम्मेवारी बाँडेर कुनै न कुनै तरिकाले मिल्न सकिन्छ । मिल्न सकिने सम्भावना म अझै पनि देख्छु । मैले चुनाव लड्ने होइन । जो चुनाव लड्छ उहाँहरुले आफै मिलेर अगाडि बढून भन्ने मेरो चाहना हो । यो विषम परिस्थितिमा काम गर्न धेरै जटिल छ । यसमा सबैले मिलेर सहमतिको आधार निर्माण गर्यो भने म बाधक हुँदिन । महासंघका सदस्यहरु यो परिस्थितिमा बैंकको ऋण कसरी तिर्ने ? कसरी कर्मचारीलाई तलब दिने भन्ने तनावमा छन् । तर यस्तो अवस्थामा तपाईहरु सेवाको लागि होइन, चुनावका लागि, भोटका लागि फोन गर्नुहुन्छ । बैठक भेला गर्नुहुन्छ । तपाईहरुलाई हामीले राइट टाइममा राइट स्टेप चालेका छैनौं भन्ने लाग्दैन ? पक्कै पनि । यो विषम परिस्थिति रहेको छ । महासंघले काम नगरेको पनि होइन । तपाई गत दुई दिन महिना हेर्नुहुन्छ भने कोरोना भाइरसले उत्पन्न समस्या समाधानका लागि हामीले शसक्त तरिकाले आवाज उठाएका छौं । धेरै समस्या समाधान पनि भएका छन् । केही समस्याहरु मौद्रिक नीतिमा पनि समाधान भएर आउँछन् । हामीले बजेटमा पनि धेरै कुराहरु समेटेर सुझाव पेश गरेका थियौं । केही सुझाव समेटिएका पनि छन् । केही अझै समाधान हुने प्रक्रियामा छन् । हामी चुनाव सँगसँगै निजी क्षेत्रका समस्या समाधानमा पनि खटिनै रहेका छौं । केही महिनादेखि तपाई अध्यक्षभन्दा बढी फ्रन्ट लाइनमा देखिनु भएको छ । यो अवधिमा तपाईले देखिने र प्रभावकारी काम के के गर्नुभयो ? कोभिड १९का कारण निजी क्षेत्रमा तरलता अभाव मुख्य समस्याका रुपमा देखापरेको थियो । यसमा व्याजदर, पुनकर्जा, कर्जा पुर्नसंरचना र थप ऋणको कुरा थियो । यी चारै कुरामा हामीले उपलब्धि हाँसिल गर्यौं । राष्ट्र बैंकले २ प्रतिशत व्याज घटाउन निर्देशन पनि दिएको छ । समयमा कर्जा तिर्नेलाई कुल व्याजमा १० प्रतिशत छुट दिएको छ । पुर्नकर्जा राष्ट्र बैंकले अझै बढी हुन सक्ने भनिरहेको छ । रिस्ट्रचरिङको पनि हामीले मौद्रिक नीतिमार्फत केही समाधान हुने हामीले आश्वासन पाएका छौं । अर्को थप ऋणको पनि हामीले माग गरेका थियौं । त्यसको मौद्रिक नीतिमै समाधान हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । उर्जामा पनि समस्या थियो । त्यसको पनि बजेटमा नै घोषणा भएको छ । हाम्रै प्रयासमा डेडिकेटेड लाइन ट्रंकलाइनको समस्यामा पनि समाधान भएको छ । केही स्टीमुलस प्याकेज पनि आएको छ । त्यसले केही समस्या समाधान पनि हुन्छ । यो तीन/चार महिनामा धेरै काम भइरहेको छ । हामीले अख्तियारको संशोधन प्रस्ताव रोक्न पनि सफल भयौं । हामीले चुनावका लागि मात्र लागिरहेका छैनौं । काम धेरै भइरहेको छ । हुन सक्छ चुनावका कारण हामीले गरेका हाम्रा कामहरु प्रचार गर्न पनि चुक्यौं । श्रम सम्बन्धि उच्च स्तरीय कार्यदल पनि बनेको छ त्यसको बारेमा के हुँदैछ ? हामीले सुरुदेखि नै लकडाउनकमा घर बसेका श्रमिकहरुलाई ५० प्रतिशत र काममा रहेकालाई सत प्रतिशत तलब दिने भनेका थियौं । जव सरकारले सबैलाई शतप्रतिशत दिनु पर्छ भन्यो । काम गर्न कोही पनि आएनन् । यसले एकदमै महत्वपूर्ण उद्योगहरुमा पनि श्रमिकहरु नहुँदा समस्या उत्पन्न भयो । लकडाउनको कारण धेरै उद्योग व्यवसायहरु समस्यामा परेकोले धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था पनि आएको छ । सबैको श्रमिकको ग्यारेन्टी पनि हामी गर्न सक्दैनौं । व्यवसाय चल्दैन भने श्रमिक राखिराख्न आवश्यक पनि हुँदैन । कति कर्मचारी कटौती गर्ने भन्ने कुराको अध्ययन पनि भइरहेको छ । श्रम मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने झण्डै ५ लाख श्रमिक कटौती वा विस्थापित हुन्छन् भन्ने अनुमान गरेको छ । यसको बारेमा के गर्ने भन्ने बारे छलफल पनि भइरहेको छ । चैत महिनाको तलब पुरै भुक्तानी गरेर अन्य महिनाको घरमा बसेकालाई ५० र काम गरिरहेकालाई शतप्रतिशत भुक्तानी गर्नुपर्छ भनेर हामी भनिनै रहेका छौं । आशा गरौं यसको चाँडै समाधान हुन्छ । अहिले धेरै श्रमिकहरु चैतको पनि तलब पाएनौं भनेर आवाज उठाइरहेका छन् । यो विषयमा तपाईहरुले उचित व्यवस्थापन तथा समाधान गर्न नसकेको हो ? धेरै साथीहरुले पहिला उद्योगीले पैसा धेरै कमाएका छन् तलब भुक्तानी गर्नु पर्छ भन्ने धारणा पनि राखेका छन् । कोभिड १९ भन्दा पहिले पनि धेरै उद्योग व्यवसायहरुमा समस्या थियो । जति जे गरे पनि व्यवसाय चल्न सक्ने अवस्था छैन भनेपछि उसले कर्मचारी राखेर पनि केही हुन सक्दैन । तैपनि त्यो समस्या पहिलेको हो । अहिले त्यो समस्या विस्तारै हटेर गइसकेको छ । औपचारिक क्षेत्रले विस्तारै आफ्नो लाइन लिन थालेको छ । स्कूल कलेजका शिक्षक कर्मचारीले चैतदेखि तलव पाएनौ भनेर सडकमा आएका छन् । होटलहरुले पनि तलव दिएका छैनन् । यातायत क्षेत्रको हालत झन् खराव छ ? कसरी औपचारिक क्षेत्र विस्तारै लाइनमा आए भन्न मिल्छ ? होटल, शिक्षा, यातायातका क्षेत्रमा अलगै संघसंस्थाहरु छन् । व्यवसायका प्रकृति अनुसार नै उनीहरुका छाता संगठनहरु छन् । उनीहरु पनि छलफल मै छन् । तपाईले भनेको क्षेत्रमा हाम्रो भूमिका छैन । उद्योग वाणिज्य महासंघलाई सबै व्यवसायको छाता संगठन भनिरहँदा यसरी समस्या पर्दा त्यो हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको कुरा भन्न मिल्छ ? हामी महासंघलाई सबै व्यवसायहरुको छाता संगठन मान्छौं । तर कुनै–कुनै क्षेत्रहरुको समस्याहरुका लागि उनीहरुका आफ्नै छाता संगठन छन् । उनीहरुले कुनै निर्णय गर्छन भनेपछि हामीले त्यसमा कुनै बाधा व्यवधान र हस्तक्षेप गर्दैनौं । तपाई महासंघको अध्यक्ष भइसकेपछि निजी क्षेत्रलाई कसरी रुपान्तरण गर्नु हुन्छ । महासंघलाई कसरी ड्राइभ गर्नुहुन्छ ? मैले मुख्य गरेर चार/पाँच वटा योजना बनाएको छु । अहिले निजी क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई प्रोडक्टीभ क्षेत्रमा लगानी बढाउन कसरी प्रोत्साहित गर्ने भन्ने मेरो एजेण्डा छ । यसको बारेमा मैले विस्तृत अध्ययन गरेको छु । यसको लागि योजनाहरु पनि बनाउँदैछु । अर्को संगठन भित्रको कुरा पनि छ । महासंघको विधान नयाँ हुनु पर्छ भन्ने कुरा छ । यसबारे सबै नगरजिल्लाका साथीहरु पनि भनिनै रहेका छन् । सबैले चाहेको जस्तो विधान बनाउनु पर्छ । त्यो समयमै आउनु पर्छ भन्ने हो । हामी नेपाल उद्योग वाणिज्य महासंघलाई अझै व्यवसायिक बनाउन चाहन्छौं । त्यसमा मेरो जुन विषशेज्ञता छ यसमा म प्रतिवद्ध भएर लाग्नेछु । त्यसपछि निजी क्षेत्रका जुन नीतिगत समस्याहरु छन् त्यसमा मैले पुरा योजना बनाएको छु । कुन–कुन ऐन कानुन बाधा अड्चन गर्ने खालका छन्, त्यसमा के सुधार गर्नुपर्छ, कसरी गर्नुपर्छ । त्यसको लागि रोडम्याप पनि बनाएको छु । यसको पुरै डिटेल सही समयमा सबै साथीहरुलाई सेयर पनि गर्छु । अहिले पनि सरकारले धेरै क्षेत्रमा लाइसेन्स बन्द गरेको छ । सरकारले मूल्यमा रेगुलेट गर्छ र नाफामा कन्ट्रोल गरिरहेको छ । बस्तु तथा सेवाको गुणस्तरमा सरकारी नियमन छैन । यो अर्थतन्त्र विकासको र निजी क्षेत्रको विकासका लागि ठूलो वाधा हो । यस्ता वाधा हटाउन तपाईको भूमिका कस्तो हुन्छ ? पक्कै पनि हामीले न्यूनतम रेगुलेट होस् भनिरहेका छौं । प्रतिस्पर्धाले नै त्यसको मूल्य तोकोस् भन्ने हाम्रो सोच र माग पनि हो । सरकारले त्यो प्रतिस्पर्धा सही तरिकाले भइरहेको छ भन्ने प्लेटफर्म तयार गरोस् भन्ने हो । त्यसको गुणस्तरदेखि त्यसको मूल्य खुल्ला बजार अर्थतन्त्रले सेट गर्छ । जहाँ रेगुलेसन हुन्छ त्यहाँ अर्को समस्या र विकृति आउँछ । हाम्रो उत्पादित वस्तुको रेगुलेट र मूल्य तोक्ने काम उपभोक्ताले नै गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । अनुगमन गर्ने सरकारको अधिकारको कुरा हो । जव त्यसमा बनावटी अनुगमन गरिन्छ त्यहाँ झन लगानीको वातावरण बिग्रदै जान्छ । सरकारले अनुगमन गर्नुपर्छ तर त्यसमा आचारसंहिता हुनुपर्छ । अनुगमन जब न्यायिक निश्कर्षमा पुग्दैन कुनै पनि हालतमा उसको मानमर्दन गर्न पाइँदैन ।