बीमा कम्पनीले नयाँ बिजनेससँगै पोलिसी ल्याप्स कसरी कम गर्ने भन्नेतिर ध्यान दिनुपर्छ

विश्वमा कोरोना भाइरस महामारीका कारण उत्पादनमूलकदेखि सेवा मुलक क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । सोही अवस्थामा अत्यावश्यक सेवाभित्र पर्ने बीमा क्षेत्रले आगामी दिनको योजना के कस्तो छ भन्नेमा सबैको चासो छ । बीमा समितिले ल्याएको कोरोना बीमा कार्यक्रमले बीमा कम्पनीको वित्तीय स्थायित्वमै असर पर्ने त होइन भन्ने चिन्ता पनि गर्न थालिएको छ । यस्तै अवस्थामा बीमा क्षेत्रले कस्तो रणनीति अपनाउँला, भोलिको बीमा बजार कस्तो होला भन्नेलगायतका विषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि बीमा बजारमा के कस्ता परिवर्तन आउन सक्छन ? कुनै पनि घटना घटिसकेपछि यसले केही न केही रूपमा असर त गर्छ नै । तर, त्यसले चुनौति सँगसँगै यसले अवसर पनि ल्याएको हुन्छ । हाल बीमा क्षेत्रमा कोरोनाले ल्याएको चुनौतिलाई अवसरको रूपमा परिणत गर्ने समय आएको छ । बीमा क्षेत्रमा रहेको परम्परागत कार्यशैलीलाई प्रविधिमैत्री र समयसापेक्ष सेवा प्रवाहको नयाँ कार्यशैलीमा रूपान्तरण गर्नुपर्दछ । अबका दिनमा बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखलाई अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था गर्नुपर्ने तथा बीमाका उपकरण र क्षेत्रलाई पनि विविधिकरण गर्नुपर्ने हुन्छ । हालको महामारीको अवस्थालाई समेत समेट्ने गतिशील बीमालेख बनाउनु पर्छ भन्ने बिषय यस अवस्थाले सिकाएको छ । जीवन बीमा बिक्री गर्ने पहिलो पक्ष अभिकर्ता हुन् । यो समयमा अभिकर्ताहरूलाई प्रविधिमैत्री बनाई बीमा बजारको विकास गर्नु पर्दछ । जनताको परिवर्तित चाहाना बमोजिमका बीमालेख ल्याउन सकेमा कम्पनी अगाडी बढ्न सक्नेछन् । र, जनताले स्वतः बीमा पोलिसी खरीद गर्ने अवस्था आँउछ । बीमा कम्पनीहरूले स्वास्थ र कृषि क्षेत्रमा उत्पन्न हुने आर्थिक जोखिमको सुरक्षण प्रदान गरी राज्यको नीति अनुरूपको सर्वसुलभ स्वास्थ्य तथा व्यवसायिक कृषि प्रणालीमा टेवा पुर्याउन ध्यान दिई बीमालेखहरू तयार गर्नु पर्छ । नियमकको हिसबले यस कठिन अवस्थामा सरोकारवाला निकायसँग कसरी समन्वय गरिरहनु भएको छ ? वास्तवमा नियमक निकाय भनेको सहजकर्ता पनि हो । यसले आफ्ना सरोकारवालाहरूसँग समन्वय गरेर यस्तो बिषम परिस्थितिमा पनि कोरोना भाइरस बीमालेख ल्याई बीमामा नविनतम अभ्यासको शुरूवात गरेको छ । बीमा समितिले नेपाल बीमक संघ, जीवन बीमक संघ, लगानीकर्ता, बीमा अभिकर्ता र बीमा सर्भेयर र अन्य सबै सरोकारवालाहरूसँग छलफल गरी बीमा बजारमा के कस्ता सुविधा तथा राहत प्रदान गर्न सकिन्छ भन्ने विषयमा निरन्तर छलफल तथा अन्तरकृया गरिरहेको छ । त्यसतर्फ उन्मुख भई निर्जीवन बीमातर्फ यातायात व्यवसायमा केही राहात होस् भन्ने ठानेर मोटर बीमा निर्देशिकामा छुटको व्यवस्था गरिसकिएको छ । जीवन बीमातर्फ बीमालेख धितो राखी ऋण लिएका बिमितलाई बन्दाबन्दी (लकडाउन) को अवस्थामा व्याज रकमको १५ प्रतिशत छुटको व्यवस्था गरिसकिएको छ । नेपाल सरकारसँग छलफल गरी यस्तो सेवा सुविधामा सहुलियत दिइरहेको अवस्था छ । बीमा कम्पनीहरूले धमाधम जोखिम धारण गरिरहेका छन्, यस अवस्थामा भोलि जोखिम एकसाथ आई कम्पनीलाई धान्न समस्या पर्ने स्थिति त आँउदैन ? वास्तवमा बीमा भनेको आर्थिक जोखिम हस्तान्त्रण गर्ने माध्ययम हो । बीमा कम्पनीहरूले जोखिमको केही अंश आफैले राख्दछन् र बाँकी ठूला ठूला जोखिमलाई पुनर्बीमाको माध्ययमबाट जोखिमको हस्तान्त्रण गर्ने गर्दछन् । कम्पनीले यस्तो गर्दै आएका हुन्छन् । तर, तपाईले यहाँ हालै जारी गरेको कोरोना भाईरस बीमाको बारेमा कुरा गर्न खोज्नुभएको होला । कोरोना भाईरस बीमालाई पुलको माध्ययमबाट व्यवस्थापन गर्ने व्यवस्था मिलाएका छौं । यसमा पनि नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र अन्य निर्जीवन बीमा कम्पनीहरूले ८० प्रतिशतको जोखिम लिने व्यवस्था गर्नेगरी व्यवस्था मिलाइएको हो । कोरोना भाईरस बीमाबाट नाफा बाँड्न नमिल्ने हुँदा यसको जोखिमको भार उक्त पुल र पुनर्बीमा कम्पनीबाट हुन सक्दछ । यो बीमालेख बजारमा ल्याएको १ महिना पुगेको छ । यस सम्बन्धमा नेपाल बीमक संघका पदाधिकारीसँग छलफल गरी अन्डरराईटिङ्गको व्यवस्था मिलाउन निर्देशन दिईसकेको अवस्था छ । हामीले यसलाई नजिकैबाट सुक्ष्म रूपमा प्रत्येक दिनको डाटा लिई अध्ययन गरिरहेका छौँ । हामी त्यसको जोखिमतर्फ सजक छौं । कोरोना बीमालाई निर्जीवन बीमा कम्पनीहरूले गर्न मिल्ने व्यवस्था अहिले छ, भोलिका दिनमा यसमा जीवन बीमा कम्पनीहरू पनि जोडिने कत्तिको सम्भावना देख्नुहुन्छ ? वास्तवमा अहिलेको वजारमा हाम्रा निर्जीवन बीमा कम्पनीहरूले धातक रोग सम्बन्धि बीमालेख बिक्री गरेका छन् । त्यसमा जीवन बीमा कम्पनीहरूले आफ्ना मुल बीमालेखमा राईडर थपेर बीक्री वितरण गरेको पाइन्छ । तर यो कोरोना बीमालेख बिल्कुलै फरक किसिमको बीमालेख हो । यो बीमा बीमालेख सामाजिक उत्तरदायित्वसँग जोडेर ल्याइएको हो । आजको बीमा बजारले यसलाई राम्रोसँग ग्रहण गरेको छ । यसबाट धेरै मानिसहरू बीमाको दायरामा आइरहेका छन् । जीवन बीमा गर्ने बीमा कम्पनीहरूसँग छलफल गरी हालको अवस्थामा त्यस्तो बीमालेख विक्री नगर्न जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकिएको छ । यो लघुबीमा निर्देशिकाबाट निर्देशित गरी ल्याएको हुँदा जीवन बीमा कम्पनीहरूलाई भन्दा निर्जीवन बीम कम्पनीहरूबाट उपलब्ध गराइएको हो । समितिका आफ्ना समस्याहरू पनि छन् कि ? समस्या त अवस्य नै छन् । त्यस्ता समस्याहरू पनि समाधान गर्न आफ्ना निकायहरूसँग छलफल गरी समस्याहरू समाधान गर्नेतर्फ नियामक निकाय उन्मुख छ । हाम्रा आफ्नै क्षमता विकास गर्नुपर्ने विषय हाल बजारमा उठेको छ । नियमक निकायका हिसाबले लगडाउनमा के कस्ता काम गर्दे हुनुहुन्छ र के गर्ने योजना बनाउँदै हुनुहुन्छ ? यो लागडाउन भएको आज २ महिनाभन्दा बढी भएको छ । बीमा अत्यआवश्यक सेवा अन्तर्गत पर्ने भएकाले हामीले लगडाउनको समयमा कार्यालय खोलेर आफ्नो सेवालाई निरन्तरता दिएका छौं । यो समयमा बिमितहरूलाई राहात दिने विषयमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरलाई निर्देशन दिएका छौं । यही लगडाउनको समयमा सरोकारवालाहरूसँग परामर्श तथा छलफल गरेर नै कोरोना भाईरस बीमालेख बजारमा ल्यायौं । यस समयमा हाम्रो वार्षिक उत्सव कार्यक्रम जेठ १ गते थियो । त्यो कार्यक्रम पनि हामिले वेबिनारबाट माननीय अर्थ सञ्चार तथा प्रविधि मन्त्रीज्यूलाई प्रमुख आतिथ्य ग्रहण गरी कार्य सम्पन्न गरेका छौं । अहिलेको समय बजेट अधिवेशनको समय भएको हुँदा नेपाल सरकारलाई बजेटमा बीमाका विषयवस्तुलाई प्रवेश गराउन पहलकदमीमै रहेको अवस्था छ । बीमा समितिले आफ्नो प्रशासनिक कार्यका साथै समय सापेक्ष आफ्नो बीमा बजारलाई नियमित, नियन्त्रित, व्यवस्थित र विकसित गर्ने दायित्व निर्वाह अपेक्षित रूपमा गरिरहेको अवस्था छ । सरकारबाट समितिलाई केही सशक्तिकरण गर्नुपर्ने अनुभूति गर्नुभएको छ कि ? वास्तवमा बैंकिङ, धितोपत्र र बीमा क्षेत्रलाई तुलना गरेर हेर्दा बीमा क्षेत्र अलि ओझेलमा परेको हो कि भन्ने केही महसुस त हुन्छ नै । तर, पनि वित्तीय क्षेत्रमा यसको भूमिका अहम छ । सरकारले पनि यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । समितिको सस्थागत क्षमता विकास गर्न सहयोग गर्नुपर्दछ । बीमामा सरकार स्वयम उपस्थित भएपछि हरेक आर्थिक क्रियाकलाप बलियो हुन्छ । त्यस्तै, सरकारी सम्पत्तिहरूको बीमा गरेको खण्डमा भोलिका दिनमा विपद्बाट क्षति भएको खण्डमा क्षतिपूर्ति दिने कार्य गर्दछ । यो राष्ट्रिय सुरक्षाको विषय पनि हो । बीमाको बिषयहरूलाई हाल तयार हुन गईरहेको बजेटमा प्राथमिकताकासाथ अगाडी बढाउनेछ भन्ने महसुश गरेको विषय यहाँ अनुरोध गर्दछु । यसले वित्तीय क्षेत्रमा ‘विनविन’को अवस्था ल्याउँछ । बीमा कम्पनीको शाखा कार्यालय खोल्न नसक्ने अवस्थामा बीमा बजारमा अत्याआवश्यक सेवा कसरी संचालन गर्ने केही योजना बनाउनु भएको छ ? अहिलेको अवस्थामा बीमा कम्पनीहरूले शाखा कार्यालय खोल्न नसक्ने भए तापनि उनीहरूलाई नियमकले अनलाईन सिस्टमबाट आफ्ना कारोवार गर्न भनिसकेका छौँ । लगडाउनको अवस्थामा बीमा समितिले प्रत्येक बीमा कम्पनीहरूलाई ५/५ वटा पास उपलब्ध गराई सेवा सुचारू राख्न निर्देश गरेका छौं । जीवन बीमा कम्पनीमा अभिकर्ताहरूलाई भर्चुअल तालिमको व्यवस्था गर्न निर्देशन दिईसकेका छौं । समितिले बिमकहरूलाई जारी गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाईन बिक्री गर्ने कार्यविधि तयार गर्ने गरी समितिमा पेश गर्ने निर्देशन दिईसकेका छौं । अबको बीमा बजार प्रविधिमैत्री बनाउनेतर्फ बीमा कम्पनीहरू लागिपर्नु पर्दछ । यो महामारीले सिकाएको महत्वपूर्ण पाठ यही हो जस्तो मलाई लाग्दछ । कोरोना र बीमा बजारलाई जोडेर के भन्न चाहनुहुन्छ ? अहिलेको समय भनेको बाच्ने र बचाउने समय हो । यसमा बीमा कम्पनीका कर्मचारी अधिकृतहरूले कम्पनीको अनावश्यक खर्चलाई कम गर्न के के गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनु पर्दछ । लगानीकर्ताले नाफा खोज्ने समय अहिले नहुन सक्छ । जीवन बीमा तर्फ विशेष गरेर मेरो अनुरोध नयाँ व्यवसायको साटो पोलिसी ल्याप्स हुनबाट न्यून गराउन पर्छ । अस्वस्थ प्रतिस्प्रधालाई छोडी सर्वसुलभ बीमा सेवाको उपलब्ध गराउने आजका बीमा कम्पनीहरूको कर्तव्य पनि हो । क्षतिको क्षतिपूर्ति तत्काल दिने विषयमा विशेष ध्यान दिदै बजारको विश्वसनियता कायम राख्ने कुरामा बीमाका सबै सरोकारवालाहरू सचेत हुनु जरूरी छ । बीमाको डिजिटाइजेसनको लागि जनता र बीमा सम्बन्धि सरोकारवालाहरूलाई प्रविधि साक्षरता प्राप्त गर्ने अवसरको रूपमा यसलाई लिनु पर्दछ । दुःखसुखको साथी बीमा हो भन्नेतर्फ सबैको ध्यान आकृष्ट गराउँदै बीमामा आवद्ध हुन अनुरोध पनि गर्दछु ।

अब काम गर्ने शैलीमा धेरै परिवर्तन आउँछ

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असर हरेक क्षेत्रले प्रत्यक्ष रुपमा भोग्दै आएका छन् । कोरोना महामारीकै कारण विश्वका विभिन्न मुलुकहरु लक डाउनमा छन् । महामारीसँगै विश्वमा जीवन बीमाकाे माग बढेकाे समाचार प्रकाशित भएका छन् । नेपालमा के भइरहेकाे छ ?  महामारीले नेपालको बीमा क्षेत्रमा कस्तो असर गरिरहेकाे छ ? नयाँ परिस्थितिमा बीमा कम्पनीहरू के साेचिरहेका छन् ?  रिलायबल लाइफ इन्स्योेरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीसँग विकासन्युजका लागि नबिन पोखरेलले यिनै विषयमा कुराकानी गरेका छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभाव नेपालको जीवन बीमा क्षेत्रमा कस्तो छ ? जीवन बीमामा अहिले तत्कालको लागि भन्ने हो भने धेरै शाखा कार्यालयहरु खोल्न सकिने अवस्था छैन । नयाँ व्यापार पनि आउन सकेको छैन । नविकरण पनि निकै कम भइरहेको छ । त्यस्तै अर्कोतर्फ बैकहरुले दिएको व्याज पनि दुई, साढे दुई प्रतिशतले घटेको छ । यसरी बीमा क्षेत्रमा तत्कालको लागि कोरोना महामारीले नकारात्मक असर पारेको छ । तर कोरोना महामारीबाट बाहिरीएपछि मानिसहरुलाई जति बेला जेपनि हुँदो रहेछ, नसोचेका जोखिम जीवनमा आईलाग्दा रहेछन् भन्नेमा सबैजना सचेत हुनुपर्छ । यस्ता जोखिमका लागि आर्थिक रक्षावरण गर्न समयमै जीवन बीमा गर्नेहरुको संख्या बढ्न सक्छ । वैदेशिक रोजगारमा पुगेकाहरु स्वदेश फिर्ता हुने सम्भावना धेरै छ । भोलिको आर्थिक अवस्था कस्तो रहला त्यो त ठ्याक्कै अनुमान गर्न मिल्दैन । आर्थिक समस्या एउटा पाटो हो तर जीवन बीमा भनेको आवश्यक कुरा हो । यतिबेला कुनैपनि कम्पनी चलाउन सजिलो छैन । प्रमुख कार्यकारी अधिकृतको हैसियतले कम्पनीको व्यवस्थापकिय नेतृत्व कसरी गर्दै हुनुहुन्छ ? साधारणतया हामीले अहिले प्रविधिको सहयोगबाट काम गरिरहेको अवस्था छ । यही समयमा हामीले कर्मचारीहरुको व्यक्तित्व विकास हुने खालका अनलाईन तालिम समेत गरिरहेका छौँ । आफ्नो स्वास्थ्य, परिवारको स्वास्थ्य, हाम्रो स्टेकहोल्डर तथा अभिकर्ता साथीहरुको स्वास्थ्यको ख्याल गर्नु पर्ने अवस्था छ । राज्यको लक डाउनको समेत हामीले पालना गर्नुपर्ने कुरा त्यतिकै जरुरी छ । भोलि प्रविधिबाटै बीमा सेवा दिन डिजिटल सिग्नेचरलाई मान्नु पर्ने हुन्छ । सोही विषयमा हाम्रो नियामक बीमा समितिसँग छलफल पनि भइरहेको छ । अहिले दिन बिराएर प्राशासनका साथीहरु अफिस आईरहेका छौं । हप्तामा एक दिन हामीले शाखा पनि खोल्ने प्रयास गरेका छौं । मुलुक लकडाउनमा परेको दुई महिना भयो । यस्तो बेलामा नियामक निकाय बीमा समिति तथा सरोकारवाल पक्षबाट कस्तो सहयोग पाइरहनु भएको छ ? बीमा समितिले पनि कतिपय अवस्थामा अहिले बुझाउनु पर्ने शुल्कहरु पछि बुझाउन मिल्ने सुविधा दिएको छ । यस्तै, अभिकर्ताहरुको नविकरणहरुको जरिवाना नलाग्ने बनाएर पछिको लागि सारिएको छ । बीमा समितिले परिस्थिति हेरेर समयको आवश्यकता अनुसारको निर्देशन दिईरहेको छ । साथै, बीमा कम्पनीहरुले दिएका सल्लाय सुझावलाई समितिले सकारात्मक रुपमा लिएको अवस्था छ । अहिलेकोे अवस्थामा बीमा कम्पनीहरु राम्रोसँग अडिन सकेमा भोलिका दिनमा उनीहरुले दिने सेवा सुदृढ हुनेछ । कम्पनीहरुको निरन्तरता नै अहिलेको प्राथमिकता हो । यस्तो कुरा बीमा समितिले राम्रोसँग बुझेको देखिन्छ । कोरोना महामारीले भर्चुअल वल्र्डको महत्व बढेको छ । रिलायबल लाइफले दिने कुन कुन सेवा डिजिटल्ली उपलब्ध छन् ? हाम्रो अनलाईनबाटै बीमा पोालिसी खरिद गर्न सकिने व्यवस्था छ । अर्को भनेको विभिन्न अवस्थामा भौतिक कारोवार नगरिकन डिजिटल्ली भुक्तानीको सेवा दिइरहेका छौँ । हामीले सबै सरोकारवालाहरुलाई आफ्नो वेव साइटमा सम्पर्क नम्बर राखेर कुनै किसिमका समस्या आएका सम्पर्क गर्न भनेको छौं बीमित, अभिकर्ता वा कम्पनीबाट सेवा लिन चाहाने जो कोहीले पनि आफ्नो भनाई कम्पनीको कर्मचारीसँग राख्न सक्नुहुनेछ । सकेसम्म हामी उहाँहरुको माग अनुसार सेवा दिने प्रयास गरिहेका छौं । रिलायवल लाइफको कुन बीमा पोलिसीले कोरोना महामारी पीडितलाई आर्थिक सुरक्षा प्रदान गर्छ ? हामीले कोरोना विशेष प्रोडक्ट ल्याएका छैनौ । प्रोडक्ट ल्याउन पनि प्रकृया केही लामै छ । पहिले प्रोडक्ट डिजाइन गरेर, त्यसलाई बीमा समितिमा पठाउनु पर्छ । साथै, यसरी पठाएको प्रोडक्ट डिजाईन एक्चुरीको तर्फबाट पनि जाँचबुझ गर्न आवश्यक हुन्छ । त्यसपछि बीमा समितिले स्वीकृत दिन्छ । अहिलेको परिस्थितिमा नयाँ पोलिसी जारी गर्न झन बढी समय लाग्छ । तत्कालका लागि हामीले विगतबाट संचालनमा ल्याएका बीमा पोलिसीहरु बिक्री गरिरहेका छौँ । लक डाउन खुले पश्चात हामीले कस्तो किसिमको प्रोडक्टको आवश्यकता बजारलाई छ भन्ने बुझेर नयाँ प्रोडक्ट ल्याउछौँ । चैत्र मसान्तको वित्तीय सूचक कस्तो रहयो ? चैत्र मसान्तको वित्तीय तथ्याङ्ककरु राम्रै आएका छन् । अझै केही सूचक तयार हुँदैछ । बीमाशुल्क संकलन बीचमा बन्द भयो । यसरी बीमाशुल्क रोकिदा पनि हामी गत वर्षको भन्दा केही वृद्धि कै अवस्थामा छौँ । आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ? सबैभन्दा पहिला त हामीले तत्काल गर्नै पर्ने कामहरु कोरोनाबाट बचेर गर्नु पर्ने अवस्था छ । आगामी दिनमा पनि स्थिति त्यति सहज हुने देखिदैन । सोही कारण डिजिटल्ली नै अघि बढ्ने हाम्रो योजना रहेको छ । एकातिर व्यवसाय कसरी वृद्धि गर्ने भन्ने चुनौति छ भने खर्च व्यवस्थापन अर्को चुनौति छ । त्यस्तै, ग्राहकसँगको सम्पर्क बढाउनु पर्नेछ । अबको दिनमा मानिससँग पैसा कम हुनसक्छ । विदेशबाट आउने रेमिट्यान्स रकम घट्दै छ । आम मानिसको आम्दानी घट्दैछ । यस अवस्थामा सस्तो अर्थात कम बीमा शुल्क हुने किसिमका बीमा पोलिसीको माग बढ्ने देखिन्छ । चुनौतिहरु धेरै छन् तर पनि वार्षिक २५/३० प्रतिशतको व्यवसाय वृद्धिले निरन्तरता पाउँछ भन्ने हाम्रो अनुमान छ । कोरोना महामारी अघिको बीमा बजार तथा महामारी पछिको बीमा बजारमा के कस्ता परिवर्तन आउने सम्भावना छन् ? मुख्यत हाम्रो काम गर्ने शैली (अपरेशन मोडल) मा पक्कै परिवर्तन आउँछ । हाम्रा सेवाहरु अनलाइन प्रणालीमा आधारित हुनेछन् । डिजिटल कारोबारले प्राथमिकता पाउने छ । बैंक खाताबाट बीमा शुल्क भुक्तानी, बैंक खाताबाटै बीमा रकम भुक्तानी हुन्छ । नयाँ पोलिसी लिने देखि नविकरणसम्मका काम इन्टरनेटको माध्यमबाटै हुने अभ्यास बढ्दै जाने देखिन्छ । महामारीको बेलामा मानिसहरुले अताल्लिएर बीमा गर्न चाहेका छन् कि ? नयाँ बीमालेख जारीको अवस्था कस्तो छ ? अहिले पनि हामीले कसैले बीमा गर्छु भन्दा हामीले गरेका छौँ । लक डाउनको अवस्थामा बीमा गर्न चाहने व्यक्तिको हामीले बीमा गरि नै रहका छाँै । तर मार्केटिङ्कका लागि भने केही समस्या भएको अवस्था छ । जीवन बीमामा २० लाख रुपैयाँ भन्दा बढीको मेडिकल गर्नु पर्ने हुन्छ । मेडिकल गर्न अहिले व्यक्ति भेटन पनि त्यति सहज वतावरण छैन । तर सो भन्दा बाहेकका हामीले गर्न मिल्ने सम्मका बीमा सेवालाई निरन्तरता दिई रहेका छौँ ।

लकडाउनमा दिएको सुविधाले नाफा घट्ने सरकारी बैंकको धारणा, राष्ट्र बैंक भन्छः पोहोरको भन्दा कम हुँदैन

काठमाडौं । सरकारी लगानी समेत रहेका तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनले आफूहरुको नाफा कम हुने बताएका छन् । राष्ट्र बैंकले लकडाउनको अवधिमा ऋणको किस्ता तिर्ने ऋणीलाई व्याज रकम १० प्रतिशत छुट दिन र १५ लाख रुपैयाँभन्दा कम ऋण रकममा २ प्रतिशत छुट दिन गरेको नीतिगत निर्णयले आफूहरुको नाफा प्रभावित हुने बताएका हुन् । विकासन्युजले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गरेको भर्चुअल भिडियो कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृतहरुले यस्तो धारणा राखेका हुन् । ‘चैत मसान्तमा उठ्नुपर्ने व्याज रकमको ५७ प्रतिशत मात्रै उठ्यो, नउठेको ४३ प्रतिशत व्याज रकम नै १ अर्ब ८ करोड रुपैयाँ थियो, व्याज रकम १० प्रतिशत छुट दिँदा नै १२ करोड रुपैयाँ कम भयो, असार मसान्तमा पनि यसरी छुट दिँदा हाम्रो बैंकको मात्रै व्याज आम्दानी ४५ करोड रुपैयाँ कम हुने देखिएको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले भने । राष्ट्र बैंकले तोके अनुसार २ प्रतिशत व्याज छुट दिँदा आफ्नो बैंकको व्याज आम्दानी करिब ९० करोड रुपैयाँ कम हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले चालु आर्थिक वर्षको चैत ९ अघिसम्म बैंकको नाफा उत्साहजनक नै भएपनि लकडाउनपछिको अवस्था विश्लेषण गर्दा नाफा उच्च नहुने बताए । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले अहिलेको परिस्थिति नै प्रतिकुल रहेकोले सबैले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठान बचाउनको लागि कर्जामा सुविधाको नीतिगत व्यवस्था गरिएको भन्दै उनले यस्तो सुविधा लामो समयसम्म दिन नसकिने बताए । ‘यो महामारीको बेलामा एकअर्कालाई सहयोग गर्नुको विकल्प छैन, बैंकहरुले पनि सामाजिक लागतको भार व्यहोर्नु परेको हो, देशलाई अप्ठेरो परेको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्छ,’ डा. भट्टले भने । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बैंकको व्यालेन्ससीट विग्रने चिन्ता गरिरहेका बेला प्रवक्ता डा. भट्टले भने राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बैंक नोक्सानीमै जाने अवस्था भने नआउने दाबी गरे । ‘लामो समय लकडाउन गरेर बस्न सकिदैन, अन्य देशको उदाहरणले पनि यही देखाएको छ, त्यसैले कोरोना महामारीको समयमा दिइएको सुविधा पनि लामो समयसम्मको लागि होइन, त्यसैले बैंक नै नोक्सानीमा जाने वा अन्य यस्तो अप्ठेरो अवस्थामा बैंक पुग्न सक्ने अवस्था आउँदैन, चालु आर्थिक वर्षमा बैंकहरुले गत वर्षको हाराहारीमा नै नाफा गर्ने देखिएको छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने । राष्ट्र बैंकले तोकिएको कर्जाहरुमा २ प्रतिशत व्याज कम गर्न निर्देशन दिएपछि बैंकहरुले निक्षेपमा १ देखि साढे १ प्रतिशतसम्म व्याज घटाएका छन् । नेपाल बैंकर्स एसोसिएसनले निर्णय गरेर नै निक्षेपको व्याज घटाइएको प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् । एसोसिएसनले निक्षेपको व्याज कम गरेकोप्रति भने नेपाल राष्ट्र बैंकले मौन समर्थन गरेको छ । व्याजदर स्थीर हुनुपर्ने भएपनि विशेष परिस्थितिमा विशेष निर्णय गरेर अघि बढ्न सकिने प्रवक्ता डा. भट्टले बताए । यद्यपि उनले निक्षेपको व्याजदरलाई मुद्रास्फीतिदरसँग ‘एङ्करिङ’ गर्न आवश्यक रहेको धारणा राखे । सो छलफलको विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।