धितोपत्र राफसाफ एकैदिन हुने व्यवस्था गर्दैछौंः डा रेवतबहादुर कार्की

धितोपत्र बोर्डले शनिबारमात्रै आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाएको छ । धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको बोर्डको स्थापना २०५० माघ २५ गते भएको थियो । धितोपत्र बजारको २६ वर्षे छोटो इतिहासका बाबजुद यो क्षेत्रले नयाँ प्रविधि र अभ्यासलाई आत्मसात गर्दै अघि बढिरहेको छ । यद्यपि यो बजारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि अझै धेरै प्रयासहरू गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रस्तुत छ बोर्डको वार्षिकोत्सवको अवसरमा धितोपत्र बजारको हालको अवस्था, समस्या र आगामी योजनाबारे केन्द्रित रहेर बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग गरिएको विकास बहसः धितोपत्र बोर्डले २७ औं वार्षिकोत्सव मनाउँदै गर्दा यो अवधिमा बोर्डले गरेका कामहरुको समीक्षा कसरी गर्नुहुन्छ ? वार्षिकोत्सवको मुख्य उद्देश्य भन्नु नै विगतका आफ्ना सफलता र असफलताको सिंहावलोकन गर्ने हो । विगतको सफलताले थप नयाँ काम गर्ने अभिप्रेरणा मिल्छ भने असफलतालाई सच्याएर अघि बढ्न पनि सकिन्छ । त्यसैले हाम्रो २७ औं वार्षिकोत्सवले पनि हामीलाई हाम्रो विगतको ‘रिभ्यु’ गर्ने अवसर दिएको छ, यस अर्थमा यो वार्षिकोत्सव महत्वपूर्ण छ । खासगरी २६ वर्षको यो अवधिमा विशेषतः पुँजी बजारको विकासका लागि धेरै कामहरु भए । अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेका बजार प्रणालीका राम्रा अभ्यास र प्रविधिलाई आत्मसात गर्दै हामीले पुँजी बजारलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने सम्दर्भमा काम गरेका छौं । कराएर शेयर खरिद बिक्री गर्ने हाम्रो प्रणाली छोटो अवधिमै अटोमेटेड बन्न सकेको छ । धितोपत्र राफसाफ हुन ५-६ महिना लाग्ने अवधि ३ दिनमा झरेको छ । यसलाई अझै १ दिनमा ल्याउने तयारी छ । शेयर आवेदनका लागि घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य भई इलेक्ट्रोनिक डिभाइससम्म लगानीकर्ताको पहुँच आइपुगेको छ । यसरी आम लगानीकर्ताहरूले महसुस गर्न सक्नेगरी हामीले बजारको विकास र विस्तार गरेका छौं । त्यसबाहेक पनि बजारका विभिन्न स्टेक होल्डरहरूको गतिविधिहरुलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउने काम पनि हामीले गरेका छौं । समग्रमा बजारको विकासका लागि हाम्रो प्रयासलाई हामी उत्साहप्रद नै मान्छौं, यसमा अझै धेरै अघि बढ्नुपर्ने र धेरै गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं, भोलिका दिनमा यस्ता आवश्यकताहरुलाई पूरा गर्नेतर्फ हाम्रो पाइला अघि बढु्ने छ । धितोपत्र राफसाफ हुन ५-६ महिना लाग्ने अवधि ३ दिनमा झरेको छ । यसलाई अझै १ दिनमा ल्याउने तयारी छ । बोर्डको अध्यक्षको हैसियतमा तपाईको ४ वर्षे कार्यकाल सकिन लागेको छ । आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? सरकार तथा नियामक निकायले गर्ने भनेको बजार सुधारका कामहरु हुन् । बजारलाई कसरी प्रभावकारी, बहुआयामिक तथा पारदर्शी बनाउने भन्ने हो । पछिल्लो दशकमा हामीले ओटीसी बजार सञ्चालन तथा शुल्क कटौती, अनलाइन ट्रेडिङ, आश्वा प्रणाली आदि जस्ता थुप्रै व्यवस्था ल्याई कार्यान्वयन गरिसकेका छौं । जसले गर्दा प्राथमिक बजारमा लाखौं लगानीकर्ताले घरबाटै शेयर बजारमा लगानी गर्न तथा शेयर किनबेच गर्न पाएका छन् । त्यस्तै, धितोपत्रको सार्वजनिक निष्कासनमा १० कित्ता पाउने समावेशी वितरण प्रणालीको शुरुवात भएको छ । १० कित्ताको लागि पनि आवेदन गर्न सक्ने व्यवस्थाले विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढेको छ । त्यस्तै, चालू आवको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढ्ने देखिएको छ । भारतमा आश्वा प्रणाली अनिवार्य गर्न ८ वर्ष लागेको तर हामीले यसलाई ६ महिनामै अनिवार्य गरेको हौं । ९० दिनसम्म बैंकमा जम्मा हुने लगानी अहिले एक हप्ताको अवधिमै फर्किन्छ । त्यस्तै, आईपीओ बाँडफाँड भएपछि कारोबार हुन पहिला ६ महिना लाग्थ्यो । अहिले एक/दुई हप्ता अर्थात ढिलामा एक महिनाभित्रै दोश्रो बजारमा कारोबार गर्न पाइने छ । यति हुँदा पनि कति राम्रो भएको छ भने कतिलाई अप्ठ्यारो भइरहेको होला । किनकी यहाँ राम्रो कामको मूल्याङ्कन र प्रशंसा नगर्ने चलन छ । हकप्रद तथा बोनस सेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था, धितोपत्रको प्रिमियम गणना विधि र प्रकृया निर्धारण, धितोपत्र सार्वजनिक निष्कासनमा प्राकृतिक व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था लागू भएको छ । त्यस्तै, दोस्रो बजारमा धितोपत्रको कारोबार वृद्धि हुँदै गएकोले भुक्तानी प्रक्रियालाई सहज बनाउन ४ वटा क्लियरिङ्ग बैंक(ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट र प्रभु) थप भएका छन् । ओटिसी बजारको विकास र कारोबार शुल्कमा कटौती, मर्चेण्ट बैंकरको कार्यक्षेत्र थप तथा चुक्ता पुँजी वृद्धि, दलाल व्यवसायी सेवा शुल्कमा कटौती र धितोपत्र दलाल व्यवसायीको पूँजी वृद्धि तथा वस्तु विनिमय बजार ऐन र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ लागू भएको छ । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण धेरै बढेको छ । बजारमा आएका नयाँ आईपीओहरूमा देखिएको लगानीकर्ताको संख्या र सेन्ट्रल डिपोजिटरीको डिम्याट संख्याले यसलाई प्रमाणित गर्छ । त्यस्तै, क्रेडिट रेटिङ्ग नियमावली अन्तर्गत तोके बमोजिम योग्यता पुगेका विदेशमा स्थापित भई क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा ५१ प्रतिशत र बढीमा ७५ प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानुन बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था भएको छ । बोर्डले विभिन्न कोणबाट सुधार गरिरहेको छ । पहिले संस्थाको क्षमता बढाउन संस्थागत सुधार जस्तै, २२-२३ जना कर्मचारीमा अहिले बढेर करिब ७५ जति पुगेको छ । त्यस्तै, विभिन्न लगानीकर्ताहरुको गुनासो सुनि त्यसलाई कसरी समाधान गर्ने भन्ने तर्फ लागि परेका हुन्छौं । प्राथमिक बजार, दोश्रो बजार, मर्चेन्ट बैंकिङ सेवा, ब्रोकरको मात्र नभई संस्थागत सुधार समेत गरिरहेको छ । यति मात्रै नभइ हामीले अन्तर्राष्ट्रिय बजारमा पनि आईओएससीओ, एएनएनए, ओईसीडी आईएनएफई, एएफआईई/एसएएसआरएफको सदस्यता प्राप्त गरिसकेका छौं । जसका लागि हामी २०५० सालदेखि निरन्तर प्रयासमा रहेका थियौं । यससँगै धितोपत्र बजार अन्तर्राष्ट्रियकरण भएको र लगानीकर्ताहरूले बजारको गहिराइ हेर्न पाउने भएका छन् । हाम्रो काम भने बजार सुधार गर्ने, नयाँ नयाँ प्रडक्टहरु ल्याउने हो । यस सन्दर्भमा मार्जिन ट्रेडिङ, ओपन इन्ड म्युचअल फण्ड स्किम, भेन्चर क्यापिटल जस्ता योजनाहरू बजारमा ल्याइसकेका छौं । जुन भारतमा बाहेक अन्य देशमा छैनन् । यस्ता प्रडक्टहरू हामीले लगानीकर्ताहरूको पोल्टामा राखिदिएका छौं । अब त्यसलाई के कसरी प्रयोग गर्ने, मार्केटलाई कहाँ लैजाने भन्ने कुरा लगानीकर्ताको हातको कुरा हो । यस्तो अवस्थामा अब कसले कति गर्यो, के के हुनुपथ्र्यो भन्नेजस्ता कुराहरु सापेक्ष विषय हुन् । बजारको सुधारका लागि धेरै कामहरु गर्ने प्रयास गरेको छु र आफ्नो कार्यअवधि रहुन्जेल थप कामका लागि अघि बढ्नेछु । तर मेरो कार्यकालको समीक्षा भने म आफैं गर्दिँन, तपाईँहरु (पत्रकार) र आम लगानीकर्ताले नै मेरो कार्यको समीक्षा गरुन् । बजार सुधारको लागि यतिका काम भइरहँदा पनि लगानीकर्तामा अपेक्षित उत्साह चाहिँ किन नदेखिएको ? पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण धेरै बढेको छ । बजारमा आएका नयाँ आईपीओहरूमा देखिएको लगानीकर्ताको संख्या र सेन्ट्रल डिपोजिटरीको डिम्याट संख्याले यसलाई प्रमाणित गर्छ । त्यसैले यसमा लगानीकर्ता आकर्षित छैनन् भन्ने होइन, यो बजारमा धेरै आकर्षण देखिएको छ । तर तपाईले दोस्रो बजारकोे कुरा गर्नुभएको होला । दोस्रो बजारलाई कन्ट्रोल गर्ने भनेको डिमान्ड र सप्लाईले हो । बजारमा रहेका कम्पनीहरुको पुँजी वृद्धिले गर्दा यसको आपुर्ति बढ्यो, पछिल्ला केही वर्षहरूमा बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पुगे, त्यहीअनुसार अन्य बैंक, वित्तीय संस्था, बीमा कम्पनी र अन्य सूचीकृत कम्पनीहरुको पुँजी बढिरहेको छ । तर त्यसअनुसार माग पक्ष बढ्न सकेन । दोश्रो कुरा, निरन्तर जस्तो भएको तरलताको अभाव, जसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भयो । सबैलाई थाहा छ, बैंकको ब्याजदर र सेयर बजारबीच विपरित सम्बन्ध छ । यसका साथै, वित्तीय साक्षरता कम छ त्यसैले नि बजारमा बढी हल्ला हुने गर्छ । धेरै वर्षदेखि एनआरएनको लगानी दोश्रो बजारमा भित्र्याउने कुरा चलिरहेको छ । त्यो ठ्याक्कै भित्रिने दिन चाहिँ कहिले आउँछ ? एनआरएनको विषयमा बजारमा जे जसरी हल्ला चलिरहेको छ, त्यो सबै नबुझेर हल्ला फैलिएको हो । जब म स्टक एक्स्चेञ्जको सीईओ थिएँ । त्यसबेला ट्रेडिङ अटोमेसन गरेपछि एनआरएन ल्याउने पर्यो भनेर प्रयास मात्र नभई अध्ययन समेत गरेको थिए । त्यो सन्दर्भमा एनआरएनको लागि श्रीलंकन मोडल सबैभन्दा उत्तम मानिन्थ्यो । एनआरएन जुन विकसित मुलुकमा मात्रै हुन्छ, त्यसैले उनीहरुलाई विकसित मुलुकमा जस्तै सुविधा नदिई यहाँ आउनेवाला छैनन् । त्यसैले हामीले २०७२ माघबाट टी प्लस टी गर्यौं र अहिले अनलाइन भइसकेका कारणले त्यसको आधार तयार भएको हो । तर अझै पनि हाम्रो बजार एनआरएनलाई आकर्षण गर्ने किसिमको बनिसकेको छैन । आगामी आवको बजेटले पनि त्यसलाई सम्बोधन गरेको छ साथै, अर्थ मन्त्रालयको कमिटिले पनि यस विषयमा अध्ययन गरिरहेको छ । हाम्रो काम भने बजार सुधार गर्ने, नयाँ नयाँ प्रडक्टहरु ल्याउने हो । यस सन्दर्भमा मार्जिन ट्रेडिङ, ओपन इन्ड म्युचअल फण्ड स्किम, भेन्चर क्यापिटल जस्ता योजनाहरू बजारमा ल्याइसकेका छौं । अहिलेसम्मको अध्ययनले एनआरएनले लगानी गर्न पाउने त्यस्तो के के व्यवस्था गरेको छ ? यसमा तीन वटा कुरा हुन्छ । पहिलो त न्यूनतम कति लगानी गर्न दिने, दोस्रो अधिकतम कति दिने र तेस्रो कति वर्षदेखि कति लाभांश लैजान दिने ? करका विषयमा समेत स्पष्टता हुनु पर्यो । यसपछि हाम्रो बजार हेरेर मात्र उक्त लगानीको बाटो खुला गरिने छ । मुख्य कुरा त विदेशीहरू लगानी गर्न तत्पर हुनु पर्यो । नत्र उनीहरुलाई दोस्रो बजारमा भित्र्याउनु हाउँगुजी होइन । बजारमा सबैले एनआरएनलाई दोश्रो बजारमा भित्र्याउने विषयलाई हाउगुजी जस्तै मानिरहेका छन् । तर तपाईले होइन भन्नुभयो । किन ? के कारणले यसलाई सहजरुपमा लिनुभयो ? हो त, एनआरएनलाई दोस्रो बजारमा भित्र्याउनु हाउँगुजी होइन किनभने अघि नै भनिसके कतिदेखि कतिसम्म लगानी गर्न दिने र कति वर्षदेखि लाभांश लैजान दिने भन्ने बारेमा स्पष्ट हुनुपर्यो । यसका साथै, १० हजारबाट कारोबार गर्न दिने भन्ने भयो भने उनीहरूले १० हजार डलरको खाता वाणिज्य बैंकमा खोलेपछि त्यसलाई नेपाली मुद्रामा कारोबार गर्न सजिलै पाउँछ । किनकी उनीहरुले नेपालको नागरिकता दिने भनिएको छ । तर हामीले बजारलाई भने अझ पारदर्शी र प्रभावकारी बनाउनु पर्छ । वित्तीय साक्षरताको सन्दर्भमा धितोपत्र बजारमा नयाँ लगानीकर्ता भित्र्याउन बोर्डले के-कस्तो सचेतना कार्यक्रम गरेकोे छ ? हामीले यस्ता थुप्रै काम गरिरहेका छौं । पहिलो कुरा त हामीले नेपालको ७७ जिल्ला मध्ये ७२ जिल्लामा सचेतना कार्यक्रम गरिसकेका छौं । यति मात्र नभएर दोस्रो, प्रदेश प्रदेशमा पत्रकारहरूलाई आर्थिक तथा पुँजीबजार सम्बन्धि प्रशिक्षण दिँदै आएका छौं । हालसम्म २ र ६ नम्बरको प्रदेशमा सम्पन्न गरिसकेका छौं । अब आगामी २७ गते विराटनगर अर्थात प्रदेश नम्बर १ मा दिँदै योजना बनाएका छौं । त्यस्तै, टीओटी (टिचर्स ट्रेनिङ) अर्थात् लगानीकर्तालाई प्रशिक्षण, लगानीकर्तासँग रेडियोमा प्रत्यक्ष संवाद आदि ।

बीमाकाे बाेनसदर कि भगवानलाई थाहा हुन्छ कि फटाहाले मात्र भन्न सक्छ- मनोजकुमार लाल कर्ण

डेढ वर्षअघि सञ्चालनमा आएको यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडले बजारमा आफ्नो उपस्थिति बलियो रुपमा देखाएको छ । चालु आर्थिक वर्षको प्रथम ९ महिनामा एक अर्ब ६० करोड बीमा शुल्क आर्जन गरेको छ । यसै आर्थिक वर्षमा दुई अर्ब बीमा शुल्क आर्जन गर्ने कम्पनीको लक्ष्य रहेको छ । छोटो अवधिमा कम्पनीले हासिल गरेको सफलता र नयाँ कम्पनी आएपछि बीमा बजारमा आएका परिवर्तनका विषयलाई लिएर युनियन लाईफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णसँग नविन पोखरेलले गरेको विकास बहस । बीमा कम्पनी बढेपछि बीमितले नयाँ सुविधा र प्रडक्ट के पाए ? सबै कम्पनीको बारेमा म बोल्दिन । म यूनियन लाइफ इन्स्योरेन्समा आएपछि हरेक ठाउँमा हाम्रो अभिकर्ताहरु बीमा गर्नुपर्छ भनेर हिँडेका छन्, बीमाको औचित्यका बारेमा बुझाउँदै हिडेका छन् । अभिकर्ताले आफ्ना प्रडक्ट मात्र बेचिरहेका छैनन्, बीमाको बारेमा जनचेतना फैलाउने काम पनि गरिरहेका छन् । हामीले ग्राहकलाई उचित किसिमको पोलिसी दिइरहेका छौं । यसरी पोलिसी दिने बेलामा नै हामीले अभिकर्ताहरुलाई बीमित समक्ष सबै कुरा खुलस्त पार्न भनेका छौ । यस्तै, बीमा दावी भुक्तानी १५ दिन भित्र गरिसक्नु पर्ने भन्ने कानुनी व्यवस्था छ । तर, हाम्रो कम्पनीले बीमा दावी सम्बन्धि कागजात प्राप्त भएको आधा घण्टा भित्र दावी भुक्तानी गरिसक्नुु पर्छ भनेका छौं । छिटो बीमितलाई दावी भुक्तानी दिन सके कम्पनीप्रति विश्वास बढ्छ । यसले एउटा कम्पनीप्रति मात्र होइन, सारा बीमा क्षेत्रप्रतिको विश्वास बढाउन सहयोग गर्छ, बजारमा राम्रो माहाेल बनाउँछ । हाम्रो कम्पनीको बिजनेश राम्रो हुनुमा यो पनि एउटा महत्वपूर्ण कारण हो । प्रडक्ट डेभलपमेन्ट साईटबाट हेर्दा पनि हामीले नयाँ नयाँ काम गरेको छौं । जस्तो, यूनियन लाइफले मनि व्याक होल लाईफ प्रडक्ट ल्याएको छ । यसमा बीच-बीचमा पैसा फिर्ता हुन्छ । बीमालेखको अवधि पुरा भएपछि पनि पैसा फिर्ता हुन्छ । ९९ वर्ष पूरा भएपछि हामीले फेरि सम इन्स्योर्ड (ठूलो बिमाङ्क) दिन्छौ । बीचमा मृत्यु भएमा पनि हकदावीवालाले सम इन्स्योर्ड पाउँछ । हामीले लिमिटेड पेमेन्टमा पनि होल लाईफ प्रडक्ट ल्याएका छौं । सिङ्गल प्रोडक्टमा पनि हामीले मनिव्याक होल लाईफ प्रडक्ट ल्याएका छौं । हामी कहाँ बाहिरबाट मात्र ल्याएका प्रडक्ट छैनन् । हामीले आफ्नै इनोभेशनका प्रडक्ट सिन लन्च गरेका छौं । हाम्रा अभिकर्ताहरु एमडीआरटीको सदस्य समेत भईसकेका छन् । यूनियनले सबैभन्दा बढी बिक्री गरेको बीमा पोलिसी कुन हो ? हाम्रोमा मनि व्याक होल लाइफ सबैभन्दा बढी बिक्री भएको पोलिसी हो । लिमिटेड पेमेन्ट होल लाईफ पनि धेरै पपुलर छ । गत वर्ष मनिव्याक होल लाइफ यति बिक्री भयो, पछि हामीले अब नबेचौं भन्ने अवस्था पनि आयो । यस वर्ष पनि हाम्रो राम्रै बिक्री भएको छ यो प्रडक्ट । तपाईहरुले ल्याएको तर बिक्री कम भएको पोलिसी चाही कुन हो ? इन्डोमेन्ट पोलिसी दुनियाँमा सबैले बनाएका हुन्छन् । यो प्रडक्ट एकदम सस्तो र म्याचुरिटिमा जाँदा समइन्स्योर्ड र बोनससम्म पाउने हुन्छ । यो प्राय जसो हरेक देश र हरेक कम्पनी हुन्छ । बजारमा सबैले ल्याउने प्रडक्ट हामीले पनि ल्याएका छौं । बिक्री होस् वा नहोस्, हरेक कम्पनीले प्रडक्ट राखेका हुन्छन् । यस्तो पोलिसी भनेको किराना पसलमा चुरोट र सलाई राखेको जस्तै कुरा हो । नाफा भन्दापनि ग्राहकले खोज्ने भएकोले राखिन्छ । यस्तो प्रडक्टमा धेरै नाफा हुँदैनन् तर राख्नै पर्छ । यूनियन लाइफले टर्म पोलिसी कति बेचेको छ ? एकदमै कम छ । गत आर्थिक वर्षमा कम्पनीले १ सय ६० करोड बीमा शुल्क आर्जन गरेको थियाे । त्यसमा टर्म पोलिसी ५० लाख भन्दा कमको छ । अर्को, हामीले सिङ्गल पोलिसी धेरै कम बेचेका छौं । बजारमा यस्तो हल्ला छ कि यूनियनले सिङ्गल प्रडक्ट पोलिसी धेरै बेचेको छ । त्यसैले धेरै बीमा शुल्क आम्दानी गरेको छ । बिजनेश बढाएको छ । यो भनेको १५ वर्षको पोलिसी लिएको छ भने प्रिमियम वार्षिक नभई एकै पटक शुरुमा नै सबै प्रिमियम बुझाउने । तर, एक अर्ब ६० करोडमा करिब एक करोडको सिङ्गल प्रडक्ट पोलिसी बेचेका छौं । तपाईले युनियन लाईफमा आएर गर्न नसकेको कुरा के हो ? हामीले २०७४ असोज ४ गते सञ्चालन अनुमति (लाइसेन्स) पायौं । असोज ६ गते सञ्चालन गर्यौ । त्यसपछि बिजनेश शुरु भयो । पहिलो वर्ष नै ८६ करोड ५० को बिजनेश गर्यौ । चालु वर्षको प्रथम ९ महिनामा १ अर्ब ६० करोडको बिजनेशन गरिसकेका छौं । मेरो शब्दकोषमा नै गर्न नसक्ने भन्ने कुरा छैन । म काममा रमाउँन सक्ने मान्छे हुँ । मैले काम गरेको यो सातौं कम्पनी हो । हामी नयाँ कम्पनी, शुन्यबाट काम थालेका छौं । प्रेसरमा काम गर्ने मान्छे हुँ म । जति प्रेसर हुन्छ त्यति मजा हुन्छ काम गर्न । यदि बिजनेश भएन भने त्यो अरुको कारण होइन, मेरै कारण हो । चालु आर्थिक वर्षमा कति बिजनेश गर्ने लक्ष्य लिनु भएको छ ? गत वर्ष २५ करोड बिजनेश गर्ने लक्ष्य थियो, ८६ करोडको गर्यौ । यो वर्ष ५० करोडको बिजनेशन गर्ने लक्ष्य छ । तर, ९ महिनामा नै १ सय ६० करोड भएको छ । हामीले लक्ष्यभन्दा तेब्बर बढी बिजनेश गरिरहेका छौं । असारसम्म हामी धेरै गर्न सक्छौं । गएको बर्षमा ८६ करोडको बिजनेस गरेको कम्पनीले यसपाली ५० करोडको लक्ष्य कसरी राख्नु भयो त ? त्यो लक्ष्य बीमा समितिमा पठाउनु पर्ने ४ वर्षे योजनामा राखिएको थियो । लाईसेन्स पाउनुपूर्व बिजनेश प्लान दिनुपर्ने हुन्छ । त्यसमा भएको लक्ष्यको कुरा गरेको हुँ । यूनियनले बेचेको पोलिसी ल्याप्सेस हुने सम्भावना कतिको छन् ? गत वर्ष हामीले सिङ्गल पोलिसी १०/१५ प्रतिशत बेचेका थियौ । सिङ्गलमा ल्याप्स हुने सम्भावना नै भएन् । अहिले बजारमा १९ वटा कम्पनीहरु आएका छन् । सबै कम्पनीको बीमा पोलिसी ल्याप्सेस बढ्ने जोखिम छ । किनकी अभिकर्ताहरुको झूकाव नयाँ पोलिसी तिर हुन्छ । नयाँ पोलिसीमा बढी कमिशन हुन्छ । तर, बीमामा रिनुवल भनेको खानी हो । यसलाई हामीले झन् बढी महत्व दिनुपर्छ । समग्रमा बजारमा १५ प्रतिशतभन्दा बढी बीमा पोलिसी ल्याप्सेस भएका छन् । नयाँ कम्पनीहरुलाई त्यति सजिलो छैन भन्ने देखिन्छ, पुराना कम्पनीहरुले बोनस दरलाई देखाए बीमित, अभिकर्ता आकर्षण गरेका छन् । तर, यूनियनको ग्रोथ पुरानालाई झस्काउने किसिमको रहेको छ, कसरी ? बीमा पोलिसीको बोनस भनेको हिजोको अवस्थाको मूल्याङकन गरेर तय हुने कुरा हो । आजको बेचेको पोलिसीको बोनसदर कति हुन्छ ? कसैलाई पनि थाहा हुँदैन । वर्षभरी बिक्री भएको बीमा पोलिसीको आधारमा बीमाङ्कीय मूल्याङकन हुन्छ । त्यसले बोनसदर निर्धारण गर्ने हो । गत वर्षको बोनसदर देखाएर अहिले बीमा गराउनु ग्राहकलाई भ्रममा पार्नु हो । यस वर्षको पोसिली बेच्दा हाम्रो व्यालेन्ससिट यस्तो छ, नाफा यति आउछ, बोनस यति हुन्छ भनेर भन्न मिल्दैन । पुराना कम्पनी हुँदैमा बीमा बोनसदर बढी हुन्छ भन्ने पनि हुँदैन । भारतमा १५ वर्ष पहिले ७५ रुपैयाँ बोनस भएका कम्पनीको अहिले बोनस ५० रुपैयाँमा झरेको छ । बोनस भन्दा पनि कम्पनीको सञ्चालक समिति हेर्नुपर्यो, व्यवस्थापन समिति हेर्नुपर्यो । विजनेश ट्रेन हेर्नु पर्यो । प्रोफिटको ट्रेन हेर्नु पर्यो । इतिहास होला, ब्राण्ड इमेज होला । कम्पनीको धेरै पक्ष हेरेर बीमा गर्नुपर्छ । तपाईले भनेको सबै पक्षलाई हेर्दा यूनियन लाइफमा किन बीमा गराउने ? यो कस्तो कम्पनी हो ? युनियन लाईफको प्रमोटर, संञ्चालक, नाफा, व्यवस्थापन सबै हिसाबमा हेर्दा आकर्षण छ । हामीले दिने सेवाको स्तर राम्रो छ । त्यसैले त यो कम्पनी सञ्चालनमा आएको दुई वर्ष पुरा नहुँदै धेरै राम्रो विजनेश गरेको हो । हेर्दै जानुहोला, हामीले २० वर्षमा अरुको भन्दा धेरे राम्रो गर्नेछौं । ग्रामिण क्षेत्रका मान्छेले कम्पनीको सीईओ र प्रमोटर राम्रा मान्छे छन्, असल नियतका छन्, विजनेश गर्ने क्षमता भएका छन् भनेर कसरी चिन्ने ? उनीहरुले हेर्ने त प्रडक्टका फिचर, बोनस रेट, प्रिमियम दर नै होइन र ? पोलिसी बेच्ने भनेको अभिकर्ताले हो । त्यसैले उनीहरु कतिको जानकार छन् भन्ने कुराले पनि धेरै माने राख्छ । व्यवस्थापन टिमको बारेमा गाउँमा थाहाँ हुन्न होला । तर अभिकर्ता आफैलाई कस्तो मान्छेसँग काम गर्दैछु भन्ने कुराले असर पार्छ होला । सेवा, व्यवस्थापन र टीम त अभिकर्ताले हेर्लान । अब बीमितले के हेर्ने त ? बीमितले प्रमोटर, व्यवस्थापन, विजनेसको अवस्था, सेवाको अवस्था, प्रडक्ट हेर्नु पर्छ । आजको दिनमा कसले कति बोनस दिन्छ भनेर बीमितहरु पछाडी लाग्नु राम्रो हुदैँन । त्यसरी बोनसका पछाडी पुरानो समयमा मान्छेहरु लागेका पनि हुन, नलागेका हैनन् । तर, अहिलेको समयमा कुन कम्पनीले कत्तिको नाफा दिन्छन् भन्ने कुरा अनुमान गर्न सकिने कुरा हो । आजको दिनमा कस्ले कति दिन्छु भन्ने कुरा ठोकुवा गर्न मिल्दैन । यदी कुनै कम्पनीले आफ्नो विगतमा दिएको बोनस देखाउँदै अर्कोपाली यति दिने हो भन्छन् भने त्यो भ्रम हो । साच्चै भन्ने हो भने आगामी दिनमा कति बोनस दिने हो भन्ने कुरा जम्मा २ जनालाई थाहा हुन्छ, एउटा भगवानलाई र अर्को फटाहालाई । कुनै कम्पनीका एक सीईओले विगतमा बोनस दरलाई आधार बनाएर बीमाको बजारिकरण गर्न हुन्न भनेका थिए। तर, अहिले सोही कम्पनी सर्वाधिक बोनस दर भएको कम्पनी भनेर प्रचार गरिरहेको छ । भविष्यमा तपाईले पनि बोनसदर देखाएर बीमितलाई लोभ्याउने काम गर्नु हुन्छ कि हुन्न ? मैले त्यहि भनिरहेको छु कि बोनस दर सधैं एकनासको हुँदैन । राम्रो विजनेश गर्ने, सबै पक्ष बलियो हुने कम्पनीले भविष्यमा पक्कै राम्रो बोनस दिन सक्छ । यूनिन लाईफले पनि सर्वाधिक बोनस दर दिन सक्छ । तर त्यो बिक्री भइसकेको पोसिसीले गत वर्ष पाएको बोनस हो । यूनियनका अभिकर्ताले एमडीआरटीको सदस्यता पाएको कुरा गर्नु भयो । त्यो भनेको के हो ? ‘एमडीआर टी’ भनेको अभिकर्ताहरुको संगठन हो । संसार भरका लागि हरेक कम्पनीले एमडीआरटीको सदस्य बन्ने टार्गेट लिएका हुन्छन् । एमडीआरटीको पूरा रुप ‘मिलीयन डलर राउण्ड टेबल’ हो । यसको प्रधान कार्यालय सिकागो अमेरिकामा रहेको छ । त्यसमा आवद्ध रहन हरेक देशले आफ्नो टार्गेट बनाएका हुन्छन् । यसमा आवद्ध हुनका लागि सो संस्थाले नै टार्गेट दिएको हुन्छ । सो टार्गेट पूरा गरेपछि सदस्यता लिन सकिन्छ । एमडीआरटीको सदस्यता प्राप्त गरेपछि त्यसका छलफल तथा भेलामा भाग लिन पाईन्छ । त्यस्ता छलफलमा विश्वभरीका बुद्धिजीविहरुसँग छलफल गर्न सकिन्छ । प्रत्येक अभिकर्ताले एमडीआरटीलाई आफ्नै संस्था ठानेर सदस्यता लिदाँ हुन्छ । किनभने सो सदस्यता पाउनु हरेक अभिकर्ताको प्रतिष्ठाको विषय पनि हो । एमडीआरटीले आफ्ना सदस्यहरुलाई हरेक वर्ष टार्गेट बढी दिन्छ । हरेक जनवरी १ देखि डिसेम्बर ३० सम्ममा टार्गेट पुरा गर्नुपर्छ । एमडीआरटीमा पनि तीन प्रकारका सदस्य हुन्छन् । ४४ लाख १६ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गर्नेले एमडीआरटी सदस्यता पाउँछ । १ करोड ३२ लाख ४८ हजार रुपैयाँ प्रिमियम ल्याएमा सीओटी बन्न पाउँछ । २ करोड ६४ लाख ९६ हजार रुपैयाँ प्रिमियम संकलन गरेमा चाहीँ टीओटी हुन्छ । सीओटी भनेको कोर्ट डाउन द टेवल र टीओटी भनेको टप अफ द टेवल हो । एमडीआरटी र सीओटीको मिटिङ् एक पटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् भने अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ । नेपालबाट हालसम्म जम्मा ३ वटा कम्पनीले मात्र यसको सदस्यता दिएका छन् । सो सदस्यता लिनेमा २ पुरानो कम्पनी र १ नयाँ कम्पनी रहेका छन् । नयाँ कम्पनीहरुमा युनियन लाईफ मात्र हो । यूनियनबाट अहिलेसम्म १० जना एमडीआरटीका लागि क्वालिफाइड भएका छन् । त्यसमध्ये ६ जनाले सदस्यता लिइसकेका छन् । अभिकर्ता प्रोत्साहित गर्न युनियले के के काम गर्दै आएको छ ? मोटिभेशनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको तालिम नै हो । तालिम भएन भने अभिकर्ताहरु निष्क्रिय हुँदै जान्छन् । हाल अभिकर्ताहरु अधुरो ज्ञान लिएर बजारमा जाने गर्छन् । साच्चै भन्दा उनीहरुलाई महत्वपूर्ण कुराको बारेमा समेत जानकारी हुदैन । हामी उनीहरुलाई राम्रो ज्ञान दिन्छौं । हामीले १४ हजार अभिकर्ता बनायौं । त्यसको ३५ प्रतिशत मात्र सक्रिय देखिन्छन् । ६५ प्रतिशतले किन छोडे भने उनीहरुलाई राम्रो ज्ञान भएन । पूर्णकालीन अभिकर्ता कति छन् ? बिहानदेखि बेलुकासम्म अभिकर्ताको भूमिकामा रहेर काम गर्नेहरुको संख्या ज्यादै कम छ । तर यो संख्या बढ्दो छ । विस्तारै नयाँ अभिकर्ताहरुले जागिर छोडेर यस पेशामा प्रवेश गरेको उदाहरण समेत छन् । उनीहरु शतप्रतिशतले काम गरेका छन् । हामी उहाँहरुलाई जागिर छाडेर आफ्नो काम गर्न अनुरोध गर्दै आएका छौ । समयको महत्व सेकेण्ड–सेकेण्डमा निर्धारित हुने भएकाले हामीले कि जागिर गर्न वा सक्रिय अभिकर्ताको रुपमा मात्रै काम गर्न अनुरोध गर्दै आएका छौँ । आजको युगमा अभिकर्ता बन्नु भनेको विजनेस गर्नु हो । तपाईको कम्पनीमा अभिकर्ताको कमाइ बढीमा कति हुन्छ ? गत साल मात्रै ३० लाख रुपैयाँ आर्जन गर्ने अभिकर्ता हामी कहाँ थिए । यसपाली १ करोड रुपैयाँसम्म कमाउने अभिकर्ता रहेका छन् । आगामी सालमा ५ करोड रुपैयाँसम्म अभिकर्ताले गोजीमा हाल्न पाउँने छन् । उनीहरु टाई, सुट लगाएर कार चढेर हिडने गरेका हुन्छन् । उनीहरुको बोल्ने शैली पनि राम्रो छ । प्रमुख कार्यकारी अधिकृतको तलब र अभिकर्ता कसले बढी कमाउन सक्छ ? प्रमुख कार्यकारी अधिकृतको तलब तोकिएको हुन्छ । तर, अभिकर्तामा भने बढाउने ठाउँ प्रशस्तै हुन्छन् । सीईओको भन्दा अभिकर्ताले बढी कमाउन सक्छ । के तपाई अभिकर्ता बन्न चहानुहुन्छ ? भूमिका फरक हुन्छ । तर दुबैको भूमिका जीवन बीमा गराउने नै हो । सीईओ भएको मान्छेले अभिकर्ताको भूमिका सफलता नपाउन सक्छ । सफल अभिकर्ता सिईओ बन्न सक्दैनन् । लगानीकर्ताले भन्दा सीईओले बढी कमाउने, सीईओले भन्दा अभिकर्ताले बढी कमाउने, यो कस्तो विजेनेश हो ? यो दीर्घकालीन व्यवसाय भएकाले अहिले नपाएपनि पछि पाउँनुहुन्छ भन्न खोजेको हो । कम्पनीको नाफा भएपनि साधारण सेयर निष्काशन नगरी लगानीकर्ताले लाभांश पाउन सक्छन् । आईपीओको प्रक्रिया कहाँ पुग्यो ? इभ्यालुएसन गरेर बीमा समिति पठाइ सकेका छौ । बीमा समितिले आफ्नो एक्चुरी कहाँ पठाए पछि प्रक्रिया अघि बढ्ने छ । बीमा समितिबाट भ्यालुएसन भएर आएपछि हामीले एजिएम गर्छौँ । लगानीकर्तालाई कति प्रतिशत बोनस दिदै हुनु हुन्छ ? अहिले लगानीकर्ताले केही पनि पाउँदैनन् ।

महाविपत्ती कोषमा १० प्रतिशत जम्मा गर्नु पर्ने व्यवस्था खारेज गर्नुपर्छ-राजेन्द्र मल्ल

राजेन्द्र मल्ल, अध्यक्ष-निर्जीवन बीमा व्यवसायी संघ बीमा समितिले नयाँ लेखामान प्रणाली ‘एनएफआरएस’ लागू गरेपछि निर्जीवन तर्फ एउटा बीमा कम्पनीले पनि वार्षिक साधारणसभा गर्न सकेका छैनन् । कम्पनी ऐन अनुसार पुस मसान्तभित्र सबै कम्पनीले साधारणसभा गरिसक्नु हो । तर बैशाख अन्त्यसम्म कुनै पनि बीमा कम्पनीहरुले साधारणसभा गर्न सकेनन् । एकातिर बीमा कम्पनीहरुले साधारणसभा गर्न सकिरहेका छैनन् भने अर्कोतिर सेयर बजारमा बीमा समूहको परिसूचक खस्कदो छ । केही वर्षअघि १० हजार नजिक बीमा समूहको परिसूचक अहिले ५ हजारको हाराहारीमा छ । यस्तो अवस्थामा यस क्षेत्रमा लगानी गरेका लगानीकर्ताको के सोचिरहेका छन् ? प्रस्तुत छ प्रभु इन्स्योरेन्स लिमिटेडका सञ्चालक, निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसँग गरिएको विकास वहस । बीमा कम्पनीहरुले साधारणसभा गर्न पनि सकेनन् । पछिल्लो समय बीमा क्षेत्रका लगानीकर्ता निरास बन्दै गएको पाइन्छ । बीमा व्यवसायी संघको अध्यक्षको हैसियतले तपाई के गर्दै हुनुहुन्छ ? लगानीकर्ता निरास भएको जस्तो मलाई लाग्दैन । किनकी म २२ वर्ष अघिदेखि बीमा क्षेत्रमा छु । त्यतिबेला देखि नै म तत्कालिन एलाईन्स र अहिले प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा बसेर काम गरिरहेको छु । बीमा बजारलाई नजिकबाट हेरिरहेको छु । समय जति बित्दै गयो, बीमाप्रति मानिसको विश्वास, आकर्षण त्यति बढ्दै गएको छ । बीमा व्यवसायी संघ स्थापना भएको दुई वर्ष मात्र भएको छ । संघले बीमा व्यवसायीको हकहितमा काम गर्दै आएको छ । खासगरी हाम्रो नियमक बीमा समितिसँग बेलाबेलामा छलफल गरिरहेका छौं । पहिला बीमा समितिले ल्याउने नीति निर्देशनहरु सरोकारवालाहरुसँग छलफल नभई एकपक्षिय रुपमा ल्याउने गरेको थियो । अहिले समितिले हामीसँग पनि छलफल गर्ने गरेको छ । बीमा समिति हाम्रो अभिभावक हो । हामी बीमा समितिको सन्तान हौ । हामी सबैले बीमा क्षेत्रको हितमा काम गर्ने हो । यो क्षेत्रको विकासमा काम गर्ने हो । एनएफआरएस लागू गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा हामीले दुई साताअघि मात्र बीमा समितिसँग कुरा गरेका छौं । एनएफआरएसका लागि चाहिने एक्चुरीका लागि भारतमा भर पर्नुपरेको छ । नेपालभित्र आवश्यक जनशक्ति नभएर पनि समस्या भयो । नयाँ सिस्टमा जानु पर्ने भएकोले कम्पनीहरुको तर्फबाट गर्नु पर्ने काम पनि केही ढिला भएको छ । तर अबको एक महिनामा सबै कम्पनीको लेखापरिक्षण सकिने चरणमा छ । एनएफआरएस र अन्य नियमबीच केही कुरा बाझिएकाले पनि समस्या भएको हो । कहाँ कहाँ बाझिएका छन् त ? एनएफआरएस आईएफआरएस स्ट्याण्डर्ड अनुसार नै छ । हाम्रो विगतको लेखा अभ्यास अलि फरक थियो । त्यसैले नयाँ लेखाप्रणालीमा केही कुरा बाझिएका छन् । पहिला बैशाखमा बीमा गरेर एक वर्षको प्रिमियम लिइन्थ्यो भने त्यो सबै प्रिमियम सोही आर्थिक वर्षको मानिन्थ्यो । एनएफआरएसले बैशाखमा लिएको प्रिमियम दिन गनेर यो आर्थिक वर्षको हिस्सा मात्र राख्न पाइन्छ । बाँकी अर्को वर्षको आम्दानी बाँध्नुपर्छ । त्यस्तै एनएफआरएसले नाफाको ५० प्रतिशत रिर्जभमा राख्नुपर्दैन भन्छ । तर बीमा सम्बन्धि कानुनले नाफाको ५० प्रतिशत रिर्जभमा राख्नु भन्छ । त्यस्तै, बीमा समितिले भूकम्पपछि नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यी सबै नियमको पालना गर्ने हो भने सबै कम्पनी घाटामा जाँन्छन् । यसमा केही सुधार गर्नुपर्छ भन्ने बीमा कम्पनीहरुको माग हो । ५० प्रतिशत रिर्जभ राख्ने व्यवस्था त बीमा ऐनले नै गरेकोले त्यो संशोधन नभई बीमा समितिले पनि केही गर्न सक्दैन होला । कम्तिमा महाविपत्ती कोषमा १० प्रतिशत रकम राख्नु नपर्ने व्यवस्था गरिदिए पनि बीमा कम्पनीलाई केही सजिलो हुन्छ । यो समस्या पनि यस आर्थिक वर्षमा मात्र देखिने हो । अर्को आर्थिक वर्षदेखि सबै मिलेर जान्छ । यसमा ५० प्रतिशत रिर्जभमा राख्दै एनएफआरएस अनुसार आर्थिक प्रतिवेदन बनाउने हो भने कम्पनीहरुको नाफा कस्तो देखिएला ? पुरानो व्यवस्था अनुसार २० प्रतिशत बोनस दिने अवस्थामा रहेका कम्पनीहरुको समेत व्यालेन्सिट नेगेटिभ देखिन्छ । अहिले नै सेयर बजार ओरालो लागेको छ । त्यसमाथि व्यालेन्सिट नेगेटिभतिर आयो भने सेयर बजार झन् घट्छ । यसतर्फ पनि सोच्न हामीले बीमा समितिलाई आग्रह गरेका छौं । असार असान्तसम्ममा सबै बीमा कम्पनीको साधारणसभा हुन्छ ? हुन्छ । सबै कम्पनीहरुको होमवर्क सकिएको अवस्था छ । हाम्रो एउटै कुरामा जोड के छ भने नाफामा गइरहेको कम्पनीहरुको व्यालेन्सिट घाटामा गएको देखाएर बाहिर ल्याउनुपर्यो भने त्यसले राम्रो सन्देश दिदैन । बीमा समितिले तोके अनुसार पूँजीवृद्धि गर्न बीमा कम्पनीका प्रमोटरहरुलाई गाह्रो भएको हो ? म सञ्चालक भएको प्रभु इन्स्योरेन्स कम्पनीको हकमा पुँजी पुगिसकेको छ । केही कम्पनीहरुले १०० करोड पुँजी पुर्याए पनि केही कम्पनीहरुको भने पुगेको छैन । तर नियामकले ल्याएपछि सबैले त्यो मान्नै पर्छ । तपाई बीमा व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ । अरु बीमा कम्पनीको प्रमोटरहरु पनि तपाईको संघमा आवद्ध छन् । अझै केही कम्पनीको पुँजी ३० करोडभन्दा कम छ । के उनीहरुले कम्पनीमा थप लगानी गर्न नसकेका हुन् ? पक्कै पनि केही कम्पनीमा ग्याव अलि धेरै नै छ । बीमा समितिले पुँजी वृद्धिको लागि निश्चित समय दिएको थियो । त्यो समयभित्र पुँजी वृद्धि गर्न उहाँहरुले ध्यान दिनुपर्दथ्यो । अहिले बीमा समितिले मर्जलाई प्रोत्साहित गरेको छ । सानो सानो पुँजी भएका कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहित गरेको छ । यो पनि सकारात्मक विषय हो । मर्ज भएपछि कम्पनी ठूलो हुन्छ, बलियो हुन्छ । लगानी सुरक्षित हुन्छ, नाफा बढ्छ । मर्जरलाई प्रोत्साहित गर्ने नीति दीर्घकालिन रुपमा लगानीकर्ताको लागि राम्रो हो । मलाई सञ्चालक पद पनि चाहिदैन, अध्यक्ष पनि चाहिदैन । नाफा बढे पुग्छ । सरकारले पनि कर पाओस्, कर्मचारीको पनि राम्रो होस्, लगानीकर्ताले पनि दुई पैसा कमाउन् । मेरो चाहाना त त्यति हो । तपाईले जस्तै अरु लगानीकर्ताले पनि मर्जरको नीतिलाई सकारात्मक रुपमा लिएका छन् ? मेरो भनाई के हो भने पुँजी वृद्धि नगरी म्याद नगाउनु राम्रो भएन । म नै सञ्चालक बन्न पाउनुपर्छ, म नै अध्यक्ष बन्न पाउनुपर्छ, म नै सीईओ बन्न पाउनुपर्छ भन्नेहरुको लागि मर्ज ठिक नहोला । तर लगानीको हिसाबमा मर्जरमा जादाँ राम्रो हुन्छ । त्यसैले अबको सरल उपाय भनेको मर्जर नै हो । यसले व्यवस्थापन खर्च बचाउन मद्दत गर्छ । अहिले बीमा कम्पनीहरुको गाउँ गाउँमा शाखा बढिरहेको छ । मर्जमा जादा एउटै गाउँका धेरै शाखा एउटामा गाभिन्छ र त्यसले खर्च व्यवस्थापनमा सघाउँछ । बीमा सेवा आम नागरिकले पाउनु पर्यो । कम्पनीहरु धेरै भएर मात्र हुदैन । जनताले पाउने सेवा सुविधामा पनि वृद्धि हुन पर्यो । बीमा समितिले हालसालै जारी गरेको मर्जर सम्बन्धि निर्देशिकाले बीमकलाई कत्तिको आकर्षति गरेको छ ? समितिले मर्जरको लागि केही छुट दिएको छ । यो राम्रो शुरुवात हो । हामीले नियामकको नीति निर्देशनलाई सकारात्मक रुपमा लिनुपर्छ । नियामकले दिएको दिशानिर्देशलाई हामीले फलो गर्नुपर्छ । के प्रभु इन्स्योरेन्स मर्जमा जान तयार छ त ? प्रभु इन्स्योरेन्सले एक अर्ब पुँजी पुर्याईसक्यो । र पनि, हामी मर्जरमा जान तयारी छौं । राम्रो कम्पनीसँग कुरा मिल्यो भने हामी मर्जरको लागि तयार छौं । अहिले भएका बीमा कम्पनीहरुलाई मर्ज गर्ने, भोलि नयाँ कम्पनीलाई लाईसेन्स दिने काम नियामकले गर्नुभएन । भर्खरै नयाँ लाईसेन्स दिएको छ तुरुन्तै मर्जरको कुरा पनि उठेको छ । यस्तो चाही नहोस् । यदी मुलुक बनाउने हो भने दीर्घकालिन नीति र योजना चाहिन्छ । भूकम्प पछाडि वार्षिक १५/१६ प्रतिशतले बीमा बजार विस्तार भएको छ । गत वर्ष मात्र नयाँ बीमा कम्पनीहरुले लाईसेन्स पाए । यसले बजारमा अस्वास्थ्य प्रतिस्पर्धाको वातावरण बनाएको छ । यो राम्रो भएन । कम्पनी धेरै भएर मात्र मुलुकलाई फाइदा हुदैन । बीमा समितिले यो कुरा अहिले आएर बुझ्यो । र, अहिले सहि बाटो लिएको छ । बीमा कम्पनीहरुको विजनेस ग्रोथ र क्यापिटल ग्रोथलाई कसरी लिनु भएको छ ? बीमा कम्पनीको लागि १० करोड पुँजी तोकिएको बेलामा धेरै कम्पनी खुलेका हुन् । अहिले १०० करोड भनिएको छ । २० वटा कम्पनीले पुँजी पुर्याउँदा २० अर्ब रुपैयाँ पुँजी लगानी छ । रिर्जभमा भएको पुँजीसमेत जोड्दा २५ अर्बको हाराहारीमा पुगेको छ । यो वर्ष निर्जीवन बीमा कम्पनीहरुले २५ देखि २६ अर्ब प्रिमियम संकलन गर्ने आँकलन गरिएको छ । भनेपछि पुँजी र व्यापार बराबर जस्तै देखियो । त्यसैले अहिले मर्जरको नीति आउनु राम्रो हो । म्यानेजमेन्ट कष्ट घटाउनु पर्यो । मलाई सञ्चालक पद पनि चाहिदैन, अध्यक्ष पनि चाहिदैन । नाफा बढे पुग्छ । सरकारले पनि कर पाओस्, कर्मचारीको पनि राम्रो होस्, लगानीकर्ताले पनि दुई पैसा कमाउन् । मेरो चाहाना त त्यति हो । १०० करोड पुँजी भएपछि बीमा कम्पनीहरुले सेयरधनीलाई कति प्रतिशत लाभांश दिने सम्भावना देख्नुहुन्छ ? हामी आफ्नो कार, मोटरसाईकलको बीमा गर्छौ तर आफ्नै बीमा स्वास्थ्य बीमा, दुर्घटना बीमा गर्दैनौ । कर्जाको बीमा हुन्छ, ऋणिको बीमा भएको हुँदैन । व्यवसायको बीमा हुन्छ, उद्यमीको बीमा गरिएको हुँदैन । सबैको बीमा गर्ने संस्कारको विकास गर्ने हो भने बीमा बजार पनि विकास हुन्छ । प्रतिसेयर आम्दानी धेरै घटेको छैन । बीमा बजार ठूलो छ । विकसित मुलुकमा ९८ प्रतिशतसम्म बीमा भएको हुन्छ । हामीकहाँ धेरै कम बीमा छ । समस्या के भयो भने सरकारले बीमाबारे विभिन्न नीति ल्यायो, त्यहि अनुसार फरक फरक संरचना बनाएको छ । सामाजिक सुरक्षा कोषले पनि बीमाको काम गर्ने भनिएको छ । बीमाको काम गर्न स्वास्थ्य बीमा बोर्ड स्थापना गरेको छ । यो राम्रो भएन । बीमा सम्बन्धि सबै काम बीमा कम्पनीलाई गर्न दिनुपर्यो । सरकारले लाईसेन्स दिएपछि बीमा कम्पनीहरु पनि सरकारकै अंग हुन् । हामी आफ्नो कार वा मोटरसाईकलको बीमा गर्छौ तर आफ्नै बीमा गर्दैनौ । कर्जाको बीमा हुन्छ, ऋणिको स्वास्थ्य बीमा, दुर्घटना बीमा भएको हुँदैन । व्यवसायको बीमा हुन्छ, उद्यमीको बीमा गरिएको हुँदैन । सबैको बीमा गर्ने संस्कारको विकास गर्ने हो भने बीमा बजार पनि विकास हुन्छ । बीमक संघमा पनि निर्जीवन बीमाहरुले मात्र प्रतिनिधित्व गर्छन । तपाईहरु पनि निर्जीवन बीमा कम्पनीका लगानीकर्ताको मात्र प्रतिनिधित्व गर्नुहुन्छ, किन? बेलाबेलामा बीमा समितिले बीमा व्यवसायीहरुलाई मर्का पर्ने किसिमले निर्देशिकाहरु ल्याएको पाइन्छ । यसरी निर्देशिका आए पश्चात हामीले जीवन बीमा कम्पनीहरुलाई समेत समेटेर बीमा व्यवसायी संघ गठन गर्न प्रयास गरेका थियौ । तर उहाँहरु लामो समय ‘वाच एण्ड सी’मा बस्नुभयो । शुरुमा हुन्छ भन्ने विचार आएको थियो, पछि आउन मान्नुभएन । जीवन बीमाका साथीहरु आउनुहुन्छ भने अहिले पनि सँगै जान सकिन्छ । जीवन बीमा क्षेत्रका साथीहरुले नयाँ संस्था नै ल्याउनुभयो भने पनि हुन्छ । अहिले नेप्सेले पनि जीवन बीमा र निर्जीवन बीमा भनेर दुई वर्गमा बीमालाई विभाजन गरेको छ ।