नेपाल लाइफले मनायो २३औं वार्षिकोत्सव
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणगढमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमको महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ । साथै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्यांकी प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति ५ लाख रुपैयाँको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारी, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, माया, स्नेह प्रदान गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै नेपाल लाइफलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनको भनाइ छ ।
१०९.६५ प्रतिशत बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, अधिकांश सूचकमा छलाङ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा खुद नाफा १०९.६५ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेका थिए । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १३८.५६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६९ लाख ५८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९३ प्रतिशत घटेर ६६ करोड २५ लाख रुपैयाँ गरेको छ । त वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड रुपैयाँ गरेको छ भने १ अर्ब ३० करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने ६६ करोड ३९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको चुक्ता पुँजी २५.३५ प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, विशेष जगेडा कोष २ अर्ब ५० करोड र महाविपत्ति कोष २१.६९ प्रतिशत बढेर १६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ बढेर २८.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने २५४.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ ।
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सेवा प्रवर्द्धन सम्बन्धी सम्झौता
काठमाडौं । एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक-अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र पुँजी बजार सम्बन्धी सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन् । दुवै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अधिकृत दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरू मार्फत एलिट क्यापिटलका सेवाहरू प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यस बाहेक लगानीकर्ताहरूलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवम अनलाइन टिएमएस सेवा समेत उपलब्ध गराइने भएको छ । साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सीआरएन नम्बर उपलब्ध गराउनेछ भने सेयर लगानीकर्ताहरूलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ । एलिट क्यापिटलले १ हजार ९९९ रुपैयाँमा १ पटक खोलेपछि आजीवन नवीकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै, रिलायन्स फाइनान्सका खातावालहरूका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।