एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो । हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ । आव आ.व.०८०/०८१ को चैत्र मसान्तसम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख रुपैयाँ, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल यस कम्पनीले देशभरि रहेका १३९ शाखा कार्यालयहरू र १ लाख १३ हजार अभिकर्ता मार्फत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई  पुनःअध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ  । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकल न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।